• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
विचार

झ्याउँकिरीले फालेको लुगा

मे महिनाको ९ तारिखको दिउँसो एउटा गजबको दृश्य भयो। पत्रकारहरू बोकेको एउटा हवाई जहाज वासिङ्टन डिसी नजिकैको डलस अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नै सकेन। ती पत्रकारहरू अमेरिकी राष्ट्रपति जो बाइडेनको पहिलो आठ दिने विदेश भ्रमणमा साथ जाँदै थिए। करिब सात घण्टासम्म केही नलागेपछि अर्को जहाजको व्यवस्था गरेर उडाउनु पर्‍यो। यसको एउटै मात्र कारण थियो-झ्याउँकिरी। करोड होइन अरवौ झ्याउँकिरीहरू, जहाजको इन्जिनभित्र छिरेर त्यो हवाईजहाजलाई उड्न दिएनन्। तर झ्याउँकिरी बारेको मेरो चासो यो घटना भन्दा अलि अगाडिको हो। एउटा मिठो संयोगको त्रिवेणीले जुराइदिएको चासो थियो त्यो।

 

आह ! कस्तो मिठो संयोगको त्रिवेणी। मेरो दुई वर्षको नाती रमाएर टिप्दै थियो। उसका स-साना औँलाहरू जसरी चलेका थिए त्यो देख्नेको लागि एउटा मिठो सङ्गीतको सिर्जना हुन लागेको जस्तो लाग्थ्यो। ऊ नथाकेर टिपिरहेको थियो। ती थिए झ्याउँकिरीले फालेका लुगा जुन फुटपाथ भरि जताततै छरिएका थिए। झ्याउँकिरीले लामो भूमिगत जीवन बिताएपछि जब बाहिर निस्किन्छ तब त्यो लुगा फालिदिन्छ। त्यो भूमिगत हुँदाको लुगामा रहँदा उसको विकास हुन सक्दैन। हुर्किनको लागि त्यो फाल्नै पर्दछ। यस्तो फालेका लुगालाई वैज्ञानिक भाषामा ‘एग्जोस्केलेटन’ भनिन्छ। तर सबैले बुझ्ने भाषामा मैले यसलाई झ्याउँकिरीले फालेको लुगा भनेकी हुँ ।

 

यो देखिरहेकी मेरी छोरी आफ्नो छोरा जस्तै रमाएकी थिई। उसमा झन् बढी कौतूहल थियो । आफ्नो छोराले बटुलेको त्यो लुगाबारे जान्न। घर फर्केपछि सधैँ झैँ त्यस दिनको न्युजपेपर पढ्न थाली - बाल्टिमोर सन। दोस्रो संयोग बन्यो। उसको आँखा पर्‍यो एउटा लेखमा । एकै सासमा पढी उसले । र,त्यस लेखको लिङ्क मलाई पठाइदिई भाइभरमा लामो कुराकानी पछि। जहिले पनि छोरीसँग कुरा हुन्छ मलाई उ बच्चा जस्तै प्यारो लाग्छ जबकी उसले अमेरिकाबाट नै कानुनमा स्नातक गरी व्यावसायिक काम गरेर आफ्नो पति र छोरा-छोरीको साथ घर गृहस्थी गरेर बसेकी छे।

 

उसको पठाएको लिङ्क खोले र त्यो लेख आद्योपान्त पढे। मे २२, २०२१ मा बाल्टिमोर सनको पर्यावरण पेजमा छापिएको उक्त लेख क्रिस्टिन कन्डोनले लेखेकी रहिछन्। १७ वर्ष पछि मेरिल्यान्डमा भर्खर आगमन भएको झ्याउँकिरीको बारेमा । झ्याउँकिरीलाई अङ्ग्रेजीमा सिकेडा भनिन्छ। यसको बारेमा मैले सयौँ पटक क्याम्पसमा पढाएको सम्झना हुरहुरती एकैसाथ आयो । अब यहाँनिर तेस्रो संयोग मिसियो। त्यसपछि लाग्यो विवरण अलि अपर्याप्त छ। अनि फेरि सोचे ‘कमन रिडरसिप’ अर्थात् आम पाठकको लागि न्यूजपेपरमा लेखिएको लेख हुनाले सबै समेट्न सकिने कुरा पनि त भएन। संयोग रोकिएन अझै। अनायास देखे एउटा लेख एलनोर लट्जले लेखेको ‘एन इन्भिटेसन टु सिकेडाज् पार्टी’ भन्ने शीर्षकको। मे १९, २०२१ मा न्युयोर्क टाइम्समा छापिएको। नाती रमाएको कुरा र छोरीको कौतूहलले गर्दा मैले त्यो लेख चाख लिएर पढे।

 

कुरा झ्याउँकिरीको मात्र छैन यहाँ । छ सृष्टिको नै। अलिकति हेरौँ त्यो समग्रता जहाँ झ्याउँकिरी पनि त्यसरी नै छ जसरी हामी मानव छौ। यो सृष्टि कसरी बन्यो भन्नेमा म जान चाहिन। कारण प्रस्ट छ। भगवानले बनाए कि प्रकृतिले र के कस्तो शक्तिको प्रस्फुटनबाट र संयोजनबाट बन्यो भन्ने बारेको छलफल अन्तत : निर्णायक रुपमा कहीँ पुग्दैन। न विज्ञानले परिणाम र कारक तत्त्वको आधारमा किटान गर्न सकेको छ अहिलेसम्म। न दर्शन शास्त्रबाट अझ अगाडि भएपछिको आध्यात्मिक विश्वासले नै। आध्यात्मिकबाद र भौतिकवाद संयोजन मिले पनि या नमिले पनि अन्ततः सृष्टि मान्छेको विश्वास मै अडेको छ।

 

जसले बनाएको होस् या जसरी बनेको होस् सृष्टि चाहिँ पूर्ण छ। हरेक जीव जन्तुको बनावट यस्तो छ कि तीनको खाना र वासस्थान र पनि त्यही अनुसार तोकेर बनाइएको छ। ती सबै जोडिएका छन् एक अर्कोसँग र पृथ्वीसँग। यहाँको पर्यावरणसँग। र, यी सबै जोडिएर बनेको छ पृथ्वीको इकोसिस्टम । एक ठाउँमा असन्तुलन भयो भने सबैतिर त्यसको असर पर्दछ।

 

यो कुरा एउटा सानो गँड्यौला या माछाको उदाहरणबाट हेरौँ। हेर्नुस् गँड्यौलाको वासस्थान जमिन मुनी तोकिएको छ र माछाको पानीमा। बाच्नको लागि सबै जीव जन्तुलाई अक्सिजन चाहिन्छ र खाना पनि। गँड्यौलालाई जमिनमाथि ल्याइदियो भने अक्सिजन नपाएर मर्छ। झन् जमिनमुनि कसरी अक्सिजन पुग्ने ? जमिनमुनि नखाँदिएको अर्थात् खुकुलो माटो जहाँ केही अक्सिजन माटोसँग मिलेर रहन्छ उसले त्यहाँबाट लिन्छ। कसरी ? प्रकृतिले उसको शरीर त्यसरी नै बनाइदिएको छ माटोमा मिसिएको अक्सिजन लिन सक्ने गरी। त्यसैले चिप्लो पदार्थले ढाकिएको हुन्छ उसको शरीर। माटोसँग मिसिएको त्यो अक्सिजन चिप्लोमा टाँसिएर शरीरभित्र उसको रगतमा पुग्दछ।अनि त्यहाँबाट असङ्ख्य कोषहरूमा पुग्दछ । माछाको हकमा भने पानीमा घुलिएको अक्सिजन लिने गरी उसको शरीर निर्माण भएको छ।

 

झ्याउँकिरी लाखौँ वर्ष अगाडिदेखि यस धरती छ। तसर्थ हामी मान्छे भन्दा धेरै पुरानो वासी हो। यी जन्तु जगत् अन्तर्गत किरा फट्याङ्ग्रा वर्गमा पर्दछन्। यहाँनिर अलिकति भनी हालौँ। मान्छेले धेरै कुरो जनावरवाट सिकेको छ। युद्धकला र कौसल त जनावरबाटै सिकेको हो। किरा जगतको कुरा पनि त्यस्तै हो। हो, केही किरा हाम्रा दुश्मन छन्। तर अधिकांश हाम्रा मित्र हुन् र हाम्रो हित गर्दछन्। किराहरू लाखौँ वर्षदेखि बाचेर विकास गर्दै विभिन्न चरणको मानव सभ्यता पार गरेर आजको यो अवस्थामा आफ्नो बगाल बढाएर बाचेर रहनु सक्नुको मूल कारण दुइटा छन्। पहिलो कारण हो उनीहरू आपसमा मिलेर बस्न सक्छन्। दोस्रो कारण हो उनीहरू प्रकृतिसँग झगडा नगरेर मिलेर बसेका छन्। पहिलो कारण अर्थाउन मौरीलाई लिउ। मौरीमा जत्तिको मिलेर काम गर्न सक्ने क्षमता कसैसँग पनि छैन। कामको कस्तो राम्रो श्रम विभाजन। त्यत्तिकै राम्रो छ समन्वयन र व्यवस्थापन। प्रजातन्त्र सिक्ने हो भने माउरीबाट सिक्नुपर्दछ। कसरी प्रजातान्त्रिक रूपमा सामूहिक निर्णय लिने भन्ने कला सिक्ने निश्चित रूपमा मौरीबाट नै हो। अब दोस्रो कुरा प्रकृतिसँगको मेलमिलाप। वास्तविक अर्थमा भन्नुपर्दा धरतीको इकोसिस्टम अर्थात् धरतीको सन्तुलन प्रणाली किराहरूले नै धानेका छन्। उनीहरू सधैँ क्रियाशील छन् त्यो प्रणाली स्वस्थ राख्न। जसको प्रतिफल हामी मानव अझै बाचेका छौ।

 

मान्छेले त न प्रजातन्त्र सिक्यो, न प्रकृतिसँग मिलेर बस्न जान्यो। प्रजातन्त्रको उदाहरण मानिने अमेरिकामा देखिहाल्यौ ट्रम्प जस्तो मान्छेको वितण्डा। प्रजातन्त्रको प्रतीक मानिने क्यापिटोल नै तोडफोड गर्न मुलुकको राष्ट्रपतिले नै आफ्ना मान्छेलाई उत्तेजित पारेर पठाए। त्यति गर्दा पनि उनलाई छुन पनि नसक्ने कानुन र पद्धति रहेछ त्यहाँ। रुडी जुलियानी जस्ता प्रतिष्ठित वकिल रहेछन् जो वकिल भन्दा बढ्ता आपराधिक कर्ममा रुचि राख्दा रहेछन्। त्यस्तै हार्वर्डमा कानुन पढेका टेड क्रुज जस्ता सिनेटर पनि रहेछन् जसले दास प्रथा समाप्त भए पनि ट्रम्पको दास बन्न रुचाए। हाम्रो आफ्नो मुलुकमा के भइरहेको छ त्यो त हामी सवैले भोगिरहेकै छौ।

 

त्यस्तै प्रकृतिसँगको कुरा गर्दा मान्छेले प्रकृतिसँग किन यत्रो बैमनुष्यतापूर्ण सम्बन्ध गरिरहेको छ जबकी हामीले जे उपभोग गर्दै आएका छौ त्यो प्रकृतिले नै दिएको हो। ‘ग्लोबल वार्मिङ’ को कुरा छोडौँ एकछिन र हाम्रो चुरे विनाशलाई मात्र हेरौँ। चुरे नै ध्वस्त पारेर कसरी बाच्छ नेपाल ? नेपालको मूर्धन्य वातावरणविद् डा.तीर्थ बहादुर श्रेष्ठ छातीभरि पीडा बोकेर भन्नुहुन्छ, 'हाम्रो पर्यावरणीय स्थिरताको साङ्लोमा सातवटा कडी छन्– तराई, भावर, चुरे, मधेस, महाभारत, हिमाल र भोट। तीमध्ये सबैभन्दा कमजोर कडी चुरे हो। त्यो कडी चुँडियो भने सम्पूर्ण नेपाल भत्किन्छ।' व्यापार घाटा कम गर्नको लागि भन्नेहरूलाई वहाको जवाफ छ - 'ढुङ्गा गिट्टी निकासी देशको लागि देह व्यापार गरे जस्तै हो।' यी नयाँ नेपाल बनाउन आएकाहरू नेपाल किन भत्काउँदै छन्। मान्छेले गन्दै नगन्ने किराको व्यवहार त्यति उत्कृष्ट हुने तर झन् मुलुक बनाउन आएका बुद्धिमान मान्छेको चाहिँ यति निकृष्ट किन हुने? घाम जत्तिकै छर्लङ्ग छ कुरा। लोभ हो, त्यो लोभ जसमा वशीभूत भएका छन् यी नयाँ नेपाल बनाउने मान्छेहरू।

 

हो, डा.श्रेष्ठले भने जस्तै ‘वातावरणीय सन्तुलन चुरेले निर्धारण गर्दछ।’ । प्राकृतिक इन्जिनियरिङले थलो जोगिने हो। त्यसलाई बिथल्नु हुँदैन। अर्को पाटो हो यो स्थल जोगाउन त्यहाँको जीवजन्तु, र वनस्पतिको योगदान रहन्छ। जन्तु जगतका असङ्ख्य किराहरूले जल,थल आकाश, हावा र प्रकाशसँग मिलेर त्यस्तो सन्तुलन कायम गरेर राखेका हुन्छन्। झ्वाट्ट सुन्दा अचम्म लाग्ला तर कृषिको आधार पनि किरा नै हुन्। चुरे नभएपछि ती किराहरूको के गति ? स-साना किरा भनेर नहेरौँ। पर्यावरणीय सन्तुलनको आधार नै ती स-साना किराहरू हुन्। यस्तै किरा हो झ्याउँकिरी पनि। सुरुका उत्पत्ति त अब छैनन्। समाप्त भएर गइसके। अहिले जे छन् ती लाखौँ वर्षको क्रमिक विकासको क्रममा रूपान्तरित झ्याउँकिरी हुन्। तीन हजार भन्दा बढी प्रजातिका छन् र १८ ट्राइब अर्थात् झुन्डका रहेका छन्। यी झुन्डमा निस्किन्छन्, करोडौँ होइन अरवौको झुन्डमा। यिनको गतिविधि झुन्डमा हुन्छ। यस अर्थमा यी मिलेर काम गर्न सक्छन्। लामो समय भूमिगत रहेर वंसबृद्धिगर्नको लागि निस्कन्छन् र त्यो काम सकिएपछि मर्छन्।

 

विश्वभरी पाइने झ्याउँकिरी नेपालमा झन् नपाइने त कुरै भएन। हाम्रो देश त प्रकृतिको अनुपम उपहार हो जहाँ मुलुकको आकारको तुलनामा यति धेरै भौगोलिक विविधता छ। तर यहाँ पाइने झ्याउँकिरीबारे त्यति धेरै वैज्ञानिक अध्ययन भएको छैन। जापानको होकाइडो विश्वविद्यालयले सन् १९७५ मा नेपालको मध्य भागमा गरेको एउटा अध्ययन अनुसार नेपालमा दुई नयाँ प्रजाति फेला परे। त्यसमध्य एउटा विज्ञानको लागि नै बिलकुल नयाँ भएको दाबी छ । हाल नेपालमा ५९ प्रजाति छन्। ती ३५ जातिका र १४ ‘ट्राइब’ अर्थात् झुन्डमा छन्। झ्याउँकिरीले एकनाससँग झ्याउ झ्याउँ गरेर आवाज निकालिरहन्छ जुन एक हजार फिट माथि उडेको जेट हवाई जहाजको आवाज जस्तै कान खाने हुनसक्छ। त्यसलाई ‘झ्याउँकिरीको गाना’ भन्ने गरिन्छ जसरी चरीको चूंचूंचीँचीँलाई चरीको गीत भन्ने गरिन्छ। चरीको बोली त सारै मिठो मानिन्छ। देवकोटाले त भजनको रूप नै दिए यसलाई, चराको भजन भन्ने कविता नै लेखेर। अनुसन्धानकर्ताहरूले चरीको आवाजको नोटेसन सम्म पनि बनाउने गर्छन्। तर झ्याउँकिरीको गाना भने त्यति मिठो सुनिँदैन। झ्याउँकिरीले दुइटा साइकलमा गाउँछ। पहिलोमा पिच बढी हुन्छ तर आवाज कम। तर दोस्रोको पिच कम तर आवाज बढी। यस्तो गीत गाउने काम भालेले अर्थात् पुरुषत्व हुनेले गर्छ। यसलाई ‘कलिङ्ग’ या ‘मेटिङ्ग सङ्ग’ भन्छन्। झ्याउँकिरीले सम्भोग या रतीक्रिया गर्न पार्टनरलाई बोलाएको आवाज हो यो। यस्तो आवाज भौगोलिक ठाउँ अनुसार फरक फरक हुन्छ।

 

अब मेरो दुई वर्षको नातिले सडकमा टिप्दै गरेको त्यो दृश्यमा फर्कौँ। त्यो दृश्य हो अमेरिकाको मेरिल्यान्डको। जे टिपिरहेको थियो उ त्यसलाई झ्याउँकिरीको लुगा भनेको छु मैले। लुगा कसरी किन फाल्छ उसले ? यो ठम्याउन अब झ्याउँकिरीको ‘भ्वाइस साइकल’ होइन उसको ‘लाइफ साइकल’ बारे अलिकति बुझ्नुपर्छ। झ्याउँकिरी कति वर्ष भूमिगत बस्छ त्यो भौगोलिक ठाउँ अनुसार फरक पर्दछ। नेपालमा र भारत लगायत यस क्षेत्रमा २ देखि १४ वर्षसम्मको अवधि मानिन्छ। मेरिल्यान्डमा हालै अरवौको सङ्ख्यामा आएका झ्याउँकिरी १७ वर्ष भूमिगत रहेका थिए। यो भूमिगत के हो ? यी दुवै प्रश्नहरूको उत्तरको लागि एक छिन झ्याउँकिरीको आवाजमा फर्कौँ। झ्याउँकिरीले गीत गाउन थालेपछि पोथी आकृष्ट हुन्छ र यिनीहरूको सम्भोग हुन्छ। त्यसपछि जन्माउनको लागि पोथीले उपयुक्त वातावरण मिलेको ठाउँ खोज्छे रुख बिरुवामा। प्रकृतिले उसको शरीरमा एउटा औजार राखिदिएको हुन्छ जसलाई 'ओभिपोजिटर' भनिन्छ। रुखको बोक्रामा त्यो औजारबाट छुस्स सानो प्वाल पार्छे र त्यहाँ अण्डा राखिदिन्छे। केही समयपछि त्यो अण्डाबाट निस्कन्छन् झ्याउँकिरीका बच्चाहरू जसलाई 'निम्फ' भनिन्छ। तिनको ताँती रुखबाट खुर्र हिँडेर जमिनमा आउँछन् र जमिन मुनि रुखको जराको छेउछाउमा छिर्छन्। जराबाट निस्कने तरल पदार्थ झ्याउँकिरीको भोजन हो। यसरी लामो समय भूमिगत बस्ने अवधिलाई 'इन्क्यूवेसन पिरियड’ भनिन्छ।

 

अब संयुक्त राज्य अमेरिकाकाको मेरिल्याण्ड फर्कौँ जहाँ मेरी ज्वाइँ छोरी र नाती नातिनी बसेका छन्। मेरो दुई वर्षको नाती झ्याउँकिरीको लुगा देख्ने बित्तिकै टिप्न थाल्छ मानौँ उसले नयाँ कुरा पत्ता लगाएको छ। त्यहाँ अहिले झ्याउँकिरीको बिगबिगी छ। सडकभरि झ्याउँकिरीले फालेका लुगाहरू छरिएका छन्। दायाँ बायाँ हेर्‍यो झ्याउँकिरी उडिरहेका छन् या जहाँ पायो त्यही बसेका छन्। उनीहरू आफ्नो गीत गाइरहेका छन् झ्याउ झ्याउ - झ्याउ झ्याउ। यो झ्याउँकिरीलाई ब्रुड एक्स या ब्रुड-१० भन्दछन् । के हो ब्रुड एक्स ? झ्याउँकिरीको १५ प्रकार मध्यको यो १० नम्बरको हो। यो प्रकारको झ्याउँकिरी अमेरिकाको पूर्वीय भागमा जताततै आउँछ हरेक १७ वर्षमा। त्यसैले समय गणना गर्न सजिलो छ। अब अर्को पटक आउने भनेको सन् २०३८ को गर्मीको मौसममा हो - मे महिनामा।

 

अब झ्याउँकिरीको लुगा बारे हेरौँ। १७ वर्षसम्म भूमिगत बसेको झ्याउँकिरीको यो ब्रुड एक्स बगालले जसरी सानो ‘निम्फ’ छदाको बेला जमिनमुनि सुरुङ बनाएर ताती लगाएर भित्र छिरेका थिए त्यसरी नै प्वाल पारेर जमिनमाथि ताती लगाएर बाहिर निस्कन्छन्। खुला हावाको स्पर्श पाउने बित्तिकै ती अरवौमा निस्केका झ्याउँकिरीले प्रकृतिले दिएको र १७ वर्षसम्म शरीरलाई ढाकेको खोल फल्दिन्छन्। मैले सुरुमै भनिसके यो खोललाई ‘एग्जोस्केलेटन’ भनिन्छ। यसैलाई सजिलोसँग अर्थ्याउन मैले ‘झ्याउँकिरीको लुगा’ भन्दै आएकी छु। प्रकृतिको नियम कति अपार छ। यो लुगा नफाल्ने हो भने झ्याउँकिरी बढ्न सक्तैन, उड्न सक्तैन र सम्भोगको लागि पोथीलाई बोलाउने गीत पनि गाउन सक्तैन। त्यसैले त्यो लुगा फाल्नु अनिवार्य छ र हावासँगको सम्पर्कमा आउने बित्तिकै झर्छ। मेरो दुईवर्षे नाती नीलले निहुरिएर नयाँ कुरा पत्ता लगाएको सरह एकाग्रतापूर्वक टिपिरहेको यही हो।

 

अहिले मेरिल्यान्डको सडक यही खोल या झ्याउँकिरीको लुगाले ढाकिएको छ। जेट रोक्ने देखि रूख बिरुवामा छपक्कै बसेका छन्। यिनीहरूको सङ्ख्या यति धेरै छ जसले गर्दा जताततै देखिन्छन्। यी यति रमाइरहेका छन् मानौँ यो धरती उनीहरूकै लागि बनेको हो। तर १७ वर्ष भूमिगत जीवन बिताएका यिनीहरूको सम्भोगको रमाइलो राम छाया भने एकदेखि डेढ महिनासम्मको मात्र हुन्छ। बच्चा जन्माएपछि यी मर्छन्। र, धरतीको वनस्पतिको लागि मल बनेर सकिन्छन् । झ्याउँकिरीको जीवन चक्र यही हो। हरेक जीवको आ-आफ्नो जीवनचक्र छ - आफ्नै रमाइलो छ, आफ्नै दुख छ, बाच्ने सङ्घर्ष छ, र अन्तत स् विलय छ यही धरतीमा जहाँबाट आउने हो। हामी मान्छेको पनि त्यही नै हो-सुरु भएपछि अन्त्य हुनै पर्दछ। तर हामी सायद यति चलाख छौ कि अन्त्य देखेर पनि आफ्नो अहंलाई आफूभन्दा धेरै अग्लो पारेर आर्यघाट नपुन्जेलसम्म हुर्काएर राख्न चाहन्छौ -आफ्नो धन सम्पत्ति, प्रभुत्व र अविवेकले।

 

अन्तमा वैज्ञानिक प्रश्न गरौँ । मेरिल्यान्डमा ६४ डिग्री फेरेनहाइट् तापक्रम नपुगी झ्याउँकिरी बाहिर निस्कन पाउँदैन। यस्तो तापक्रम त हरेक वर्षामा हुन्छ त्यहाँ । तर किन झ्याउँकिरीले १७ वर्ष भूमिगत जीवन बिताउनु पर्ने ? यसको उत्तर छैन विज्ञानसँग। यतिसम्म भन्न सक्ला झ्याउँकिरीको ‘जिन’ मा त्यसरी नै कोडेड या लेखिएको हुनाले। त्यसैले भनिन्छ विज्ञानले यति धेरै जानेको छ तर त्यो ‘आइसबर्गको टुप्पो’ मात्र हो। विज्ञान सुरु भएको छ - ‘किन’ बाट। र, मलाई लाग्छ यो टुङ्गिएको पनि छ - ‘किन’ मा अनि के ? मेरो लागि अहिलेको सुन्दरता, मेरो खुसी भनेको नाती केटाले टिपेको झ्याउँकिरीको लुगा नै हो।

 

(डा.लोहनी त्रिभुवन विश्वविद्यालयको प्राणी शास्त्रको पूर्व प्राध्यापक हुनुहुन्छ) 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार