• शनिबार ८-१३-२०७७/Saturday 11-28-2020
विचार

अमेरिकी राष्ट्रपतीय चुनाव

सन् २०१६ मा डोनाल्ड ट्रम्पले हिलारी क्लिन्टनलाई हराएर अमेरिकाको राष्ट्रपतीय चुनाव जिते देखि विगत चार वर्षसम्म अमेरिकी जनता तथा विश्वका विभिन्न देशहरु र त्यहाँका जनताहरु एक किसिमको बुझिनसक्नुको अन्यौलको स्थितिबाट गुज्रिरहेका थिए । चीनसँगको व्यापार युद्ध होस् वा कोभिड–१९ को कुरा नै होस्, वा विश्व वातावरणीय र मौषम परिवर्तन वारेका विश्वव्यापी वहसहरु नै किन नहुन् उनको विचार र बाँकी विश्वको विचारमा जमीन आसमानको फरक हुने गरेको थियो । युरोपीय राष्ट्रहरुका प्रमुखहरु पनि उनिसँग अवाक भईसकेका थिए । देश भित्रका गन्यमान्य व्यक्तिहरु र पत्रकारहरु देखि लिएर विभिन्न देशका राष्ट्राध्यक्षहरुलाई उनी चित्त नबुझेमा खुलेआम कुशव्दहरुको प्रयोग गरेर गालीगलौज गर्ने गर्दथे । एउटा ठुलो व्यापारिक घरानाबाट राष्ट्रपति बन्न पुगेका उनलाई नाफा र नोक्सानको हिसाबले बाहेक अरु केहीले पनि मुवायना राख्दैनथ्यो । हुन त उनी भन्दा पहिले पनि ठुला व्यापारिक घरानाका जेराल्ड फोर्ड राष्ट्रपति रिचर्ड निक्सनको राजिनामा पश्चात अमेरिकाका राष्ट्रपति भएका थिए, तर उनको व्यवहार र काम गर्ने तरिका निकै कुशल थियो र आफु चुनावमा हारेपछि उनले निकै सहज तरिकाले आफ्नो हार स्विकार समेत गरेका थिए ।

 

ट्रम्प र उनको टोलीका सदस्यहरुले कोरोनाको कहर भन्दा पनि व्यापार ठुलो भन्दै जनतालाई खुल्लम खुल्ला छाडिदिनाले र आफुहरु पनि मास्क विना र सामाजिक दुरी विना हिँड्ने गर्नाले एकातिर विश्वमा अमेरिका नै कोरोनाबाट सबैभन्दा संक्रमित मुलुक हुन पुग्यो भने ह्वाइट हाउसका कर्मचारीहरुले “सुपर स्प्रेडर” को संज्ञा पाए । आखिर राष्ट्रपति ट्रम्प आफैंपनि संक्रमित भएर पनि उनमा चेत आएन। आज आएर वाइडेनको मुख्य एजेण्डा नै कोरोना नियन्त्रण गर्ने भएको छ भने उनले यसको लागि विज्ञहरुको एउटा वृहत टोली नै गठन गरिसके तर नव–नियुक्त राष्ट्रपतिले संक्रमणकालमा आफ्नो योजना तय गर्ने र काम शुरु गर्ने सानो वजेट पनि ट्रम्पले रोकिदिएका छन् ।

 

चीनलाई एक्ल्याउन र बदनाम गर्न ट्रम्पले कुनै कसर छाडेनन् । कोरोना भाइरसलाई पनि उनले “चाइनिज भाइरस” को संज्ञा दिएका थिए । त्यस्तै चीनलाई चारै तिरका छिमेकीहरुबाट एक्ल्याउन उनले दक्षिण कोरिया, जापान, फिलिपिन्स, भारत, अष्ट्रेलिया तथा अन्य राष्ट्रहरुको भरपुर मद्दत लिएका थिए । तर चीन यो अवधिमा केही नबोली निकै संयमका साथ बसिरह्यो । अमेरिका र चीनको सम्बन्ध सुधार गर्न पुर्व राष्ट्रपति रिचर्ड निक्सन र उनका विदेश मन्त्री हेन्द्री किसिन्जरले ठुलो प्रयास गरेर चीनको भ्रमण समेत गरि अध्यक्ष माओ त्से तुङसँग नै भेटेर सम्बन्ध सुमधुर गरेका थिए । त्यसपछिका राष्ट्रपतिहरुले पनि बेला बेलामा दुई देश बिचको सम्बन्ध बिग्रेको बेलामा समेत कुटनीतिक माध्यमबाट एकापसमा सम्वाद गरि नै रहेका थिए । तर डोनाल्ड ट्रम्प कै पालामा भने अमेरिका र चीनको सम्बन्ध निकै चिसिन पुग्यो । त्यस्तै अमेरिका कै लहै लहैमा लागेर राजिव गान्धि प्रधानमन्त्री छँदादेखि सुदृढ हुँदै आएको चीन र भारतको सम्बन्ध पछिल्लो समयमा भारतले विना कारण नराम्ररी बिगार्‍यो । सम्बन्ध बिगार्न सहज भए पनि बिगे्रको सम्बन्ध बनाउन निकै गाह्रो हुन्छ ।

 

उत्तर कोरियासँग सम्बन्ध सुधार्ने नाममा ट्रम्पले किमसँग दुई पटक शिखर सम्मेलन गरे। यो एउटा निकै सह्राहनीय कदम थियो उनको। तर सम्बन्ध सुधार गर्ने भन्दैमा उत्तर कोरियाले आजसम्म विकास गरेका सबै क्षेप्यास्त्र ध्वस्त गर भनेर अमेरिकाले भन्दैमा त्यस्तो कुरा कोरिया वा उसको ठाउँमा अन्य मुलुक भए पनि मान्छ र ? बरु त्यस्ता क्षेप्यास्त्र र हतियारहरु अब यो भन्दा बढी नबनाउ, तिनको प्रयोग पनि गलत तरिकाले गर्दिन भनेर विश्वलाई विश्वासमा लिन सक भन्ने जस्ता कुराहरु पो राख्नु पथ्र्यो त ।

 

हुन त ठुला तथा शुशासन भएका राष्ट्रहरुको परराष्ट्र नीति जुनसुकै पार्टीको सरकार भए पनि खासै परिवर्तन हुँदैनन्, तैपनि सरकार प्रमुखको बुद्धिमत्तापुर्ण काम कारवाहीले यस्तो सम्बन्ध सुधार गर्न निकै मद्दत पुर्‍याउँछ । 

 

अमेरिकामा आजसम्मका ४६ जना राष्ट्रपतिहरु मध्ये १४ जनाले पुनःनिर्वाचित हुन सकेनन्, तर सबैजसा चुनावमा पराजित भएका राष्ट्रपतिहरुले आफ्नो हार सजिलै स्विकारेर नव–निर्वाचित राष्ट्रपतिलाई वधाई दिनुका साथै सत्ता हस्तान्तरण गर्ने प्रजातान्त्रिक चलनलाई निरन्तरता दिए । तर यी डोनाल्ड ट्रम्पले भने न त आफ्नो हार स्विकारेका नै छन्, वा न त त्यहाँ भएको चुनाव निष्पक्ष भएको कुरालाई नै मानेका छन् । बरु उनि त चुनावमा धाँधली भयो भनेर अदालत जाने देखि लिएर आफ्ना समर्थकहरुलाई सडकमा उतारेर हिंसात्मक प्रदर्शन निम्त्याउन समेत उद्धत भएका छन् । उनको यस्तो व्यवहारले अवाक भएर उनकै रिपव्लिकन पार्टीका सदस्यहरु र पुर्व राष्ट्रपति जर्ज वुश समेतले नयाँ राष्ट्रपतिलाई वधाई दिएर उनको कृयाकलापमा आफ्नो समर्थन नभएको संकेत दिइसकेका छन् । ह्वाइट हाउस छोड्न ७० भन्दा कम दिन बाँकी हुँदा समेत उनले आफ्ना रक्षा मन्त्रीलाई पदबाट मुक्त गर्ने जस्ता घृणित काम छाडेका छैनन् । झट्ट हेर्दा यो सामान्य बहुलट्टी कदम देखिए पनि एउटा विशाल आणविक शक्ति राष्ट्रको राष्ट्राध्यक्षको यो कदमबाट यो संक्रमणकालमा “कहीँ कुनै खतरनाक निर्णय त लिने होइनन् ? उनका आदेशहरुलाई अहिलेदेखि नै मान्न छाड्नु पर्छ” भन्ने जस्ता सोचको विकास त्यहाँका वुद्धिजिवीहरु, उच्च नेताहरु र सरकारी संरचनाका महत्वपुर्ण व्यक्तिहरुमा हुन थालेको देखिन्छ । उनले केही समय भित्र आफ्नो यस्तो खतरनाक व्यवहारमा सुधार गरेर चुनावको परिणामलाई स्विकार गर्दै नव–निर्वाचित राष्ट्रपतिलाई वधाई र सहयोगको आश्वासन दिन सकेनन् भने उनि इतिहासमा नै कानुनी कार्वाहीमा पर्ने कुख्यात प्रजातन्त्र विरोधी राष्ट्रपतिमा गनिन बेर छैन । तर समयमा आफुलाई सच्चाउन सके भने उनले ल्याएको विशाल मतका कारण सन् २०२४ मा पुनः राष्ट्रपतीय चुनावमा भाग लिन पाउने बाटो पनि खुला रहनेछ । उनकै टोली भित्र उनलाई गलत सल्लाह दिएर उक्साउँदै उनले ल्याएको विशाल मतको आधारमा विभिन्न राज्यहरुमा सिनेटरको पद हत्याउने दाउमा पनि केही महत्वपुर्ण व्यक्तिहरु लागिपरेका छन् । 

 

उता नवनिर्वाचित राष्ट्रपति जोए वाइडेन भने राजनीति शुरु गरेर डेलावेरको सिनेटको चुनाव लड्दा ३० वर्षका सबैभन्दा कान्छा सिनेटर बन्न सफल भएका थिए सन् १९७२ मा । तन्नेरी उमेरमा उनि पनि केही उग्र र जातीय र रंग भेदभावका समर्थक थिए, तर उमेर ढल्किँदै गएपछि उनिमा निकै परिपक्वता आउन थाल्यो । राष्ट्रपतीय चुनावमा पनि उनलाई यो भन्दा पहिले दुई पटक विभिन्न लान्छनाहरु लागेर अन्तिम समयमा उनले राष्ट्रपतीय दौडबाट अलग्गिनु पर्‍यो । पछिल्लो चोटी आफु राष्ट्रपतीय चुनावी दौडबाट अलग भएपछि बाराक ओवामा राष्ट्रपतिमा चुनाव लड्ने भए भने वाइडेन उनका उप–राष्ट्रपति हुन पनि तयार भएर चुनावका प्रत्यासी भए र आठ वर्षसम्म उप–राष्ट्रपतिको रुपमा ओवामालाई सघाए । ओवामा भन्दा उनि निकै जेठा भएपनि उनले ओवामाको नेतृत्वलाई स्विकार गरेर ओवामाको लोकप्रियता बढाउन निकै धेरै काम गरे । 

 

उनी तन्नेरी हुँदा नै उनकी पत्नी नेइला र १३ महिनाकी छोरी नाओमीको मोटर दुर्घटनामा परेर मृत्यु भएको थियो तथा उनी निकै वर्षसम्म यो क्षतिले शोक सन्तप्त अवस्थामा जिउन वाध्य भएका थिए । उक्त मोटर दुर्घटनामा उनका ३ वर्षिय छोरा हण्टर र २ वर्षिय छोरा बिअव पनि परेका थिए तर उनीहरु बाँच्न सफल भए । आफ्नो सिनेटर पदको शपथ वाइडेनले अस्पतालको कोठाबाट नै लिएका थिए । पछि फेरी सन् २०१५ मा उनका निकै प्रतिभाशाली र भविश्यमा अमेरिकाको नेतृत्व गर्न सक्ने हैसियत राखेका छोरा बिअव वाइडेनको ४६ वर्षको उमेरमा मस्तिस्कको क्यान्सरका कारण मृत्यु भयो । यो क्षतिले वाइडेन आजसम्म पनि ठिक तरिकाले तग्रिन सकेका छैनन् । आज ७८ वर्षको उमेरमा अमेरिकाको इतिहासमा नै सबैभन्दा जेठा व्यक्ति उनि राष्ट्रपति बन्न सफल भएका छन् भने उनको सरलता र भलाद्मीपनाले गर्दा अधिकांश अमेरिकीहरुले उनको कार्यकालमा अमेरिकाले निकै उपलव्धि हासिल गर्ने कुरामा विश्वास लिएका छन् । आफ्नो विजय भाषणमा पनि उनले आफुलाई भोट दिने वा नदिने सबैको हितका निम्ति आफु लड्ने र आफु डेमोक्रेटिक र रिपव्लिकन सबैको राष्ट्रपति भएको कुरा पनि दोहोर्‍याएका छन् । सबैभन्दा तन्नेरी सिनेटर भएर आज सबैभन्दा बुढा राष्ट्रपति हुन पुगेका वाइडेनले संसदमा ४८ वर्षको अनुभव बटुलिसकेका छन् । तर विगत चार वर्षमा ट्रम्पले फोहर गरेको कसिङ्गर सोहोरेर सफाई गर्न नै वाइडेनलाई निकै हम्मे पर्ने देखिन्छ । तर उनि एक्ला छैनन्, उनलाई सघाउने धेरै विज्ञ हातहरु यिनका वरीपरी भएकाले यी सब समस्याहरुबाट उनले छिटै पार पाउन सक्छन् । केवल उनमा चुनाव ताका जस्तै राम्रो काम गर्ने जोश र जाँगर जागिरहनु पर्‍यो ।

 

ट्रम्पको गलत परराष्ट्र नीतिले गर्दा भारत र चीन विना कारण झैं-झगडामा उत्रेका थिए । हामी नेपाली भने साँढेको जुधाई, बाच्छाको मिचाई भने झैं बिचमा पर्‍यौँ। भारत र चीन दुबै निक्कै तिव्र गतिले आर्थिक विकास गरिरहेका मुलुकहरु हुन् । यिनीहरुले जति धेरै विकास गर्छन् त्यति धेरै नेपालले फाइदा उठाउन सक्छ । यिनले उत्पादन गर्ने उच्चकोटीका सामान हामीले रकम भुक्तान गरेर नै आयात गर्ने हो । अन्य मुलुकहरुबाट यस्ता वस्तुहरु आयात गर्दा भन्दा यी दुई मुलुकहरुबाट आयात गर्दा नेपाललाई सस्तो पर्न जान्छ। बदलामा यिनको जति जति विकास हुँदै जान्छ, त्यति त्यति यी दुबै मुलुक उर्जाका भोका हुँदै जान्छन्, र त्यही उर्जा हामीले यिनलाई आपुर्ति गरेर व्यापार घाटा घटाउने हो । हाम्रा कृषि उपज, साना औद्योगिक उत्पादन, जडिबुटी, जलविद्युत, यी दुईलाई जोड्ने व्यापारीक मार्ग आदी नै हाम्रा मुख्य निर्यातका वस्तु हुँदै जानेछन् । हाल विकसित हुँदै गएको हाम्रो नीजि क्षेत्रको उच्च शिक्षा र स्वास्थ्य सुविधा समेत दक्षिण एशिया कै निम्ति आकर्षणको श्रोत हुन सक्नेछन्। चीन र भारतको राम्रो सम्बन्ध हुने वित्तिकै र यी दुबै देशलाई विश्वासमा लिन सक्नासाथ नेपाललाई माया गर्ने सबै दातृ राष्ट्र र संस्थाहरुको समेत हामीलाई हेर्ने नजर प्रष्ट हुँदै जानेछ। अमेरिकाले त नेपालसँग दौत्य सम्बन्ध कायम भएदेखि नै विभिन्न किसिमका सहयोगहरु गर्दै नै आएको छ । उसले नेपाललाई शिक्षा, स्वास्थ्य, पारवहन, वन–विकास, सञ्चार, रक्षा तथा अन्य धेरै क्षेत्रमा सहयोग गरेको छ। आज नेपालमा भएका विज्ञहरु मध्ये धेरै जना अमेरिकामा नै अध्ययन गरेर फर्केकाहरु छन्। त्यसैले अमेरिकामा को राष्ट्रपति हुन्छ भन्ने कुराले नेपाललाई प्रत्यक्ष असर नपारे पनि उनिहरुको भारत र चीनलाई हेर्ने नजरले हामीलाई अप्रत्यक्ष रुपमा निकै धेरै प्रभाव पारिरहेको हुन्छ । त्यसैले नेपाल सँधै यस्तो अमेरिकी राष्ट्रपति र सरकार चाहन्छ, जो भारत र चीन दुबै देशसँग राम्रो सम्बन्ध राख्ने खालको होस् । भारतसँग अमेरिकाको त्यति धेरै मुद्दा नभए पनि चीनसँग भने कहिल्यै नटुङ्गिने कोरिया, जापान, ताइवान, कम्युनिज्म र व्यापारका मुद्दाहरु छन् । तर कुशल कुटनीतिक चातुर्य भएका नेताले यस्ता समस्या समाधान नहुँदा पनि एकापसमा सुमधुर सम्बन्ध कायम गरिरहन सक्छन् । यही आशा हामीलाई वाइडेन प्रशासन माथि छ । आशा छ आउने दिनमा नयाँ अमेरिकी राष्ट्रपतिको दुरदर्शी नीतिले गर्दा अमेरिका भित्र र बाहिर सबै तिर शान्ति, अमन र चैनको वातावरण बन्दै जानेछ र वातावरण मैत्री आर्थिक विकासले विश्वमा नै समृद्धि ल्याउने छ ।

 

(लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन्)

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार