• मंगलबार ६-१-२०८१/Tuesday 09-17-2024
डबली

‘कर्णालीमा ललितकला’ 

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको कर्णाली प्रदेश समन्वय समितिको आयोजनामा ‘कर्णालीमा ललितकला’ बुधवार छलफल कार्यक्रम सम्पन्न भएको छ । कर्णाली प्रदेशबाट काठमाडौँ उपत्यकामा रही कलाकर्म गरेका कलाकार, विज्ञ, संस्कृतिकर्मी, जनप्रतिनिधि, राजनीतिज्ञलगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वन तथा वातावरणमन्त्री  ऐनबहादुर शाही ठकुरी थिए । उनले कर्णाली प्रदेशमा ललितकलाको गतिविधिलाई अघि बढाउन सरकारले सक्दो सहयोगका लागि पहल गर्ने बताए । 

 

‘प्रदेशका विभिन्न कला, संस्कृति, भाषा, साहित्य तथा ललितकला लोप हुँदै गएको अहिलेको परिवेशमा यसको संरक्षण र संवर्धन गर्न हामी सबै लाग्नु आवश्यक छ । यिनको अनुसन्धान गर्न सकेमा हाम्रो देशलाई ठुलो योगदान पुग्ने छ’, मन्त्री ठकुरीले भने । प्रतिनिधि सभा सदस्य विनिता कठायतले कर्णालीलाई राज्यले हेर्ने दृष्टिकोण जे जस्तो रहे तापनि ललितकला प्रज्ञा–प्रतिष्ठानको अग्रसरतामा भएको यस कार्यक्रम निकै महत्त्वपूर्ण भएको बताए । 

 

प्रतिनिधि सभा सदस्य छिरिङ ल्हामु लामा ९तामाङ० ले कर्णाली प्रदेशमा विकास भएका ललितकलालाई केन्द्र हुँदै विश्व स्तरसम्म पु¥याउनुपर्नेमा जोड दिए । उनले कर्णालीलाई समृद्धिको मार्गमा लैजानका लागि पनि ललितकलाको संरक्षण, प्रवर्धन, संवर्धन तथा विकासमा राज्यले विशेष ध्यान दिनुपर्ने विचार व्यक्त गरे ।

 

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कर्णाली र सुदूरपश्चिमलाई प्राथमिकतामा राखेर प्रतिष्ठानले कार्यक्रम गरिरहेको बताए। उनले भने, ‘ललितकलालाई केन्द्रमा राखी त्यस ठाउँको सभ्यता, संस्कृति, जनजीवनसँग जोडेर अगाडि बढ्दै प्रदेशस्तरमा समेत ललिकताको संरचना तयार गर्नु आवश्यक छ ।’

 

उपकुलपति लालकाजी लामाले कर्णाली प्रदेशमा रहेका रैथाने कला, ज्ञान, सिपलाई समाजसँग जोडेर लाने प्रयत्न गरेको र समाजलाई प्राज्ञिक हिसावले अगाडि बढाउन ललितकला सधै तयार रहेको बताए । उनले आगामी दिनमा ललितकला क्षेत्रलाई अघि बढाउनका लागि स्रोत व्यवस्थापनमा आवश्यक पहल गरिदिन सांसदहरूलाई आग्रह गरे ।

 

छलफल कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले पावरप्वाइन्ट प्रिजेन्टेसनमार्फत प्रतिष्ठानको साङ्गठनिक संरचना, आगामी योजना, कर्णाली प्रदेशमा ललितकला गतिविधि, ललितकला र पर्यटन, अर्थतन्त्रमा ललितकलाको योगदान, समाज रूपान्तरणमा ललितकलाको भूमिका, ललितकला क्षेत्रका प्रदेश तथा स्थानीय कला–सांस्कृतिक संरचना गठन र त्यसका लागि कानुनी एवम् नीतिगत सवाल, वर्तमान परिवेशमा रैथाने कलाको संरक्षणरप्रवर्धन, स्थानीय पाठ्यक्रममा कला–शिक्षालगायतका विविध विषयको चर्चा गरेका थिए। 

 

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्य सचिवहरू प्रा।डा जीवेन्द्रदेव गिरी र प्रा.जगत्प्रसाद उपाध्याय, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञपरिषद सदस्य डा. मधुसूदन गिरी, नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञपरिषद सदस्य बखतबहादुर हमाल, जनसांस्कृतिक महासङ्घ नेपालका अध्यक्ष भीम कुमाखी, कलाकार महेन्द्र मल्ल ठकुरी, राष्ट्रिय जनसांस्कृतिक महासंघ कर्णाली प्रदेशका इन्चार्ज पदमबहादुर रोकाय, अग्रज कलाकार कुन्क्याप लामा, कलाकार दोर्जी कामरोङ सोनाम लामा, थुक्तेन लामा, सोनाम डोल्मा, कोशल हमाल, पेमा लामा, नोर्बु साङमु तामाङ, दिपेश नेपालीलगायतको कर्णालीको कला, संस्कृतिको संरक्षण, प्रवर्धनका गनुृपर्ने कामका विषयमा चर्चा गरेका थिए।


प्रतिष्ठानका परम्परागत चित्रकला विभाग प्रमुख तथा कर्णाली प्रदेश समन्वय समिति संयोजक पाल्साङ्मो लामाले प्रदेशका परम्परादेखिका कला, संस्कृतिलाई खोज, अनुसन्धान गरी स्थानीय जनप्रतिनिधिसँगको समन्वयमा ललितकलाको काम अघि बढाउन सकेमा कर्णालीको थुप्रै कुरा बाहिर आउने बताए ।

 

कार्यक्रममा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य प्रदिप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, सञ्जय वान्तवा, अरुणा हिङमाङ  प्राज्ञसभा सदस्य झिग्मे लामा, प्रदिप शाक्य, लाममान लामा तथा कर्णालीलाई प्रतिनिधित्व गर्ने कलाकार, राजनीतिकर्मी, संस्कृतिकर्मी, जनप्रतिनिधिलगायतको सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार