मञ्जुलको कवितामा नेपथ्यको ताजा प्रस्तुती
.jpeg)
काठमाडौं । कुनै समय संगीतको माध्यमबाट चेतनाको जागरण फैलाउँदै हिँडेका कवि मञ्जुलले आफ्ना लेखनीमा पूर्वी नेपालको डाँडापाखाका प्रेममय भाकाहरु पनि उतारेका थिए । यसै क्रममा २०२४ सालको एउटा कविता संग्रहमा प्रकाशित उनको गीतलाई नेपथ्य ब्याण्डले आजैबाट आफ्नो आधिकारिक यु ट्युब च्यानल मार्फत् सार्वजनिक गरेको छ ।
‘धेरै पहिले यसलाई कविता संग्रहमा पढेको थिएँ,’ अमृत भन्छन्, ‘त्यो पुस्तकमा पनि विशेष गरेर यो रचना चाहिँ बारंबार पढेकाले कण्ठस्थै थियो ।’यसरी आनन्द लिएको शब्दलाई गीतमा ढाल्ने काम भने पछिल्लो समय मात्रै गरिएको हो ।
‘मञ्जुल–रामेश दाइहरुले गरेको पदयात्रामा आधारित गीतीयात्रा संस्मरण ‘सम्झनाका पाइलाहरु’का डोब पछ्याउँदै करिब एक दशकअघि म पनि पैदलै पूर्वतर्फ लागेको थिएँ,’ उनी थप्छन्, ‘ओखलढुँगाको गोरेटोमा हिँड्दा हिँड्दै एउटा दृश्यले मलाइ यस्तरी रोमाञ्चित बनाइदियो जसले फेरि त्यस पुरानो कविताको सम्झना भयो ।’
अमृतका अनुसार त्यस दिन उनी कोषभञ्ज्याङ नाघेर कटुन्जेतर्फ ओह्रालो लाग्दै थिए । त्यतिबेलै बाटोमा भर्खर विहे गरेर आएको एउटा जोडी भेटिए । हिँड्दा हिँड्दै त्यो जोडी केहि छिनको निम्ति अमृतको सहयात्री बन्न पुगेछन् । उनले त्यस जोडीको तस्बिर खिच्न खोजे । तस्बिर खिचाउँदै गर्दा हौसिएका बेहुलाले अचानक श्रीमतीको कुममा हात राखे । बेहुली पहिरनमा रंगीएकी नवविवाहिताको अनुहार त्यसबखत राताम्मे बन्न पुगेको थियो ।
‘त्यो दृश्यले मलाइ यस्तरी झक्झक्यायो,’ अमृत भन्छन्, ‘मैले कता कता वर्षौं पहिले पढेको मञ्जुल दाईको साइँली मोरी कविता दृश्यमा देखेजस्तो लाग्यो ।’ त्यसपछि पनि अमृतको पैदलयात्रा निरन्तर अघि बढ्दै गयो ।
‘ती जोडीलाई भेटेको दुइ तीन दिनमै म दिक्तेलतर्फ उकालो लाग्दै थिएँ,’ उनी भन्छन्, ‘त्यतिबेलै लालीगुराँसले राताम्मे डाँडामा बसेर मैले मञ्जुल दाइका पुराना शब्दहरुलाई संगीतबद्ध पारेको हुँ ।’
प्रतिकृया दिनुहोस