तालिबान र विपक्षीबिच युद्ध : पन्जशिर उपत्यकामा कयौँ सर्वसाधारणको हत्या

तालिबान र उसका विपक्षीबिच युद्ध भएको अफगानिस्तानको पन्जशिर उपत्यकामा कम्तीमा २० जना सर्वसाधारणहरू मारिएको बीबीसीले थाहा पाएको छ।
उक्त उपत्यकामा सञ्चारसेवा अवरुद्ध रहेकाले विवरणहरू प्राप्त गर्न गाह्रो भए पनि संयम रहने बताएको तालिबानले सर्वसाधारणको हत्या गरेको प्रमाण बीबीसीले फेला पारेको हो।
पन्जशिर उपत्यकाको धुलाम्य सडकको एउटा भिडिओ फुटेजमा सैन्य पोसाक लगाएका एक व्यक्तिलाई तालिबान लडाकुहरूले घेरेको देख्न सकिन्छ।त्यसपछि गोलीको आवाज सुनिन्छ र उनी जमिनमा ढल्छन्।
सैन्य पोसाक उक्त क्षेत्रमा सामान्य रहेकाले ती व्यक्ति लडाकु समूहका सदस्य हुन् वा होइनन् भन्ने कुरा स्पष्ट छैन। भिडियोमा घटनाका बेला नजिकै रहेका एकजनाले मारिएका व्यक्ति सर्वसाधारण रहेको बताएका थिए।बीबीसीले पन्जशिरमा कम्तीमा २० जना मारिएको पुष्टि गरेको छ। तीमध्ये एक दुई सन्तानका बाबु अब्दुल सामी पसल चलाउँथे।
स्थानीय स्रोतका अनुसार तालिबानले आफ्नो पकड बनाउँदै गर्दा उनी 'आफू मात्र एक गरिब दोकानदार रहेको र युद्धसँग कुनै साइनो नरहेको' बताउँदै त्यहाँबाट नभागी बसेका थिए।
तर उनलाई तालिबान सत्ताको प्रतिरोध गरिरहेका लडाकुहरूलाई सीमकार्ड बेचेको आरोप लगाउँदै पक्राउ गरिएको थियो। त्यसको केही दिनपछि मृत शरीर उनको घर नजिकै पुर्याएर छाडिएको थियो।उनको मृत शरीर देख्नेहरूका अनुसार उनलाई यातना दिएको सङ्केत देखिएको थियो।
प्रतिकृया दिनुहोस