• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
राजनीति

कांग्रेसको क्रियाशील सदस्यता विवाद फेरि बल्झियो,समितिलाई २४ घण्टाको समयसीमा

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी विवाद फेरि छानबिन समितिमै पुगेको छ। बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले छानबिन समितिलाई थप विषय मिलाउने गरी जिम्मेवारी दिएको हो।

 

बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले आजको बैठकले प्रतिवेदनको स्वामित्व ग्रहण गरेको र भोलिसम्म थप विषय मिलाएर ल्याउन समितिलाई नै जिम्मेवारी दिएको जानकारी दिए।

 

नेता रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिले हिजोमात्रै पार्टीसमक्ष आफ्नो प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा समिति सदस्य कल्याण गुरुङले असहमति जनाउँदै नोट अफ डिसेन्ट लेखेका छन् ।

 

पार्टीका केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा गठित समितिमा केन्द्रीय सदस्य आनन्द ढुङ्गाना, जीवन परियार, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ र योगेन्द्र चौधरी सदस्य हुनुहुन्छ । कांग्रेसमा १४ औँ महाधिवेशनका लागि पार्टीको क्रियाशील सदस्यता सङ्ख्या आठ लाख ५२ हजार ७११ पुगेको छ ।

 

बारा र सप्तरी जिल्ला कार्यसमितिको क्रियाशील सदस्यता विवरण ढिला विवरण प्राप्त भएकाले पूरै बाँकी रहेको र पार्टीको समायोजनका कारण सिन्धुपाल्चोक, रसुवा, काभ्रेपलाञ्चोक, धनुषा, सर्लाही, कैलालीका केही क्षेत्रको क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी रहेको समितिले जनाएको छ। कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका तय गरेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार