• शुक्रबार ३-४-२०७८/Friday 06-18-2021
बिश्व

यस्तो थियो सी चिनफिङको बाल्यकाल

काठमाडौं । सन् २०१० पछि  विश्व राजनीतिमा चीनियाँ कम्युनिष्ट पार्टीका नेता सी चिनफिङको चर्चा बढ्न थाल्यो । चीनका नयाँ राष्ट्रपति भएकाले देशभित्र र बाहिर उनको नेतृत्वकौशल र जीवनमाथि बहस सुरु भयो।

 

विश्वकै धेरै जनसंख्या भएको र अर्थतन्त्रमा विश्वको अग्रणी राष्ट्र चीनमाथि आम मानिसको चासो हुने स्वभाविकै थियो । अनि चीनमा एक दशकदेखि शासन गरिरहेका सीको पृष्ठभूमिबारे विश्वभरिका मानिसलाई चासो बढ्न पुग्यो ।  

 

सीको बाल्यकाल निकै कष्टकर अवस्थामा बितेको थियो भन्दा फरक पर्दैन । बेइजिङमा सन् १९५३ को जुलाईमा सी जन्मिँदा चीन सांस्कृतिक क्रान्तिको तयारीमा थियो । सी जन्मेको तेह्र वर्षपछि माओत्सेतुङको नेतृत्वमा चीन औपचारिक रूपमा सांस्कृतिक क्रान्तिमा होमियो ।

 

सांस्कृतिक क्रान्ति सुरू भएसँगै सीको जीवनले नयाँ मोड लियो । सीका बुबा सी झोङयुनलाई सांस्कृतिक क्रान्तिका दौरान गाउँमा गएर काम गर्नुपर्ने भयो । सांस्कृतिक क्रान्तिको समयमा माओले पार्टीका सबै नेता, सहरका धनी तथा बुर्जुवालाई गाउँमा गएर किसानको जीवन जिउन बाध्य बनाएका थिए । सी पनि आफ्ना बुबासँगै चीनको याचुआन प्रान्तमा कृषकको रूपमा काम गर्न गए । सांस्कृतिक क्रान्तिको समयमा सी याचुआन प्रान्तका विभिन्न गुफामा बसेका थिए । 

 

सी १० वर्षको हुँदा सन् १९६३ मा सीका बुबा पार्टीको कारबाहीमा परे । कारबाहीको सजायस्वरूप सीका बुबाले लोयुयाङको श्रम–उद्योगमा काम गर्नुपर्ने भयो । सी पनि आफ्ना पितासँगै उद्योगमा काम गर्न गए । (त्यतिबेला पार्टीका आन्तरिक श्रमशाला तथा कुटिर उद्योगहरू हुने गर्दथ्यो) पार्टीप्रति प्रतिबद्ध आफ्ना बुबाबाट निकै प्रभावित सीले हरेक अवस्थामा पितालाई साथ दिए ।सांस्कृतिक क्रान्तिले सीको पारिवारिक जीवन लगभग तहसनहस बनायो । बारम्बार परिवारसँग विछोड गरायो । सन् १९६६ मा सांस्कृतिक क्रान्ति सुरु भएसँगै सीकी एक दिदीको हत्या भयो । 

 

यता पार्टी कारबाही भन्दै सीका पितालाई १९६८ मा जेल चलान गरियो । सीले आफ्ना बुबालाई सांस्कृतिक क्रान्ति सकिनु पाँच वर्षअगाडि सन् १९७२ मा मात्रै देख्न पाए ।  यिनै घटना स्मरण गर्दै सन् २००१ मा आफ्ना पिताको ८८ औं जन्मदिनमा पठाएको एक पत्रमा सीले लेखेका छन्– ‘पिता मितव्ययी जीवन जिउँछन् । खासमा उहाँ मितव्ययी जीवनको कठोर बिन्दुमा पुग्छन् । हाम्रो कडा पारिवारिक अनुशासन सर्वविदितै छ । हामीलाई बचपनदेखि नै मितव्ययी जीवन जीउन सिकाइएको छ । यही परम्परा हामी पुस्तौंदेखि चलाउँदै आएका छौं ।’ कडा आर्थिक र सामाजिक अनुशासनमा हुर्किएका सी बाल्यकालमा आफ्नी दिदी र दाइले प्रयोग गरेको लुगा र जुत्तासमेत लगाउँथे । 

 

सन् २०१७ मा सीले चिनियाँ आइस हकी खेलाडीसँग आफ्नो बाल्यकालका बारेमा भनेका थिए, ‘सानो छँदा म ‘सिञ्चाई ताल’मा स्केटिङ गर्न जान्थेँ । तर, मसँग स्केटिङ जुत्ता हुन्थेन। स्केटिङ जुत्ता लगाउने ठूलो रहर थियो । त्यस समयमा स्केटिङ जुत्ता किन्न गाह्रो थियो । एकजोर जुत्ताको ५० येन पथ्र्यो । परिवारमा एक जनाले मात्रै यस्तो जुत्ता किन्न पाइन्थ्यो । त्यसैले स्केटिङ जुत्ता किन्ने मौका दाइले मात्रै पाउँथ्यो । त्यसैले म उसकै जुत्ता लगाउँथे ।’

 

साधारण जीवन जिउन रूचाउने सीले आफ्नी छोरीको नाम ‘मिङगाजी’ राखेका छन् । चिनियाँ भाषामा मिङगाजीको अर्थ इमानदार, समाजका लागि उपयोगी जीवन भन्ने हुन्छ । आफ्नो बाल्यकाल सम्झिँदै सीले सन् २०१६ मा भनेका थिए, ‘मलाई सानोमा आमाले चित्रकथा भएको किताब ‘लेजेन्ड अफ यु फी’ पढ्न दिन्थिन् । यो किताबले मलाई ‘देशलाई उच्च बफादारीका साथ सेवा गर्नुपर्छ भन्ने सिकायो ।’

 

सन् २०१६ मा शिक्षक दिवसको दिन सी चिनफिङ बेइजिङस्थित एक स्कुलमा पुगेका थिए । सी स्कुलमा पुगेपछि उनको स्वागत कार्यक्रम सञ्चालकले भने, ‘राष्ट्रपतिलाई हाम्रो विद्यालयमा स्वागत छ।’ जवाफमा सीले भने, ‘स्कूलमा कोही राष्ट्रपति हुँदैन । यहाँ त विद्यार्थी र शिक्षक मात्रै हुन्छन् ।’ सीको जवाफ सुनेर विद्यार्थी र शिक्षक अचम्मित भए ।

 

साँच्चै यसो भन्ने प्रेरणा उनलाई आफ्नो सङ्घर्षशील बाल्यकालबाटै मिलेको थियो । किनकि सीले १५ वर्षको उमेरमा स्कूलको अध्ययन सकेपछि सात वर्ष आंशिक मजदुरको रूपमा जीवन बिताएका थिए । सी चिनफिङ आफ्ना गल्तीहरू अरूसामू बताउँदा आफूलाई आनन्द महसुस भएको बताउँछन् । तर, उनी यो पनि भन्छन् कि उनी सबैको कुरालाई गम्भीरतापूर्वक लिँदैनन् । आवश्यक कुरा र अनावश्यक कुराको पहिल्यै अड्कल काटिसकेका हुन्छन् ।

 

साठीको दशकमा चीनको ग्रामीण भेगका नागरिकको जीवन निकै सङ्घर्षपूर्ण थियो । गाउँमा बिजुली हुन्थेन । गाउँसम्म जाने बाटो पनि थिएन । खेतीका लागि आधुनिक मेसिन थिएन । त्यसै समयमा सीले मल बनाउन, बाँध बनाउन तथा सडक बनाउने काम सिकेका थिए । उनी जुन गुफामा बस्थे, त्यहाँ किरा–फट्याङ्ग्राले डेरा जमाएको हुन्थ्यो । त्यहाँ रहेको ईंट्टाको ओछ्यानमा सीसँगै अरू तीनजना पनि सुत्ने गर्थे । खानाका लागि उनलाई दाल तथा केही तरकारी दिइन्थ्यो ।

 

उनका एक किसान साथी लु हाउसेङले भनेका थिए, भोक लाग्दा कसैले यो हेर्दैन थियो कि खानामा के छ ? सी भने रातिमा पानसको उज्यालोमा गुफामा पढ्ने गर्थे । उनलाई पढाइको भोक थियो, त्यसो त उनी चुरोट पनि निकै पिउने गर्थे । उनी अक्सर नेता माओको भाषण तथा अखबार पढ्ने गर्थे । किनकि पढ्नका लागि यी बाहेक केही पनि पाइन्थेन ।

 

यसो त सीको जीवनीलाई हेर्दा उनी बाल्यकाल र युवाकालदेखि नै महत्त्वाकांक्षी थिए । सीका बाल्यकालीन साथी लू पुराना दिन सम्झिँदै भन्छन्– ‘सी प्रायः निकै गम्भीर रहन्थे । उनलाई हाँसीमजाक मन पर्थेन, न उनी साथीभाइसँग नै खेल्न जान्थे ।’

 

सीले युवावस्थामा प्रेमिका बनाउन पनि ध्यान दिएनन् । १८ वर्षकै उमेरमा राजनीतिक यात्रामा लागेका सी चिनफिङ ‘कम्युनिस्ट युथ लिग’मा सामेल भए । पटक–पटकको प्रयासपछि उनी २१ वर्षको उमेरमा कम्युनिस्ट पार्टीको सदस्य बने । उनी सधैँ आफ्नो लक्ष्य प्राप्तिका लागि दौडिरहन्थे । जब साथीहरू खेल्नमा व्यस्त हुन्थे, उनी भने काममा लागिरहन्थे । यसर्थ उनी निकै महत्त्वाकांक्षी थिए भनेर चिनियाँ पाठ्यक्रमका पुस्तकहरूमा समेत उल्लेख छ ।

 

कम्युनिस्ट क्रान्तिपछि सी निकै कट्टर कम्युनिस्ट बनेर निस्किए । जब उनी २५ वर्षका थिए, उनका पितालाई पार्टीमा फिर्ता बोलाइयो । उनलाई गुआंगडाङमा काम गर्न पठाइएको थियो । यो ठाउँ हङकङको नजिकमा पर्दथ्यो । पछि यो चीनको आर्थिक प्रगतिको पावरहाउस बन्यो ।

 

सी चिनफिङले पारिवारिक तथा सामाजिक जीवनमा निरन्तर संघर्ष गर्दै युवाकालमा नै नेतृत्वको उदाहरण दिन सफल भए ।

 

(एजेन्सीको सहयोगमा)

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार