• शनिबार ८-१३-२०७७/Saturday 11-28-2020
विचार

'आफैंलाई खोज्दा'

वरिष्ठ अर्थशास्त्री, प्राध्यापक, लेखक, साहित्यकार, गितकार तथा कुटनीतिज्ञ विश्वम्भर प्याकुरेलद्वारा हालै लेखिएको पुस्तक 'आफैंलाई खोज्दा–केही छोपिएका, केही उघारिएका' पढेर भर्खरै मात्र सकेँ। २४२ पेजको यो पुस्तक यति धेरै रोचक थियो कि पढेर सकिए पछि मनमा अब यस्तै रोचक रचना के पढ्ने होला भन्ने चिन्ता हुनुका साथै आफ्नो प्रिय व्यक्तिलाई विमानस्थलमा पुर्‍याएर फर्कदा एक्लो भए जस्तो भान भयो । विक्रम सम्वत २००६ सालमा त्यतिबेलाको विकट ठाउँ बर्दियाको गुलरियामा जन्मनु भएका विश्वम्भर प्याकुरेल माध्यमिक विद्यालय स्तरीय र उच्च अध्ययनका लागि सानै छँदा काकाको हातमा काठमाडौं पठाइनु भएको रहेछ। उहाँका बुवा काठमाडौँ कै वासिन्द भएतापनि आफ्नो यौवनावस्थामा नै बसाईँ सरेर सपरिवार बर्दिया पुग्नुभएको रहेछ र उतै सरकारी जागिर खाएर हाकिम नायव सुव्वा (हानासु) सम्म हुनुभएको रहेछ, जुन पद त्यतिबेला जिल्लाको गौरवशाली ओहदामा नै गनिन्थ्यो । उहाँ जस्तै अन्य केही परिवारहरु पनि त्यतिबेला राजधानीबाट त्यता बस्न गएका रहेछन् । 

 

वाल्यावस्थामा चारै तिर जंगली जनावरहरु प्रसस्त भएको घनाजंगल र अग्ला अग्ला घाँसे घारीहरुको बिचमा अवस्थित उष्ण मौसम सहितको गुलरियामा बालसखाहरुसँग खेलेको, विद्यालय गएको, माटोको गुच्चा बनाएर गुलेलीको मद्दतले चराहरु मारेको, दाइहरुले सिकार खेलेको हेरेको, सहपाठी सान्ताराम हलुवाईले आफ्नो बाबाको पसलबाट ल्याएको मिठाई खुवाएको, बुवाले आयोजना गर्ने गर्नुभएका कुस्ती, संगित र भजनका कार्यक्रमहरुमा सामेल भएका सुखद क्षणहरु विश्वम्भर सरको मानसपटलमा अझै  पनि ताजा नै रहेका रहेछन्। त्यतिबेला काठमाडौँ पुग्न सजिलो थिएन । गुलरियाबाट डाँका लाग्ने घनाजंगल काटेर भारत पुग्नु पर्ने, त्यहाँ बास बसेर रेल परिवर्तन गर्दै रक्सौल जानु पर्ने र अमलेखगञ्ज हुँदै बाइरोडको घुमाउरो बाटोबाट खुल्ला र उष्ण गुलरिया भन्दा बेग्लै भुगोल भएको पहाडै पहाडको बिचमा अवस्थित ठण्डा काठमाडौँ बल्ल बल्ल पुगिने ।

 

कलिलो वाल्यावस्थामा आमा, बाबा, दाजुभाई, दिदीबहिनी तथा साथिसंगी र आफ्नो प्यारो गाउँ छाडेर काठमाडौँ जानु पर्दा विश्वम्भर सरलाई निकै पिडा भएको थियो । उहाँ कै पुस्तकमा वर्णन गरिए अनुसार गाउँ छाडेर वयलगाडामा जाँदै गर्दा गाउँकी संगी आफ्नो घरको झ्यालबाट नमिठो मानेर हेरिरहेकी र विश्वम्भर सर सहनै नसकेर गाडाबाट हाम फालेर उसको नजिक गएर बोल्न गएको विरहपुर्ण वालापनको प्रेमको प्रसंग निकै मार्मिक लाग्यो । म पनि सानो छँदा आफु अध्ययन गर्ने विद्यालयमा यसै गरी नेपालका विकटतम स्थानहरुबाट साना तथा कलिला विद्यार्थी साथिहरु अध्ययनका निम्ति आउँथे र कैयन् दिनसम्म टोलाएर बस्दथे । हामी काठमाडौँमा नै घर भएकाहरुले उनका भित्री भावनाहरुलाई बुझ्न सकेका थिएनौँ वा बुझ्ने चेष्टा पनि गरेका थिएनौँ । तर पछि तिनै साथीहरु मध्ये धेरैजसाले हामी भन्दा पनि निकै धेरै मेहनत गरेर पढेर आज मुलुकका विभिन्न क्षेत्रलाई हाँकेर बसेका छन् ।

 

काठमाडौँको ठमेलमा उहाँ आफ्ना कान्छा काका योगनाथ प्याकुरेल तथा दाजु जनकनाथ प्याकुरेलको अभिभावकत्वमा अध्ययनको लागि पठाइनु भएको थियो । ठमेलका प्रख्यात प्याकुरेल परिवारको पाठ्य पुस्तक प्रकाशनको व्यवसाय थियो भने काका आफैं बसेर कैयन् पाठ्य पुस्तकहरु लेख्नु हुन्थ्यो । त्यस्तै काकाका छोरा जनक अंग्रेजीमा दखल राख्ने भएकाले उनको कोठामा अंग्रेजीमा साहित्यका विभिन्न पुस्तकहरु हुन्थे । घरमा टोलछिमेक र टाढा टाढाबाट आउने बालबच्चाहरुलाई नि:शुल्क पढाइने पनि गरिन्थ्यो । यो ठुलो परिवारका कैयन् सदस्यहरुको वौद्धिक धरातल निकै उच्च थियो । घरमा आफुलाई आफ्नै छोरा जस्तो माया दिएर राख्दा पनि वहाँलाई धेरै खाएँ वा सुतेँ भने के भन्ठान्लान्, मिठो नमिठोको कुरा गर्न पनि हुँदैन होला, गाउँमा जस्तो कान्छो छोरा भएर पुल्पुलिन पनि नमिल्ने, केही गल्ती भयो भने गुलरियामा कुरा पुग्ने हो की जस्ता भयले सताइ राख्दो रहेछ । तर एवम् रितले समय बित्दै गएर विश्वविद्यालयको अध्ययनकाल सम्म पनि वहाँले काकाकै घरमा बसेर अध्ययन जारी राख्नु भयो भने आफ्नो युवावस्थामा आफ्ना काका र दाईको प्रकाशन व्यवसायका कामहरुमा साथ दिएको र सोको सिलसिलामा विभिन्न ठाउँमा व्यापार प्रवद्र्धन गर्न घरको मोटरसाइकल र मोटरगाडी चलाएर जाने गरेको कुरा पुस्तकमा उल्लेख छ । बेला बेलामा आफ्ना व्यक्तिगत कामहरुमा सवारी कुदाएर हिँड्दा वहाँलाई एक प्रकारको ग्लानी महसुस हुने गरेको रहेछ । पछि उहाँका साख्यै दाजु काठमाडौँ आएर एउटा पुरानो घर किनेपछि भने यी सबै सौख सयल त्यागेर पुरानो र सानो घरमा बस्न पाउँदा भने बल्ल आफ्नो भन्ने भावना जागृत भएको रहेछ ।

 

नेपाल नेशनल कलेज (हालको शंकरदेव क्याम्पस) र त्रिभुवन विश्वविद्यालयको अध्ययनको क्रममा विद्यार्थी राजनीति र चुनावमा केही समय संलग्न हुँदा त्यतिबेलाको पञ्चायती प्रशासनले वहाँलाई पक्रेर ६ महिनासम्म केन्द्रिय कारागारमा थुनामा राखेको वर्णन पठनीय छ । जेलमा नै कृष्णप्रसाद भट्टराई, रामराजाप्रसाद सिंह, रामहरि जोशी, ध्यानगोविन्द रञ्जित, दीपेन्द्र बहादुर क्षेत्री तथा अन्य राजनीतिक नेताहरुको सामिप्यमा बस्न पाएको र त्यहाँ घटेका विभिन्न रोचक घटनाहरु पनि उहाँको पुस्तकमा उल्लेखित छन् ।

 

युवावस्था देखि नै विद्यालयमा अध्यापन गर्दै आफ्नो पढाईलाई अगाडि बढाउँदै जानु भएका लेखकले पछि गएर त्रिभुवन विश्वविद्यालयमा अध्यापन गर्न थाल्नुभयो । महिनावारी तलवले मासिक गुजारा बल्ल बल्ल चल्ने भए पनि आफुले धेरै विद्यार्थीहरुलाई दिक्षित गर्न पाएकोमा उहाँलाई निकै सन्तोष भएको रहेछ । मैले पनि विश्वविद्यालय स्तरको अध्ययनका क्रममा वहाँबाट केही समय शिक्षा लिने अवसर पाएँ भने मेरा १० वर्ष जेठी दिदी, १२ वर्ष जेठा भिनाजु र साथीहरु तथा उहाँहरु भन्दा पनि निकै जेठा धेरै विद्यार्थीहरुले उहाँको शिष्य भएर अध्ययन गरेका थिए र कैयन् शिष्यहरु मुलुकका उच्च प्रशासनिक र संवैधानिक पदहरु सम्हाल्ने हैसियतमा समेत पुगे । नेपालमा प्राध्यापकहरुले आर्थिक उपार्जन गर्ने सही बाटाहरु धेरै नभए पनि उनीहरुको चित्त बुझ्ने एउटा ठुलो कडी नै आफ्ना विद्यार्थीहरु उच्च पदहरुमा आसिन भएर देश विकासमा सहभागी भएको हेर्न पाउनु हो । 

 

सन् १९९४ मा म र मेरा अनन्य मित्र ऋषि भट्टराईले प्रकाशनमा ल्याएको 'द माइलस्टोन' नामको अंग्रेजी द्वैमासिक पत्रिकामा पनि मेरा पिताजी गोविन्दप्रसाद लोहनी, डा. भेषबहादुर थापा, डा. मदनकुमार दाहाल, डा. मधुनिधी तिवारी, डा. डिल्लीराज खनाल, र डा. भोला जोशी सहित डा. विश्वम्भर  प्याकुरेल पनि सल्लाहकार हुनुहुन्थ्यो । सो पत्रिकाको प्रत्येक अंकको निम्ति त्यतिबेलाका समसामयिक विषयहरुमा केन्द्रित भएर सल्लाहकारहरु बिच अन्तक्रिया गरिन्थ्यो । यस्ता महत्वपुर्ण अन्तरक्रियाहरुले गर्दा पनि हाम्रो पत्रिकाले निकै ख्याती प्राप्त गरेको थियो त्यतिबेला ।  

 

आज ७० वर्ष पुग्न लाग्नुभएका विश्वम्भर सर अझै पनि आफ्ना विद्यार्थीहरु भन्दा कम उमेरको देखिनु हुन्छ । विद्यालय र विश्वविद्यालयमा अध्यापन गर्दा पनि उहाँको कोमल त्वचा, सर्लक्क मिलेको शरीर, शरीर सुहाउँदो पहिरन र नम्र बोली वचन, रेडियोबाट बज्ने उहाँका गित रचनाहरु तथा निकै मेहनत साथ चाखलाग्दो तवरले अध्यापन गर्ने कला देखेर विद्यार्थीहरु निकै आकर्षित हुन्थे । त्यस माथि कैयन् युवतीहरु त उहाँ माथि फिदा नै थिए । तर आफ्नै विद्यार्थीसँग कुनै प्रेम सम्बन्ध गास्न पनि नमिल्ने, आफ्नै उमेरका महिलाहरुसँग घुलमिल गर्न र घुम्न पनि खल्तिमा यथेष्ट रकम नहुने र यस्ता काममा ज्यादा समय पनि दिन नसक्ने तथा यी कुरा भन्दा पनि आफुले के कसो गरेर विदेशबाट एउटा गतिलो डिग्री हासिल गर्ने भन्ने कुरामा नै आफु बढ्ता केन्द्रित भएकाले यस्ता कुरामा वहाँको ध्यान त्यति गएनछ । हेर्दा हेर्दै आफ्ना साथीहरुले धमाधम घरजम बसाउँदा र आफ्नो उमेर निकै छिप्पिसक्दा समेत वहाँले भने एकल जीवन नै यापन गरिरहनु भयो । तर इश्वरले सबैको लागि मिल्दो जोडी बनाईदिएको हुन्छ भने झै ढिलै भएपनि उहाँको जिन्दगीमा ज्योति भाउजु आउनुभएछ र शुरुको दिन देखि नै दुईजना बिच प्रेम र नजिकको सम्बन्ध विकास हुँदै गएछ । हुन त सुशिक्षित ज्योती भाउजुको यो भन्दा अघि पनि घरजम भएको रहेछ र दुई जना छोराहरु समेत रहेछन् । तर यो कुरालाई विश्वम्भर सरले निकै सहज तरिकाले स्विकार्नु भएछ र आखिर इलामको गजुरमुखीको दर्शन गर्न जाँदा त्यहीँ दुई जनाको लगन गाँठो बाँधिएछ । त्यसको लगत्तै अदालतमा गएर पनि वहाँहरुले कानुनी विवाह गर्नुभएछ । विश्वविद्यालयका प्राध्यापक साथिहरु प्रा. पृथ्वीराज लिगल, डा. देवेन्द्रबहादुर क्षेत्री र डा. श्याम थापा आदीले शुरु देखि नै मान्यता दिएको यो सम्बन्ध सफल नहुने वारे कुरा गरेर हिँड्नेहरुको पनि कमी थिएन तर आज हेर्दा विश्वम्भर सरको परिवारमा जस्तो मेलमिलाप र आपसी मायामोह धेरै कम परिवारमा पाइन्छ । यो दम्पतिले आफ्ना छोराहरुलाई राम्रो शिक्षा दिएकाले आज दुबै जना छोराहरु अमेरिकामा निकै राम्रा पदहरुमा कार्यरत छन् । विश्वम्भर सरलाई मेरुदण्डको समस्या हुँदा र मुटु तथा स्वास प्रश्वासको ठुलो समस्या भएर अस्पतालमा अचेत अवस्थामा छँदा विदेशमा भएका छोराहरु र भारतमा विद्यावारिधीको निम्ति जानुभएकी ज्योती भाउजु खवर पाउने वित्तिकै काठमाडौँ आउनु भएको थियो भने उहाँको चमत्कारीक स्वास्थ्यलाभ पश्चात परिवारका सदस्यहरुले उहाँलाई थाइल्याण्डमा लगेर समेत हप्तौँ इलाज गराएका थिए । हाल पनि वहाँहरु चाडवाडको समयमा सबैजना एकै ठाउँमा बसेर मनाउने भनेर छोराहरु भएको ठाउँ अमेरिका जानुभएको छ ।  

 

आफुसँग जनसम्पर्क राख्न सक्ने विशेष गुण भएकाले उहाँले समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुसँग मित्रता गाँस्नु भएको थियो । विश्वविद्यालयमा अध्यापन गरिरहेको समयमा पनि उहाँले विभिन्न दातृ संस्था र राष्ट्रहरुका विकास आयोजनाहरुमा विशेषज्ञ, अनुसन्धानकर्ता र परामर्शदाताको रुपमा काम गर्नुभएको थियो भने आफ्नो विषयका केही पुस्तकहरु पनि त्यति नै बेला लेख्नुभएको थियो । गीत रचना गर्ने र साहित्य सिर्जना गर्ने उहाँको विशेष शौख थियो । त्यसैले गायक, रचनाकार तथा संगितकार र साहित्यकारहरुसँग विशेष भेटघाट, रेडियो नेपालमा नियमित गइरहने तथा कलाकारहरुसँग भेटघाट गरिरहने, नयाँ सडक तथा ठमेल क्षेत्रका विशेष स्थानहरुमा साँझमा श्रष्टाहरुसँग चिया गफ, अमेरिकी सूचना केन्द्र तथा पुस्तकालयहरुमा नियमित भ्रमण गर्ने उहाँको दिनचर्या नै थियो । वसन्तपुरबाट झोछे जाने बाटोमा अवस्थित जोशी प्रिन्टिङ प्रेसमा साहित्यकार तथा संगीतका श्रष्टाहरुको जमघट हुने गर्दथ्यो । त्यहीँ वहाँको भेट रत्नशमशेर थापा, हरिभक्त कटुवाल, कृष्णभक्त श्रेष्ठ, उपेन्द्र श्रेष्ठ, द्वारिका श्रेष्ठ, ईश्वर बल्लभ, नगेन्द्र थापा, तुलसी दिवस, भूपी शेरचन, नारायणगोपाल आदीसँग प्रत्येक साँझ हुने गरेको रहेछ । न्युरोडको 'कफी हाउस' पनि विभिन्न क्षेत्रका मानिसहरुसँग भेट्ने विशेष थलो थियो । यस्तै विभिन्न क्षेत्रका मानिसहरुसँगको बढ्दो जनसम्पर्क र खासगरी अमेरिकी सूचना केन्द्रका अधिकृतहरु र अमेरिकाबाट अध्ययन पुरा गरेर फर्केका मानिसहरुसँगको संगतका कारण नै विस्तारै उहाँको संयुक्त राज्य अमेरिकामा अध्ययन गर्ने बाटो ठुलो परिश्रमका साथ खुल्दै गयो र निकै कम स्रोत र साधन बिच पनि वहाँले उच्च अध्ययन पुरा गर्नुभयो । त्यहाँ जीवनयापनको निम्ति वहाँ एउटा फास्टफुड क्याफेमा कुकसमेत बन्नुभएछ ।

 

अम्बर गुरुङ, हरिभक्त कटुवाल, यादव खरेल, नारायण गोपाल, गोपाल योञ्जन, दिप श्रेष्ठ, दिपक खरेल र शम्भुजित बाँस्कोटा तथा यस्तै थुप्रै साँगितिक हस्तीहरुसँग घनिष्ट सम्बन्ध राख्नु भएका विश्वम्भर सरले आफ्नो पुस्तकमा हरिभक्त कटुवालका भित्री वेदनाहरु, उनका मनका भावहरु, उनको प्रखर सिर्जनशिलताको वारेमा विस्तृत वर्णन गर्नुभएको छ। नारायण गोपालको एकांगी दिनचर्या, पाक कला, कम बोल्ने भएकोले घमण्डीको संज्ञा पाएका, सांस्कृतिक संस्थानबाट उनको अवकाश पश्चात भाउजु पेमला पनि दिउँसो विमा कम्पनीमा जागिरमा जाने भएकाले दिनभरी एक्लो भएका तथा विश्वम्भर सरले त्यतिबेलाका विद्धान तथा समझदार उपकुलपति महेशकुमार उपाध्याय र रजिष्ट्रार प्रा. डा. पार्थिवेश्वर तिमिल्सिनालाई भनेर उनको मास्टर्स डिग्री नभए पनि उनको अनुभवको आधारमा ललितकला क्याम्पसमा सहायक प्राध्यापकको पद दिएर उनलाई व्यस्त बनाएका घटनाक्रमहरुको निकै रोचक तवरले वयान गर्नुभएको छ । साथै नारायण गोपालको एकल स्वर्णिम सन्ध्या गर्दा भोगेका अनुभवहरु वारेमा पनि रोचक वर्णन छ । गोपाल योञ्जनले आफ्ना सिर्जनाहरु सुनाउन रात–बिहान नभनी कुनै पनि बेलामा बोलाउने गरेको, रिञ्छेन भाउजुको हातको खाना खाएको तथा नारायण गोपाल र गोपाल योञ्जनलाई विश्वविद्यालयको एउटै मञ्चमा उभ्याएर संगित प्रस्तुत गर्न मनाएको तथा नारायण गोपालको स्वास्थ्य बिग्रँदै गएर वहाँको मृत्युसमेत भएका दुखद घटनाहरुको समेत त्यहाँ वर्णन छ । दिप श्रेष्ठको “बितेका कुरा” जस्तो गित पनि रेडियो नेपालको सेन्सर वोर्डले पास नगरेकोले विश्वम्भर सर आपैm त्यहाँ गएर सो गित पास गराई सोही दिन रेकर्ड गराएका जस्ता रोचक घटनाहरु निकै सरल र रमाइलो पाराले वहाँले वर्णन गर्नुभएको छ । नारायण गोपाल र गोपाल योञ्जनसँग गाढा सम्बन्ध भएता पनि वहाँले सो सम्बन्धको फाइदा उठाएर आफ्ना गितहरु गाउन जोड गर्नुभएन छ । बरु दुवैजनाले वहाँले रचना गरेका एकाध गित भने गाएका रहेछन् । नारायण गोपाल, गोपाल योञ्जन र अम्बर गुरुङ जस्ता हस्तीहरु विश्वम्भर सरको विश्वविद्यालयको क्वार्टरमा गइराख्नु हुन्थ्यो र त्यहाँ पनि खानपिन र सानो तिनो महेफिल जमिनै रहन्थ्यो । 

 

पछिल्लो समय नेपाल सरकारले वहाँलाई श्रीलङ्का तथा माल्दिभ्सका लागि राजदुत नियुक्त गरेको थियो । राजदुत दुई प्रकारका हुन्छन् । एक थरी क्यारियर कुटनीतिज्ञ, जो परराष्ट्र मन्त्रालय कै उच्च पदस्थ कर्मचारीहरु हुन्छन् भने अर्का थरी राजनीतिक नियुक्तिबाट राजदुत भएकाहरु । क्यारियर कुटनीतिज्ञहरु परराष्ट्र मन्त्रालय कै वरिष्ठ कर्मचारी हुने भएकाले यिनलाई मन्त्रालय र दुतावास, दुवै ठाउँका कर्मचारीहरुले निकै मान्छन् र सहयोग गर्छन् । राजनीतिक नियुक्ति पाएका राजदुतहरु भने यदि प्रधानमन्त्री वा शक्तिशाली नेताहरुको नजिकका व्यक्ति हुन् भने तिनलाई डरले पनि सहयोग गर्छन् नत्र अन्य राजदुतहरुलाई भने कुनै प्रकारको मान वा सहयोग हुँदैन । हुँदा हुँदा आफ्नै मातहतका सहचारीहरुले समेत हेयको दृष्टिले हेर्छन् र राजदुत माथि नै गुप्तचरी गर्न थाल्छन् । चाहे दुतावासको वजेटको कुरा होस्, राजदुत भएर गएको राष्ट्रसँगको लेखापढीको कुरा होस् वा अन्य सूचना होस्, राजदुतसँग कुनै परामर्श नै नगरी त्यस्ता काम काठमाडौँबाटै गरिन्छ र कैयन् पटक राजदुतहरु निकै अप्ठ्यारो परिस्थितिमा पर्छन् किनकी दुई सरकारका बिच काठमाडौँ स्थित दुतावास मार्फत नै कुराकानी भएको हुन्छ भने यस्तो कुराकानीको विवरण हाम्रा राजदुतहरुलाई अवगत गराइएको हुँदैन । मेरा पिताजी पाकिस्तानको राजदुत छँदा पनि परराष्ट्र मन्त्रालयबाट यस्तै प्रकारको व्यवहार हुन्थ्यो। आफ्ना सहचारीले आफुलाई नटेरेर सचिवलाई चुक्ली लगाउने, अन्य कर्मचारीलाई भाँड्ने जस्ता कार्य गरेर हैरान पार्दथे। त्यस्तै राजदुतसँग परामर्श नगरी नै वजेट बनाउने, पाकिस्तानी सरकारसँग काठमाडौँबाटै सोझै कुराहरु आदान प्रदान गर्ने र यसको सूचना दुतावासलाई नदिने आदी जस्ता कामहरु भइरहन्थे । झनै तत्कालिन परराष्ट्र सचिव जगदिश शमशेर राणा इस्लामावाद आएको बेला दुतावासका कर्मचारीहरुको अगाडि मेरा पिताजीलाई अर्ती उपदेश दिएर झाँट्न खोजेपछि भने पिताजीले उनलाई चुप गराएर उनकै अगाडि उनलाई चुक्ली लगाएर पिताजीसँग सँधै द्वन्द्वमा उत्रने सहचारीलाई 'तिमी काँचको घरमा बसेर ढुंगा हान्दो रहेछौ, अब यी सचिवले तिमीलाई बचाउन सकेछन् भने म राजीनामा गरेर फर्कने छु' भनेर ती सचिवलाई पनि दुतावासबाट फर्काएर पठाइदिनु भयो र तत्कालै राजा वीरेन्द्रलाई लामो टेलेक्स मार्फत सचिवका हर्कत र सबै कुरा लेखेर यस्तो अवस्थाको अन्त नहुने हो भने आफ्नो राजीनामा स्विकृत गर्न आग्रह गर्नुभयो । भोलिपल्टै राजदरवारबाट सचिवलाई भ्रमण छोट्याएर स्वदेश फर्कने निर्देशन सहित सो सहचारीको ठाउँमा अर्का व्यक्ति छिटै पठाउने र राजदुतलाई यस्तो केही समस्या परे र परराष्ट्र मन्त्रालयबाट समाधान नभए सिधै राजदरवारमा सम्पर्क राख्न अनुरोध आयो । डा. भेषबहादुर थापा सन् १९८० मा अमेरिकाका लागि राजदुत नियुक्त हुँदा पनि यिनै जगदिश शमशेरले असहयोग गरेका रहेछन्। यस्तो परिपाटी दशकौँ देखि चलिआएको भएता पनि विश्वम्भर सर नै यस्ता एकाध राजदुतहरु मध्ये पर्नु भयो जसले आफु राजदुत भएर बसेको कुनै औचित्य नभएको र आफ्नै मुलुकको परराष्ट्र मन्त्रालयबाट सहयोग नपाएकोले आफ्नो कार्यकाल बाँकी छँदै हालका परराष्ट्र मन्त्रीको विनम्र आग्रहको बावजुद पनि आफुले पाइ आएको सेवा, सुविधा र तलव सबै त्यागेर राजीनामा दिएर स्वदेश फर्कनुभयो । यो भन्दा पहिले डा. भेषबहादुर थापाले पनि अमेरिकामा दोश्रो पटक राजदुत हुँदा दुई वर्षमा नै राजिनामा दिएर फर्कनु भएको थियो ।

 

पुस्तकमा लेखकको आत्मवृत्तान्त लेखिएको जस्तो भएता पनि यसमा मनोवैज्ञानिक पक्ष देखि लिएर मुलुकको आर्थिक, सामाजिक, प्रशासनिक, सांस्कृतिक परिदृश्यहरु समावेश छन् र एक इमान्दार विद्धत व्यक्तित्वले आफ्नो विद्यार्थीकाल देखि क्यारियरको पुरा समयसम्म देखेको र भोगेको नेपालको विस्तृत वर्णन नै छ । 

 

(लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन्)

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार