• मंगलबार ४-२७-२०७७/Tuesday 08-11-2020
विचार

‘मर्यादित महिनावारीका बारे बहस गर्दै आएका छौं’

काठमाडौं । ‘समानताको पुस्ता, बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नारा सहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान विश्वभर विभिद कार्यक्रम गर्दै मनाइदै छ । नोभेम्वर २५ देखि डिसेम्बर १० सम्म महिला विरुद्ध हुने सबै किसिमका हिंसा विरुद्ध आवाज उठाउने अभियानका रुपमा यसलाई लिइन्छ  ।

 

संयुक्त राष्टसंघले लैङ्गिककतामा आधारित हिंसाको परिभाषामा भौतिक, मानसिक, यौनिक लगायतका क्षति पुग्ने अवस्थालाई लैङ्गिक हिंसा भनेर परिभाषित गरेको छ । महिलाको इच्छा बिपरित गरिने सबै कार्य हिंसा हो भनेर पनि प्रष्ट रुपमा लेखिएको छ । हामीले मर्यादित महिनावारीकाबारे बहस गर्दै आएका छौ तर दु.खको कुरा के भने अहिले पनि महिलाहरु महिनावारीको समयमा दर्जनौं छेकबार सहन बाध्य छन ।यो विषयलाई लाजको विषय बनाएर लुकाइन्छ । महिलाले मृत्युवरण समेत गर्ने परिरहेको अवस्था छ ।

 

 नेपाल जस्तो गरिव देशहरुका लागि यो अझै ठूलो समस्या हो । यहाँ मात्र होइन विश्वका धेरैं देशहरुमा यस्ता गलत अभ्यास छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले यसबारे धेरैं चित्रण गर्ने गरेको छ  । हामी भित्र भएको यस प्रतिको भ्रम हटाउन सक्ने कार्यक्रमहरु ल्याउन नसक्नु बिडम्बना हो । डिसेम्बर ८ लाई मर्‍यादित महिनावारी दिवसका रुपमा मनाउने भनेका छौं । राधा फाउण्डेशन र यो अभियानमा एक्यबद्धता जनाउने देशहरु युगान्डा इन्डोनेसिया लगायत देशका प्रतिनिधिहरु पनि आउँदैं हुनुहुन्छ ।

 

हाम्रो सामाजिकिकरणका कारण महिला सधै पिडीत छन् र पुरुष पिडक भएका छन् । यो उनीहरुको मात्रै दोष होइन, यो हाम्रो सामाजिकिकरणको दोष भन्ने लाग्छ । महिनावारीका बारेमा खुलेर छलफल हुँदैंन । परिवारका सदस्यहरु बिच कुरा गर्न नहुने भनेर लाजको विषय बनाइन्छ । यसलाई सधै लुकाउनु पर्छ भनियो । हिजो हाम्रा हजुरआमा, आमाहरुले पनि त्यसलाई लुकाए । खुलेर यसका बारेमा छलफल भएको भए अहिलेसम्म समाजमा यो लुकाइने बिषय हुने थिएन । पुरुषको दाह्री जुँगा आउँछ त्यसमा त कसैले विषय बनाउँदैंनन् । महिलाको मासिक चक्रको बारेमा किन लुकाउनु पर्ने , यसलाई स्वभाविक प्रक्रियाका रुपमा लिइएन ।

 

नयाँ जीवन दिने मासिक चक्रको ब्लडलाई किन फोहोर भनियो । गलतलाई गलत हो भन्नुपर्छ । महिनावारी भएको भनेर उनीमाथी बिभेद गर्नु पनि त हिंसाको अर्को रुप हो  । मानव अधिकार घोषणापत्र हुँदै महिला मैत्री संविधान, निती निमार्णको बहस हुन्छ तर विभेदमा त कमी आएको छैन । हिजोका दिनमा कति दर्दनाक अवस्था थियो होला ।  नियम कानुनको कमी थियो । महिला साक्षरता बढ्न सकेको थिएन । संवैधानिक कानुन कै कुरा गर्ने हो भने यसले महिलालाई प्रयाप्त अधिकार दिएको छ । व्यवहारमा छैन । लिखीत रुपमा भएका व्यवस्थालाई अभ्यासमा ल्याउने जागरुकता हामी बिचमा हुनुपर्छ । 

 

 महिनावारीका नाममा महिलाको मर्यादित जिवनमा बाधा उत्पन्न भयो । छाउगोठलाई मात्र दोस दिएर भएन, यसका बारेमा भएको भ्रम भत्काउने पहल आवश्यक छ । मानसिकता परिर्वतन किन हुन सकेन अबको बहस यसमा केन्द्रत गर्नुपर्ने हो कि । महिला अस्तीत्वमा आएदेखि नै हिंसामा परेको तप्का हो । आजसम्म आउँदा पनि फरक–फरक रुपमा महिलामाथी विभेद भएको छ । घरपरिवार, समाज, निती निर्माता सबैसंग जोडिएको विषय हो यो । सन २०३० सम्म कसैलाई पनि पछि नछोड्ने सबैलाई संगै लिएर अघि बढ्ने नारा छ । यसलाई सफल बनाउन सोच र अभ्यास बदल्न जरुरी छ ।

 

महिनावारी एक स्वभाविक प्रक्रिया हो भन्ने कुरा न हाम्रा पाठयक्रमले बुझाउन सकेको छ न त सरोकारवाला निकायहरुले नै यसलाई स्वभाविक प्रक्रिया हो भनेर बुझाउँन सकेका छन  । यो एउटा त्यस्तो हिंसाको कारक हो जसले हुर्केदै गरेका ७/८ बर्षका किशोरीहरुलाई महिनावारी हुनु पाप हो भन्ने बिउ रोप्दै छ । उमेर पुगेपछि म पनि महिनावारी हुनुपर्छ । म महिनावारी कै कारणले समस्यामा पर्न सक्छु भन्ने मानसिक डर ती किशोरीहरुको मनमा राखेर हुर्काइन्छ । जब संविधानले नै महिला पुरुषलाई समान हक दिएको छ भने त्यो त व्यवहारमा हुन सकेन नी ।  लिखीत रुपमा बनेको छ, व्यवहारमा त सबैले अनुभुत गर्न पाउनु पर्ने हो  ।

 

महिनावारी भएकै कारण उसको घर, बासस्थान, भान्सा यी सबैबाट उसलाई केहि दिनका लागि अबरोध खडा गर्नु भनेको उसको हक अधिकारबाट उसलाई बञ्तित गर्नु हो । स्वतन्त्र रुपमा बस्न पाउने खान पाउने हक हुनेछ भन्ने आफनै घरमा एउटा कोठामा बस भन्नु भनेको सजाए   जस्तो भयो । भनाई र गराईमा मेल खानु पर्‍यो । हिजो थियो र यसलाई निरन्तरता दिनुपर्छ भन्ने सोचले समाज कसरी परिर्वतन होला र ?

म महिनावारी भए भन्दैमा भान्सामा गएर पानी निकालेर पिउन नपाउने, कसरी न्याय हुन सक्छ ? यो समाज भावी पुस्ताका किशोरीहरुलाई पनि डर कै बिचमा हुर्काउँदै छ । महिनावारी हुँदा ४ दिन अलग्गै बस भनेर गरिएको व्यवहार कसरी समान हुन्छ ?

 

स्कुल स्कुलमा सेनेटरी कार्यक्रमहरु लागू भएका छन, सुधार भएको त मान्नु हुन्छ ?

हिजोका दिनमा महिनावारी हुँदा ४ दिन किशोरीहरु पढ्न जानबाट बञ्चित हुन्थे, आज केहि सुधार भएको हो तर महिनामा ती दिन तिमी यो यो ठाउँमा प्रवेश गर्न पाउँदैंनौं भन्नु त बिभेद हो नी । हिजोका दिनमा नरम कपडा प्याडको रुपमा प्रयोगमा थियो, आज आधुनिक प्याड आए । यी स्वभाविक परिर्वतन हुन भनेर लिन सकिन्छ । छेकबार लगाउने गलत अभ्यास हटाउ भन्ने मेरो मुख्य जोड हो । नेपालका हरेक घरमा छाउ अथवा महिनावारी बार्न चलन  छ ।सुदुरपश्चिमलाई मात्रै धेरै चित्रण गरियो । महिनाबारीको समयमा झनै सरसफाईमा ध्यान दिनु पर्छ तर कुन ब्रान्डको प्याड लगाउने भन्ने कुराले समाजमा परिर्वतन ल्याउदैंन । कसैले नरम कपडालाई प्रयोगमा ल्याउला त्यो उसको व्यक्तिगत कुरा भयो । उनीहरुलाई  सहज बनाउने किसीमका प्याड हामी नै उत्पादन गरौं त्यसले रोजगारी पनि बढ्छ । यसले सहजता ल्याउने हो । विषय के हो भने महिलालाई महिनावारी भएकै कारण रोक लगाउने जुन नियम छन नि जान नहुने, खान नहुने,  सामानहरु छुन नहुने यि अबरोध तोड्नु पर्छ भन्ने नै हाम्रो अभियानको मुल मर्म हो ।

 महिनावारीको समयमा बैकल्पिक साधन उपलब्ध गराउनु मात्रै परिर्वतन होइन । हाम्रा गलत बुझाई र अभ्यासहरुमा परिर्वतन हुनुपर्छ भन्ने कुरामा अवको अभियान केन्द्रित हुनुपर्छ । 

(देवी सापकोटासँग गरेको कुराकानीमा आधारित)  
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार