• मंगलबार २-१५-२०८१/Tuesday 05-28-2024
देश/प्रदेश

निर्वाचन प्रणाली र सम्वद्ध कानुनबारे परामर्श तथा सुझाव संकलन

काठमाडौँ । महिला सेवा संस्था नेपाल र जागरण नेपालको संयुक्त आयोजनामा  निर्वाचन सम्बन्धी एकीकृत विधेयक सम्बन्धमा परामर्श तथा लैङ्गिक र सामाजिक समावेशीताको दृष्टिकोणबाट सुझाव संकलन कार्यक्रम काठमाडौँमा सम्पन्न भएको छ  ।

 

निर्वाचन कानुनमा महिलाका सवाललाई सशक्त रूपमा उठाउन सबै दलका महिला संगठन, राजनीतीक र सामाजिक क्षेत्रका महिला नेता र विज्ञहरुले कार्यक्रममा प्रतिबद्धता जनाउनु भएको छ । कार्यक्रमले प्रस्तावित कानुनका विषयमा व्यापक परामर्श र सबै भैगोलिक क्षेत्रको सुझावलाई व्यवस्थित बनाउने निष्कर्षसमेत निकालेको छ । 

 

कार्यक्रममा प्रमुख वक्ता निर्वाचन आयोगका आयुक्त डा. जानकी तुलाधर, विशेष अतिथि नेपाल महिला संघकी अध्यक्ष उषा मिश्र, अखिल नेपाल महिला संघकी उपाध्यक्ष शर्मिला कार्की, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की पूर्व सचिव कल्पना धमलाले प्रस्तावित कानुन र समावेशिताका सवालमा सगठनको धारणा राख्नु भएको थियो ।

 

कार्यक्रममा प्रतिनिधसभा र राष्ट्रसभाका सदस्यहरू, विषयगत आयोगका सदस्यहरू, राजनीतिक दलका भगिनी संगठनका महिला नेताहरू, कानुन व्यवसायीहरू, पत्रकारहरू, सामाजिक क्षेत्र, लैङिगक तथा यौनिक अल्पसङख्यक, अपाङ्गता भएका व्यक्ति, दलित समुदाय, मधेसी समुदाय, युवा वर्ग लगायत १ सय २ जनाको उपस्थिति रहेको थियो।

 

 

प्रस्तावित कानुनका बारेमा वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकको प्रस्तुति रहेको थियो भने सहजीकरण महिला सेवा संस्थाका अध्यक्ष भावना भट्ट र अध्यक्षता जागरण नेपाल अध्यक्ष सम्झना पोखरले गर्नुभएको थियो । गृह मन्त्रालय मार्फत संसदमा पेश हुने तयारीमा रहेको निर्वाचनसम्बन्धी एकीकृत विधेयकले अन्य सातवटा कानुनलाई प्रतिस्थापन गर्दैछ ।निर्वाचन प्रणाली र सम्वद्ध कानुन राजनीतिक क्षेत्रमा लैङ्गिक/ सामाजिक समावेशीकरणको लागि एउटा महत्वपूर्ण ‌औजार हो । 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार