• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
डबली

पाका मान्छेलाई निम्ता गर्दा होस् गरौँ !

नेपालको वयस्क उमेर समुहमा पाका मान्छेको सङ्ख्या अहिले कम्तीमा बिस प्रतिशत माथी छ । यस्तो प्रतिशत उपलव्ध औषधहरू र चेतनाको स्तरोन्नतिले गर्दा नेपालजस्तो कम विकसित देशमा पनि बढदैजाने निश्चित छ । नेपालमा पनि केहि प्रतिशत मानिसहरू कामको विविधताले आय आर्जनका विभिन्न उपाय मार्फत पारिवारीक प्राविधिक साधन स्रोतयुक्त बनेका छन् । त्यसैकारण आजभोली मान्छेनै पुगेर सम्चार दिने, कछुवा गतिको हुलाक पर्खनुपर्ने र मुख्य केन्द्रमा हुने आकाशबाणी सेवाको भरमा सञ्चारको उपयोग हुन छाडेको छ । अचेल त हातमै दिएर गरिने पारिवारिक निम्तो पनि फोन वा बिग्रेको आवाजमा भए पनि अनुहार देखिने भनेर जसोतसो बिनातारको महिनावारी शूल्कमा जडित वाईफाई भनिने दुरसञ्चार प्रणालीमार्फत हुन थालेको छ । कैयौँ सरकारी गैरसरकारी कामकाज र श्रेस्ताहरूसमेत त्यसै माध्यमबाट फोटो खिचेर पठाई सम्पन्न गरिएको पाइन्छ ।

 

हिजोआज नेपालमा नियम मानेर वा विधि पु¥याउन भए पनि सभासमारोह तथा कार्यक्रमहरूमा पाका मानिस निम्त्याउने चलन बढदै छ। अझ शताव्दी नाघेका पाका मान्छे उपस्थित गराउन पाए हरेक आयोजक आफ्नो कार्यक्रम बिशिष्ट र पूर्ण सफल भएको डबलीबाटै घोषणा गर्न पनि बेर लगाउन्नन्। विभिन्न समुदायका महिला पुरुषमात्र होईन पाका मान्छेको उपस्थितिले हरेक कार्यक्रम समावेशी, सँयमित, उत्साहित, आधुनिक र प्रजातान्त्रिक मानिएकाले नै त्यसो गरिएको होला।

 

कार्यक्रमः
हिजोआज कुनैनकुनै कार्यक्रम नहुने समुह वा वडा तहमा बिरलै होलान्। कार्यक्रमको शोभा बढाउन निम्ता गर्ने वा लिनै गएर पाका मान्छेलाई ल्याउने धेरैतिर देखिन्छ । पाका मान्छेको उपस्थितिले आयोजक आनन्दित र गर्व त अनुभव गर्लान नै तर आयोजकले पाका मान्छेलाई आमन्त्रण गर्दा गरिनुपर्ने व्यवस्थामा ध्यान पुर्‍याएको कम देखिन्छ । त्यस्तै कार्यक्रमनै चमत्कार गर्न खोजेकोजस्तो बिस्तृत जानकारी नदिई पाका मान्छेलाई बोलाउनु हुन्न । के कस्ता मान्छेको जमघट हुन्छ, कतिन्जेल बस्नु पर्छ र उहाँको भूमिका के हो ?, सबै जानकारी दिएर मात्र निम्ता गरिनु पर्छ । कार्यक्रमबारे समग्र जानकारी, सहभागि हुँदाको पोसाक, आसन, कार्यक्रम बिचको फूर्सद तथा मनखुसी गर्नहुने कार्यबारे जानकारी नहुँदा नदिइँदा पाका मान्छेलाई समस्या पर्छ। आफ्नो दैनिक औषधि सेवन र खाद्य आपूर्तिसहित क्रियाकलाप सुचारुगर्न झञ्झट परेको देखिन्छ । उहाँहरूले आवश्यक्ता अनुरुप क्रियाकलाप आफ्नो दैनिकी गर्दा आयोजकलाई अप्ठ्यारो लाग्न सक्छ भने सँयोजन नहुने देखेर सहभागी हुने सम्भावना घटछ ।

 

अवस्थाः
कार्यक्रम आयोजकले निम्तालु पाका मान्छेको शारिरिक अवस्था के छ बुझेरमात्र निम्ता दिनु र आउन करगर्नु पर्छ । धेरैबेर बस्न नसक्ने, बेला बेलामा नरम ओच्छ्यानमा ढल्कनु पर्ने कमजोरी छ भने लामो कार्यक्रममा बोलाएर थप कष्ट दिनु अमानविय हो । आउनासाथ कि कार्यक्रम सुरु गर्ने र उहाँले शुभारम्भ गरेर बिदाहुन पाउने हुनुपर्छ, अथवा बिचमा उठेर जान छुट हुनुपर्छ । नियमित औषधि सेवन गर्ने काम समयमानै गर्नुपर्ने छ भने लिईआउन सम्झाउनु पर्छ । आफुले बोलाएर अरुलाई दुखपाउने गराउनु भएन नि ! त्यस्तै, लामो बाटो हिँडन नसक्ने वा सार्वजनिक सवारीसाधन प्रयोगगर्न नसक्ने हो भने आयोजकले सुविधायुक्त सवारी साधनको व्यवस्था गरिदिनु पर्छ । दम भएको, खोकिरहने वा सरुवा रोगबाट भर्खर तङ्ग्रीएका पाका मान्छेलाई बोलाएर कष्ट दिनु हुँदैन, त्यसले आमन्त्रीत पाका मान्छेलाईमात्र होईन सभामा आउने अरुलाई अप्ठ्यारो पार्न सक्छ । थोरै समयको कार्यक्रममा पनि पाका मान्छेको आवस्यक्तालाई आयोजकले कम आँक्नु हुन्न ।

 

बसाईः
पाका मान्छेलाई राखिने आसनबारे बिचार गरौँ । सकेसम्म दुबै हातपाखुरा राख्न मिल्ने मेच वा सोफा हुनु ठिक हुन्छ । बसाई काठ वा ल्पास्टीकको मेचमा नरम चकटी हुनु आवस्यक छ भने ढाड अड्याउने हुनुपर्छ । मानगर्ने नाममा ढाडनै कुप्रिने लचकदार सोफाले कष्ट दिनसक्छ । मिलेमा गोडा नझोल्लिने र बेलाबेला खुट्टा तन्काएर पाईताला अड्याउने पाउदान भएको टेबुल अगाडी भएको राम्रो हुन्छ । त्यस्तै नसा र स्नायु सम्बन्धि समस्याका पाका मान्छे बस्ने ठाउँ पलेटीमारेर बस्नेमात्र साँगुरो वा हात खुट्टानै तन्काउन नमिल्ने पनि हुनुहुन्न । उहाँहरूलाई एकोहोरो बस्दा हातखुट्टा सुण्डिने वा झमझमाउने हुनसक्छ । धेरै समय बस्दा ढाड दुखेर उठन नसक्ने वा अररीने हुनसक्छ । सकेसम्म बसाई आरामदायी, साङ्गुरो नभएको खुल्ला हुने किसिमले होस् र पाका मान्छेले आफुलाई आवस्यक पर्छ भनेर ल्याएका झोला वा लौरो राख्ने ठाउँ होस् । 


मञ्चमा आसन ग्रहण गरिएका व्यक्तित्व नछेकिने गरेर मञ्चको दायाँबायाँ एकातिर वा दुबैतिर बोल्ने ठाउँ होस् यसलेगर्दा पालैपालो दुबैतिर हेर्न सकियोस् । एकोहोरो एकातिरको हेराई दर्शक, श्रोता र मञ्चासिन सबैकालागि मुन्टो अररिएर कष्टकर हुन्छ । सुरक्षित पानी त आसन अगाडी पहुँचको ठाउँमा हुनै पर्‍यो नि । पाका मान्छे धेरैमा केहीनकेही स्वास्थ्यसमस्या हुनसक्छ, पानी पिईरहनु पर्ने वा शौँच छिटोछिटो हुने वा थाम्न नसक्ने । पुरुषमा उमेरिदै जाँदा पिसाब थैली र प्रोस्टेट समस्या र महिलामा आङ झर्ने वा पिसाब रोक्न नसक्ने समस्या हुन सक्छ । त्यसैले बसेको ठाउँबाट सजिलै उठेर नजिकको शौँचस्थानमा जानसक्ने व्यवस्था हुनुपर्छ । यस्तो ख्याल नगर्दा एक पटक नेपालका प्रकृति अनुसन्धानका प्रख्यात बिज्ञले मञ्चमा आफनो पाइँट पुरै भिजाएको दुखद घटना जस्तै हुन्छ । त्यसपछि उहाँले भन्नुहुन्थ्यो ‘मानिसले घेरिएको त्यस्तो कार्यक्रममा जान्न’ र पछि कुनै कार्यक्रममा जाने आँटनै नगरी बित्नुभयो ।

 

मञ्चमा मात्र होईन सहभागीहरूमा पाका मान्छे हुनुहुन्छ भने अग्रपङ्तीमा राख्नु राम्रो हुन्छ। आयोजकलाई हेक्कारहनु पर्छ कि पाका मान्छेका ईन्द्रियहरू विशेषत आँखा र कान कमजोर हुनसक्छ र सहभागिताको आनन्द नमान्न सक्नुहुन्छ । आफुखुसी बस्ने बाहेक सबै पाका मान्छेलाई स्रोताबस्ने ठाउँमा सबैभन्दा अगाडी नै राखिनुपर्छ । त्यसोभए कार्यक्रममा गरेका काम र भनेका कुरा उहाँहरूले बुझ्न सजिलो पर्छ र पछिपछि पनि शोभा बढाउन उत्सुक हुनुहोला ।

 

कामः
पाका मान्छेलाई सकेसम्म गराउने कार्यक्रमका विभिन्न काम एकै छिमल सिध्द्याउने व्यवस्था मिलाउनु पर्छ । एकै खालको काममा घरीघरी उठाउने, तलमाथि गराउने गर्न लगाउनु हुँदैन । प्रायः कार्यक्रममा माल्यार्पण, राष्ट्रिय गान, शहिद प्रति मौनधारण, पानसमा बत्तीबाल्ने आदि एक पटक उठदै गराउन सकिन्छ भने पुरस्कार बितरण वा ओढनी ओढाई सम्मान पनि एकै पटक गर्न सकिन्छ । पटकपटक भूमिका बाँधिबाँधि बारम्बार उठबस गराएझैँ गराउनु पाका मान्छेलाई कष्ट दिनु हो । धेरैजनालाई सम्मानित गर्ने आयोजकको कार्यक्रम छ भने पाका मान्छे महिला र पुरुष गरेर धेरै जनाबाट गराउने सोच्नु पर्छ । व्दिप प्रज्वलन वा धुप बाल्दा धेरै खार आउने खालको हुनुहुँदैन, सकेमा बिजुलीको हलुका प्रकासदिने चिम बाल्ने वा अल्पकालिन बत्ती नै ठिक हुन्छ ।

 

कतिपय पाका मान्छे धेरैबेर उभ्भिन नसक्ने हुनुहुन्छ भने बसेर बोल्नमिल्ने हाते माईक उपलब्ध हुनुपर्छ । त्यस्तो कार्यक्रममा धेरै पटक बोल्न पर्ने भएमा बिचबिचमा थरकमार्ने समय राखेरमात्र बोल्न लगाउनु ठिक हुन्छ । श्रोता वा आयोजकले आफ्नो रमाईलोकोलागि हौस्याईहौस्याई पाका मान्छेलाई धेरै भन्न लगाउने, बिर्सन सकिने कुरा पनि ‘तपाइँको अमुक कुरा सा¥है गज्जब छ, भन्नुहोस्’ भनि करगरी फुर्मायस गर्ने काम गर्नुहुन्न । यस्तो क्रियाकलापले उहाँमा आफु बिर्सेर लज्जित हुने र बितृष्णामा गएको बेठिक सोचाईको भ्रम पर्नसक्छ । पाका मान्छेमा कम प्रयोग भईरहेका कुरा बिर्सने सामान्यतया हुन्छ भनि सबैले बुझ्नु पर्छ ।

 

समयः
कार्यक्रमको समय निश्चित हुनु पर्छ र कम्तिमा पाका मान्छेलाई सुरुहुने र समापन हुने समय भनिनु पर्छ । पाका मान्छे आफ्नै अनुभवले र कामको महत्वले हरेक काम ठिक समयमा गर्न उत्सुक हुन्छन् । उहाँहरू समयको महत्व नराखी ढिलापुग्ने गर्नुहुन्न बरु एक पाइलो चाँडै जानु राम्रो भनि बाटो म्यादराखेर नै हिँडनुहुन्छ । एक जना तन्नेरी शिक्षक जहिल्यै कक्षामा ढिलो पुग्नेहुँदा दिक्कलागि विद्यार्थीले सोध्दा कहिले ‘बाटोमा यस्तोभयो वा जामभयो’ भनि बहाना बनाउँथे रे उता जहिल्यै समयमा पुग्ने पाका शिक्षकलाई सोध्दा ‘म अहिलेको स्थिति थाहभएर ठिक समयमा कक्षालिन बाटोको म्याद अडकलेर हिँडछु’ भन्नुहुन्थ्यो रे । पाका मान्छेको जिम्बेवारी पुरागर्ने निश्चित उत्कण्ठाले समयप्रति हेक्का राख्ने नै देखाउँछ । बरु अनुकुल नहुँदा उपस्थित नहुने भन्न पनि धक मान्ने पाका मान्छे हुँदैनन् ।

 

खानाः
सभा कार्यक्रम आयोजकले जलपानको व्यवस्थागरेको भए पाका मान्छेलाई निम्ता गरेको भए चलनचल्तीको पाकशालाको भरपर्ने होईन । आयोजनामा सहभागिको अवस्था, क्षमता र स्वास्थ्यस्थितिलाई ध्यानदिएर खानेकुराको निर्देशन दिनुपर्छ । पानी साञ्चीकै उमालेर सुरक्षित र चिसिन खोजेको उपलव्ध हुनुपर्छ भने खानेकुरा कम्तीमा मन तातो हुनैपर्छ । आयोजकले नै खाद्य र पेय पदार्थको गुणस्तर सुनिश्चितताकोलागि आफैँ नियमन गरेको हुनैपर्छ । रासायनिक पदार्थ मिलाई स्वदिष्ट बनाईने, धेरै मरमसला, तेल, पिरो, आदि राखिएको हुनुहुन्न । पाकेर खाने चिजविज कचिलो हुनुहुन्न र काँचै खानेकुरा सुरक्षित पानीले धोईएको हुनै पर्दछ । सबै उमेरसमुहले सजिलै ग्रहणगर्न सक्ने हुनैपर्छ ।

 

पकवान नगर्ने, माँसहारी नगर्ने भन्ने नाममा कडा फलफुल सिङ्गासिङ्गै पस्किने काम पनि गर्नहुन्न । आफ्नै देशको भन्दै काँचो नास्पाती, हरियो कटमिरोे अम्बा आदि दिईनु पनि ‘हेर तर नखा’ भनेजस्तै हुन्छ । पाका मान्छेहरूको एउटा कार्यक्रममा नताछिएको र टुक्रानगरिएको सिङ्गासिङ्गै स्याऊ राख्दा केहीले खाएर सबैले छोडेरहिँडेको घटनाले आयोजक बिस्मातमा परेका थिए । झोल तरकारीबिनाको चिउरा, धेरै पुरानो फुरन्दाना, बासी हलुवा, समोसा, निम्की, जस्ता खाद्य कुरा सबैकालागि हानिकारक हुन्छन् । गुलियो र नुनिलोमा पनि ख्याल राखिनु पर्छ, कसैलाई मृगौलाको स्वास्थ्य समस्याले नुन थप्नुपर्ने हुन्छ भने कसैलाई रक्त उच्चचापले अलिनो, कसैलाई मधुमेहका कारण गुलियो खान हुन्न ।

 

घरायसी कार्यक्रमः
पारिवारिक जमघटमा वयस्कहरूको रमाईलोले सबैभन्दा अप्ठ्यारोमापर्ने उमेरसमुहमा पाका मान्छे र दुधछुटेका बालबालिकाहरू पर्छन् । घरकाबाहेक बाहिरका नातागोता, ईष्टमित्र र कहिले पनि नआएका मान्छे धुईरेका हुन्छन् । पाहुनाको मानमनितो गर्न र आयोजकले आफुलाई खास देखाउन बिहान कतिखेरदेखि सिँगारपटार र सजधज गरिरहेका हुन्छन् । मान्छे आउन थालेपछि ति सबैको कहिँ नभएको हतारोको बेला हुन्छ । एकजोर लुगा हु¥र्याएर केटाकेटी पन्छाउँछन भने पाका मान्छेलाई ‘अलि धोईपखाली गरेको लगाएरमात्र आउनु नि’ भनि उर्दी सुनाएर जान्छन् । उचित रेखदेखको अभावमा साना केटाकेटी कता जाने, के गर्ने, कोसँग बस्ने भन्ने समस्यामा परेका हुन्छन् । पाका मान्छे मनलागी नलागी भएकोमध्ये आफुलाई ठिकलाग्ने लगाएर जान खोज्छन् । गम्भिर छलफल रहित त्यस्ता कार्यक्रममा कता थच्चिने थाहा नपाएर बालबालिका भौँतारिन्छन् भने पाका मान्छे अलमलमा परेका हुन्छन्।

 

केटाकेटीले अनौठो परिस्थितिमा नौला मान्छे देखेर निर्णयगर्न नसकी देख्योकी आमासँग कि बाबुसँग पछि लाग्छन् । बाबुआमा ‘कति झुण्डिन सक्या ?’ भन्दै घरका पाका मान्छेतिर देखाउँदै ‘यसो हेर्दिए पनि हुने नि, त्यति त सघाए के हुन्छ ? सकिन्छ है, आफ्लई भ्याई नभ्याई छ’ भन्दै घुक्र्याउँछन् । अब ज्ञानी केटाकेटीको पालो घरमा सँधैझैँ पाका मान्छेसँग थुप्रिनु र उही पुरानै कथाव्यथा सुन्नुनै हुन्छ । त्यो जिम्बेवारीबाट पाका मान्छे उम्किएर आगन्तुक चिनजानकासँग कुशलक्षेम सोध्ने अवशर बिरलै पाउलान् ! दाहिनेबायाँ भई केटकेटीको केही उम्नाचो भए वा झिँझोले त बेलुका सबै गएपछि ‘केटाकेटीको के दोष ? उमेर खाएकाको त् त्यो चाल छ’ भनि कतिदिन सुन्नुपर्ने ठेगान हुन्न !

 

गर्नुपर्ने त के हो भने, पाका मान्छे र केटाकेटीको लाउने, खाने चिजबिजको बन्दोवस्त बेलैमा गर्ने र उचित स्थानमा बस्नलाई तोक्ने । आउने जानेलाई भेटन र कुराकानीगर्न अनुकुल ठाउँ ति दुई उमेर समुहलाई राम्रो हुने सकेसम्म मुख्य जमघटको मुखतिर ठिक होला ! त्यसोभए दुबै समुहलाई नयाँनौलो हेर्न, भेटन र कुरागर्न सजिलो भएर यताउति छरिने हराउने हुन्नन् । कार्यक्रमगर्ने जिम्बेवारले खानेकुरा खाने नियमित समयमा आएर खान र औषधि सम्झाउन सजिलो पर्छ । बिचमा सल्लाहगर्न र केही काम लगाउन निश्चित ठाउँमा आए पुग्छ । आज एक दिनलाई भनेर जेपायो त्यहि वा स्वास्थ्य बिगार्ने खानेकुरा नख्वाईयोस् । यसलेगर्दा घरायसी कार्यक्रमपछि प्राय केटाकेटी र पाका मान्छेमा देखिने स्वास्थ्य समस्या हुनेछैन । नत्र त एक दिनको रमाईलो पछि ज्वरो आउने, खोकीलाग्ने र पेट ठिक नहुने सामान्य हुन्छ । रमाईलोलाई दैनिकी बनाउन खोज्ने विशेषत केटाकेटीको बानीमा परिबर्तन आई नियमित अध्ययन र आज्ञाकारीतामा र्‍हास आउने हुनसक्छ । विभिन्न तालका केटाकेटीको क्षणिक सङ्तले गलत बोलीचाली, काम र चाख बढन पनि सक्छ ।

 

कार्यक्रमको खानपान घरभित्रकै हो भने सकेसम्म सादा, पिरो, अमिलो, तेल र मसला ठिक्क मात्र होस् । बाहिरको भए माथिको जस्तै स्वास्थ्यलाई ख्यालराखि निर्णय गरिएको होस्। सक्छौँ भनि देखाउन बजारका विभिन्न रासायनिक पदार्थयुक्त चटकिला पेय पदार्थ र खानेकुरामा जोड नगरियोस् । सँक्रामक रोगको सर्ने साम्भाव्यता हेरेर मात्र कार्यक्रमगर्ने नगर्ने निर्णय होस् । कामको बाँडफाँड सारिरीक अवस्था र क्षमता हेरेर गरियोस् । हरेक कार्यक्रम पछि परिवारमा झनबढि स्नेह र माया बसोस, कमिकमजोरी कोट्ट्याएर अखानो बनाउने नहोस् ।

 

भनेको समयमा कार्यक्रम सुरुगर्ने र समापन भएको जानकारी मुल आयोजकबाट गराईयोस् । जतिसुकै रमाईलो भए पनि कार्यक्रम नलम्ब्याईयोस् बरु समयको ख्यालगर्नु पर्छ भन्ने शिकाई आउने पाहुनाले पनि सिकुन । सकेसम्म कर्कश आवाजका बाद्ययन्त्र साथमा आवाज ठूलोपार्ने यन्त्र प्रयोग नगरियोस्, त्यसले सहभागिको मात्र होईन छिमेकीहरूको पनि गुनासो सुन्नुपर्ने हुन्छ । ठूलो हल्लाहुने काम वा टोलनै थर्किने बिस्फोटक खेल नगरियोस्, त्यस्तोले केटाकेटी र पाका मान्छेको स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्नसक्छ । ढिलासम्म कार्यक्रम गरेर छिमेकीलाई बाधामात्र पुग्ने होईन घरमा काम गर्नेलाई भोलिपल्ट पनि गलेर बिसञ्चो हुने स्थिति पारिनु हुन्न ।

 

अन्त्यमा,
नयाँनयाँ जानकारी तथा सुखदुखमा साथ छौँ, भन्ने सुनाउन र देखाउन सार्वजनिक कार्यक्रमगर्नु फलदायी हुन्छ । सहभागिको उमेर, स्वास्थ्य र सारिरीक अवस्थाको आयोजकहरूलाई हेक्का रहोस् । घरायसी कार्यक्रम मित्रता बढाउन, नविकरणगर्न र स्वास्थ्यअनुकुल रमाईलो गर्न होओस् करबल वा देखाउन नहोस् । हरेक कार्यक्रम पछि सहभागि मानिसले नयाँ कुरा थाहा पाउन, मित्रता र सहभागिता अझ बढि कसिएर जाने खालका होओस् साथै बोझकोरुपमा असजिलो कसैले अनुभव नगरुन् । अरुले पनि देखासिखी गर्ने कार्यक्रम बनाउन, जमघट आयोजना गर्ने सबैले सोचुन ।            
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार