• बुधबार १-२६-२०८१/Wednesday 05-08-2024
प्रविधी

सूचना प्रविधि र इन्टरनेटमा महिलाका सवाल विषयक छलफल 

दाङ । महिला सेवा संस्था नेपालको आयोजना तथा नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा आज दाङको घोराहीमा सूचना, प्रविधि र इन्टरनेटसंग सम्वन्धीत महिलाका सवाल विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ ।  संस्थाकी अध्यक्ष भावना भट्टको अध्यक्षता तथा सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सूचना प्रविधिमा महिलाको पहुँच वृद्धि र साइवर सुरक्षाका विषयमा विज्ञहरुको प्रस्तुति राखिएको थियो । 

 

कार्यक्रममा सम्वोधन गर्दै सञ्चारमन्त्री शर्माले सूचना प्रविधिमा महिलाको पहुँच स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । दोहोरो, तेस्रो जिम्मेवारी बोकेका महिलालाई सूचना प्रविधिले काममा सहजता ल्याउने बताउनुभयो ।  हिजो महिला अधिकारका लागि महिलालाई नै संगठित ग¥यौं, राजनीतिक गतिविधमा जोड्यौं, त्यसकै बलमा यो देशको राष्ट्रपति महिला, सभामुख महिला र प्रधानन्यायाधिस महिला हुनुभयो मन्त्री शर्माले भन्नुभयो, अब महिलालाई सूचना प्रविधिसँग जोडेर देश समृद्ध बनाउन अभियानकै रुपमा लाग्नुपर्छ । हिजो जस्तो राजनीतिक आन्दोलन अहिले काम लाग्दैन । फेरिएको राजनीतिक आन्दोलनमा सूचना प्रविधिलाई महिलासँग जोड्ने कुरा अहिलेको प्राथमिकता र आवस्यकता हो मन्त्री शर्माले भन्नुभयो, यो हरेक राजनीतिक दलका महिला संगठनमा सूचना प्रविधि विभाग बनाएर महिलालाई प्रविधियुक्त बनाउन जरुरी छ । सूचना प्रविधिले नै महिलालाई सूचनामा सशक्त, प्रविधिमा दक्ष र सिंगा परिवार र समाजलाई नै स्मार्ट बनाउने उहाँको भनाई छ । तर सूचना प्रविधिसँग विकृति पनि सँगसँगै आएको भन्दै उहाँले विकृति रोक्न सरकारले साइवर सुरक्षा कानुन ल्याउन लागेको जानकारी दिनुभयो ।

 

उहाँले कानुन भएरमात्रै विकृति रोक्न नसकिने भन्दै सूचना प्रविधिको सदुपयोग र दुरुपयोगका विषयमा हरेक नागरिक सचेत हुनुपर्ने बताउनुभयो । सदुपयोग गरे सूचना प्रविधिले जीवन नै बदल्न सकिने भन्दै मन्त्री शर्माले दुरुपयोग गरे आफैले वर्वादी व्यहोर्नुपर्ने बताउनुभयो । 

 

प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्दै दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तमप्रसाद खनालले सूचना प्रविधिले नै विश्वलाई एक बनाएको उल्लेख गर्दै यसको दुरुपयोग हुँदा व्यक्ति, परिवार र सामाजिक सम्वन्ध नै विग्रिएर गएको बताउनुभयो । सो अवसरमा बोल्दै दाङका प्रहरी प्रमुख एसपी बीरबहादुर वलीले साइवर सुरक्षाकै असावधानीले अपराध बढिरहेको बताउनुभयो । 

 

वितेको एक वर्षमा दाङमा साइवरसम्बन्धी १ सय ४८ उजुरी परेको र ९५ वटा केन्द्रमा पठाएको, ४९ वटामा मिलापत्र गराएको र ४ वटामा मुद्दा चलाएको एसपी वलीले बताउनुभयो । सामाजिक सञ्जालमा छद्म आइडि बनाएर अर्को व्यक्तिको बदनाम गराउने, पैसा माग्ने, अश्लिल भिडियो वा चित्र पठाउने, पासवर्ड लिएर सोसल मिडियाको दूरुपयोग गर्ने, गोप्य वार्ता तथा अंग सार्वजनिक गर्ने नाममा स्वार्थजन्य काम गर्नेलगायतका अपराध महिलामाथि हुने गरेको जानकारी दिइएको थियो । 


 
कार्यक्रममा दुरसञ्चार र यसको भूमिकालगायतका विषयमा पनि छलफल गरिएको थियो । कार्यक्रममा संस्थाकी अध्यक्ष भावना भट्टले सूचना प्रविधि र इन्टरनेट सेवामा महिलाका सवालबारे छलफल हुन जरुरी रहेकोले कार्यक्रम गरिएको बताउनुभयो ।

 

कार्यक्रममा प्राधिकरणका निर्देशक विजयकुमार राय, न्याय परिषदका पूर्व सदस्य पदम वैदिक, दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्य, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहज्किरण संस्थाकी सचिव लिला शर्माले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार