• मंगलबार ७-६-२०८१/Tuesday 10-22-2024
राजनीति

पुर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई राप्रपा नेपालका अध्यक्ष कमल थापाकाे खुलापत्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई जनमत संग्रह गर्न खुलापत्रमार्फत चुनौती दिएका छन ।

 

प्रिय माधव जी, राजालाई चुनाव लड्न आउ भन्नु भएको समाचार सुने। डेढ दशकदेखि राज्यसत्ता छोडेर स्वतन्त्र र सचेत नागरिकको जीवन निर्वाह गरिरहनु भएका राजा ज्ञानेन्द्रलाई गाली गरेर वा उहाँको राष्ट्र प्रतिको चिन्तालाई आलोचना गरेर लोकप्रिय भईन्छ भन्ने भ्रमबाट पुर्व प्रधानमन्त्री समेत भैसकेको तपाईं अझै मुक्त हुननसकेको देख्दा उदेक लागेको छ।

 

२०६२/६३ को आन्दोलन दरबारसँग सम्झौता गरेर टुङ्गिएको घटनाको तपाईं स्वयं साक्षी हुनुहुन्छ। राजा ज्ञानेन्द्रबाट २०६३ बैशाख ११ गते राती भएको घोषणाको मस्यौदाकार मध्ये तपाईं पनि एक हुनुहुन्छ। त्यसबेला राजासँग भएको भद्र सहमतिको उल्लंघन गरेर बिदेशीको दवाव र प्रभावमा षड्यन्त्रपूर्वक राजसंस्था पाखा लगाएर खडा गरिएको संघीय गणतन्त्र अहिले भ्रष्ट व्यवस्थामा रुपान्तरण भएको छ। ललिता निवास जग्गाकाण्ड, सुनतस्करी र नक्कली भुटानी शरणार्थी काण्ड लगायतका दर्जनौ भ्रष्टाचार काण्डमा स्वयं प्रधानमन्त्री, मन्त्री र सरकार नै संलग्न रहेका छन्। शायद तपाईंको पनि नाम मुछिएको छ।

 

अहिले चुनाव लड्न, सत्तामा पुग्न र पुगेपछि सरकार टिकाउन बिदेशीको नेपालमा आशिर्वाद र सहयोग लिने आत्मसमर्पणवादी प्रवृत्ति हावी भएको छ।

 

देशभित्र सामान्य जागिर नपाएर लाखौं युवाहरु बिदेशिन बाध्य भएका।

 

धर्मपरिवर्तनको डढेलोले देश आक्रान्त भएको छ।

 

यो अवस्थामा जनताले भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति खोजेका छन्। नैतिक शक्ति बोकेको साझा अभिभावकको रुपमा राजसंस्था खोजेका छन्। त्यसैले राजसंस्थाको लोकप्रियता बढेको छ।

 

वंश परम्परामा आधारित राजसंस्था तपाईंलाई मन नपरेको होला। तपाईँलाई त्यस्तो धारणा राख्ने अधिकार भए जस्तै राजासहितको प्रजातन्त्र नेपालको निम्ति उपयुक्त हुन्छ भन्ने अधिकार हामीलाई पनि छ।

 

यदी तपाईलाई संघीय गणतन्त्र र धर्मनिरपेक्षता साह्रै लोकप्रिय छ, जनताले खोजेका छन् भन्ने लाग्छ भने एकपटक यो विषयमा जनतालाई नै सोधौँ न । हिन्दुराष्ट्र वा धर्मनिरपेक्षता, राजसंस्था वा गणतन्त्र र संघीयता वा अखण्ड नेपाल मध्य के राख्ने भन्ने वारे जनमत संग्रह गरौँ। सँधैको लागि यो विवादको छिनोफानो गरौँ। वर्तमान संविधानमा पनि जनमत संग्रहको प्रावधान छ। तपाईँ स्वयं सत्तारुढ गठबन्धनको प्रमुख नेता हुनुहुन्छ। सक्नुहुन्छ हुन्छ जनमत संग्रह गर्न? यो राजावादीको तर्फबाट तपाईँलाई चुनौती भयो माधव जी।

 

तपाईँको मित्र - कमल थापा

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार