• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
बिश्व

तारा विस्फोटन भएपछि के भयो ?

काठमाडौं । ब्रह्माण्डमा भएको एउटा चर्चित विस्फोटनसँग सम्बन्धित रहस्य खुलेको वैज्ञानिकहरूले बताएका छन्। सन् १९८७ को फेब्रुअरी महिनामा हाम्रो आकाशगङ्गाबाट नजिकै रहेको तारापुञ्जमा एउटा तारा विस्फोटन भएको देखिएको थियो। त्यस क्रममा १० करोडवटा सूर्यको शक्ति जति उज्यालो निस्किएको पृथ्वीबाट धेरै महिना देखिएको थियो।

 

तारा विस्फोटन हुँदा यति धेरै भग्नावशेष निस्किएको थियो कि शक्तिशाली टेलिस्कोपहरूले त्यहाँ के बाँकी रह्यो भन्ने पत्ता लगाउनै सकेनन्। अहिले वैज्ञानिकहरू उक्त विस्फोटनबाट 'न्यूट्रन तारा' बनेको र त्यो निकै सघन भएको निष्कर्षमा पुगेका छन्। उनीहरूका अनुसार त्यो ताराको एक चम्चाजति अंश एक करोड टनजति गह्रुँगो छ।

 

अनुसन्धानकर्ताहरूको टोलीले उक्त 'हत्याको रहस्योद्घाटन' गरेको 'बीबीसी स्काई एट नाइट' की प्रस्तोता डा म्यागी एडरिन-पोककले बताएकी छन्।'यो एउटा ताराको मृत्युको विषय हो अनि जे बाँकी रह्यो त्यसवरिपरि धुलोको आवरणमा के छ भन्ने कुरा चाहिँ रहस्य बन्यो,' उनले भनिन्। विस्फोटन भएको त्यो विशालकाय तारा 'ब्ल्यू सुपरजायन्ट' थियो। त्यसको पिण्डमान हाम्रो सूर्यको भन्दा २० गुना बढी थियो। सुपरनोभा भनिने प्रक्रियामा पुगेपछि त्यसको अस्तित्व रोचक तरिकाले सकियो।

 

खगोलशास्त्रीहरूले उक्त सुपरनोभालाई साङ्केतिक रूपमा एसएन १९८७ भन्ने गरेका छन्। उक्त सुपरनोभा खाली आँखाले ४०० वर्षमा देखिएको त्यस प्रकारको पहिलो घटनाक्रम थियो। अनि वैज्ञानिकहरूले विस्फोटन सुरु हुनुभन्दा अघिदेखि नै उक्त ताराको अवस्था हेर्दै र त्यसबारे अभिलेख राख्दै आएका थिए।

 

एसएन १९८७एसँग सम्बन्धित रहस्य खोतल्न डा एडरिन-पोककले पहिला एउटा परियोजनामा काम गरेकी थिइन्। उनका अनुसार त्यो तारा लाक्षणिक तथा वास्तविक दुवै रूपमा ठूलो थियो।'देखिने भएकाले वैज्ञानिक समुदायबाहिर पनि त्यसले ख्याति पाएको थियो। अनि एसएन १९८७ए खगोलशास्त्रीहरूको निकै प्यारो थियो किनभने त्यो 'पृथ्वीबाटे सापेक्षित रूपमा नजिक थियो र उनीहरूले उक्त ताराको जीवनचक्रलाई विस्तृत रूपमा अवलोकन गर्न र अभिलेखमा राख्न पाएका थिए।' बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार