• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
विचार

मोबाइल मोह

भुतपुर्व प्रधानमन्त्री एवं पुर्वराजा ज्ञानेन्द्रले नेतृत्व गरेका मन्त्रीमण्डलका उपाध्यक्ष डा.तुलसी गिरी संगको एक भेटमा उहाँले भन्नुभएको थियो ‘उमेरछँदा मलाई गाडीको बढो सौख थियो । त्यसबखत मलाई पैसाको चिन्ता थिएन त्यसकारण खुब गाडी फेरी–फेरी चढ्ने गर्थे । अब उमेर ढल्कियो पैसा पनि बाँकी रहेन गाडीको बदलामा मोबाइल टेलिफोनको सौख बढेको छ । फेरी–फेरी मोबाइल चलाउने गरेको छु’ त्यसबखत उहाँसँग १२ र १५ बिभिन्न प्रकारका मोबाइल फोनहरु थिए रे । प्रधानमन्त्री सुशिल कोइरालाले आफ्नो सम्पत्ती बिवरणमा केवल तीन मोबाइल फोन भएको उल्लेख गरेर बिश्वका सबैभन्दा बिपन्न प्रधानमन्त्रीमा आफ्नो नाम दर्ज गरेका थिए । थुप्रै मित्रहरु छन, जसले बर्षौपिच्छे नयाँ एवं महँगो ब्राण्डका एप्पल, स्यामसङ्ग तथा हुवायु मोबाइल फोन अन्तरराष्ट्रीय प्रमुख बजारमा प्रवेश गर्दा साथै खरीद गर्दछन् । अधिकांश महँगो तथा नयाँ मोडलका फोन मालिकहरु त्यस्ता फोन हातमा खेलाउँदै आफ्नो औकातको परिचय अरुलाई दिने गर्दछन् । 

 

हाम्रो जनसंख्या तीन करोड पुग्न लागेको अनुमान छ । दुरसञ्चारका अनुसार मोबाइल फोन प्रयोगकर्ताहरुको संख्या झन्डै साढेतीन करोड पुगेको छ । अर्थात प्रत्येक नेपालीको स्वामित्वमा एउटा र आधा मोबाइल पर्दछ । काठमाडौं उपत्यकाको मात्र होइन दुर्गमका साना बजारहरुमा समेत बिश्व बजारमा पाइने प्रमुख सबै ब्राण्डका मोबाइल फोनहरु उपलब्ध छन् । हामी नेपाली पाचसात सय रुपैयाँ देखि लाखौंलाख पर्ने मोबाइल फोन बोक्दैछौं । 

 

मोबाइल फोनले एकअर्का बीचको संवाद सहज तथा सस्तो तुल्याइदिएको छ । बिश्वमा छरिएका अथवा दुरदराजका वा घरसंगै जोडिएका इस्टमित्र तथा आफन्तजनसँग सम्पर्क अत्यन्त सहज तुल्याई दिएको छ मोबाइल फोनले । भलाकुसारी, नयाँ प्रविधि तथा समाचार प्रसारण गर्न मात्र होइन आपत्त बिपत परेको समयमा खबर गर्न वा सम्वादलाई सुपथ मुल्यमा सजिलो तुल्याई दिएको छ । हतार-हतार गरेर आकस्मिक खबर गर्न अब दुर्गुनु पर्दैन । झन ‘स्मार्टफोन’ प्रयोगकर्ताहरुको निम्ति त अपरिचितसंग घनिष्टता बढाउने देखि चित्त नबुझेको बिषयलाई प्रसारण गर्ने प्रमुख साधन भईदिएको छ मोबाइल । त्यसका अतिरिक्त बिगतमा जस्तो काँधमा रेडियो बोकेर अब हिड्नेहरु देखिँदैन न त काँधमा ट्रान्जिस्टर रेडियो झुण्डाएर गीत घनकाउँदै हिडनेहरु नै भेटिन्छ । गोजीमा रहेको मोबाइल फोनले ती सबै कार्यगरी दिन्छन् । टेलिफोन मार्फत खरीद तथा भुक्तानी सुबिधाहरु उपब्ध छन् । शहरी क्षेत्रमा ट्याक्सी मोटरसाइकलको सेवा छिटो छरीतोसंग उपलब्ध हुन थालेको छ । बिगतमा जस्तो परिचित ट्याक्सी चालकलाई महँगो भाडा तिरेर बोलाइराख्नु अब आवश्यक पर्दैन । सार्वजनिक साझा बसको समय तालिका नदेखिए पनि मोबाइल फोन मार्फत बसहरु कुन स्थानमा आईपुगेका छन् र आफु भएको स्थानमा कुन समय आइपुग्छ थाहा पाउन सम्भव छ । (भलै बस कुन स्थानमा रोकिन्छ त्यस बिषयमा थाहा पाउने व्यवस्था साझाले अझै बिकास गर्न सकिराखेको छैन) युवायुवतीका निमित्त ‘गेम, पोडकाष्ट, युटुबमा भएका नृत्य संगीत, लगायत सिनेमा आदीको मनोरन्जन गर्ने प्रभावकारी साधन भइदिएको छ ।  किन हो कुन्नी हालसम्म मोबाइलबाट सुलभ बैंकिंङ कारोबार प्रथालाई अझै हाम्रा बैंकहरुले प्रचलनमा ल्याएको छैन् ।

 

थुप्रै सुबिधा तथा फाइदाहरु हुने मोबाइल फोन घातक सिद्ध पनि हुनसक्छ । धेरै लामो समय मोबाइल फोनमा कुरा गरिरहने व्यक्तिको टाउकोमा क्यान्सर हुने सम्भावना बिवादित हुँदाहुँदै पनि ‘हुँदैन भन्ने’ तथ्य स्थापीत अझै भईसकेको छैन । खासगरी छातीको बायाँ पट्टिको खल्तीमा मोबाइल राख्दा हृदय घात हनसक्ने सम्भावना पनि जतिसुकै बहसको बिषय भए पनि निश्चित हुन सकेको छैन । धेरैको भनाईमा घन्टी बज्दा हुने चुम्बकीए असर मुटुका निमित्त घातक सिद्ध हुनसक्ने भन्ने छ । स्वास्थ्यमा पर्ने प्रतिकुल असरहरुका बिषयमा हुने अनुसन्धानका निष्कर्षहरुलाई थामथुम पार्ने पहिले सुर्तीजन्य, खाद्य तथा औषधी उधोगहरुको जस्तै भूमिकाले कु प्रभावहरुलाई लुकाउने कार्यमा मोबाइल फोन उधोग तथा व्यापारीहरुको सहभागिता के कस्तो हुन सक्दछ, त्यसको अनुमान गर्न सकिन्छ । पैसाले जे सुकै पनि खरीद गर्न सकिने वर्तमान कालमा मोबाइल उधोग तथा व्यापारमा प्रतिकुल असर पर्ने अनुसन्धानका निष्कर्षहरु प्रकाशनमा निषेध सम्बधी कन्सिपिरेसी थेयुरी थुप्रै प्रकाशमा आउन थालेका भने छन् । 

 

मोबाइल फोनको सबैभन्दा घातक पक्ष सवारीसाधन चालकहरुले मोबाइल फोन प्रयोग गर्दा हुने ‘डिसट्रयाक्सन’ ले निमत्याउने ‘डिस्ट्रक्सन’ हो । कुनै पनि चालकले आफुले अत्यन्त घातक मशिन चलाउँदै छ त्यसकारण सावधान भएन भने सन्तुलन गुमाउँदा आफ्नो तथा अर्काको अपूर्णनीय  क्षती हुनसक्छ भन्ने बास्तविकतालाई टेलिफोनको घन्टी बज्दा साथै बिर्सीदिने गर्छन् । अमेरिकामा मोबाइल फोनका कारणले हुने मानविय क्षतिको कारणले गर्दा त्यस देशको दश प्रमुख मृत्युका कारणहरु मध्य एक मोबाइल फोन हो भन्ने मान्यता स्थापित भईसकेको छ ।

 

हामी कहाँ केहीवर्ष पुर्व ट्राफिक प्रहरीले सवारी चालकले मोबाइल समातेको देख्यो भने रोकेर लाईसेन्स मागी हाल्छ । आजकल भने ठुलाठुला अत्यन्त महंगो ‘स्पोर्टस युटिलिटी भेकले’ चालक देखि अघिपछि साइरन बजाउँदै गुड्ने सवारी साधन भित्रका सवारीकर्ता मात्रै होइन चालकहरुले समेत एकहातमा मोबाइल समातेको वार्तालापमा मन मग्न भएको घरीघरी देखिन्छ । कहिले त ट्राफिक प्रहरी नै मोबाइलमा मस्त हुँदा ट्राफिक जाम भएको पत्तै पाउँदैनन् । 

 

त्यस्तो अवस्थामा ट्राफिक प्रहरीलाई अप्ठयारो लागेर होला अन्यत्र फर्केको अथवा अनदेखा गरेको थुप्रै घटनाहरु देख्न पाइन्छ । टेलिफोनमा संवादमा मग्न सवारी चालकको लापरवाहीले गर्दा सडकको किनारामा उभिन अथवा सडकमा पैदलयात्रा अत्यन्त जोखिम पूर्ण हुन् थालेको छ । ‘लौ मार्नलागे भनेर उछिटिएर भाग्न भ्याइएन भने केहीदिन पुर्व सामाजिक संजालहरुमा एक मोटरसाइकल चालकले मोबाइल फोनमा संवाद कायम गर्दा मोटरसाइकलले सन्तुलन गुमाएको भिडियो भाइरल नै भएको थियो । त्यसपछिका दिनहरुमा सरकारी नंम्बर प्लेट भएको मोटरसाइकल चालकहरुले समेत बीच सडक मा मोटरसाइकल तेर्साएर ट्राफिक अवरुद्ध गर्दै नतमस्तक भएर टेलिफोन सम्वादमा मग्न हुन थालेका छन् ।

 

अत्यास लाग्दो गरेर दुर्घटनाका घटनाहरु बढ्न थालेको हाम्रो मुलुकमा चालकको लापरवाही, ओभर लोड तथा गाडीको अबस्था जस्ता कारणहरुलाई दुर्घटना हुनका प्रमुख कारण भएको निस्कर्ष निकाल्न थालिएको छ । चालकले मोबाइल फोन संचालन गर्दा सवारी साधनको सन्तुलन गुमेर भएका दुर्घटना का बिषय हामी कहाँ तथ्यांक उपल्वध छैन । तर, अमेरिकामा भने सरदर बर्षमा १६ लाख दुर्घटना चालकले मोबाइल फोन संचालन गर्दा भएको तथ्यांकहरुले देखाउँछ । त्यहाँ प्रत्येक चारमध्य एक सडक दुर्घटनाको मूल कारण सवारी चालकले मोबाइल फोन चलाउँदा भन्ने स्थापीत भएको छ । हामी कहाँ मोबाइल फोन सम्वादमा मग्न हुँदै बाटो काट्दा भएका दुर्घटनाहरुले त अझै प्रहरी तथा दुर्घटना बिद्हरुको आकर्षण पाउन सकेको छैन ।    

   

त्यसो त सभा सम्मेलनहरुमा बक्ताहरुले बोल्दै गरेको हुन्छन्, ड्यासमा बिराजमान भएका ‘भीआइपी’ भने फोनमा अत्यन्त जरुरी कुराकानीमा मग्न भएको धेरै देख्न पाइन्छ । कति एसएमएस गर्न हो वा गेम खेल्न मस्त भएको देख्दा लाग्छ लाग्छ बरु उनीहरु मस्तसँग न घुरी निदाई दिएको भए हुन्थ्यो । अझ यहाँ यतीसम्म हुन्छ कि प्रधानमन्त्रीले बोलएका बैठकमा पनि नेताहरु मोबाइल छाड्न सक्दैनन् । प्रधनमन्त्री बोलिरहँदा अन्य केही मोबाइलको एसएमएसमा नै व्यस्त देखिन्छन् । 

 

जहाँसम्म परिवार सदस्यहरु बीचको सम्बन्ध छ, बिश्वव्यपी रुपमा नै मोबाइल फोन ‘भिलेन’ को रुपमा स्थापित हुँदै गएको छ । परिवारका सदस्यहरु आजकल गफिने भन्दा बढी मोबाइल मा झुन्डिने तथा ठुलो आवाजमा गीत बजाएर अरुलाई ‘डिस्र्टव’ गर्न गाह्रो मान्दैनन् । श्रीमती र श्रीमान बीचको बढ्दो सम्बन्ध बिछेदका घटनाहरुमा मोबाइलले खेल्ने भूमिका त अझै अनुसन्धान को बिषय नै छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार