• शुक्रबार ७-२-२०८१/Friday 10-18-2024
देश/प्रदेश

आज दशैँको सातौँ दिन फुलपाती

काठमाडौं । आज दशैँको सातौँ दिन दुर्गापीठ, दशैँघर, कोत तथा घरघरमा फूलपाती भित्राएर फूलपाती पर्व मनाइँदैछ। नवरात्रीको सातौँ दिन यो पर्व मनाउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आव्हान गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतिकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, मानक, कर्चुर, दारिम, जयन्ती, अशोकको फूल र अन्य पालुवा भित्राउने चलन छ । 


हनुमानढोका दरबारको दशैँघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्राउने परम्परा छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म गोरखा दरबारको दशैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरदेखि जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहेको छ ।

 

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने परम्परा छ । पृथ्वीनारायण शाहले काठमाडौँ राज्य जितेपछि गोरखाबाट ल्याएर फुलपाती भित्राउने चलन बसेको इतिहास छ ।त्यसैगरी आज देशभरिका प्रमुख शक्ति पिठ, देवी मन्दिर, नेपाली सेना तथा प्रहरीका तल्लोदेखि उपल्लो तहका अड्डाहरूमा बढाईंका साथ फुलपाती भित्र्याउने चलन रहेको छ । 

 

घटस्थापनाका दिन जमरा राखिएको पूजाकोठामा मंगलबार फुलपातीका दिन कालरात्री देवीको पुजा गरिदैछ । कालो वर्ण भएकी कालरात्री देवीको वाहन गधा हो भने देवीले क्रोधमा आगो निकाल्नुहुन्छ । चार हात भएकी देवीको चारै हातमा तरवार, मसाल र वरमुद्रा लिनुभएको हुन्छ । यीनै देवीले भुँईमा झरेको हरेक थोपा रगत वाट पूनर्जिवन पाउने रक्तविज नामक दैत्यको संहार गर्नुभएको थियो । फुलपातीदेखी नै दोबाटो, चौबाटो ,चौतारो र खुल्ला स्थानमा हालिने लिङगे पिङ, डोडे पिङ र रोटे पिङ हाल्ने गरिन्छ । दशैँको विशेष रौनक फूलपातीबाट सुरु हुन्छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार