कमला ह्यारिसको जीवनी नेपालीमा

काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला हृयारिसको जीवनी नेपाली भाषामा अनुवादित भएको छ । ‘द ट्रुथ वी होल्ड’को नेपाली अनुवाद ‘सत्यको जगमा उभिएर’ सार्वजनिक भएको हो। पुस्तकको अनुवादक विप्लव प्रतीक र लेखक/अनुवादक सगुना शाह तथा वी रिडकी सीइओ सुनिती अमात्यले विमोचन गरे ।
विमोचनअघि अनुवादक प्रतीकसँग शाहले संवाद गरेकी थिइन् । कमला हृयारिसलाई कसरी सत्यको जगमा उभिएको पाउनुभयो भन्ने प्रश्नमा प्रतीकले सुरुवातीदेखिकै हरेक यात्रा र संघर्षमा कमला सत्मार्गमा हिँडेको आफूले पाएको बताए । ‘उनको जीवन नै हरेक मानिसलाई प्रेरणा र ऊर्जा दिने दिने खालको छ,’ उनले भने ।
रंगभेद तथा बालबालिका र महिलामाथिको विभेद, अदालतमा बयानक्रममा उनीहरुको परिस्थितबारे हृयारिसले गरेको अनुभव आफूलाई मन परेका शाहले बताइन् । आप्रवासी आन्दोलनदेखि समलिंगी, तेस्रोलिंगी, आर्थिक व्यवस्था लगायतका विषय पनि महत्वका साथ आएको उनको भनाइ थियो ।
एक अधिकारकर्मी, सामाजिक न्यायकी अभियन्ता, क्यालिफोर्नियाकी सिनेटर एवं उपराष्ट्रपति ह्यारिसलाई नजिकबाट चिनाउने पुस्तक हो यो । जनताको न्यायका लागि लडिरहेका उनका प्रारम्भिक दिन अनि राजनीतिमा उनको प्रवेश र यसभित्रका संघर्षलाई पुस्तकले बयान गरेको छ ।
जमैकेली बुबा र दक्षिण भारतीय आमाकी छोरी ह्यारिसले समानता र राज्य प्रणाली सुधारका लागि गरेका संघर्षका प्रेरणादायी गाथा यसमा समेटिएको छ । ह्यारिसको बुबाआमाबीच पारपाचुके भएपछि आमा श्यामलाले कसरी आफ्ना दुई छोरीलाई हुर्काइन्, दीक्षित गरिन् र सत्यको जगमा उभिएर दुनियाँ देखाउने मार्ग रोजिन् भन्ने कुरा किताबमा भेटिन्छ ।
प्रतिकृया दिनुहोस