• बुधबार ४-२१-२०७७/Wednesday 08-05-2020
विचार

त्रिपुरेश्वर महादेवको इतिहास र बाजा संग्रहालयको करुण अवस्था

त्रिपुरेश्वर चोकको थोरै दक्षिण–पुर्वमा वागमती नदीको किनारस्थित कालमोचन घाट जाने गल्लीमा त्रिपुरेश्वर महादेवको ठुलो मन्दिर छ । यो मन्दिर वडामहाराज पृथ्वीनारायण शाहका नाती तथा लहडी राजा रणबहादुर शाहकी कान्छी रानी ललित त्रिपुरासुन्दरी देवीले १९औँ सताव्दीमा बनाउन लगाएकी हुन् । उनकै पालामा काठमाडौँको धरहरा तथा काठमाडौँ र पाटन जोड्ने वागमतीको पुल पनि बनेको थियो । उनी भिमसेन थापाकी भतिजी र माथवरसिंह थापाकी दिदी थिइन् । राजा रणबहादुर शाहले राजराजेश्वरी र सुवर्णप्रभा नामका दुई रानीहरु र एक छोरा हुँदा हुँदै एकजना विधवा मैथिली व्राह्मणी कान्तावती झालाई मन पराएर उनिबाट जन्मने छोरालाई राजा बनाउने शर्तमा विवाह गरे । तिनै व्राह्मणीको कोखबाट राजा गिर्वाणयुद्घ विक्रम शाह जन्मेका हुन् र उनी जन्मने वित्तिकै जेठा राजकुमारलाई पन्छाएर गिर्वाणलाई युवराजाधिराज घोषणा गरे रणबहादुरले ।

 

रणबहादुर शाह साँढे दुई वर्षका मात्र छँदा उनका पिता राजा प्रताप सिंह शाह (वडामहाराज पृथ्वीनारायण शाहका जेठा छोरा) को कलिलो उमेरमा नै बिफरको कारण मृत्यु भएको थियो । त्यसैले शुरुमा मुमा वडामहारानी राजेन्दलक्ष्मी र पछि उनका काका बहादुर शाह उनका राज–अभिभावक (regent) भएर रणबहादुर वालिग नहोउञ्जेलसम्म नेपालमा शासन गरे । तर वालिग भएपछि भारदारहरुको लहै लहैमा लागेर रणबहादुरले सत्ता आफ्नो हातमा आउने वित्तिकै पहिलो काम नै बहादुर शाहका सबै शक्ति क्षीण गराएर उनलाई अवकाश दिए र उनी भारतको वेतियामा गएर अवकाशप्राप्त जीवन बिताउन थाले । केही समय पश्चात रणबहादुरले नेपाल एकिकरणमा पृथ्वीनाराण शाह पछिका अर्का वीर बडानायक काका बहादुर शाहलाई काठमाडौँ झिकाएर ठुलो अन्यायका साथ कैदखाना पठाई केही महिना पछि नै उनको क्रुर हत्या गराए । यो घटनाले पुरै दरवार, फौज र जनता विक्षिप्त भएका थिए त्यतिबेला ।

 

गिर्वाण जन्मेको एक वर्ष पछि नै रानी कान्तावतीलाई क्षयरोग लागेकोले राजगुरु तथा ज्योतिषहरुको सल्लाह अनुसार उनको तान्त्रिक उपचारका लागि शिशु गिर्वाणलाई राजा बनाएर रणबहादुर राजसत्ता त्यागेर तिनै मैथिली रानी र अर्की रानी सुवर्णप्रभालाई साथमा लिएर पशुपति देवपाटनमा गएर साधु भएर गेरु वस्त्र धारण गरेर बसे भने रानी राजराजेश्वरीलाई राज–अभिभावक बनाए । उनको बहुलट्टीपनाबाट अवाक भएका भारदारहरु उनी आफैं यसरी राजसत्ता त्यागेर गएकोमा खुशी थिए । तर यसको केही महिना पछि नै विरामी रानी कान्तावतीको मृत्यु भएपछि रणबहादुर झनै पागल जस्ता भए र मठ, मन्दिर र पुजारी तथा चिकित्सक र ज्योतिषहरु माथि पनि जाइ लाग्ने जस्ता कार्यहरु गर्न थाले र साधगी छाडेर फेरी राजा हुने विचारले दरवारमा गए । तर उनको पक्षमा भारदारहरु र सेना कोही पनि नभएको भान पाए पछि भने उनि रानी राजराजेश्वरीको साथमा भारतको वाराणसीतिर लागे । उनको चार वर्षको भारत बसाईँमा नेपालमा निकै धेरै राजनैतिक घटनाहरु घटे भने त्यतिबेला पनि वेलायतीहरु नेपालको दरवारसम्म हस्तक्षेप गर्ने हैसियतमा पुगिसकेका थिए । पछि रानी राजराजेश्वरी आफ्ना लहडी पति देखि वाक्क भएर काठमाडौँ फर्किइन् र विस्तारै यहाँको सत्तामा आफ्नो पकड बढाउँदै गइन् र राज–अभिभावक रानी सुवर्णप्रभाको हत्या गराएर आपैm राज–अभिभावक बनिन् । उता रणबहादुरको खर्चालु आदतले गर्दा उनले उता निकै धेरै रकम उधारो लिइसकेकोले उनको उधारो तिरिदिएर उनलाई नेपालमा नै गृहकैद गरेर राख्ने हेतुले काठमाडौँ ल्याइँदा केही सरकारी सेना उनी तिर वफादार भई दिनाले उनलाई लिन गएका दामोदर पाँडे तथा अन्य उच्च पदस्थ भारदारहरु थानकोटमा नै बन्दी बनाइए र पछि उनीहरुलाई अनाहकमा भद्रकालीमा शिरच्छेदन गरेर मृत्युदण्ड दिइयो । यसरी लहडी राजा रणबहादुरले बहादुर शाह र दामोदर पाँडे जस्ता नेपालका वीर सपुतहरुको निर्मम हत्या गरे भने शक्तिशाली नेपाललाई निकै कमजोर समेत बनाए । उनी नेपाल पर्किएको केही समय पश्चात नै उनका आफ्नै सौतेलो भाई शेरबहादुर शाहले उनको शिरच्छेदन गरेर हत्या गरे । सोही स्थानमा पछि रणमुक्तेश्वर महादेवको मन्दिर स्थापना भयो ।

 

रणबहादुरको मृत्युमा रानी राजराजेश्वरी सती गएकीले राजा गिर्वाणयुद्ध विक्रम शाह वालिग नहोउञ्जेलसम्म रानी ललित त्रिपुरासुन्दरीले राज–अभिभावक भएर शासन गरिन् । राजा गिर्वाणको पनि अल्पायुमा नै मृत्यु भएकाले रानी त्रिपुरासुन्दरी फेरी आफ्ना नाती राजा राजेन्द्र विक्रम शाह वालिग नहोउञ्जेलसम्म पनि राज–अभिभावक भएर शासन गरिन् । नेपाल एकिकरणको उत्कर्षको समयमा घटेका घृणित दरवारिया राजनीति र नेतृत्वमा आएको खालीपना तथा मोजमस्तीमा लिप्त हुँदै गइरहेको दरवारिया परिवेशको वेला नेपालले भोग्नु परेको पराजय तथा सुगौली सन्धीमार्फत गुमाउनु परेको ठुलो भूभाग यिनै ललित त्रिपुरासुन्दरी र यीनका काका भिमसेन थापा नेपालमा अधिक शक्तिशाली भएको समयको तितो इतिहास हो । ३८ वर्षको उमेरसम्म मात्र बाँचेकी भएपनि उनको राज–अभिभावकत्व (regency) का करिव साँढे दुई दशकमा राजनैतिक अस्थिरता र नेतृत्वविहिन परिस्थितिलाई केही हदसम्म कम गर्न उनको ठुलै देन रह्यो । नेपाली सेनाको आधुनिकीकरण र प्रशासनलाई चुस्त बनाउने अभियानमा यिनले प्रधानमन्त्री भिमसेन थापालाई दिएको साथले पनि नेपालको इतिहासमा निकै महत्व राख्दछ । रानी ललित त्रिपुरासुन्दरी आफ्नो कृति प्रकाशन गर्ने सम्भवत : नेपालकी नै प्रथम महिला श्रष्टा पनि हुन् । यिनले सन् १८२४ मा “राजधर्म” नामक राजाका कर्तव्य र जिम्मेवारी सम्बन्धि पुस्तक प्रकाशन गरेकी थिइन् । यिनको मृत्यु सन् १८३२ मा हैजा (cholera) का कारण भएको थियो । त्यतिबेला भारतबाट शुरु भएको हैजा अमेरिका, युरोप, रुस, चीन र जापानसम्म महामारी कै रुपमा फैलिएर लाखौँ मानिसहरुको मृत्यु भएको थियो । सन् १८२६ देखि १८३७ सम्म रहेको यो महामारीलाई “एशियाली हैजाको महामारी "(Asiatic Cholera Pandemic)” को नामले चिनिन्छ । 

 

रानी त्रिपुरासुन्दरीले बनाउन लगाएको त्रिपुरेश्वर महादेवको ऐतिहासिक मन्दिर सन् २०१५ को महाभुकम्पमा नराम्ररी भत्कियो । मुख्य मन्दिर र दक्षिण तथा पश्चिम तीरका सत्तल त पुरै भत्किए भने उत्तर र पुर्व तीरका सत्तलहरु पनि चिरा चिरा परेर चर्किएका थिए । आज पाँच वर्ष वितिसक्दा पनि यी संरचनाहरुको जिर्णोद्वार तथा पुनर्निर्माण भइसकेको छैन भने उत्तरी सत्तललाई टेको लगाएर अडाइएको छ ।

 

यही मन्दिर परिसरको उत्तरी सत्तलको माथिल्लो तल्लामा २०६४ साल देखि नेपाली लोक बाजा संग्रहालय रहेको छ । एकजना रामप्रसाद कँडेलको व्यक्तिगत पहलमा शुरु भएको यो संग्रहालयमा आज संगीत, कला, संस्कृति र इतिहाससँग सम्बन्ध राख्ने धेरै जनाको संलग्नता छ । रामप्रसाद कँडेलसँग हालै भेट हुँदा उनले आफु शिक्षाशास्त्रका विद्यार्थी, ध्यान वारे शिक्षा प्राप्त गरेको र चित्रकारी सम्बन्धि कलाकारितामा समेत भिजेको व्यक्ति भएको कुरा थाहा भयो । सानै देखि नेपाली वाद्यवादनका साधनहरुमा आफुलाई निकै चाख भएको र यो विधा वारे स्वअध्ययन र खोज कार्य गरेको, र वाद्य सामग्रीहरु संकलन गर्दै हिँडेको पनि करिव चार दशक भइसकेको र यस्तै खोजहरु वारे दुई वटा पुस्तकहरु पनि लेखेर प्रकाशन गरेको कुरा उनले बताए । उनका ध्यानका गुरु स्वामी अखण्डानन्दम् सरस्वतीसँग एकचोटीको भेटमा “गुरुलाई के चढाउँ” भनेर उनले सोध्दा “मलाई केही पनि चाहिँदैन, लोकको कल्याण हुने कुनै राम्रो कार्य गर्नु” भनेर गुरुले भनेकाले उनले विगत २५ वर्षदेखि यो संग्रहालयको विकासमा आफु लागिरहेको कुरा बताए ।

 

रामप्रसाद कँडेलले आफ्नै पहलमा देशका कुना कन्दराको भ्रमण गरेर नेपालका मौलिक बाजाहरुको वारेमा अनुसन्धान गरी सो वारे निकै धेरै तथ्य संकलन गरेका रहेछन् । नेपालमा करिव १,३५० प्रकारका वाद्ययन्त्रहरु पाइन्छन् । ती मध्ये कँडेलले आफ्नो संग्रहालयमा ६५५ थरीका बाजाहरु संकलन गरेका छन् । कुल ६५५ बाजाहरु मध्ये ५८ वटा बाजा विभिन्न सांगितिक घराना तथा संगीतप्रेमीहरुले उपहारको रुपमा उपलव्ध गराएका छन् भने बाँकीलाई खरिद गरिएको हो । नेपालकै सबैभन्दा ठुलो र सानो साराङ्गी पनि यस संग्रहालयका राखिएको छ । नेपालका कैयन् लोक बाजाहरु लोप हुँदै गइसकेका छन् । शुरुमा हार्मोनियम र पछिल्लो समयमा डिजिटल किवोर्डहरुको आगमनले परम्परागत तार वाद्ययन्त्रहरुलाई धेरै असर परेको छ ।  तर लोप भएका वाद्ययन्त्रहरु र तिनलाई बजाउने तरिकाको खोजी कार्य अझ पनि जारी छ । विदेशीसँग प्रतिष्पर्धा गर्न नसकेर नेपाली परम्परागत मिठाइका पसलहरु विस्तारै बन्द हुँदै गएको र नयाँ पिँढीले समेत यो पेशा गर्न नचाहे भैmँ नेपालको संगीत क्षेत्रमा खासगरी डिजिटल प्रविधि भित्रिए पछि परम्परागत बाजाहरुको महत्व घट्नुका साथै नयाँ पिँढीहरु परम्परागत संगीत, भेषभुषा र जात्रा तथा भोजहरुबाट टाढा हुँदै गएका छन्। तर समाजमा बचे खुचेका केही परम्परागत संगीतकर्मीहरु र संस्कृतिविद्हरु तथा नेपाली लोक बाजा संग्रहालय जस्तो संस्थाको अथक परिश्रमले गर्दा लोक भाका तथा बाजाहरु अझैं जिवित नै छन् भने आज आएर नारीहरुले पनि परम्परागत बाजाहरु बजाउन सिकिरहेको अवस्था छ ।

 

बीसौं शताव्दीको मध्यसम्म पनि विश्वमा मनोरञ्जनका साधन निकै सिमित मात्रामा हुने भएकोले नाच, गान, नाटक र संगीतले ठुलो महत्व पाएको थियो । राजा महाराजाहरुको वैठक देखि विभिन्न जात्रा, पर्व र मुजराहरुमा यस्ता क्रियाकलापहरु निकै धेरै हुन्थे । तर विज्ञानको विकास र मनोरञ्जनका नवीनतम साधनहरुले गर्दा पुराना शैलीका मनोरञ्जनका साधनहरु विस्तारै ओझेलमा पर्दै जान थाले । आज त यस्तो जमाना आयो की परिवार वा समुदायका सबैजसो सदस्यहरु हातमा मोवाइल फोन बोकेर आफ्नै संसारमा डुबिरहेका हुन्छन् ।

 

शिवजीको वासस्थान तथा तन्त्रमन्त्रको निकै विकास भएको हिमालयको काखमा अवस्थित हाम्रो देश नेपालमा ताल वाद्ययन्त्रहरु पनि निकै धेरै विविधताका साथ पाइन्छन् ।  नेपालमा करिव ९०७ प्रकारका चरा–चुरुंगीहरु भेटिएका छन् । परापुर्वकाल देखि नै यी चराचुरुंगीहरुका आवाज र भावभंगिमाका आधारमा धेरै नेपाली संगीतका भाका र तालहरु र नाचहरुको सिर्जना भएको छ । यसको एउटा ज्वलन्त उदाहरण किरातहरुको उभौली र उँधौली नाच र सो नाच नाच्दा बजाइने बाजा र तिनका तालहरु नै हो । यसरी नेपालका हिमाली, पहाडी र तराई सबै ठाउँका भू-भागहरुमा पशुंपक्षी, भौगोलिक वनोट र मौषमले हाम्रा नाचगान, सुरसंगीत र भेषभुषामा प्रभाव पारेका छन् । तराइका समथर मैदानमा खुला ठाउँ र गर्मी मौषम हुने भएकोले त्यहाँका गीत, संगीत र नाच छिटो छिटो तालका हुन्छन् भने गर्मीको कारण नाच्दा कपडा पनि कम लगाइन्छन् । त्यस्तै पहाडमा उकालो, ओरालो र थोरै समथर भूमि हुने तथा टाढा टाढासम्मका मनोरम दृश्यहरु देख्न पाइने भएकोले संगितमा पनि केही भाभुकता र खुशी मिसिएको पाइन्छ तथा रंगीचंगी लुगा र झपक्क गहना लगाउने गर्दछन् भने पहाडकै कैयन् इलाका र काठमाडौँ उपत्यकामा जात्रा, पर्वहरु धेरै हुने भएकाले ती सबै अवसरहरुमा बजाइने बाजाहरुको आआफ्नै छुट्टै प्रकार हुन्छ । दुइतिरबाट आउने र जम्का भेट हुने बाजागाजा सहितको जात्राका टोलीहरु त बाजा र नृत्यबाट नै एकापसमा सूचना आदान प्रदान गर्ने र कुरा गर्ने गर्दछन् । हिमाली भेगको कुरा गर्दा यो भेग निकै उच्च भूभागमा रहेकोले यहाँ ठण्डी र चिसो हावाको बहाव ज्यादा हुने भएकाले यहाँका मानिसहरु बाक्ला लुगा, टोपी र जुत्ता लगाएर गाना बजाना र नृत्य गर्दा एकापसमा शरीर टाँस्ने र उफ्रने गर्छन् र खासगरी ढोल र फुकेर बजाउने बाजाहरुलाई प्राथमिकता दिन्छन् । यिनले बजाउने तार वाद्यहरु पनि विभिन्न प्रकारका हुन्छन् । 

 

परापुर्वकाल देखि नै आदिवासीहरुको सञ्चारको मुख्य साधन विभिन्न किसिमका ढोल र नगराहरु रहेका थिए । विश्वभर नै सेनाले आफ्ना जवानहरुलाई लडाईमा जाने बेला स्फुर्त र निडर बनाउन विभिन्न किसिमका बाजा र संगित बजाउने चलन आजसम्म पनि छ । विगुल बजाएर सेनाका विभिन्न कार्यक्रमहरुमा सम्मान प्रकट गर्ने, सेनाको व्याण्ड मार्फत विभिन्न किसिमका खुशीयाली र दुखद क्षणका धुनहरु बजाउने प्रचलन आज पनि विश्वका सबै देशहरुमा छ । सेनाको अनुशासन र चुस्तपनाको लेखाजोखा त्यो देशको सेनाका व्याण्डको गुणस्तरबाट पनि मापन गरिन्छ ।

 

त्यतिमात्र कहाँ हो र, आज पनि युरोपका कैयन् देशहरुका रंगशालाहरुमा फुटबल खेल भइरहँदा दुबै टोलीका समर्थकहरुले विभिन्न सुर र तालमा दोहोरी नै गाउँछन् । यस्ता प्रतियोगिताहरुमा विभिन्न प्रकारका ढोल, ड्रम र झ्याली तथा फुकेर बजाउने ट्रम्पेट, स्याक्सोफोन आदि पनि बजाइन्छन् । 

 

गोर्खाली पल्टनले पनि लडाईमा जाँदा साइत हेर्ने र बाजागाजा सहित सगुन खाने परम्परा थियो । द्रव्य शाहको पालामा नै नगरा बाजा बजाउनको लागि नगार्चीको पद सिर्जना भएको थियो । यो कम्मरमा बाँधेर दुई हातले पातलो लट्ठीको सहारामा बजाइने एकमुखे ताल वाद्य हो भने ढोल दुई मुखे मादल जस्तो वाद्य हो । नरभुपालशाहको पालामा जागिरे भएका विशे नगर्चीले पृथ्वीनारायण शाहसँग अधिकांश लडाईँहरुमा सँगै हिँडेका थिए । पृथ्वीनारायण जन्मे पछि उनको पहिलो भोटो पनि विशे नगर्चीले नै सिलाएका थिए । पछि सम्म पनि उनकै सन्ततीहरुलाई नगार्चीको दर्जा दिइने परम्परा बसेको थियो ।  पृथ्वीनारायण शाहले निकै मन पराएका विशे नगर्ची लडाईँमा जाने वेलामा नगरा बजाएर साइत जुराउने र राती राती गोर्खाली पल्टनसँग गौँडा गौँडामा शत्रुहरु भगाउन नगरा बजाएर हिँड्ने गर्दथे भने मणीराम गाइनेको काम घर घरमा गएर गित गाउँदै युवाहरुलाई गोर्खाली पल्टनमा जान प्रोत्साहन गर्ने र लडाईँको समयमा फौजीहरुलाई गाइने भाकाका गितहरु सुनाएर मनोरञ्जन दिने थियो । 

 

उ बेला नेपालका धेरै गाउँहरुमा सेनाका बाजा बजाउनेहरुले सहनाईबाट आरतीको धुन बजाएपछि गाउँवासीहरु राती सुत्ने र विभासको धुन बजाए पछि आधा रात बितेको थाहा पाउने अनि बिहानी चरीको धुनसँगै बिहान उठ्ने प्रचलन थियो । बिहानी चरीको धुन बिहान हुनु अघि कुखुराको भालेको वाग सँगै बजाइन्थ्यो । त्यसरी वागसरी धुन बजाउनेहरुलाई त्यतिबेला नववाग (नौवाग) भनिन्थ्यो भने ढोल बजाउनेहरुलाई ढोली । आजको “वागदास” र “ढली” भन्ने थर पनि त्यसैबाट अपभ्रंश हुँदै बनेको हुनसक्छ । त्यस्तै गाउँलेहरुलाई कुनै सूचना दिन परेमा त्यतिबेला कटुवालहरुले नगरा बजाउँदै सरकारी खवर र सूचना सुनाउँथे भने खुशीको समाचारमा झ्याली पनि पिटिन्थ्यो । शिवजीको आराधना गर्दा विभिन्न प्रकारका शंख र डमरुहरु आज पनि बजाइन्छन् भने मन्दिरहरुमा साना तथा विशाल घण्टहरु स्थापना गरेर चढाउने र बजाउने चलन पनि आजसम्म छ ।

 

मल्लकालमा पनि उपत्यकाका तिनैवटा शहरहरुमा विशाल नगरा राखिएका हुन्थे भारदारहरुलाई एकत्रित गर्न । भक्तपुरमा राखिएको नगरा सबैभन्दा सानो हो । पाटनको मध्यम खाले नगरा भने पछि हरायो । काठमाडौँको हनुमान ढोकामा मल्लकालमा पनि ठुलो नगरा थियो भने पछि बहादुर शाहले उनको राज–अभिभावक कालमा अर्को चाँदीको ठुलो नगरा राख्न लगाएका थिए । उनैले नुवाकोट दरवारको देवीथानमा पनि नगरा चढाएका थिए । विभिन्न अवसरमा बजाइने हनुमान ढोकाको यही नगरा बजे पछि कोतपर्वको बेला सबै भारदारहरु त्यहाँस्थित कोतमा आधारातमा भेला भएका थिए । रानी राजेन्द्रलक्ष्मीको उपस्थितिमा गगनसिंहको हत्यारा पत्ता लगाउने वहानामा जंगबहादुर र उनका भाईहरु तथा आफन्तहरुले त्यतिबेला उपस्थित अधिकांश भारदारहरुलाई छप्काएर ठुलो रक्तपात मच्चाएर मुलुकको सत्ता १०४ वर्षसम्म रहने गरी आफ्नो हातमा पारेका थिए । रक्तपातको आवाज बाहिर नजाओस् भनेर नगरा पनि घन्कि नै रहेको थियो ।

 

अब केही छिन नेपाली लोक बाजा संग्रहालय कै कुरा गरौँ । यो संग्रहालय २०५८ सालमा भद्रकालीको सत्तलमा शुरु भएको थियो । पछि त्यहाँ स्थानाभाव र सत्तलहरुको मर्मतको कुराले गर्दा पनि पुरातत्व विभागका तत्कालिन प्रमुख कोषप्रसाद आचार्यको पहलमा तत्कालिन संस्कृति मन्त्री वुद्घिराज वज्राचार्यले यो संग्रहालयलाई २०६४ सालमा हालको ठाउँ यानी त्रिपुरेश्वर महादेव वहालको सत्तलमा सार्न गुठी संस्थानलाई आव्हान गरेछन् र यो संग्रहालय सरेछ पनि । वज्राचार्य आफु पनि गायक हुन् । उनले गाएका धेरै भजनहरु युट्युव, रेडियो र टेलिभिजनमा बजिरहेका हुन्छन् । यो संग्रहालयलाई राष्ट्रियस्तरको सम्पदास्थलको रुपमा पहिचान दिन संस्कृति मन्त्रालयका तत्कालिन सह सचिव तथा गितकार शंकरप्रसाद कोइराला र ध्यानका विज्ञ (meditation expert) मुकुन्द विष्टले पनि ठुलै पहल गरेका रहेछन् । यो संग्रहालयको विकासका लागि देश भित्र र बाहिरका विभिन्न संस्थाहरुले केही सहयोग समेत गरेका छन् । 

 

हाल यो संग्रहालयमा ६५५ थरीका बाजाहरु, नेपालमा प्रकाशन भएका तथा अन्य करिव ५,००० लोक संगीत वारेका पुस्तकहरु तथा चित्रहरु भएको पुस्तकालय, नेपालमा लोक बाजा तथा संगीतमा योगदान दिने व्यक्तिहरुको तस्विरहरुको समेत प्रदर्शन गरिएको छ । यसै संग्रहालयमा नेपालमा विहे, चाडपर्व तथा जात्रामा बजाइने परम्परागत वाद्यवादनका साधन सहितको “विशे नगर्ची ग्यालरी” र परम्परागत लोक गायन सम्बन्धि “मणीराम गाइने ग्यालरी” पनि अवस्थित छन् । पञ्चे बाजा बजाउने दमाई जातीहरु मध्ये धेरै जना हाल निकै शिक्षित भएर मुलुकका ठुला ठुला पदहरु सम्हालेर बसेका छन् भने संगीतको क्षेत्रमा पनि उनीहरुको संलग्नता अधिक मात्रामा छ । अझैपनि यो जातीका धेरै मानिसहरुको जीवनस्तर उठाउन धेरै प्रयत्न गर्नुपर्ने देखिन्छ ।


जनकविकेशरी धर्मराज थापाले नेपालका लोक गाइनेहरुलाई “गन्दर्भ” भन्ने थर दिएका थिए । यी गाइनेहरु निकै समयसम्म कुण्ठित भएर बसेका थिए । मुलुकका विभिन्न ठाउँमा बस्नेहरु मध्ये केही गन्दर्भहरुले संगीतमा राम्रै नाम र दाम बनाएका भए पनि यो समुदायका अधिकांश बालबच्चा, युवा र वृद्घहरु अहिले पनि सडक, राजमार्ग, पिकनिकस्थल, होटल तथा रेष्टुरेन्टमा आफ्ना विरहका गितहरु साराङ्गीको धुन र तालमा गाएर जिविका चलाउँछन् । शिक्षाको पहुँच यिनीहरुमा त्यति छैन र यिनका महिलाहरु पनि पुरुषको तुलनामा त्यति घर बाहिर आउँदैनन् । अज्ञानता र गरिवीले भने यो समुदायको चरम सिमा नै नाघेको छ ।

 

यो संग्रहालयमा बेला बेलामा लोक बाजा तथा धुनहरु बजाएर सुनाउने, संगीत वारेका श्रव्यदृश्यहरु प्रदर्शन गर्ने तथा लोक संगीतका विज्ञहरुलाई आमन्त्रण गरेर प्रवचन समेतका कार्यक्रमहरु आयोजना गरिँदा रहेछन् । यस्ता कार्यक्रममा भाग लिन स्वदेशी, विदेशी र नेपालस्थित विभिन्न राजदुतावास र विदेशी नियोगका व्यक्तिहरु समेत आउँदा रहेछन् । तर भुकम्पले जर्जर बनाएर टेकोमा अडाइएको यो सत्तलको माथिल्लो तल्लामा बसेर यी सबै क्रियाकलायहरुको अवलोकन गर्नु पनि डर मर्दो नै छ ।

 

सन् २०११ देखि यो संग्रहालयले प्रत्येक वर्ष सांस्कृतिक संस्थानको हलमा अन्तर्राष्ट्रियस्तरको लोक संगीत महोत्सवको आयोजना गर्दै आएको छ । हालसम्म यस्ता ९ वटा महोत्सवहरुको आयोजना भइसकेको छ र आउँदो नोभेम्वरमा कोरोनाको महामारी घटेको खण्डमा दशौँ संस्करणको पनि आयोजना गर्ने सोच राखेको छ संग्रहालय व्यवस्थापनले । यस्ता महोत्सवहरुमा १५ देखि २५ वटा देशका विभिन्न संस्थाहरुले भाग लिँदा रहेछन् र आआफ्ना मुलुकका लोक बाजा, संगीत र कला वारेका भिडियो र डकुमेन्ट्री प्रदर्शन, प्रत्यक्ष सांगितिक प्रस्तुती, र खोजका रिपोर्टहरु प्रस्तुत गर्दा रहेछन् । यसो हुनाले सबै सहभागी मुलुकका संगीतका पारखी, विद्यार्थी र सोधकर्ताहरुलाई विश्व लोक संगीतको वारेमा निकै राम्रो ज्ञान प्राप्त हुने गरेको छ ।  

 

यस संग्रहालयको अर्को ठुलो तथा अपत्यारिलो संग्रह भनेको यहाँ करिव ४०,००० घण्टाको लोक बाजा वारेको श्रव्य–दृश्यको अभिलेख  (Audio Visual Archieve) छ । यी मध्ये धेरै एनालग (analogue) छन् भने ५ घण्टा जतिको अभिलेखलाई भने डिजिटाइज (digitize) गरिएको छ । पुराना श्रव्य–दृश्य अभिलेखहरु साउण्ड वाक्स सिलिन्डर प्रविधि (Sound Wax Cylinder Technology) बाट बनाइएकाले धेरै पुराना अभिलेखहरुको ध्वनीको गुणस्तर राम्रो छैन । केही वर्ष पहिले नेपालस्थित वेलायती राजदुतावासले संग्रहालयका प्राविधिक सहयोगीहरुलाई श्रव्यदृश्यको अभिलेख राख्ने प्रविधि वारेको तालिम दिनुका साथै यो कार्यको निम्ति आवश्यक उपकरण पनि सहयोग स्वरुप उपलव्ध गराएको रहेछ । हाल पनि उक्त संग्रहालयको एउटा सानो कोठामा यिनै उपकरणहरुको प्रयोग गरेर लोक संगीतका अभिलेखहरु तयार गर्ने काम भइ नै रहेको छ ।

 

भिमशम्शेर नेपालका प्रधानमन्त्री छँदा यानी सन् १९३१ को अप्रिल महिनातिर हालको आँखा अस्पताल रहेको पुरानो दरवारमा आर्नोल्ड ए. वाकी (Arnold A. Baki) नामका विश्वका नै जातीय संगीतका पिता (Father of Ethnomusicology) ले वेलायतबाट नेपाल आएर तिन महिना बसेर विशेष गरी नेवारी नाच तथा संगीतको साँढे तिन घण्टा लामो फिल्म बनाएका रहेछन् । यो नै नेपालमा खिँचिएको पहिलो श्रव्यदृश्य हो । यिनले दक्षिण एशिया कै धेरै क्षेत्रका संगीतहरु यसरी नै रेकर्ड गरेर लण्डनस्थित ब्रिटिस लाइवेरीलाई प्रदान गरेका रहेछन् । आर्नोल्डलाई नेपाल चिनाउने व्यक्ति चीन तथा भारतवर्षविद् सिल्भायन लेभी (Sylvain Levi) रहेछन् । 


केही समय अघि काठमाडौँ विश्वविद्यालय, गुठी संस्थान र पुनर्निर्माण प्राधिकरण विच त्रिपुरेश्वर मन्दिर र यस परिसरमा रहेका सत्तलहरुको जिर्णोद्घार र पुनर्निर्माण गर्ने तथा २५ वर्षसम्म मन्दिर वरिपरिका सत्तलहरुमा केयूले संगीतको विद्यालय चलाउने सम्झौता भएको छ । यसो हुने भए पछि हाल मन्दिरको एकापट्टी बसिरहेको नेपाली लोक बाजा संग्रहालयलाई पनि त्यहाँबाट सर्न सूचना जारी भइसकेको छ भने उक्त संग्रहालयले पनि ठाउँ छोड्न नपरोस् भनेर अदालतमा मुद्दा दायर गरेको छ । मुलुकको सांस्कृतिक धरोहरको जिर्णोद्घार र पुनर्निर्माणमा एउटा प्रतिष्ठित विश्वविद्यालयको संलग्नता हुनु त राम्रो कुरा हो तर अरु नै प्रयोजनको निम्ति बनेका यस्ता सत्तलहरु व्यावसायिक प्रयोजनका लागि दिनु कत्तिको उचित कार्य होला । यदी काठमाडौँ विश्वविद्यालयले मुनाफा जति मन्दिर र संगीत क्षेत्र कै संरक्षण र सम्बन्धमा खर्चने हो भने यो एउटा राम्रो निर्णय हुनेछ, तर संगीतको विद्यालय खुल्न लागेको ठाउँको एउटा सानो हिस्सामा नेपाली लोक बाजाहरुको संग्रहालय पनि रहनु भनेको संगीतका विद्यार्थीहरुको लागि निकै ठुलो सम्पत्ति जोडेर राख्नु जस्तै होइन र ? यी दुवै महत्वपुर्ण र एक अर्कासँग सम्बन्धित संस्थाहरु त्यहाँ अटाएर एकापसमा सहकार्य किन नगर्ने ? यो गौढ कुरामा सम्बन्धित निकायहरुको ध्यान जानु अति आवश्यक छ । 

 

लोक बाजाको संग्रहालय सबैको पहुँच हुने त्रिपुरेश्वर क्षेत्रमा रहेको भएपनि लोक संगीतको अनुसन्धान, विकास, सभा, गोष्ठी, तथा आवासीय कार्यक्रमहरुको लागि संग्रहालय व्यवस्थापनले राजधानीको कुनै उपयुक्त, सुन्दर र शान्त क्षेत्रमा एक सुविधा सम्पन्न भवन समेत बनाउनको लागि सहयोगी हातहरुको खोजी गरिरहेको छ । विगतमा पनि स्कटल्याण्ड वेलायत, जापान तथा अन्य मुलुकहरुमा बस्ने नेपाली तथा विदेशीहरु तथा नेपाल कै कैयन् व्यक्ति र संस्थाहरुले पनि यो संग्रहालयको उत्कृष्ट कार्यको कदर स्वरुप विभिन्न प्रकारका सहयोगहरु गर्दै नै आएका छन् भने सबै हितैषीहरुको सहयोगमा यो नयाँ सोच र सपना पनि पुरा गर्न मद्दत पुग्छ भन्ने आशा छ । यो लेख पढ्नु हुने सबै पाठकहरुमा पनि एकचोटी यो संग्रहालयमा गएर यसका विभिन्न क्रियाकलापहरुको अवलोकन गर्नुहुन म विनम्र अनुरोध गर्दछु ।

 

नेपाली लोक बाजा संग्रहालयको अद्वितिय कार्य तथा यसको विकासमा संस्थापक श्री रामप्रसाद कँडेलको २५ वर्षको मेहनत, इमान्दारीता र अथक परिश्रमको कदर गर्दै हालै उनलाई जापान सरकारले सन् २०२० को “निक्केई एशिया पुरस्कार (Nikkei Asia Prize 2020)” बाट सम्मान गर्ने निर्णय गरेको छ । हार्दिक वधाई ।

 


(लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन् )

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार