• शुक्रबार ७-९-२०८१/Friday 10-25-2024
डबली

सिंख्वालको पहिलो एकल प्रदर्शनी 

काठमाडौं । विगत ३८ वर्षदेखि परम्परागत पौभा कलाका क्षेत्रमा निरन्तर रूपमा सक्रिय रहेका कलाकार हुन सुन्दर सिंख्वाल । त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा सामाजिक शास्त्र  सङ्कायमा स्नातकसम्मको अध्ययन गरेका सिंख्वालले पौभा क्षेत्रमा थुप्रै विद्यार्थीहरू समेत उत्पादन गरिसके ।

 

ख्वपः पौभा च्वमी पुचः का सचिवसमेत रहिसकेका उनी हाल नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको प्राज्ञसभा सदस्य पनि हुन । उनका कलाहरू फुकुओका एसियन आर्ट म्युजियम जापान, म्युजियम अफ नेपाली आर्ट : (मोना) तथा चीन र युरोपका विभिन्न व्यक्तिहरूका कलेक्सनमा रहेका छन् । 

 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानसँगै अन्य विभिन्न राष्ट्रिय पुरस्कारबाट सम्मानित सिंख्वालले देश तथा विदेशका विभिन्न कार्यक्रममा सहभागिता जनाइसकेका छन् । यस क्रममा उनी भारत, माल्दिभ्सलगायतका देशमा पुग्नुभएको छ । उहाँका कलाकृतिहरू चीन, जापान, बेलायत, अमेरिका, फ्रान्स, थाइल्यान्ड, बेल्जियम लगायतका देशमा प्रदर्शनी गरिएका छन् । 

 

पौभामा सिंख्वालको  पहिलो एकल प्रदर्शनी हो ।  प्रदर्शनीमा जम्मा ३० वटा पौभा चित्रहरू समावेश छन् । दुई तीनवटा छाडेर प्रायः सबै पौभा चित्रहरू ६–७ वर्षका अन्तरालमा बनाइएका हुन् । प्रदर्शनीमा हिन्दु र बौद्ध दर्शनमा आधारित पौभाहरू समाविष्ट छन् । जसमा हिन्दु दर्शनका गणेश, सरस्वती, कुमार, लक्ष्मी, विष्णु, कृष्ण, भद्रकाली, गुह्येश्वरी, हरिहर आदि तथा बौद्ध दर्शनका लोकेश्वर, मञ्जुश्री, आर्यतारा, बसुन्धरा, वज्रधर, जम्भला (कुबेर), चक्रसंवर शक्ति, २१ तारा आदि रहेका छन् । 


प्रदर्शनीको नाम पनि ‘साधना’ राखिएको छ । प्रदर्शनीमा राखिएका कलामा सिंख्वालको कलाको साधनालाई प्रतिबिम्बित गर्ने प्रशस्त चिह्नहरू समेत देख्न सकिन्छ । प्रदर्शनी सिद्धार्थ आर्ट ग्यालरी, बबरमहलमा मङ्सिर १० गतेसम्म चल्ने छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार