• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
बिश्व

कोभिड-१९ प्रभाव : जसले श्रीमतीलाई साइकलमा राखेर ७०० किमि यात्रा गरे

डर र भोकले कसलाई आँट नदेला ?
यो भनाइ न कुनै महान् दार्शनिकको हो, न कुनै उपन्यासको कुनै पात्रको। बरु एउटा मजदुरको हो जसले साइकलमा आफ्नी पत्नीलाई बसाएर पाँच दिनमा ७०० किलोमिटरको यात्रा पूरा गर्दै आफ्नो घर पुगे।

 

राघोराम उनै हजारौँ मानिसमध्ये एक हुन् जो कोरोनाभाइरस महामारीका कारण देशभरि अचानक लगाइएको लकडाउनका कारण भारत हरियाणाको रोहतकबाट उत्तर प्रदेशको बलरामपुर फर्किनुपरेको थियो।

 

उनका भनाइमा कोरोनाभाइरस र आफ्नो अस्तित्व सङ्कटको त्रासले त्यो अभूतपूर्व आँट दियो। उनले काम गर्ने कम्पनीमा केही दिनअघि नै बन्द भएको थियो। ठेकेदारलाई फोन गर्दा कुनै सहयोग गर्न नसक्ने उत्तर पाएको उनको भनाइ छ। घरपतिले बस्यो भने भाडा दिनुपर्ने सुनाए।

 

राघोराम भन्छन्, त्यहाँ बस्ने चिनेजानेका केही मानिस घरतर्फ जाँदै थिए र मैले पनि फर्किनु नै उचित देखेँ। गाउँघर पुगेपछि कम्तीमा भोकले त मरिँदैन। भारतको झुपडीबस्तीमा कोरोनाभाइरस रोक्न सङ्घर्ष राति ९ बजे बत्ती निभाउने मोदीको आग्रहपछि भारतमा चिन्ता


पाँच महिनाअघि उनी रोहतक गएका थिए। ठेकेदारमार्फत् उनले एउटा निजी कम्पनीमा केही दिनअघि काम पाएका थिए। मासिक तलब ९,००० भारु थियो। तर मार्च २७ को बिहान उनी पत्नीलाई लिएर हिँडे। चार दिनपछि अर्थात् ३१ मार्चमा उनी गोन्डा जिल्ला पुगे। हामीसँग बीबीसीसँग पहिलो पटक कुरा हुँदा त्यहाँको जिल्ला अस्पतालमा उनी पत्नीसहित जाँच गराउन जाँदै थिए।

 

सकसपूर्ण यात्रा

राघोरामका अनुसार रोहतकबाट निस्किँदा उनको खल्तीमा १२० रुपैयाँ मात्र थियो। दुइटा झोलामा केही कपडा र सामानबाहेक अरू केही थिएन। पहिलो पटक साइकलमा यात्रा गरिरहेकाले बाटोबारे पनि जानकारी थिएन।

 

उनी भन्छन्, सोनीपत भन्ने ठाउँसम्म पुग्दा भोकले सताउन थाल्यो। ठाउँठाउँमा प्रहरीले रोके, तर हाम्रो बाध्यता बुझेर छोडिदिए। सोनीपतपछि राजमार्गमा पुगेपछि कतै नअलमलिएर गाजियाबाट, बरेली, सीतापुर, बहराइच हुँदै गोन्डा पुग्यौँ।

 

त्यहाँको अस्पतालमा स्वास्थ्य जाँचपछि उनलाई घर जाने अनुमति प्राप्त भयो। उनको गाउँ बलरामपुरको रेहरा क्षेत्रमा पर्छ, तर ससुराली गोन्डा जिल्लामा छ। रात परेकाले उनी ससुरालीमै बास बस्न गए। दोस्रो दिन पत्नीका साथ आफ्नो गाउँ पुगे।

 

उनले यात्रा थालेको हरियाणाको रोहतकबाट बलरामपुरसम्को सडकमार्गको दूरी झन्डै ७०० किलोमिटर छ। राघोरामका अनुसार यति लामो बाटो उनले कहिल्यै साइकल चलाएका थिएनन्। गाउँबाट कहिलेकाहीँ मात्र बलरामपुरसम्म जाने गर्थे।तर कोरोनाभाइरसले 'मनमा यति त्रास उत्पन्न गरिदियो' कि त्यही डरले त्यति लामो बाटो तय गर्ने शक्ति आएको उनी बताउँछन् । समीरात्मज मिश्र/बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार