• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
खेलकुद

फुटबलको पर्याय पेले

नेपालमा दशकौँदेखि कुस्तीको पर्याय दारासिंह, बक्सिङको पर्याय क्यासेस क्ले अर्थात् मोहम्मद अली र फुटबलको पर्याय पेले हुँदै आएका छन् । यी व्यक्तिहरूले हाम्रो मनमस्तिष्कमा निक्कै गहिरो जरा गाडेर बसेका छन् भने यिनीहरू मध्ये पनि पेले त आजका नयाँ पिँढीको मस्तिष्कमा पनि डेरा जमाएर बस्न सफल भएका छन् ।

 

कतारको राजधानी दोहामा हालै सम्पन्न भएको विश्वकप फुटबल म्याचहरू हेर्न पेले निक्कै बिरामी भएकाले त्यहाँ जान सकेनन् । बरु म्याच चलि नै रहँदा उनी आफ्ना अन्तिम दिनहरू अस्पतालमा बिताइरहेका थिए, तर पनि बाँच्ने कुरामा उनी आशावादी नै रहेको कुरा बताएका थिए । 

 

सन् १९४० अक्टुबर २३ मा ब्राजिलमा जन्मेका पेलेको खास नाम एड्सन् अरान्तेस डो नासिमेन्टो थियो। तर छोटकरीमा उनी पेले भनेर नै चिनिन्थे । उनका पिता पनि युवावस्थामा फुटबल खेल्दथे र उनको नाम जाओ रामोस डो नासिमेन्टो भए पनि छोटो नाम भने डोनाडिन्हो थियो। दुई छोराका पिता डोनाडिन्होले जेठा छोरा पेलेको नाम अमेरिकी वैज्ञानिक थोमस आल्वा एडिसनको नामबाट राखेका थिए ।

 

१५ वर्षको उमेरमा ‘सान्टोस’ नामक प्रख्यात ब्राजिलियन क्लबबाट फर्वार्डको रूपमा फुटबल प्रतियोगिताहरूमा खेल्न शुरु गरेका पेलेले १६ वर्षकै उमेरमा बाज्रिलको राष्ट्रिय टिमबाट खेल्न शुरु गरेका थिए । उनी स्कुले ठिटा छँदा नै घरदेखि स्कुलसम्म बल जमिनमा खस्नै नपाउने गरी निरन्तर हावामा खेलाउँदै आफ्ना साथीहरूलाई छक्क पारिदिने गर्दथे रे ।

 

विश्वकप फुटबलमा लामो इतिहास बनाएको ब्राजिललेअहिलेसम्म ५ पटक च्याम्पियन हुने मौका पाएको छ भने ती मध्ये ३ वटा विश्वकप पेलेकै कारण हात पार्न सफल भएको थियो । सन् १९५८ मा स्वेडेनमा आयोजित विश्वकप प्रतियोगितामा पेलेकै कारण पहिलो चोटी ब्राजिल विश्वविजेता बनेकोथियो । त्यतिबेलाका १७ वर्षे पेलेले सो विश्वकपको क्वार्टरफाइनल खेलमा १–० ले वेल्सलाई हराउन गोल गरेका थिए भने सेमिफाइनलमा त फ्रान्स विरुद्ध पेलेले ह्याट्रिक गोल नै गरेर ५–० को अन्तरले ब्राजिल बिजयी भएको थियो । त्यस्तै फाइनल खेलमा खेल आयोजक स्वेडेनलाई ५–० ले हराएर ब्राजिल विश्व विजेता हुँदा पेलेले २ गोल गरेका थिए । यो विश्वकप पछि पेले निरन्तर रूपमा फुटबल खेलका वादशाह हुने होडमा अघि बढ्न थालेका हुन् ।

 

सन् १९६२ मा चिलीमा आयोजित विश्वकपमा पनि दर्शकहरू २१ वर्षिय पेलेको चमत्कारिक खेल प्रदर्शनको आशामा थिए । तर एउटा खेलमा घाइते भएपछि भने उनले त्यो पुरै प्रतियोगितामा कुनै उपलब्धि हासिल गर्न सकेनन् । सो प्रतियोगिताको फाइनलमा ब्राजिलका उत्कृष्ठ खेलाडीहरू पेले र गेरिन्चा दुवै खेल्न असमर्थ भएपछि पनि अमारिल्डो, जिटो र भाभाको गोलले गर्दा ब्राजिलले चेकोस्लोभाकियालाई ३–१ गोलले हराएर दोश्रो पटक विश्वकप हात पार्न सफल भयो । यो खेलमा पहिलो गोल भने चेक खेलाडी जोसेफा मासोपुस्टले गरेका थिए ।

 

सन् १९६६ मा वेलायतमा भएको विश्वकपमा पराजय पश्चात सन् १९७० मा मेक्सिकोमा आयोजित विश्वकपमा ब्राजिलको टिम र पेले दुवैले विलक्षण खेलको प्रस्तुती गरे । यो विश्वकपमा ब्राजिलले खासै राम्रो खेल प्रदर्शन नगर्ने कुरा धेरैले सोचेको भएता पनि अन्तमा ब्राजिलका पेले, कार्लोस अल्बर्टो र जाइरजिन्होको सत्प्रयासले ब्राजिलले इटालीलाई ४–१ को अन्तरले हराएर तेस्रो चोटी विश्वकप हात पार्न सफल भयो ।  यसरी बीचमा सन् १९६६ वाहेक लगातार ३ वटा विश्वकपमा ब्राजिललाई विश्व च्याम्पियन बनाएर पेले फुटबलको संसार र इतिहासमा अमर पात्र बन्न पुगे ।

 

विश्वकप खेलबाट पेलेको विश्राम पछि २४ वर्षसम्म ब्राजिल उपलब्धिविहिन भएता पनि पेलेकै पदचापमा उसले निक्कै राम्रा खेलाडीहरू जस्तै डुङ्गा, फ्रेन्को, रोमारियो आदि जस्ता खेलाडीलाई जन्माएको थियो । यिनै खेलाडीको प्रयास र केही हदसम्म इटालीका बाजियो जस्ताले पेनाल्टी सुटआउट मिस गरेपछि भने सन् १९९४ को विश्वकपमा ब्राजिलले चौथो पटक जित हासिल गर्‍यो । सन् १९९८ मा फ्रान्ससँग वल्र्डकपको फाइनलमा पराजित भएपछि २००२ मा भने ब्राजिलले रोनाल्डो जस्ता नयाँ पिँढीका सशक्त खेलाडीको मद्दतले जर्मनीलाई फाइनलमा हराएर पाचौँ पटक विश्वकप विजेता हुने मौका पायो । आज ब्राजिल वा अन्य मुलुकमा जति पनि नयाँ पिँढीका फुटबल खेलाडीहरू छन्, तिनीहरू कुनै न कुनै प्रकारले पेलेबाट प्रभावित नै छन् । 

 

सन् २००२ पछिको २ दशकमाभने ब्राजिलले एउटै पनि विश्वकप जित्न सकेको छैन । २०२२ को कतार विश्वकपमा टप १६ मा परेको ब्राजिलले क्रोएसियासँग क्वार्टरफाइनलको पेनाल्टी सुटआउटमा हार बेहोरेर बाहिरिनु परेको थियो ।

 

ब्राजिल तथा सम्पुर्ण अमेरिकी राष्ट्रहरूले फुटबल सिकेका नै यो खेलको उत्पत्ति वेलायतमा भएपछि हो । उरुग्वे, ब्राजिल, अर्जेन्टिना, चिली, मेक्सिको आदिले यो खेलमा ज्यादै धेरै प्रगति गरे । यी देशका जनताको मुटुको धडकनमा नै फुटबल लुकेको छ । सन् १९५० मा ब्राजिलले आफ्नै मुलुकको राजधानी रियो डे जेनेरियोको स्टेडियममा उरुग्वेसँगको विश्वकपको फाइनलमा पराजय भोगेपछि त्यहाँ उपस्थित २००,००० भन्दा बढी दर्शकमध्ये अधिकांश र रेडियोमा कमेन्ट्री सुनिरहेका सम्पुर्ण ब्राजिली जनता चरम पिडाले ग्रसित हुन पुगेका थिए । त्यतिबेलासम्म सेतो जर्सी लगाउने ब्राजिली टिमले तत्पश्चात सो जर्सी पनि त्यागेर हालका जस्ता पहेँला, हरिया जर्सी लगाउन थालेका हुन् ।

 

सुन्नमा आए अनुसार सन् १९५० को विश्वकपमा ब्राजिलले पराजय भोगेपछि कोठामा बसेर रोइरहेका आफ्ना पितालाई पेलेले एक दिन आफुले ब्राजिलको शानलाई फर्काउने बाचा गरेका थिए रे । नभन्दै त्यसको ८ बर्षपछि भएको विश्वकपमा उनले ब्राजिललाई बिजयी गराउन ठूलो भूमिका निर्वाह गर्न सके ।

 

खेलबाट सन् १९७७ मा सन्यास लिएपछि सोही वर्ष पेलेले आफ्नो आत्मवृत्तान्त ‘माई लाइफ एण्ड द ब्युटिफुल गेम’ सार्वजनिक गरेका थिए । पुस्तकमा उक्त पुस्तकको समर्पण पृष्ठमा उनले ‘म यो पुस्तक ती सबै व्यक्तिहरूमा समर्पण गर्दछु, जसले यस महान खेललाई सुन्दर खेल बनाएका छन्’भनेर लेखेका छन् । यो भन्दा पहिले पनि फुटबल र अन्य खेललाई ‘सुन्दर खेल’ भनेर विभिन्न हस्तीहरूले भनेका भएता पनि पेलेले यो पुस्तकमा फुटबललाई ब्युटिफुल गेम भनेर नामाकरण गरेपछि भने फुटबल र सुन्दर गेम पनि फुटबल र पेले भनेजस्तै पर्यायवाची शब्द बन्न पुगे । उनी विश्वका विभिन्न संस्थाहरू मार्पmत विश्वव्यापी राजदूतको रूपमा पनि चिनिने गरेका थिए । 

 

पेलेलाई फिफाले महानतम् फुटबलरको संज्ञा दिएको छ । त्यस्तै सन् १९९९ मा अन्तर्राराष्ट्रिय ओलम्पिक कमिटीले पेलेलाई शताब्दिका महान् खेलाडी घोषित गर्‍यो भने त्यतिबेला नै अमेरिकाबाट प्रकाशन हुने प्रख्यात ‘टाइम’ पत्रिकाले उनलाई बिसौँ शताब्दिका १०० महान् व्यक्तिहरू मध्ये एक मानेको थियो ।उनले आफ्नो पुरा क्यारियरमा १,३६३ औपचारिक खेलहरूमा भाग लिएर कुल १,२७९ गोल गरेर गिनिस बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएका थिए भने प्रत्येक खेलमा कम्तिमा लगभग एक गोल गर्ने एकमात्र व्यक्तिको रूपमा पनि चिनिएका थिए । उनको खेल जीवनकालमा उनी विश्वकै सबैभन्दा बढी मूल्यका खेलाडी बन्न सफल भएका थिए । उनले अवकाशप्राप्त जीवनमा पनि धेरै प्रकारका पुरस्कार, अलङ्कार र पदहरू पाएका थिए ।

 

ब्राजिलका महान् हिरोको रूपमा पुजिएका पेलेले त्यहाँका गरिव र विपन्न वर्गको हितमा सँधै बोलिरहे भने उनैको कारण त्यहाँका सरकारहरूले त्यस्ता पिछडिएका वर्गको हितमा विभिन्न प्रकारका कार्यक्रमहरू ल्याएर कार्यान्वयन गर्न पनि वाध्य हुनु प¥यो । यसरी ब्राजिलको आर्थिक र सामाजिक विकासमा पेलेको भूमिका उच्च रहेको छ । त्यति मात्र होइन, संयुक्त राज्य अमेरिकामा समेत अश्वेत जातीहरूले आफ्ना हकहितको निम्ति लडिरहेको बेलामा पेलेले सन् १९५८ मा फुटबल  मार्फत कमाएको लोकप्रियताले विश्व कै अश्वेत आन्दोलनलाई अघि बढाउन निक्कै मद्दत गरेको थियो । सन् १९६९ मा नाइजेरियाको पुरानो राजधानी लागोसमा आयोजित पेलेको सौहाद्रपूर्ण फुटबल खेल हेर्न त्यहाँकोगृहयुद्धमा संलग्न दुई पक्षले २ घण्टासम्म युद्धविराम नै गरेका थिए  ।

 

पेलेले आफ्नो जीवनको अन्तिम अन्तर्राष्ट्रिय फुटबल खेल आफ्नै देशको राजधानी रियोमा सन् १९७१ जुलाई १८ मा युगोस्लाभियासँग खेले । पेलेलाई महान खेलाडीको रूपमा दक्षिण अफ्रिकाका राजनेता नेलशन मण्डेलादेखि अमेरिकी पूर्वविदेश मन्त्री हेन्री किसिन्जर लगायत विश्वभरका धेरै नेताहरूले उनको खेलको तारिफमा धेरै कुरा बोलेका छन् । एकजना पत्रकारको ‘जेजस क्राइस्ट र पेलेमा को बढी प्रसिद्ध ?’ भनेर पेलेलाई सोध्दा उनले मुसुक्क हाँसेर ‘जेजस विश्वका सबै ठाउँमा प्रसिद्ध छैनन्’ भनेका थिए ।  

 

पेलेले सन् १९९५ जनवरीमा ब्राजिलको खेलकुद मन्त्री बनेर खेलकुदको हितमा काम गर्ने मौका पनि पाए । त्यस्तै सन् २०१३ मा ब्राजिलमा भएको राजनीतिक प्रदर्शनलाई बिर्सेर ब्राजिलियन जनतालाई राष्ट्रिय खेलकुद टिमलाई समर्थन गर्न पेलेले अनुरोध गरेका थिए । हालै २०२२ जुनमा उनले रुसी राष्ट्रपतिलाई चिठी लेखेर युक्रेनसँगको युद्ध अन्त गर्न पनि अनुरोध गरेका थिए । पेले आफ्नो जीवनभर शान्तिप्रिय र विकासप्रेमी व्यक्तिको रूपमा रही रहे ।

 

बेला बेलामा स्वास्थ्य सम्बन्धि विभिन्न समस्या रहेता पनि पेलेको अवकासप्राप्त जीवन राम्रैसँग बितिरहेको थियो । उमेर बढ्दै गएका पेले सन् २०१८ को मस्कोमा भएको विश्वकप हेर्न ह्वीलचेयरमा आएर रुसी राष्ट्रपति पुटिन र म्याराडोनाको साथमा बसेका थिए । त्यसपछि पनि पिसाब र खुट्टासम्बन्धि शल्यकृयाका कारण उनी निक्कै समयसम्म बिरामी अवस्थामा नै रहेका थिए । सन् २०२१ सेप्टेम्बरमा भने पेलेको पेटमा ट्युमर रहेको र त्यसको शल्यत्रृmया गर्नुपर्ने खवर सुन्नमा आएको थियो । सो सल्यक्रिया पछि केमोथेरापी गराइरहेका पेलेले दोहामा विश्वकप फुटबल भइरहेको बेलामा आफु अस्पतालमा भएता पनि स्वास्थ्य अभैmपनि राम्रै भएको कुरा बताएका थिए । उनका चिकित्सकले गत डिसेम्बरमा उनको स्वास्थ्यमा ह्रास आएको र उनको मुटु तथा मृगौला कमजोर हुँदै गएको कुरा बताएको केही हप्तापछि अर्थात् २०२२ डिसेम्बर २९ को दिन खेलकुदको महानतम् नक्षत्र पेले यो संसारबाट बिदा भए । अब उनी हामी माझ नभए पनि विश्वले सयौँ वर्षसम्म उनलाई सम्झी नै रहने छन् ।


-लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर हुन् ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार