• शुक्रबार ६-१-२०७८/Friday 09-17-2021
विचार

भुटानको समृद्धि

केही हप्ता अघि दक्षिण एशियाको एक सानो अधिराज्य भुटानले नेपाललाई तीन लाख थान खोप उपहार स्वरुप दिने घोषणा गर्‍यो। यो घोषणाको साथ साथै नेपालमा भुटान जस्तो सानो तथा कम विकसित मुलुक पनि नेपाललाई सहायता गर्नेहैसियतमा पुगेपछि नेपाल कति पछाडी परिसकेको रहेछ त भन्ने जस्ता चर्चाहरुले निकै दिन स्थान पाए। भुटानको जनसङ्ख्या करिव साँढे सात लाख छ भने क्षेत्रफलको हिसाबले यो मुलुक नेपालभन्दा तीन गुणाभन्दा पनि धेरै सानो छ यानी नेपालको कर्णाली र सुदुरपश्चिमप्रदेशको कुल क्षेत्रफल पनि भुटानको कुल भुभाग भन्दा ठूलोछ।

 

विश्वको एक्काइस प्रतिशत जनसङ्ख्याको बासस्थान रहेको दक्षिण एशियामा कोरोनाको संक्रमण आजको मितिसम्म तीन करोड बासठ्ठी लाख पचास हजार जनामाभएको तथा चार लाख पन्चान्नब्बे हजार जनाको मृत्यु भएकोमा भुटानमा आजसम्म पच्चीस सय चालिस जना सङ्क्रमित भएका र तीमध्ये दुई जनाको मात्र मृत्यु भएको छ। हालै कोरोनाको महामारीबाट बच्न भुटानलाई विभिन्न मुलुकहरुले सहायता स्वरुप कोरोना विरुद्धका खोपहरु उपलब्ध गराएका थिए भने दक्षिण एशियामा नै भुटानले खोप लगाउन लायकको सम्पुर्ण वयस्क जनसङ्ख्यालाई खोप लगाईदिएर यो कार्यमा अग्रता हासिल गरेको छ । यो र यस्ता धेरै कुराहरु एउटा सक्षम प्रशासन र अनुसाशित समाजमा मात्र सम्भव हुन्छ चाहे त्यो ठूलो देश होस् या सानो र चाहे त्यहाँको जनसङ्ख्या बढी होस् या घटी। चीनको जनसङ्ख्या विश्वमा नै सबैभन्दा बढी छँदा पनि उसले यस्तै अग्रता र उपलब्धि हासिल गरेको छ भने अमेरिका, बेलायत, फ्रान्स तथा अन्य धनी देशहरुमा कोरोनाको महामारीले निकै ठूलो समस्या निम्त्याएको छ। अन्य विकाशशील मुलुकहरुको त कुरै नगरौँ । 

 

विश्वमा आज चार अर्ब तीस करोड व्यक्तिहरुले कोरोना विरुद्धको खोप लगाइ सकेका छन् भने यो विषम परिस्थितिमा चीन गरिव र विपन्न राष्ट्रहरुका लागि इश्वरको रूपमा देखा परेको छ । उसले केही महिना भित्रमा नै विश्वका विभिन्न मुलुकहरुमा अनुदानस्वरुप वा सुपथ मूल्यमा दुई अर्ब थान खोप उपलब्ध गराउने प्रतिवद्धता प्रकट गरेको छ र त्यसको आधाभन्दा बढी भाग उपलब्ध गराई पनि सकेको छ । उसैको तदारुकतापश्चात नेपालमा पनि अब विभिन्न राष्ट्रहरुले खोप उपलब्ध गराउन थालेका छन् । ती मध्ये भुटानले उपलब्ध गराएको खोप तीनलाख थान मात्र भएतापनि उसको नेपाल प्रतिको माया र सद्भाव देखाउने यो सहयोगले नेपालीहरुको मनमा विशेष स्थान पाउन सफल भएको छ । भुटान र जापानले दिएको खोपकै कारण आज पाँच महिनादेखि दोश्रो खोप लगाउन नपाएका बिशेषत ज्येष्ठ नागरिकहरु खोप लगाएर ढुक्क हुन पाएका छन्। भुटान जस्तै साना तथा उस्तै आर्थिक परिवेश भएका मुलुकहरु विश्वमा धेरै छन्। त्यस्तै उसैको दक्षिणी सिमावर्ती अति घना जनसङ्ख्या भएको मुलुक भारतमा पनि खोप कार्यक्रम अति तीव्रताका साथ जारी छ। यस्तो अवस्थामा उसले अन्य आफुजस्ता देश वा भारतका सिमावर्ती क्षेत्रका जनताको निम्ति सो खोप सहयोग नगरेर नेपाललाई नै किन दियो होला त ? यो अति नै महत्वपूर्ण कुरा छ। यसको निम्ति हामीले नेपाल, भुटान र यो क्षेत्रकै इतिहासलाई केलाएर हेर्नु जरुरी छ।

 

पन्ध्रौँ–सत्रौँ शताब्दितिर भुटानमा तिब्बती साम्राज्यको प्रभाव पर्न शुरु भएको थियो भने भारतवर्षमा बुद्धधर्मको प्रभाव कम हुन थालेपछि भुटान, सिक्किम, वर्तमान नेपालका कैयन् भाग, उत्तरपुर्वी भारत आदि ठाउँहरुमा बौद्धधर्मको बज्रयानको साटो महायानको प्रभाव जम्न थालेको थियो। त्यतिबेला तिब्बतमा धार्मिक गुरू दलाई लामा भएजस्तै भुटानमा पनि विद्वान धार्मिक गुरूहरु हुन्थे। यस्तै न्गावाङ नाम्ग्याल नामक धर्मगुरुले भुटानको एकिकरण गरेका थिए । बरोबर हुने तिब्बती हमलाको सामना गर्न तत्कालीन भुटानी शासकहरुले गोर्खालीहरुको मद्दत समेत लिन परेको रहेछ । एकचोटीको ठूलै लडाईँमा त गोर्खाका राजा द्रव्य शाहले सयौँ गोर्खाली लडाकुहरुलाई भुटानको मद्दतको निम्ति त्यहाँ पठाएका रहेछन् र ती सेनाहरुलाईपछि उतै बस्न भुटानी शासकहरुले आग्रह गरेपश्चात उनिहरु त्यतै बसोवास गर्न थालेका रहेछन् र कालान्तरमा उनका परिवारजन तथा नजिकका साथिसङ्गातीहरु समेत नेपालबाट भुटान गएर बस्न थालेका रहेछन्। पछि एकताका त भुटान यीनै गोर्खाली सेनाहरुसमेतको बलले पुर्वी नेपालको केही भुभाग,हालको सिक्किम, डुवर्स र हालको उत्तर–पूर्वी भारत र कुचविहारसम्म पनि फैलन सकेको रहेछ। तर फेरीवृटिससँगको लडाईँमा भुटानले पनि नेपालले जस्तै धेरै भुभाग गुमाएर सन्धि गरे पश्चात आजको क्षेत्रफलमा सिमित हुन पुगेको रहेछ।

 

यसै सन्दर्भमा एउटा रोचक कुरा यहाँ उल्लेख गर्न चाहन्छु। नेपाल एकिकरणको समयमा बहादुर शाहको नेतृत्वमा दामोदर पाँडेसहितको फौज टिस्टा नदी पारी हालको भुटानमा हमला गर्न जाँदा दुबैतिरबाट “जय दुर्गे” को नारा लाग्न थालेछ । यो नारा त गोर्खाली फौजले मात्र लडाईँको समयमा लगाउँदथ्यो। पछि वास्तविकता बुझ्न गोर्खाली पक्षले दूत पठाउँदा त भुटानमा पनि गोर्खाली फौज र जनता भएको र तिनीहरु द्रव्य शाहको पालामा त्यहाँ सैनिक सहायता अन्तर्गत पुगेको कुरा थाहा लागेछ । यसरी भुटान र नेपालको शासक र जनस्तरको सम्बन्ध त्यतिबेलादेखि नै स्थापना भएको हो भने धार्मिक र सांस्कृतिक समानता पनि निकै धेरै भएकोले सयौँ वर्षदेखि यी दुई राष्ट्रहरु बीच निकै राम्रो सम्बन्ध रहेको छ।

 

भुटानको छैँठो पञ्चवर्षीय योजना (१९८७–९२) मा “एक देश – एक जनता” को नारा मुताविक ड्रुक्पा पहिरन र जोङ्खा भाषालाई राष्ट्रिय पोशाक र भाषाको मान्यता दिए पश्चात खासगरी दक्षिणी भुटानमा ठूलो सङ्ख्यामा बसोवास गर्ने ल्होत्साम्पा भनिने नेपाली समुदायले नेपालीमा पढ्न नपाउने र जोङ्खा भाषा नै सिकेर पढ्नु पर्ने वाध्यताका साथ नेपाली भाषी भुटानीको आन्दोलन शुरु भयो । यसरी आन्दोलन गर्न उनीहरुलाई भारतमा गोर्खाल्याण्डका लागि लडिरहेका नेताहरु तथा नेपालका प्रजातान्त्रिक आन्दोलनमा होमिएका नेताहरुको पनि प्रभाव परेको तथा केही हदसम्म समर्थन प्राप्त भएको देखिन्छ। राजनीतिक आन्दोलनलाई मत्थर गर्न र दबाउन भुटानी सरकारले १९८८ को जनगडना ताका प्रत्येक परिवारले १९५८ भन्दा पहिलेका जग्गा कर तिरेका कागजात र स्थानीय भएको प्रमाणपत्र आदि प्रस्तुत गर्न सकेमा मात्र त्यहाँको नागरिक मानिने नत्र त्यो भन्दा पहिले वितरण भएका नागरिकताका प्रमाणपत्र समेत खारेज हुने नियम लागु गरेपछि भुटानमा राजनीतिक परिवर्तनको माग समेत गरेर आन्दोलन चर्किन थाल्यो। त्यहाँ भारतीय मूलका भुटानी नभएका र भुटानमा भारतीय प्रभाव भारत स्वतन्त्र भएदेखि नै विभिन्न सन्धिहरु मार्फत रहेकोले यो आन्दोलन र सरकारी दमन तथा नेपाली मूलका भुटानीहरुलाई निर्वासीत गर्दा समेत भारत मौन बसिदियो । फलस्वरुप नेपाली मूलका करिव एक लाख भन्दा बढी भुटानीहरु भुटानबाट पलायन भएर पूर्वी नेपालका विभिन्न स्थानहरुमा शरणार्थीको रूपमा बस्न वाध्य भए । आज आएर धेरैजसो शरणार्थीहरु संयुक्त राष्ट्र सङ्घको पहलमा विभिन्न देशहरुमा गएर बसोवास गर्न थालेका छन् भने अझ पनि धेरै शरणार्थीहरु नेपालमा नै छन् । यो मुद्दाले गर्दा भने नेपाल र भुटानबीच निकै असमझदारीको अवस्था र सम्बन्धमा चिसोपनाको सिर्जना हुन गयो र अझसम्म पनि यसबारेको केही तुष बाँकी नै छ। भुटानको इतिहासमा पनि जनसङ्ख्याको एउटा ठूलो हिस्साको रूपमा रहेका नेपाली मूलका भुटानीहरुलाई देश निकाला गरिएको र पछिसम्म पनि मुलुक फर्कने कुनै अवसर नदिएको घटनाले निकै नराम्रो छाप छोडेको छ ।  

 

भारतको प्रभुत्व र सुरक्षा छातामा बस्न राजी भएको हुनाले नै भुटानमा भारतबाट बसाईसराई हुन भारतीय सरकारले समेत दिएको छैन भने, नेपाल स्वतन्त्र भएर बस्न रुचाएकोले तथा नेपाल र भारतको सिमाना पनि खुला भएकोले यहाँ थामी नसक्ने सङ्ख्यामा भारतीयहरु आई बसोवास गरेर केही दशकमा नेपाल आफैं नै भारतीयमय भएर हराउने अवस्थामा पुगिसकेको हुने अवस्था छ। आज हामीले नेपालमै जन्मेका मधेसी, पहाडी, हिमाली र विभिन्न मुलुकहरुबाट शरणार्थीका रूपमा आएका नेपाली मूलका विदेशीहरुलाई नागरिकता प्रदान गर्न कन्जुस्याईँ गरिरहेका छौँ भने अर्को तर्फ भारतबाट नेपाल आएको केही समयमा नै नागरिकता प्राप्त गरेर नेपालको राजनीति, उद्योग र व्यापारको क्षेत्रमा निकै उच्च स्थान र भूमिकामा रहेका विदेशी भेषधारी र भाषी तथाकथित नव–नेपालीहरु गर्वका साथ मौलिक नेपालीहरु भन्दा विशेष दर्जाका नेपाली भइसकेका छन्। तर आज यस्तो स्थितिको सिर्जना हुनुमा हामीले अरूलाई दोष दिनु भन्दा पनि हाम्रो प्रशासनिक, राजनीतिक व्यवस्था र चरम भ्रष्टाचारी कार्यशैली र मातृभूमि प्रति अलिकति पनि सम्वेदनशीलता र ममता नहुनु जस्ता कारक तत्वहरुले गर्दा हामी आफैंलाई दोष दिनु उचित हुन्छ। यस्तो कुरामा पनि भुटानी शासक तथा प्रशासकहरुले नेपाली समकक्षीहरुलाई माथ गरिदिएका छन् ।

 

पञ्चायती व्यवस्थाकै समयमा वर्माबाट आएका नेपाली मूलका शरणार्थीहरु सबैले नेपाली नागरिकता पाउनुका साथै तराईका कैयन् स्थानहरुमा खेतीको लागि जमिन पनि प्राप्त गरेका थिए भने तिव्वती शरणार्थीहरु पनि जो विदेशमा गएर बस्न पाएनन्, ती नेपाली नै भइसके। त्यस्तै आसाम, मेघालय आदि ठाउँहरुबाट आएका नेपाली मुलका भारतीयहरु पनि नेपालमा नै घुलिन गए। तर नेपालको पञ्चायती व्यवस्था विरोधी बहुदलवादीहरुको समर्थन पाएकाले तथा भुटानमा पनि राजनैतिक परिवर्तनकै कुरा उठाएर राजतन्त्र विरोधी नाराका साथ आन्दोलन गरेको आक्षेप लागेकोले नै भुटानी शरणार्थीहरुले त्यतिबेला नेपाली हुने अवसर नपाएको हुनसक्छ। तर पनि भुटानी शरणार्थी हुन् वा अन्य कोही, ती मध्ये बाठाहरुले जस्तो परिस्थितिमा पनि फाइदा लिन सक्दा रहेछन् भने सोझा तथा निरीहहरु मात्र पछि पर्ने रहेछन् ।

 

आजभन्दा करिव पैँतालीस वर्ष पहिलेको कुरा होला, शायद कोलम्बो प्लानको सम्मेलन नेपालमा हुँदा मेरा पिताजीले योजना आयोगको सदस्यको नाताले भुटानी तथा अन्य केही मुलुकका मन्त्रीहरुलाई मुलुकका विभिन्न भागहरु घुमाउने जिम्मा पाउनु भएको थियो। एकदिन हामी परिवारजनलाई राखेर उहाँले त्यतिबेला भुटानी मन्त्री नेपालको पुर्व–पश्चिम राजमार्ग, इलामको चिया बगान, विभिन्न ठाउँका औद्योगिक क्षेत्र तथा त्यतिबेलाका पोखरा लगायतका निकै साना केही शहरहरु र राजधानीका तीन शहर देखेर पनि निकै कल्पिएर नेपाली भाषामा नै “नेपालले त कति धेरै प्रगति गरिसकेछ, हामी यो स्तरमा पुग्ने त कहिले हो कहिले” भनेको कुरा हामीलाई मुस्कुराउँदै सुनाउनु भएको थियो । उहाँले “नेपालको भर्खरको बामे सराईबाट पनि भुटानका मन्त्री यति धेरै प्रभावित भए” भन्नुभएको थियो । 

 

सन् १९८६मा दोश्रो सार्क शिखर सम्मेलनको आयोजना गर्नुपर्ने भुटानले पुर्वाधार र आवश्यक व्यवस्थापनको अभावले गर्दा सो सम्मेलनको आयोजना गर्न नसकेर एकैचोटी सन् २०१० मा सोह्रौँ सार्क शिखर सम्मेलनको आयोजना गर्‍यो। यसरी पैँतीस वर्षको सार्कको इतिहासमा एकचोटी मात्र शिखर सम्मेलनको आयोजना गर्ने राष्ट्र भुटानमात्र हुन पुगेको छ।

 

तर आजको परिस्थिति बेग्लै भइसकेको छ । सन् १९७२ मा जिग्मे सिंगे वाङचुक भुटानको राजा बनेपछि उनले आफ्ना बाबुबाट शुरु गरिएको भुटानको आधुनिकिकरणको कामलाई अझ तीव्रता प्रदान गरे। यातायात र उद्योगको विकासका साथै सामाजिक परिवर्तन, शिक्षा, स्वास्थ्य तथा अन्य पुर्वाधारका क्षेत्रहरुमा आमुल परिवर्तन हुन थाल्यो। तर विकास कार्यले मुलुकको प्राकृतिक, वातावरणीय र सांस्कृतिक क्षेत्रहरुमा कुनै हालतमा पनि खलल नपुर्‍याओस् भन्ने कुरामा विशेष ध्यान दिइयो। त्यसपछिभुटानले विगत पाँच दशकमा निकै धेरै प्रगति गरिसकेको छ। जलविद्युत उत्पादन र भारतमा विद्युत विक्रीबाटै भुटानको कुल ग्राहस्थ उत्पादन र प्रति व्यक्ति आय ह्वात्तै बढ्न गयो भने उसको कृषि तथा वन उपजबाट हुने आम्दानी पनि निकै बढेको छ । कुल तीस हजार मेगावाट जलविद्युत उत्पादन गर्न सक्ने क्षमता भएको भुटानले हाल दुई हजार मेगावाट विद्युत उत्पादन गर्दछ भने उसले निकट भविश्यमा विद्युत विक्री गर्न वङ्गलादेशसँग पनि सम्झौता गरेको छ । हालका दिनहरुमा सिमेन्ट,फलाम र काठका उद्योगहरु पनि थपिए पछि जैविककृषि, फलफुल खेती, डेरी तथा लाइभस्टक, घरेलु उद्योगका उत्पादनहरु जस्तै हस्तकला तथा परम्परागत चित्रकलाका वस्तुहरुमा आधारित उद्योग, कार्पेट, मदिरा तथा जुस–ज्याम उद्योग आदि पनि झनै बिस्तार भएका छन् भने केही समय यतादेखिसञ्चार तथा प्रविधि उद्योगमा पनि भुटानले पाइला चाल्दै छ र स्टार्ट अप कम्पनीहरुलाई प्रोत्साहन पनि दिँदैछ। वर्षेनी डेढ लाख जति उच्चकोटीकापर्यटकहरु भित्राएर पनि भुटानले राम्रै आम्दानी गर्दछ भने उसले यी सबै त्रृmयाकलापको वावजुद पनि आफ्नो मुलुकको पर्यावरणलाई विशेष कार्यक्रमहरुका साथ जोगाएर राख्न सफल भएको छ । बढ्दो विकाससँगै बढेको यातायातको साधनमा करिव दश प्रतिशत साधन विद्युतीय साधनहरु छन् ।

 

शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि भुटानले निकै ठूलो फड्को मारेको छ। आधा शताब्दी अघिसम्म गुम्बाहरुमा मात्र हुने धार्मिक शिक्षा परिमार्जित हुँदै हाल भुटानमा दुईवटा विश्वविद्यालयहरु मार्फत आधुनिक शिक्षा दिइन्छ भने जेहेन्दार विद्यार्थीहरुलाई उच्च शिक्षाको लागि भारत र अन्य राष्ट्रहरुमा सरकारी खर्चमा पनि पढ्न पठाइन्छ। त्यस्तै भुटानमा सम्पूर्ण स्वास्थ्य सेवा निशुल्क छ भने त्यहाँ उपचार हुन नसक्ने विरामीहरुलाई सरकारी खर्चमा भारतका ठूला अस्पतालहरुमा पठाइन्छ ।

 

भुटानी समाज खुला प्रकारको छ। यो मुलुक खासगरी नारीप्रधान समाजमा आधारित देश भएकोले यहाँका महिलाहरु स्वतन्त्र हुन्छन् तथा विवाह पश्चात पनि माता–पिताकै घरमा बस्ने परिपाटी छ । हाल भुटानका महिलाहरु पनि निकै शिक्षित हुँदै गएका छन् तथा मुलुकलाई आवश्यक पर्ने सबै प्रकारको जनशक्तिमा उनिहरुको हिस्सा पनि बढ्दै छ ।

 

आर्थिक विकासको साथ साथै भुटानी गाउँ–शहरहरु पनि बिस्तारै विकसित हुँदै गएका छन् तर त्यहाँको प्रशासनले यस्तो बृद्धिलाई वातावरणसँग जोडेकोले वातावरणीय ह्रास आउने गरि विकास गर्न त्यहाँ दिइएको छैन ।

 

समग्रमा भुटान नेपालभन्दा सबै कुरामा निकै सानो मुलुक भएको भएता पनि उसले दिगो विकासमा बढी जोड दिएको तथा त्यहाँ नेपालमा जस्तो छाडा प्रजातान्त्रिक परिपाटी नभएकोले त्यहाँका शासक, प्रशासक, तथा सबै वर्ग एक अनुशाषित पथमा हिँड्दछन्। त्यसैले कोरोना जस्तो अप्रत्यासित ठूलो महामारीको पनि उसले सहज तवरले सामना र व्यवस्थापन गर्न सकिरहेको छ भने विकासले निम्त्याउने विकृति र विनासलाई सकेसम्म कम गर्ने उपायहरु पनि अवलम्बन गरेकोले उसको विकास दिगो तवरले अगाडि बढीरहेको छ । विश्वलाई नै उसले मानव विकास सुचकाङ्कमा कुल राष्ट्रिय खुशी अर्थात् “ग्रस नेशनल ह्याप्पीनेश” को कोणबाट हेर्ने एउटा नयाँ मापदण्ड प्रदान गरेको छ ।

 

आज भुटानमा हजारौँ नेपालीहरु बसोवास गर्दछन् भने कैयन् नेपाली मूलका भुटानीहरु त्यहाँका महत्वपूर्ण निकायहरुका उच्च पदहरुमा आसिन छन्। भुटानमा नेपाली मूलका नागरिकले मात्र नभई अधिकांश भुटानीले नेपाली भाषा पनि बोल्न सक्छन् वा बुझ्छन्। नेपालले इतिहासमा लगाएको गुन पनि उनीहरुले बिर्सिएका छैनन् । राजा वीरेन्द्रको वंश विनास भएको त्यो अकल्पनीय घटनाबाट हामी नेपाली जस्तै उनीहरु पनि निकै विचलित भएका छन् । यहाँको त्यो त्रासद घटनाबाट एक प्रकारको पाठ सिकेर नै त्यहाँको राजपरिवार तथा उच्च नेताहरुले आफु र आफ्नो शासन शैलीमा धेरै प्रकारले बदलाव र उदारता समेत ल्याएको देखिन्छ । त्यसैले उनीहरुले नेपाल र नेपालीहरुलाई विशेष सम्मान र माया गर्ने गरेका छन्। भुटानको हालको अवस्थाको अध्ययन नै नगरी 'उसले समेत हामीलाई सहयोग गर्ने हैसियत राख्यो' भन्नुभन्दा सर्वप्रथम उसलाई मनदेखि धन्यवाद दिएर उसले जस्तै हामीले पनि आफ्नो देशको माया गर्ने र मातृभूमिको दिगो विकासमा लाग्ने अठोट गर्ने बेला भएको छ ।

 

-लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार