• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
बिश्व

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । इन्फोर्समेन्ट डायरेक्टोरेट (ईडी) ले दिल्लीको नयाँ मदिरा बेचबिखन सम्बन्धी नीतिमा चलखेल गरेको आरोप लगाउँदै मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरेको हो ।

 

ईडीको टोली बिहीबार साँझ ७ बजे १० औं ’समन’ र सर्च वारेन्ट लिएर केजरीवालको घर पुगेको थियो । दुई घण्टाको सोधपुछपछि उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

 

दिल्ली सरकारले आम आदमी पार्टीमा पैसा जाने गरी मदिरा नीतिमा फेरबदल गरेको आरोप लगाएको छ । तर, आम आदमी पार्टीले भने केजरिवाललाई फसाउन खोजिएको बताउँदै आएको छ । आज मात्र उच्च अदालतले दिल्लीका मुख्यमन्त्रीको पक्राउमा रोक लगाउने निवेदन खारेज गरेको थियो । उनले अदालतबाट इडीमा सोधपुछका लागि गएमा आफूलाई गिरफ्तार नगर्ने आश्वासन मागेका थिए ।

 

मदिरा नीति मुद्दामा केजरीवाललाई २७ फेब्रुअरी, २६ फेब्रुअरी, २२ फेब्रुअरी, २ फेब्रुअरी, १७ जनवरी, ३ जनवरी र २०२३ मा २१ डिसेम्बर र २ नोभेम्बरमा समन पठाइएको थियो । तर, उनी एकपटक पनि सोधपुछका लागि उपस्थित भएका थिएनन् । 

 

भारतीय मिडिया रिपोर्टका अनुसार केजरीवाल पक्राउ पश्चात दिल्लीकी मन्त्री तथा आम आदमी पार्टीकी नेता आतिशीले केजरीवालले दिल्लीको मुख्यमन्त्री पदबाट राजिनामा नदिने बताएकी छिन्  । उनले जेलबाटै दिल्लीको सरकार चलाउने उनको भनाई छ । उनलाई भोलि नै अदालतमा पेस गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार