• शुक्रबार ६-३-२०७६/Friday 09-20-2019
विचार

भागवत धर्ममा पितृपूजा अर्थात् श्राद्ध !

मनुष्य जन्म पाएर जसले आमाबाबुलाई कष्ट दिन्छ, उसले सय जुनीसम्म दण्ड भोगेर पनि त्यस अपराधबाट पार पाउँदैन । आमाबाबु मरेपछि उनीहरूलाई श्रद्धा गरिरहनुपर्छ । पितृहरूलाई गरिने श्रद्धा नै श्राद्ध हो । श्राद्धकर्मबाट प्रसन्न भएका पितृहरूले श्राद्धकर्तालाई आयु, सन्तान, अखण्ड ऐश्वर्य, विद्या, अनेक प्रकारका सुख राज्य, स्वर्ग एवं मोक्षपर्यन्त प्रदान गर्न सक्छन् । भगवानसमेत पितृ हुन् भन्ने कुरा बिर्सन मिल्दैन । देवकार्य तथा पितृकार्य छोड्नु हुँदैन । आमा, बाबु, गुरु र अतिथिलाई देवता मान्नुपर्छ । श्रद्धाले दिनुपर्छ । अश्रद्धाले दिनु हुँदैन । लाजले अथवा डरले पनि विवेकपूर्वक आर्थिक क्षमता–अनुसार भोजन, आसन आदि चढाउनुपर्छ । श्रद्धाभाव नै श्राद्ध हो । 

 

श्रद्धापूर्वक आफ्ना पितृहरूलाई गरिने सत्कार, दिइने भोजन आदि कर्महरू श्राद्ध हुन् । शास्त्रसङ्गत पवित्र ठाउँ, समय, पात्र र विधि–अनुसार श्राद्ध गर्नुपर्छ । शान्त मनले पितृलाई सम्झिँदै सुयोग्य ब्राह्मणलाई तृप्त हुने गरी दान गर्नाले आयु, सन्तान, कीर्ति, स्वर्ग, पुष्टि, बल र धन–सम्पत्तिसमेत पाउन सकिन्छ ।

 

गच्छे–अनुसार श्राद्ध नगर्ने कृतघ्नहरूलाई पितृहरूले श्राप दिन सक्छन् । पितृलाई श्रद्धापूर्वक सागमात्रै चढाए पनि हुन्छ । दाताको दान श्रद्धाले पवित्र हुन्छ र अश्रद्धाले नष्ट हुन्छ । अश्रद्धापूर्वक दिइने दान र गरिने यज्ञ भगवान्को कृपावश दैत्यको भागमा जान्छ । यो कुरा भगवान्ले दैत्यलाई वरदान दिने सन्दर्भमा भनेका हुन् । भगवान् श्रीकृष्णले यही कुरा अर्जुनलाई सम्झाउँदै भनेका छन्—“श्रद्धा नराखी गरिएका यज्ञ, दान, तपस्या आदि असत् क्रियाहरू इहजन्म र परजन्ममा समेत निष्फल हुन्छन् । श्रद्धाविना गरिएको कुनै पनि कार्यले सफलता दिँदैन ।” 

 

सकाम श्राद्धमा शरीर, द्रव्य, स्त्री, भूमि, मन, मन्त्र र ब्राह्मण शुद्ध हुुनु आवश्यक छ । स्कन्दपुराणको नागरखण्डको उत्तरार्धको श्राद्धकल्प तथा प्रभासखण्डमा उल्लिखित विधि–अनुसार सकाम श्राद्ध गर्नु सम्भव छैन । विष्णुपुराण आदि अन्य पुराणमा पनि श्राद्धविधिको उल्लेख पाइन्छ । ‘अहं, मम’ जस्ता अहङ्कारयुक्त शब्दसहित आफैँमा कर्ताभाव राखेर गरिने सकाम श्राद्धले उल्टो फल प्रदान गर्न सक्तछ । श्राद्धमा पितृबाट आशीर्वाद समेत लिनु हुँदैन । किनभने मायिक व्यक्तिले दिएको आशीर्वाद श्रापमा परिणत हुनसक्छ । 

 

आधुनिक कर्मकाण्डमा उल्लेखित सङ्कल्प र सकामकर्मलाई शास्त्रसङ्गत ढङ्गबाट परिष्कार गर्नु आवश्यक छ । विष्णुपुराणको तृतीय अंशको ते¥हौँदेखि सोर्‍हौँ अध्यायसम्म आभ्युदयिक श्राद्ध, प्रेतकर्म, श्राद्धादि–विचार, श्राद्ध–प्रशंसा, श्राद्धका पात्रापात्रको विचार, श्राद्धविधि तथा श्राद्धकर्ममा प्रयोग गर्न हुने र नहुने वस्तुका विषयमा विस्तृत चर्चा गरिएको छ । विधिवत् श्राद्धकर्म गर्न सकिएन भने सुयोग्य ब्राह्मणलाई भोजन गराउने, अन्नदान र दक्षिणादान गर्ने विकल्पहरू पनि दिइएका छन् ।

 

श्रद्धापूर्वक गरिने कार्यलाई श्राद्ध भन्दछन्; हामीलाई अर्काले गरेको श्रद्धा मन पर्छ । तर ‘म तपाईंको श्राद्ध गर्न चाहन्छु; मेरो घरमा पाल्नुहोला ।’ भनेर कसैले निम्तो पठायो भने हामी त्यस श्रद्धालु प्रति क्रुद्ध  हुन्छौँ । श्राद्ध शब्दको अर्थ सङ्कुचित भएको छ । पितृलाई गरिने श्रद्धालाई मात्र श्राद्ध भन्दछन् । 

 

ब्रह्मलोकसम्म सीमित सनातन धर्मलाई वर्णाश्रम धर्म भन्दछन् । सर्वव्यापी भईकन भगवद्लोकसम्म फैलिएको सनातन धर्मलाई चाहिँ भागवत धर्म भन्दछन् । भागवत धर्म नै वास्तविक सनातन धर्म हो । वर्णाश्रम धर्मको विधिअनुरूपको श्राद्ध वर्तमान युगमा असम्भव छ । श्राद्धका लागि सुयोग्य ब्राह्मण पाइँदैनन् । यसकारण कुशको ब्राह्मण राखेर श्राद्ध गर्नू भनिएको छ—

 

“श्रीमद्देवीभागवत ३ । १० । ३७ : विना विप्रेण कर्तव्यं श्राद्धं कुशचटेन वै । न तु विप्रेण मूर्खेण श्राद्धं कार्यं कदाचन ।।”

 

भागवत धर्मअनुसार हामी सम्पूर्ण जीवहरूका वृद्ध प्रपितामह भगवान् शिव हुन् । प्रपितामह भगवान् विष्णु हुन् । भगवान् ब्रह्माजी पितामह हुन्  र पितृलोकमा रहेका समस्त जीवहरू पितृ हुन् ।

 

भागवत धर्मअनुसार श्राद्ध गर्नलाई आफूसँग धनसम्पत्ति छैन भने श्रद्धा भए पुग्छ । रित्ता हत्केला मास्तिर अर्थात् आकाशतिर फैलाएर राधाकृष्णलाई सम्झिए पनि पुग्छ । 

 

“विष्णुपुराण ३ । १४। २७–२८, ३०  : तिलैस्सप्ताष्टभिर्वापि समवेतं जलाञ्जलिम् । भक्तिनम्रस्समुद्दिश्य भुव्यस्माकं प्रदास्यति ।। यतः कुतश्चित्सम्प्राप्य गोभ्यो वापि गवाह्निकम् । अभावे प्रीणयन्नस्माञ्छद्धायुक्तः प्रदास्यति ।। न मेऽस्ति वित्तं न धनं च नान्यच्छद्धोपयोग्यं स्वपितृ न्नतोऽस्मि । तृप्यन्तु भक्त्या पितरो मयैतौ कृतौ भुजौ वत्र्मनि मारुतस्य  ।।” 

 

श्रद्धापूर्वक सातआठ दाना तिल र जल पृथ्वीमा चढाउँदा अथवा गाईलाई पेटभरि खान दिँदा समेत श्राद्धकर्म गरेको मानिन्छ । त्यति पनि सकिँदैन भने दुई हत्केला मास्तिर फर्काएर पितृलाई श्रद्धापूर्वक सम्झनामात्रै गरिदिए हुन्छ । पितृहरू प्रसन्न हुन्छन् । भागवत–धर्म अनुसार उपर्युक्त पवित्रवस्तुहरू भगवान् श्रीकृष्णका नाममा चढाएर भगवान्को नाम कीर्तन गरे श्राद्ध परिपूर्ण हुन्छ । 

 

श्रीकृष्ण नै राधा, शिव, गणेश, विष्णु, देवी, सूर्य आदि सबै हुन् । ‘वासुदेवमिदं सर्वम्’ ।

 

सम्पूर्ण पितृगण नै भगवान् विष्णु हुन् । विष्णुले पाएको पत्रम्, पुष्पम् सबै पितृले पाउँछन् । सूक्ष्मतम शरीर भएका सबै पितृहरू सुँघेकै भरमा अघाउँछन् । जसरी जरामा हालिएको मलजल रूखका हाँगा, पात, फूल, फल आदि सबैले पाउँछन्  त्यसै गरी भगवान् श्रीकृष्ण अथवा विष्णुलाई अर्पण गरिएको हव्य–कव्य सम्पूर्ण देवी–देवता तथा पितृहरूले पाउँछन् ।

 

विष्णुपुराण प्रथम अंश अध्याय ८–२४ : विष्णुः पितृगणः पद्मा स्वधा शाश्वत पुष्टिदा ।

 

पाठक महानुभावहरू, मैले पितृको श्राद्धमा विष्णु सहस्रनाम, शिव सहस्रनाम, राधाकृष्ण सहस्रनाम पाठ गर्ने गरेको छु । पायस, तिल, कुश, पहेँलो अक्षता, फूल र जल श्रीकृष्णलाई अर्पण गर्ने गरेको छु । ‘श्रीकृष्णार्पणम् !’ । ‘त्वदीय वस्तु गोविन्द तुभ्यमेव समर्पये’ भन्ने सिद्धान्तअनुसार भगवान् गोविन्दका वस्तु गोविन्दलाई नै अर्पण गर्ने गरेको छु । गीतामा भगवान्ले ‘अहङ्कार विमूढात्मा कर्ताहमिति मन्यते’ भनेका छन् । यसकारण सङ्कल्पमा अहं, मम आदि प्रयोग गर्न छोडेको छु । कुशका गर्गाचार्य पुरोहित हुन्छन् । कर्ता बन्छन्—भगवान् श्रीकृष्ण । म चाहिँ मात्र, निमित्त पात्र !

 

कुशे औँसीका दिन विष्णु सहस्रनाम सुनाएर पितृलोक–निवासी पिताज्यूको मुख हेरेँ । आनन्द आयो ।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार