• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
विचार

कोरोना भाइरस संक्रमणको हालसम्मको स्थिति

चीनको हुवेई प्रान्तको राजधानी वुहानमा कोरोना भाइरसको संक्रमण शुरु भएको भनेर विश्वले थाहा पाएको पनि ६ महिना भईसकेछ । आज आएर विश्वमा कोरोना भाइरसबाट संक्रमितको संख्या एक करोड नाघिसकेको छ भने मर्नेहरुको संख्या पनि ५ लाख २० हजार पुगिसक्यो । तर आजसम्म विश्वको कुनै पनि ठाउँमा यो भाइरसको संक्रमण हुन नदिने अथवा यसबाट जोगिने कुनै भ्याक्सिन वा औषधीको आविष्कार हुन सकेको छैन । हाल यसको रोकथामको मुख्य तरिका भनेकै अनुशासित भएर सरसफाईमा विशेष ध्यान दिने, सामाजिक दुरी कायम गरेर जिउने, मास्क लगाउने, सकेसम्म घरैमा बस्ने, तथा शरीरको रोगसँग लड्न सक्ने क्षमतालाई उच्च विन्दुमा राख्ने हो । जबसम्म कोरोनाको कुनै किसिमको औषधी बनेर सर्वसुलभ हुँदैन, तबसम्म कोरोनामय वातावरणमा जिउने तरिका हालको लागि यही नै हो । यो भन्दा पहिले पनि यस्ता वा यो भन्दा पनि ठुला महामारीहरुले विश्वमा धेरै चोटी वितण्डा मच्चाएका छन् । परापुर्वकालमा पनि कैयन् चोटी यस्ता महामारीहरुले विश्वमा धेरै मानिस तथा जीवजन्तुहरुको ज्यान लिएको थियो । त्यतिबेला भ्याक्सिन बनाउने भन्ने कुराको त कल्पना नै गर्न सकिँदैन थियो । तापनि आयुर्वेदिक औषधीको सेवन, सामाजिक दुरी कायम गरेर र सकेसम्म घर घरमा नै बसेर यो संक्रमण कम हुने आशामा मानिसहरु बस्दथे । शुरुमा निकै कडा रुपमा प्रस्तुत हुने यस्ता भाइरसहरुको शक्ति समयको प्रवाहसँगै क्षीण हुँदै जाने भएर होला यस्ता महामारीहरु लाखौँ–करोडौँको ज्यान लिएर आफैं हराउँदै जान्थे । 

 

हालै इटालीका एकजना वैज्ञानिकले कोभिड–१९ ले शुरुमा इटालीमा ठुलै क्षति गरेको भएपनि हाल आएर यसको शक्तिमा ह्रास आएकाले कोरोना भाइरसबाट संक्रमित विरामीहरु आजकल उपचार पश्चात पहिले भन्दा सजिलोसँग निको हुन थालेको कुरा बताएका छन् । विश्व स्वास्थ्य संगठनले भर्खरै मात्र प्रसार गरेको एक सूचना अनुसार कोरोना भाइरसको संक्रमण भएको तर परिक्षण नगरेको तथा कुनै लक्षण पनि नदेखिएको मानिससँग बस्ने, हिँडडुल गर्ने तथा सम्पर्कमा आउने मानिसहरुलाई यो रोगले नछुने कुरा बताइएको छ । तर यसो भन्दैमा लापरवाही गरेर हिँड्ने तथा चलि आएका रोकथामका उपायहरु अवलम्वन गर्न छोड्नु भने हुँदैन ।

 

कोरोना भाइरसको संक्रमणबाट बच्न विश्वका सबैजसा देशहरुमा हाल प्रचलनमा आएका लकडाउन, सेल्फ क्वारेन्टाइन, पहिचान, परिक्षण तथा उपचार जस्ता उपायहरु अवलम्वन भएका भएता पनि निकै कम देशहरु मात्र यो महामारीबाट बच्न सफल भएका छन् । आजको दिनसम्म कोरोना भाइरसको संक्रमण १ करोड ८ लाख मानिसमा भइसकेको र यसबाट ज्यान गुमाउनेहरुको संख्या पनि ५ लाख २० हजार पुगिसकेको छ भने कोभिड–१९ बाट बिजय प्राप्त गर्नेहरुको संख्या ६० लाख पुगेको छ । जनसंख्याको आधारमा हेर्दा यो महामारीले प्रति दश लाख मानिसमा करिव १,३५० जनालाई संक्रमित बनाएको छ भने करिव ६६ जनाले ज्यान गुमाउने गरेका छन् । यो महामारीको संक्रमण सम्बन्धि परिक्षण विश्वमा नै नगण्य मात्रामा भइरहेकोले संक्रमितको खास संख्या हाल पत्ता लागेको भन्दा निकै नै धेरै हुन सक्छ । तर यसको कारण आजसम्म भएको मृत्यु भने विश्वको ७ अर्ब ८० करोडको जनसंख्यामा ०.००६५ प्रतिशत मात्र हुन आउँछ र त्यसमा पनि हाल यो संक्रमणको कारण मृत्यु भएका भनिएका अधिकांश मानिसहरु अन्य ठुला रोगहरुले पनि ग्रस्त थिए ।

 

विश्व स्वास्थ्य संगठनले यही हप्ता मात्र दिएको जानकारी अनुसार निकै कम मुलुकहरुले यो महामारीलाई रोक्न सफल भएको भएपनि वास्तवमा यो झन् झन् बढ्दो छ र यसको अझ भयानक रुप त देखिन बाँकी नै छ । उसको प्रक्षेपण अनुसार संक्रमण र भुकमरीले गर्दा विश्वमा धेरै मानिसहरुले निकट भविश्यमा ज्यान गुमाउने छन् । सबैभन्दा अचम्मको कुरा त के पनि छ भने संयुक्त राज्य अमेरिका जस्तो विकसित मुलुकको राष्ट्रपतिले यो महामारीलाई निकै हलुकासँग लिएर रोकथामका उपायहरु राम्ररी अवलम्बन नगर्नाले आज विश्वमा अमेरिका नै सबैभन्दा बढी संक्रमितहरु भएको देश हुन पुगेको छ । आज अमेरिकामा २७ लाख ८० हजार यानी विश्वको एक चौथाई भन्दा बढी संक्रमित व्यक्तिहरुको संख्या पुगिसकेको छ भने सबैभन्दा बढी मृत्यु पनि त्यहीँ नै भएको छ । आजसम्म अमेरिकामा १ लाख ३० हजारले ज्यान गुमाइसकेका छन् भने निको हुनेको संख्या पनि साँढे ११ लाख छ। हालै अमेरिकाका स्वास्थ्य सम्बन्धि विज्ञहरुले हाल दैनिक लगभग ४५ हजार नयाँ संक्रमितहरु थपिइरहेकोमा यस्तै हेल्चक्र्‍याईँ भईरहेमा यो संख्या दैनिक १ लाखले थपिन सक्ने कुरा बताएका छन् ।

 

संयुक्त राज्य अमेरिका कै विशाल उत्तरी छिमेकी क्यानाडाको कोरोना रोकथाममा निकै ठुलो प्रयास भएपनि त्यहाँ पनि यो महामारीको चपेटामा झण्डै १ लाख भन्दा बढी संक्रमितहरु भेटिइसके भने ८ हजार ६ सयले ज्यान समेत गुमाईसके । तर पछिल्लो समय त्यहाँको सरकारले त्यहाँ लापरवाही गर्ने जनताहरु माथि निकै कडाई गरेर लकडाउन गरेपछि भने अहिले संक्रमितको संख्या २८ हजारमा झरेको छ ।

 

आज विश्वमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित हुने मुख्य ५ मुलुकहरुमा अमेरिका, व्राजिल, रुस, भारत र वेलायत छन् । विश्वमा भेटिएका संक्रमितहरुको संख्याको आधा भन्दा बढी हिस्सा यी ५ मुलुकहरुमा नै छ भने मर्नेहरुमा पनि आधा भन्दा बढी यिनै मुलुकका वासिन्दा छन् ।  शुरुमा चीन, इटाली, स्पेन, स्वीडेन, फ्रान्स, जर्मनी, इरान, टर्की, दक्षिण कोरिया जस्ता मुलुकहरुमा सबैभन्दा बढी संक्रमितहरु भेटिनुका साथै यी मुलुकहरुमा मृत्यु हुनेहरुको संख्या पनि अधिक भएकोमा आज यी मुलुकहरुले आफ्नो अवस्था निकै सुदृढ गरिसकेका छन् । तैपनि यी संगै खासगरी अन्य युरोपियन मुलुकहरुले अझ पनि निकै धेरै प्रयत्न गर्नुपर्ने देखिन्छ । त्यस्तै पछिल्लो समयमा संक्रमण निकै बढेको अति विकसित देश जापानले पनि कोरोना भाइरस रोकथाममा निकै मेहनत गरेकोले आज त्यहाँ बाँकी संक्रमितको संख्या १८ हजार ५ सयबाट घटेर १ हजारको हाराहारीमा झरेको छ, तर यस क्रममा ९७४ जनाले ज्यान समेत गुमाउनु पर्‍यो ।  

 

सन् २०२० को मार्च महिनादेखि निकै तिव्र रुपमा पैmलिन थालेको यो महामारीको कारण हाल विश्वभर दैनिक १ लाख ५० हजार भन्दा बढी संक्रमितहरु थपिइरहेका छन् भने मर्नेहरुको संख्यामा क्रमिक रुपमा केही कमी आउँदै गए पनि हाल दैनिक ५ हजारको हाराहारीमा मानिसहरुको मृत्यु भइरहेको छ ।

 

युरोपको कुरा गर्दा कोरोनाको अत्याधिक संक्रमणले ग्रस्त फ्रान्स र जर्मनीसँग टाँसिएका तथा वेलायतबाट निकै नजिकका बेनेलक्स मुलुकहरु यानी वेल्जियम, नेदरल्याण्ड्स र लक्जम्वर्गमा पनि कोरोना निकै नै फैलिएको र आजसम्म पनि पुरा नियन्त्रणमा आउन सकेको छैन ।  यी तीन मुलुकमा मात्र १ लाख १६ हजार संक्रमित भएकामा अझै आधा संख्यामा संक्रमित रहेका छन् भने करिव १६ हजारको मृत्यु भईसकेको छ ।

 

त्यस्तै स्क्यान्डिनेभियन र नोर्डिक राष्ट्रहरुमा शुरुमा निकै नै फैलिएको कोरोनाको संक्रमण यी राष्ट्रहरुको अथक प्रयासले गर्दा आज आएर नगण्य अवस्थामा पुगिसकेको छ । केही महिना अघिसम्म यो क्षेत्रमा १ लाख संक्रमित हुनुका साथै ६ हजार ४ सयले ज्यान गुमाएकोमा आज यहाँ मात्र १३ सय संक्रमितहरु छन् । सबैभन्दा बढी संक्रमण (७० हजार) र मृत्यु (५,३७०) स्वेडेनमा भएको थियो । तर अचम्म, आज त्यहाँ एकजना पनि संक्रमित छैन । त्यस्तै फिनल्याण्ड, आइसल्याण्ड र नर्वेले पनि कोरोना रोकथाममा निकै धेरै कार्यहरु गरे ।

 

युरोपका ग्रिस, वाल्कन, मध्य र पुर्वी मुलुकहरुको कुरा गर्दा यी करिव १८ मुलुकहरु मध्ये संक्रमणको प्रभाव सबैभन्दा बढी पोल्याण्ड, रोमानिया, चेक रिपव्लिक र सर्बियामा भएको देखिन्छ । यो पुरै क्षेत्रमा करिव १ लाख ३० हजार संक्रमितहरु भेटिएकोमा करिव ६ हजार जनाको मृत्यु भएको थियो ।

 

संक्रमण शुरु भएपछि लकडाउनमा गएको युरोपका अधिकांश देशहरुले क्रमिक रुपमा हिँडडुल र व्यापार–व्यवशाय खुला गर्दै गएर अब युरोप भित्रको आवागमन खुला गर्ने योजना बनाएको भएपनि त्यहाँ अझ पनि कोरोनाको महामारी बढ्दै जान सक्ने सम्भावनाहरु निकै भएकोले यी मुलुकहरु र त्यहाँका जनताहरुले विशेष सावधानी अपनाई नै रहनुपर्नेछ । 

 

दक्षिण अमेरिकाको कुरा गर्दा त्यहाँ अहिलेसम्म कुल २२ लाख ५० हजार संक्रमितहरु फेला परेका छन् भने सो मध्ये ८४ हजार ५ सयले ज्यान गुमाइ सकेका छन् । त्यहाँ अझैंपनि साँढे ८ लाख कोरोनाका विरामीहरु छन् । गरिवी, अशिक्षा, लापरवाही, अन्धविश्वास र सरकारी अकर्मण्यताले गर्दा दक्षिण अमेरिकाका धेरै जनघनत्व भएका मुलुकहरु व्राजिल, पेरु, चिली, कोलम्विया तथा मध्य अमेरिकाको मेक्सिको र ग्वाटेमालामा कोरोनाको संक्रमण दिनानुदिन बढ्दै गएको छ भने अर्जेन्टिना, इक्वाडोर, वोलिभिया तथा यही क्षेत्रका पानामा, डोमिनिकन रिपव्लिक आदिले रोकथामका उपायहरु राम्ररी अवलम्बन गरेकाले त्यहाँ संक्रमण विस्तारै घट्दै छ । व्राजिल त विश्वमा नै दोश्रो सबैभन्दा संक्रमित मुलुक भइसकेको छ ।

 

केही महिना अघि विश्व स्वास्थ्य संगठनले करिव ५० वटा राष्ट्रहरु भएको अफ्रिका महादेशमा कोरोनाको महामारी डरलाग्दो रुपमा पैmलने प्रक्षेपण गरेपनि यो महादेशमा अहिले संक्रमण त्यति विकराल भइसकेको छैन । हालसम्म त्यहाँ करिव ४ लाख संक्रमितहरुको पहिचान भएको छ भने मृत्यु हुनेको संख्या करिव १० हजार छ । कुल संक्रमितको आधा जति निको भएर घर गइसकेका छन् भने अझैं पनि करिव २ लाखमा संक्रमण बाँकी नै छ । अफ्रिकामा यो महामारीले सबैभन्दा बढी दक्षिण अफ्रिका र इजिप्टलाई गाँजेको छ । जहाँ कुल १ लाख ५१ हजार र ६९ हजार जति संक्रमित मध्ये २७ सय र ३ हजारको मृत्यु भइसक्यो भने अभैm करिव ७५ हजार र ४७ हजारलाई संक्रमण छ । त्यस्तै उच्च जनघनत्व भएका अन्य ठुला मुलुकहरु जस्तै सुडान, कङ्गो, केन्या, इथियोपिया, क्यामेरुन, नाइजेरिया, घाना, मोरक्को, अल्जेरिया, इजिप्ट, आदिमा पनि संक्रमणले निकै गाँजेको छ ।  


दक्षिण एशियाको कुरा गर्दा कोरोनाको महामारीले सबैभन्दा बढी भारतलाई गाँजेको छ र जुन देश आज संक्रमणको हिसाबले विश्वमा नै चौथो स्थानमा छ भने उ रुसलाई उछिनेर छिटै तेश्रो हुने क्रममा अघि बढ्दैछ । कोरोनाको महामारीले पाकिस्तान, वंगलादेश र अफगानिस्तानलाई पनि निकै प्रभावित तुल्याएको छ । मार्चमा लकडाउन गर्नुभन्दा पहिला ५०० संक्रमित रहेको भारतमा आज संक्रमितको संख्या ५ लाख ८६ हजार पुगिसक्यो भने १७ हजार ४ सय जनाको मृत्यु पनि भइसकेको छ । २.१ वर्ग किलोमिटरमा पैmलिएको मुम्वई स्थित विश्वकै सबैभन्दा ठुलो घनावस्ती (slum) धाराभीमा भने नाटकीय तवरले संक्रमणको रोकथाम भएको छ । तर राजधानी शहर दिल्ली नै आज यो महामारीको ठुलो चपेटामा परिरहेको छ। भारतसँगको खुला सिमानाले गर्दा नेपालको स्थिति पनि दिनानुदिन विकराल हुँदै गइरहेको छ भने संक्रमितको संख्याको हिसाबले नेपालले दक्षिण कोरिया र डेनमार्कलाई समेत उछिनिसक्यो । तर आजसम्म नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या भने निकै कम हुनुका साथै निको भएर घर फर्कनेको संख्या पनि बढी रहेको छ । आजको दिनसम्म पनि बाँकी विश्वबाट टाढा रहेको भुटान मात्र दक्षिण एशियाको यस्तो देश हो जहाँ हालसम्म एकजनाको पनि कोरोनाको कारण मृत्यु भएको छैन । भुटानले यो महामारीको शुरुवाती दिनहरु देखि नै निकै कडाइका साथ रोकथामका उपायहरु अवलम्वन गरिरहेको पनि छ । दक्षिण एशियाका दुई टापु राष्ट्रहरु माल्दिभ्स र श्रीलंकामा भने संक्रमितहरुको संख्या २–२ हजारको हाराहारीमा भएपनि मृत्यु हुनेहरुको संख्या नगण्य छ ।

 

दक्षिणपुर्वी एशियाका विकसित राष्ट्रहरु जस्तै ताइवान, सिंगापुर र चीनको हङकङ÷मकाउ र अलिक उत्तर तिर प्रशान्त महासागरमा अवस्थित अति विकसित राष्ट्र जापान र दक्षिण कोरिया अनि विकासशिल राष्ट्रहरु जस्तै भियतनाम, लावोस, कम्वोडिया, थाइल्याण्ड र म्यानमारले समयमा नै सजगता अपनाएकाले यी मुलुकहरु अन्य देशहरुको तुलनामा अझसम्म निकै नै सुरक्षित छन् भने मलेशियाले पनि निकै पैmलिइसकेको महामारीलाई कावुमा ल्याउँदै ८,६३७ जनामा संक्रमण भएर १२१ जनाले ज्यान गुमाएको भएपनि आज आएर बाँकी संक्रमितको संख्या १८२ मा झार्न सफल भएको छ । तर इन्डोनेशिया र फिलिपिन्समा भने कोरोनाको संक्रमणको भयावह नै अवस्था छ ।

 

उता अरव राष्ट्रहरुमा कोरोनाको संक्रमणको हिसाबले अग्रणी मुलुकहरु साउदी अरेबिया, कतार, संयुक्त अरब इमिरेट्स, ओमान, कुवेत र वहराइनमा कुल संक्रमितको संख्या ४ लाख ४१ हजार तथा मृतकको संख्या २६ सय पुगेकोमा अब निको हुन बाँकी एक चौथाई जति यानी १ लाख १४ हजार संक्रमितहरु बाँकी छन् । 

 

कोरोना भाइरसले चीनको वुहानलाई आक्रान्त बनाउँदा म अष्ट्रेलियाको भ्रमण सकेर न्युजिल्याण्डमा थिएँ । चारै तिरबाट समुद्रले घेरिएका यी दुबै विकट दक्षिणी गोलाद्र्घमा अवस्थित विकसित मुलुकहरुले निकै पहिले देखि नै आफ्ना मुलुकहरुमा विभिन्न प्रकारका विदेशी रोग र घातक किटाणुहरु घुस्न नपाउन् भनेर खाद्य तथा पेय पदार्थहरु, वोट विरुवाका वीउहरु र संक्रमण निम्त्याउन सक्ने सबै प्रकारका वस्तुहरु आफ्ना मुलुकमा ल्याउन रोक लगाएका छन् भने सबै प्रवेश नाकाहरुमा क्वारेन्टाइन सम्बन्धि निकै कडाई गर्नुका साथै यस्ता सबै ठाउँहरुमा अत्याधुनिक प्रविधियुक्त परिक्षणशालाहरु नै स्थापना गरेका छन् । तर कोरोना भाइरस अक्सर मानिसबाट मानिसमा सर्ने भएकाले र त्यतिबेला चीन र दक्षिण कोरियामा यो निकै पैmलिइसकेकोले शुरुमा त्यताबाट प्रवेश गरेका व्यक्तिहरुबाट र केही समय पछि सिंगापुर, कतार, दुवई, अवुधावी, क्वालालम्पुर जस्ता ट्रान्जिटहरुबाट आउने मानिसहरुबाट न्युजिल्याण्ड र अष्ट्रेलियामा संक्रमण भएको थियो । अष्ट्रेलिया र न्युजिल्याण्ड दुईवटै मुलुकहरुमा स्थायी रुपमा बसोवास गर्ने चीनी र कोरियाली मूलका मानिसहरुको संख्या पनि निकै धेरै छ । तर यी दुबै राष्ट्रका सरकारहरुले ठिक समयमा नै महामारी रोकथामका उपायहरु कडाइका साथ अवलम्बन गरेकाले र यहाँका शुशिक्षित जनताले पनि राम्रो सहयोग गरेकाले आज यी देशहरुमा कोरोनाको संक्रमण बढ्ने क्रम नगण्य नै भएको छ । अष्ट्रेलिया र न्युजिल्याण्डमा ७,८३६ र १,५२८ को हाराहारीमा भएको संक्रमण संख्या घटेर हाल ७२४ र २२ मा झरेर मृत्युदर शुन्य नै भइसकेको छ भने १०४ र २२ जनाले ज्यान गुमाउनु परेको थियो ।  फिजी, पपुवा न्युगिनी र सामोआ टापुहरुको वाँकी विश्वसँग सम्पर्क गर्ने ट्रान्जिट मुलुक न्युजिल्याण्ड भएको र त्यहाँ विश्वमा नै सबैभन्दा प्रभावकारी तवरले यो महामारीलाई नियन्त्रण गरिएकाले यी साना टापु राष्ट्रहरुमा पनि कोरोनाको प्रभाव निकै कम छ ।

 

बाहिरी मुलुकबाट हाललाई अलग राखेर तथा सामाजिक दुरी र अनुशासन कायम राखेर अष्ट्रेलिया र न्युजिल्याण्डले आफ्ना जनतालाई आवत जावत गर्न र व्यवशायहरुलाई खुला गरिसकेको छ भने युरोपीय मुलुकहरुमा कोरोनाको संक्रमणमा केही कमी आएकोले ती मुलुकहरुले पर्यटन तथा अन्य व्यवसाय सञ्चालन गर्न र घुमघामका लागि युरोप भित्रका विभिन्न मुलुकहरु बिचको ओहोर दोहोरलाई खुला गर्दै लगेको छ भने अधिकांश दक्षिण अमेरिकी मुलुकहरुमा संक्रमण तिव्र रुपले बढ्न शुरु भएकोले त्यहाँका पर्यटकीय गन्तव्यहरु भने बन्द गर्न थालेको छ । 

 

विश्वका विभिन्न मुलुकहरुमा कोरोनाको संक्रमण वारेको लेखाजोखा गर्दा हामी निम्न निष्कर्षमा पुग्न सक्तछौँ ।
–    संयुक्त राज्य अमेरिका, रुस र भारत तिन वटै मुलुक ठुला जनसंख्या भएका प्रजातान्त्रिक जनउत्तरदायी सरकार भएका मुलुक भएता पनि तिनको हालको नेतृत्व पक्षको यो महामारी सम्बन्धि गलत नीति, अधिक लोकप्रिय नारामा सिमित कार्यहरु, कोरोनाका रोकथामका अन्तर्राष्ट्रिय मान्यताहरुको ठिकसँग पालना नगरेको र जनस्तरमा पनि ठुलो लापरवाही भएको र एक्कासी लकडाउनलाई खुकुलो बनाइएकोले यी सबै मुलुकहरुमा कोरोनाको संक्रमण र मृत्यु हुनेको संख्या पनि अप्रत्याशित रुपले बढ्दै गएको छ ।

 

–    धेरैजसा दक्षिण तथा मध्य अमेरिकी देशहरुले पनि महामारी रोकथामका अन्तर्राष्ट्रिय मान्यताहरुको पालनामा निकै लापरवाही गरेकाले ती देशहरुमा पनि संक्रमण चुलिँदै गएको छ ।


  
–    विश्वमा कोरोनाको संक्रमण शुरु हुने वित्तिकै रोकथामका विभिन्न उपायहरु अवलम्वन गरेर निकै सजगता अपनाएका विकसित मुलुकहरु जस्तै अष्ट्रेलिया, न्युजिल्याण्ड, ताइवान, व्रुनाई, आदिले यसलाई निकै हदसम्म नियन्त्रणमा राख्न सकेका छन् ।

 

–    कोरोनाको संक्रमण र यसको कारण मृत्यु हुनेहरुको संख्या नियन्त्रणबाट बाहिर जानु अगावै यसको रोकथाममा युद्घस्तरमा लागेका विकसित देशहरु जस्तै दक्षिण कोरिया, जापान, सिंगापुर, स्विट्जरल्याण्ड, अस्ट्रिया, डेनमार्क, नर्वे, फिनल्याण्ड, इजरायलमा आज यो महामारीको असर निकै कम भइसकेको छ ।

 

–    कोरोनाको संक्रमण निकै बढेर हजारौँ मानिसको मृत्यु हुनुका साथै यसको नियन्त्रण असम्भव जस्तो भइसक्दा पनि हार नखाएर रोकथाममा लागेका विकसित मुलुकहरु जस्तै इटाली, जर्मनी, फ्रान्स, क्यानाडा, स्वेडेन, वेल्जियम, नेदरल्याण्ड्स, आदि आज उदाहरणीय राष्ट्र हुन गएका छन्, तर अझ पनि कोरोना नियन्त्रणमा यी राष्ट्रहरुले गर्नुपर्ने कामहरु प्रसस्त बाँकी छन् ।

 

–    खासगरी बाँकी विश्वसँग कम हेलमेल गर्ने राष्ट्रहरु जस्तै भुटान, लिसोथो, मंगोलिया, एरिट्रिया, जिव्राल्टर, भ्याटिकन सिटी, आदि र साना साना विकट टापु राष्ट्रहरु जस्तै फिजी, सिसेल्स, फकल्याण्ड, फ्रेन्च पोलिनेशिया, पपुवा न्युगिनी, वृटिश भर्जिन आइल्याण्ड, फारो आइल्याण्ड, आदिमा संक्रमण निकै कम रहेको छ ।

 

–    निरंकुश राजनीतिक प्रणाली भएका सवल मुलुकहरु जस्तै चीन, भियतनाम, क्युवा, साउदी अरेविया, कतार, कुवेत, ओमान, जोर्डन, आदि तथा अनुशासनको आधारमा प्रजातन्त्रलाई आफ्नै प्रकारले परिभाषित गर्ने राष्ट्रहरु जस्तै सिंगापुर, ताइवान, दक्षिण कोरिया, थाइल्याण्ड, मलेशिया, टर्की, आदिमा संक्रमण शुरु भएको केही समय पश्चात नै नियन्त्रणमा ल्याउन सकियो भने यी मध्ये कैयन् मुलुकहरुले संक्रमित निकै बढेपछी पनि यो संख्या अझ बढ्न नदिएर निकै नै घटाउँदै लगिरहेका छन् । 

 

–    हालका दिनहरुमा आर्थिक सुशासनको पालना गरेर विकास कार्यमा अघि बढ्दै गरेका विकासशील राष्ट्रहरु जस्तै भियतनाम, लाओस, कम्वोडिया, म्यानमार, थाइल्याण्ड, र्वाण्डा, आदिमा संक्रमण नगण्य भएको वा नियन्त्रण हुँदै गएको छ ।

 

–    प्रजातन्त्रिक मुलुकहरु जहाँ मानव अधिकारको मूल्य र मान्यता अधिक छ, त्यस्ता अधिकांश मुलुकहरुमा लकडाउन प्रभावकारी हुन नसकेको र त्यहाँका जनता कोरोना रोकथाममा बढी लापरवाह हुने गरेकोले पनि त्यस्ता मुलुकहरुमा संक्रमण अधिक देखिएको छ । 

 

–    वैदेशिक रोजगारीमा विभिन्न राष्ट्रहरुमा काम गर्न जाने मानिसहरुको मातृभूमि र कर्मभूमि दुवैमा कोरोनाको संक्रमण अधिक भएको देखियो । वैदेशिक रोजगारीमा जाने मानिसहरुको राष्ट्रहरु मुख्यतया नेपाल, वंगलादेश, भारत, पाकिस्तान, फिलिपिन्स, इन्डोनेशिया, आदि सबै देशका सरकारहरुमा राजनीतिक प्रतिवद्धताको कमीले गर्दा  शुशासनमा ठुलो समस्या हुने गरेको, प्राकृतिक प्रकोपहरुसँग लड्ने क्षमता र सीप तथा समस्याहरुलाई प्राथमिकतामा राख्न नसक्नु, आर्थिक श्रोतको कमी र चरम भ्रष्टाचार अनि कार्य सम्पादनमा विश्वसनीयता समेत नभएकोले तथा यी देशका अधिकांश जनतामा अनुशासन र स्वास्थ्य सम्बन्धि ज्ञानको ठुलो कमीले गर्दा पनि कोरोनाको संक्रमण अधिक हुँदै गएको हो । अर्कोतर्पm रोजगारदाता राष्ट्रहरु जस्तै तेल निर्यातक अरब राष्ट्रहरु, दक्षिण कोरिया, मलेशिया, जापान, इजरायल आदिमा पनि कोरोनाको संक्रमण ज्यादै धेरै बढेको भएको भए पनि ती अधिकांश देशका सरकारले युद्घस्तरमा रोकथामका कामहरु गरेकाले आज आएर ती मुलुकहरुमा संक्रमण निकै घट्दै गएको छ ।  

 

–    कोरोनाको महामारी धेरै राष्ट्रहरुमा नियन्त्रण भित्र आउँदै गरेको भए पनि यसको रोकथामका उपायहरु भने लामो समयसम्म अवलम्वन गरिनै रहनु पर्दछ । किनकी चीन, न्युजिल्याण्ड, दक्षिण कोरिया जस्ता धेरै मुलुकका विभिन्न शहरहरुमा नियन्त्रणमा आइसकेको यसको संक्रमण केही समय पछि फेरी बल्झन थालेको पनि पाइएको छ ।

 

माथिका विभिन्न मुलुक र क्षेत्रका अनुभवहरुबाट के देखिन्छ भने कोरोना जस्तो महामारीलाई नियन्त्रणमा ल्याउन विश्वका सबै मुलुकहरुमा सरकारी र जनस्तरमा कडाइका साथ अनुशासनको पालना हुनु पर्दोरहेछ । आज अल्पविकसित मुलुकहरुको त कुरै छोडौँ, विश्वका नेतृत्वदायी अति विकसित मुलुकका सरकार र जनताहरु समेत चरम अनुशासनहिनताका कारण कोरोनासँग लड्न असफल भइरहेका छन् भने ती देशहरुमा संक्रमणको स्थिति विकराल भएको छ ।  

 

समग्रमा कोरोना भाइरसको महामारीले गर्दा सन् २०२० को पहिलो ६ महिनामा पुरै विश्व ठप्प नै भएर आर्थिक,  सामाजिक तथा सबै प्रकारका गतिविधिहरु शुन्यस्थितिमा ने पुगे । यो महामारीलाई नियन्त्रणमा ल्याउने कुरामा आजसम्म पनि अन्योल छाई नै रहेको छ भने यो कार्य निकै चुनौतीपुर्ण नै रहिरहेको छ । विश्वका सबै मुलुकहरु र मानव जातीलाई प्रकृतिले यसपाली ठुलो पाठ सिकाएको छ भने पृथ्वीको जर्जर भएको वातावरण र इकोसिस्टम (environment and ecosystem) को निकै हदसम्म मल्हम–पट्टी र सुधार भएको छ । आउँदा दिनहरुमा मानव जातीले सबै प्रकारको अनुशासनलाई प्राथमिकतामा राखेर विश्व फेरी विस्तारै आफ्नो चालमा चल्न सक्षम होस् भन्ने कामना छ । 

 

(लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन्)

 


     

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार