• आइतबार ४-६-२०८१/Sunday 07-21-2024
रंगमञ्च

नाटकमय सहर

यति बेला सहरमा चार वटा नाटक मञ्चन भइरहेका छन् । ‘ह बिन्दु राम पण्डित’, ‘दमिनी भिर’, ‘वेडिङ एल्बम’ र ‘म पनि मान्छे हुँ’ क्रमशः शिल्पी थिएटर, मण्डला थिएटर, कौसी थिएटर र कुञ्ज थिएटर (गुरुकुल) मा मञ्चन भइरहेका छन् । यी चार वटै नाटकले दर्शकलाई अलग्गै स्वादको कथा पस्कन खोजेको छ ।

 

ह बिन्दु राम पण्डित

‘ह बिन्दु राम पण्डित’ बरात लिम्बूले निर्देशन गर्नुभएको हो । यस नाटक हेरेर दिइने हरेक आलोचना र विवेचनालाई हामी सहर्ष स्विकार्छौं भन्दै निर्देशक लिम्बूले नाटक हेरेर आलोचनात्मक टिप्पणी गर्दा हामीलाई खुसी लाग्ने बताउनुभयो । मानिस मरेपछि उसले जीवनमा गरेका कामको आधारमा उसको मृत्युपछि स्वर्ग वा नरकमा स्थायी रूपले जानुपर्ने कुरा हिन्दु धर्ममा रहेको लोक विश्वास नाटकले प्रस्तुत गर्छ । मानिस मरेपछि पनि कसरी उसको पाप र धर्मको लेखाजोखा हुन्छ, ककसले यो काममा प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका खेल्छन् जस्ता विषय यस नाटकमा प्रस्तुत गरिएको छ । विशेष गरी नेपाली समाजमा सर्वसाधारणले सरकारी कार्यालयका कर्मचारीबाट सानातिना कुरामा पनि कसरी ठुला समस्या र झन्झट बेहोर्छन् भन्ने देखाइएको छ ।

दैलो प्रोडक्सनको प्रस्तुति र भैरव पुरस्कार गुठीको सहकार्य रहेको यस नाटकमा सङ्गीत नरेश गजुरेल र अर्पन महर्जनले दिनुभएको छ । सेट निर्माण हुम बिसी र सेट डिजाइनिङ प्रवीण खतिवडाको रहेको छ । हास्यव्यङ्ग्यका बादसाह भैरव अर्यालको लेखन रहेको काउकुती, जय भुँडी, इतिश्री निबन्ध सङ्ग्रहभित्रको विषयकै आधारमा नाटक तयार पारिएको निर्देशक लिम्बूले जानकारी दिनुभयो । 

 

दमिनी भिर

मण्डला थिएटरमा नाटक ‘दमिनी भिर’ मञ्चन भइरहेको छ । नाटकमा सङ्क्रमणकालीन नेपाली समाजको वस्तुगत अवस्था, मनोविज्ञानबारे गहिरो चित्रण गरिएको छ । नेपाली समाजको संस्कृति, संरचना र सभ्यतालाई मुख्य रूपमा उठान गरिएको छ । सामाजिक विसङ्गति र विद्रोही चेतना मूल स्वर बनेर आएका छन् । जातीय पहिचानको मुद्दा पनि नाटकमा सशक्त रूपमा प्रस्तुत गरिएको छ । राजनीतिक आरोह अवरोह र आन्दोलनको शिथिलताका कारण उत्पन्न निराशावादी जीवनदृष्टि पनि यसमा मुखरित हुन पुगेको छ । समतामुखी समावेशी चिन्तनको अभिव्यञ्जना पनि पाइन्छ नै ।

यस पटकको नाटक यात्रा उँधो लाग्ने उँधौलीलाई उँभो लाग्न उँभौलीले डाके जस्तो हो कि भन्ने लाग्न थालेको बताउनुहुन्छ नाटकका निर्देशक इँगिहोपो । उहाँ भन्नुहुन्छ, “जसरी उपन्यासले एउटा कालखण्ड, समस्या र सवाल बोकेको छ, त्यो समस्यामाथिको सवाल आज पनि उत्तिकै सान्दर्भिक भएको हुँदा यस उपन्यासलाई नाटकका रूपमा प्रस्तुत गरिएको हो ।” 

इँगिहोपो कोइँच सुनुवारको परिकल्पना तथा निर्देशनमा बनेको नाटक राजन मुकारुङको उपन्यास दमिनी भिरमा आधारित छ । यो उपन्यास मदन पुरस्कार २०६९ बाट पुरस्कृत भएको थियो । थैली इन्टरटेनमेन्टको सहकार्यमा नाटक तयार भएको हो । साहित्यकार मुकारुङको लेखनमा निर्माण गरिएको यो पाँचौँ नाटक हो । यसअघि उहाँको लेखनमा ‘घुम्रिएको कपाल’, ‘जोखाना’, ‘हेच्छाकुप्पा’ र ‘खुवालुङ’ मञ्चन गरिएको थियो । 

 

वेडिङ एल्बम

कथा घेराको प्रस्तुति नाटक ‘वेडिङ एल्बम’ दक्षिण एसियाली पितृसत्तात्मक समाजमा निहित विरोधाभासहरू समेटी भारतीय नाटककार गिरीश कर्नाडले लेख्नुभएको हो । यसको अनुवाद तथा निर्देशन आकाङ्क्षा कार्कीले गर्नुभएको हो । योनीका कथाहरू, लाइन, प्राइभेट इज पोलिटिकल, एनिमल फार्म, हरेक बबाल कुरालगायत अनुदित नाटकबाट नेपाली रङ्गमञ्चमा प्रबल स्थान बनाएकी आकाङ्क्षा कार्कीले पुनः अनुवादित नाटक तयार पारेर दर्शकलाई पस्कनुभएको छ । आफू हुर्किएको मध्यमवर्गीय क्षेत्रीबाहुन समाजको संरचनामा उर्लिएर आउने गरेको ढोङ र भेदभावलाई प्रश्न गर्न यो नाटक सक्षम भएकाले पनि मञ्चन गर्ने निर्णय गरेको कार्कीले बताउनुभयो । “हाम्रो कथामा के पर्छ र के पर्दैन, त्यो निरपेक्ष हुँदैन । मलाई तिनै नाटक गर्न मन पर्छ, जुन पढ्दा मलाई नाटकले आफूलाई र आफू वरिपरिका युवालाई बुझेको महसुस हुन्छ । यस्ता नाटकले हाम्रो कथा भनिरहेका छैनन् भन्न कसरी सकिन्छ,” उहाँले भन्नुभयो । 

नाटकमा मध्यम वर्गीय सहरी ब्राह्मण परिवारको चित्रण गरिएको छ । जुन परिवार शिक्षित, उदार र आधुनिक छ । यद्यपि ब्राह्मणहरूले विवाह र सांसारिक, गृहस्थ जीवनलाई उच्च मूल्य दिने भएकाले त्यस समुदायका कन्याका लागि, विवाह सबैभन्दा महत्वपूर्ण जीवन–चक्र हो भनी सिकाइन्छ । दुई मनबिचको मिलनमा धन, वर्ग, यौन र परम्परा कसरी झटारो भनेर ठडिन्छ भन्ने नेपाली मानसिकताका बारेमा केही गहिरो मर्मस्पर्शी अन्तर्दृष्टिहरू कथावस्तुका रूपमा नाटकमा देखाउन खोजिएको छ । नाटकको मञ्च परिकल्पना झकेन बिसी र नीराजन डोटेलले गर्नुभएको छ भने ध्वनि परिकल्पना नरेश गजुरेल र सुरज मल्लले गर्नुभएको छ । 

 

म पनि मान्छे हुँ

म पनि मान्छे हुँ (मै भी मानव हुँ) भारतीय नाटककार विष्णु प्रभाकरद्वारा लिखित तथा सरोज अर्यालले नेपालीमा अनुवाद गर्नुभएको नाटक हो । नाटकले मनोविज्ञान, शक्ति र राजनीतिका प्रबल विषयको उठान गरेको छ । राजा अशो नाटकको विषय हो । राजाले बौद्ध शिक्षामा पालन गर्ने विषय नाटकमा केन्द्रित छ । पात्रहरूको सङ्कीर्ण मानसिकताले दर्शकलाई बन्धी बनाउन नाटक सफल छ ।

पद्मश्री पुरस्कारबाट सम्मानित नाटककार विष्णु प्रभाकरको मूल पाठलाई अनुवाद गर्नु कुनै चानचुने कुरा नभएको बताउनुहुन्छ, नाटकका निर्देशक सरोज अर्याल । उहाँ भन्नुहुन्छ, “नाटक हालको विश्व राजनीतिक परिप्रेक्ष्यसँग मेल खान्छ । त्यसैले दर्शकलाई एउटा नयाँ स्वाद दिउँ भनेर यो नाटक बनाएको हुँ ।” सुकृत नेपाल/गोरखापत्र  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार