• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
खेलकुद

साफ फुटबल : उपविजेतालाई जनही ५ लाख दिने सरकारको निर्णय

काठमाडौं ।  सरकारले साफ च्याम्पियनसिप २०२१ को उपविजेता नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीलाई जनही ५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ।

 

मन्त्रिपरिषदको आज (सोमबार) बसेको बैठकले नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई जनही ५ लाख र मुख्य प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई जनही ३ लाख दिने निर्णय गरेको हो ।

 

मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले साफमा उपविजेता बनेको नेपाली फुटबल टोलीलाई सरकारले सम्मान र पुरस्कृत गर्ने निर्णय गरेको जानकारी दिए ।

 

मन्त्री कार्कीले बैठकले नेपाली फुटबल टोलीको सुधारिएको प्रदर्शनको सम्मान गर्दै यसलाई कायम राख्न प्रोत्साहन गर्ने नीति अनुरुप खेलाडी र प्रशिक्षकलाई नगद सहित पुरस्कृत गर्ने निर्णय गरेको बताए ।

 

नेपाली टिम माल्दिभ्समा भएको साफ च्याम्पियनसिप खेलेर सोमबार स्वदेश फर्किएको हो। शनिबार भएको साफको फाइनलमा भारतसँग ३(० ले पराजित हुँदा नेपाल उपविजेतामा सीमित हुन परेको थियो। आज विहान स्वदेश फर्किएको नेपाली टोलीलाई विमानस्थलदेखि नै भव्य स्वागत एवं सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार