• शनिबार ६-१०-२०७७/Saturday 09-26-2020
राजनीति

नेकपा र राप्रपा नेताले गरे कांग्रेस प्रवेश

काठमाडौं । खड्गप्रसाद ओली नेतृत्वको झण्डै दुईतिहाइको कम्युनिस्ट सरकार अलोकप्रिय भइरहेका बेला ओलीकै दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपाका नेता तथा कार्यकर्ताहरूले काठमाडौंमा पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

 

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं.२ ले शनिबार शंखारापुर नगरपालिकामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा र राप्रपाका नेता तथा कार्यकर्ताहरू कांग्रेस प्रवेश गरेका हुन् ।उनीहरूलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद भीमसेनदास प्रधान र काठमाडौं क्षेत्र नं। २ का सभापति उपेन्द्र कार्कीले पार्टी प्रवेश गराएका छन् ।

 

नेपाली कांग्रेस प्रवेश गर्नेमा राप्रपा नेपालका जिल्ला सदस्य गोविन्दबहादुर श्रेष्ठ, नेकपाका प्रभावशाली नेता महेश्वर श्रेष्ठ, राप्रपाका नेता राजाराम केसी, राप्रपाका नेता धनराज घलेसहित १५३ जना स्थानीय नेता तथा कार्यकर्ताहरू रहेको काठमाडौं कांग्रेसका जिल्ला सदस्य तथा संगठन विभाग प्रमुख ओमबहादुर कार्कीले जानकारी दिए ।

 

शंखारापुर नगरपालिकाको वडा नं.१ देखि ८ सम्मका राप्रपा र नेकपाका नेता तथा कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन् । पार्टी प्रवेश गराउन संगठन विभागका प्रमुख कार्की, कांग्रेस नेताद्वय उद्धव खड्का र प्रवीणमान सिंहले विशेष भूमिका खेलेका थिए ।

 

काठमाडौं क्षेत्र नं.२ मा तत्कालीन नेकपा (एमाले) बाट प्रतिनिधि सभामा माधवकुमार नेपाल निर्वाचित भएका थिए। नेता नेपाललाई जिताउन भूमिका खेलेका नेता तथा कार्यकर्ताहरूले शनिबारदेखि नेकपा पार्टी परित्याग गरेर कांग्रेस प्रवेश गरेका छन् ।

 

शंखारापुर नगरपालिकामा नेकपाले नै मेयरमा जितेको छ । नेकपाबाट सुवर्ण श्रेष्ठ विजयी भएका छन् । कम्युनिस्टहरूले शंखारापुरामा नेता तथा कार्यकर्ताहरूले पार्टी छाडेपछि कम्युनिस्ट मेयर श्रेष्ठ तथा नेकपाका सांसद नेपाललाई झट्का लागेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार