• आइतबार ६-११-२०७७/Sunday 09-27-2020
अन्तर्वार्ता

'अबका कार्यक्रम कृषिमा लक्षित हुनेछन्'

काठमाडौं । बिश्व यतीवेला कोरोनासंग लड्दै छ । यसको असर कम गर्न गरिएको लकडाउनले आर्थिक गतिबिधिहरु प्रभावित छन। बिश्वका केहि मूलुकले कोरोनाको प्रभाव कम भएसंगै आर्थिक गतिबिधिहरुलाई बिस्तारै सामान्य बनाउन खोज्दै छन । नेपालमा  कोरोनाको प्रभाव बिस्तारै बढ्दो क्रममा छ । लकडाउन केहि खुकुल्लो भएपनि त्रास कम हुन सकेको छैन । केन्द्र देखि स्थानीय तहसम्मले कोरोनाको यो संकटमा जुध्न लागि परेका छन ।

 

एका तर्फ कोरोना टेष्टलाई प्रभावकारी बनाउँदै ट्रेसिङलाई ध्यान दिनुपर्नेछ भने अर्कोतर्फ बिदेशबाट फर्केका नागरिकलाई कहाँ कसरी व्यवस्थापन गर्ने भन्नेपनि चुनौती छ । कोरोनाको प्रभावसँगै एकिकृत ढंगबाट पूर्वाधार विकास, सीप, क्षमता विकास गर्दै आयमूलक कार्यक्रमहरुलाई  नगरपालिकाले प्रथमकितामा राखेको छ ।

 

प्रयाप्त अवसर र सम्भावनाहरु भएको गैडाकोट नगरपालिकाले कोरोना कहरसंग जुध्दै आधुनिक कृषि प्रविधिमा फड्को मार्न सकिने र युवालाई यहि परिचालन गर्ने लक्ष्य लिएको छ। कोरोना संक्रमण बढ्दै गर्दा जोखिम कम गर्ने के कस्ता तयारी भईरहेका छन भनेर फ्रेसन्युज नेपालले गैडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलसँग गरेको  कुराकानीको सार :

 

कोरोना संक्रमितको संख्या बढ्दैछ, गैडाकोट नगरपालिकाले कोरोनासँग जुध्न कस्तो तयारी गरिरहेको छ ? 
कोरानाको प्रभाव बिश्वव्यापी रुपमा परिरहेको छ । नेपालमा पनि यो फैलिँदो क्रममा छ । यसको प्रभाव बढेसँगै नगरपालिकालाई चाहिने अत्याआवश्यक औषधीहरु कम्तिमा पनि ६ महिनालाई पुग्नेगरी भण्डारण गर्ने कुरा महत्वपूर्ण थियो । यहाँका सबै स्वास्थ्य संस्थामा अन्य स्वास्थ्य समस्यामा जटिलता नदेखियोस् भनेर यस्तो सजगता आवश्यक भएको हो । सरकारले बितरण गर्ने ६५ किसीमका औषधीहरु मुख्य त हामीले अभाव हुन दिनु हुन्न भनेर भण्डारणमा ध्यान दियौं । कोराना मात्र नभएर अन्य रोगहरुको पनि जोखिम बिगतको तुलनामा देखिँदै आएको छ । यो संगसंगै नगर भित्रका संघसंस्थासँग परामर्श छलफल गर्दै आवश्यक तयारी भएको छ । यदी कोही व्यक्ति कोरोना प्रभावित क्षेत्रबाट आएका छन् भने उनीहरुलाई होम क्वारेन्टाइनमा राख्ने भनिएको छ । छिमेकी देश भारतबाट आउनेहरुको हकमा भने सार्वजनिक भवन, शैक्षिक संघसस्थाहरुमा राख्ने व्यवस्था मिलाएका छौं । सिमानाकाबाट आउने नेपाली दाजुभाई दिदिबहिनीहरु कोरोनाको उच्च जोखिममा भएको हुँदा उनीहरुलाई तोकिएका स्थानमा राख्ने गरी प्रवन्ध मिलाएका छौं ।


क्वारेन्टाइन संगसंगै यहाँ भएका बिपन्न समुदायको रोजीरोटी गुमेको छ, काम गर्न पाएका छैनन्,राजनीतिक पहुँचका आधारमा राहत बितरण हुनेहुँदा कतिपय प्रभावितले राहत नपाएको गुनासोहरु पनि गर्ने गरेको छन । अहिलेको बिशंम परिस्थितीमा क्वारेन्टाइन संगसंगै निम्न आयश्रोत भएका गैडाकोटा भित्रका नागरिकहरुलाई जीवनयापनमा सहज होस् भनेर राहत बितरणका लागी व्यक्ति पहिचान गरी नामावली संकलन गरेर उनीहरुलाई राहत बितरण गरिएको छ । नगरपालिका संगसंगै यहाँ भएका अन्य सामाजिक संघसंस्थाले पनि आफ्नो पहलमा राहत बितरण गर्दै आएका छन । निम्न आयश्रोत भएकाहरु कोही नछुटुन भनेर नगरले बिशेष चासो दिदै आएको छ । ‘रोगले भन्दा पनि भोकले’ नागरिकको ज्यान जानु हुन्न भन्नेमा नगरपालिका सजग छ । ९ हजार बढीलाई राहत बितरण गरिएको छ । राजनीतिक दलका प्रतिनिधि सरोकारवाला निकायहरुको राय सुझाव अनुसार नै कामहरु भइरहेका छन ।

 

पछिल्ला केहि दिन यता गैडाकोटमा घर भइ रोजगारका लागि बिदेशीएकाहरु जो घर आउन चाहन्छन उनीहरु घर फर्केने क्रमले तिब्रता पाए संगै क्वारेन्टाइनको संख्या पनि बढ्दै गएका छौं । संकट अझै टरेको छैन । कोरोनाको जोखिमका बारेमा आम मानिसलाई सरल ढंगबाट यसको असर प्रभाव बारे बुझाउने पनि हाम्रो दायित्व हो । तेस्रो मुलूकबाट आउने क्रम पनि सुरु भएको छ । यहाँ रहेका होटलहरुलाई कसरी परिचालन गर्न सकिन्छ भनेर छलफल भएको छ । व्यवसायीहरुलाई पनि सहज हुने र बाहिरबाट आएकाहरुलाई पनि आर्थिक भार धेरै नपरोस भनेर आपसी समझदारीमा होटलमा बस्न चाहनेहरुलाई होटलमै क्वारेन्टाइनको व्यवस्था हुँदैछ । संख्या एकिन भएपछि नगरपालिकाले निर्धारण गरेका क्वारेन्टाइन अथवा उहाँहरु आफ्नै खर्चमा होटलमा बस्न चाहनेहरुको हकमा होटल व्यवसायीले होटल उपलब्ध गराउने निर्णय भएको छ । न्युनतम दर रेटमा बस्ने खाने व्यवस्था मिलाउने गरी छलफल भयो । कामका लागि बिदेशीएकालाई यस्तो अबस्थामा घर नआउ घनेर भन्न सकिन्न ।

 

कोरोनाको प्रभाव उद्योगहरुमा के कति प¥यो ? यहाँ प्रसस्तै साना ठूला उद्योगहरु पनि छन । उद्योगहरु कस्तो स्वरुपमा संचालन भएका छन ?
कच्चा पदार्थ बाहिरबाट ल्याउनुपर्ने उद्योगहरुमा अवश्य नै प्रभाव परेको छ । जो उद्योग व्यवसायीहरुले उद्योगहरु संचालन गरिरहेका छन् उनीहरुले उद्योग भित्र पनि दुरी कायम गर्दै स्वास्थ्यमा आवश्यक सावधानी अपनाउँदै कामहरु अगाडी बढाइरहेका छन् । सरसफाईमा बिशेष ध्यान दिन व्यवसायहरुलाई सर्तकता अपनाउन भनेका छौं र सोही अनुसार उद्योगहरु संचालनमा छन् । सबै उद्योगहरु पुर्ण क्षमतामा चलाउन बर्तमान अवस्थामा कठिन नै छ । 

 

यहाँ भएका उद्योगमा पनि प्रभाव परेको छ । यो संगै बिदेश गएका युवाहरु आफनो देश फर्किने क्रम जारी छ, अब ती युवाहरुलाई कसरी परिचालन गर्ने ? 
अन्य देशमा कृषिमा थोरै जनसंख्याले काम गर्छ तर उब्जाउ धेरै हुन्छ । उनीहरुले आफूले उत्पादन गरेको खानेकुरा आफनो देशलाई पुगेर पनि अन्य देशलाई पनि बिक्रि गर्दै आएका छन् । हाम्रो देशको हकमा भन्ने हो ६० प्रतिशत भन्दा बढि कृषिमा आवद्ध भएर पनि हाम्रो उत्पादनले हामीलाई नै पुग्दैन । बार्षिक अरबौं रकमको खाद्यन छिमेकी देशबाट खरिद गर्नुपर्ने अवस्था छ । अबको चुनौती भनेको निर्वाहमुखी कृषिबाट माथी उठेर कसरी व्यवसायिक र कृषिलाई आधुनिकिकरण गर्ने भन्ने नै हो । हामी आयातमुखी भयौं । भन्नलाई हामी कृषिप्रधान देश भन्छौं तर कृषिजन्य उत्पादनको लागी बिदेशीसँग निर्भर हुन्छौं । बिदेशबाट आएका ती हजारौं युवालाई अब हामीले उनीहरुको सीप र क्षमतालाई हेरेर कृषिमा अनुदान दिँदै उनीहरुलाई यसमा प्रोत्साहित गर्नुपर्छ । अहिले सरकारले बजेटमा पनि कृषिलाई नै पहिलो प्राथमिकतामा राखेको छ । गैडाकोट प्रसस्त कृषि उत्पादनका लागी सम्भावना भएको क्षेत्र हो । माछा पालन, नगदे बालीका लागी यो ठाउँ उपयुक्त मानिन्छ । बिदेशबाट आएका केही युवाहरुले यहाँ भएका नदि तटीय क्षेत्रमा खर्वुजा, तर्बुजा खेती गर्ने उत्साह देखाएका छन् । उनीहरुले माटो परिक्षणको प्रक्रियालाई अघि बढाउन अनुरोध समेत गरेका छन् । उनीहरुमा भएको सीप र दक्षतालाईै मध्यनजर गर्दै हामीले युवा लक्षित कार्यक्रमहरु अगाडि बढाएका छौं । सरकारले पनि बजेटमा कृषीलाई प्रथमीकतामा राखेको छ । यसले प्रसस्तै अबसरहरु खुल्ने छ भन्ने लाग्छ । 

 

कोरोना कहर कै बिचमा सरकारले भारतले अतिक्रमण गरेको भुमिलाई समावेश गरेर देशको नक्शालाई सार्वजनिक गर्यो, यर्थाथमा यो भुमि हाम्रो हुन्छ त ? यो विवादलाई कसरी समाधान गर्नुपर्छ भन्ने देख्नुहुन्छ ? 
यो अहिले मात्र होइन दशकौंदेखि चर्चामा आईरहेको बिषय हो । सरकारले अहिले यसरी नक्शा सार्वजनिक गर्नुपनि सकारात्मक छ । नेपाली भुमिमा अतिक्रमण गरेर जुन रुपमा भारतले बाटो बिस्तार गरेको छ त्यो घोर आपत्तिजनक छ । भारतले मिचेको लिपुलेक लिम्पियाधुरा हाम्रो भुमि हो भन्ने प्रसस्तै प्रमाणहरु छन् । ती प्रमाणहरुका आधारमा वार्ता संवादलाई अगाडि बढाउनुपर्छ । यसबाट भारत उम्किन पाउँदैन । उसले कोरोनालाई देखाएर वार्तालाई आनाकानी गरिरहेको छ अथवा पछाडी धकेली रहेको छ । हाम्रो देशको नेतृत्वले हामीसँग भएका यथेष्ठ प्रमाणहरुका आधारमा हाम्रो भुमि फिर्ता ल्याउन सफल हुनेछ । पहिलो प्रथामिकता कुटनितिक पहल नै हो । कुटनितिक पहलले सकारात्मक रुप लिन सकेन भने हामी अन्तर्राष्ट्रिय अदालत जानुपर्छ । अहिले जुन रुपमा लिम्पियाधुराको चर्चा भएको छ त्यसरी नै देशभरका बिभिन्न क्षेत्रका अतिक्रमित भुमिहरुमा हाम्रो ध्यान पुग्नुपर्छ । हाम्रो सिमा जोगाउनका लागी तारबार लगाउन ढिला नगरौं । जबसम्म हामी सिमाना तारबार लगाउँदैनौं तबसम्म हाम्रो भुमि अतिक्रमणमा परिरहन्छ । 

 

प्रस्तुति : देवी सापकोटा 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार