• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
बिश्व

अस्ट्रेलियाली चर्चको यौनकाण्ड

 

मेलबोर्न । अस्ट्रेलियाली एक पुनरावेदन अदालतले बुधबार कार्डिनल जर्ज पेलमाथिको बालयौन दुराचारको सजायलाई पुनः सदर गरेको छ । अदालतको उक्त आदेशपछि अदालत परिसरबाहिर भेला भएका पीडित र उनीहरुका समर्थकले खुशी व्यक्त गरेका थिए ।

 

गत वर्ष डिसेम्बरमा तल्लो अदालतको सर्वसम्मत निर्णयका आधारमा कार्डिनल जर्ज दोषी ठहर गरिएका थिए ।


 क्याथोलिक धर्मगुरु पोप फ्रान्सिसका पूर्व अर्थमन्त्री समेत रहेका कार्डिनल जर्जले दुई दशकअघि मेलबोर्न्स्थित सेन्ट प्याट्रिक क्याथेड्रलमा रहँदा दुई जना १३ वर्षीय बालकमाथि यौन शोषण गरेको पुष्टी भएको थियो । 

 

भिक्टोरिया पुनरावेदन अदालतका न्यायाधीशको २–१ को निर्णयबाट कार्डिनल जर्जले गरेको पुनरावेदन अस्वीकार गरेको हो । पेलका कानुन व्यवसायीले अब अदालतको आदेशका बारेमा अध्ययन गरी उच्च अदालतमा पुनरावेदन गर्ने बताएका छन् ।

 

कार्डिनल जर्जका प्रवक्ता काट्रिना लीले अदालतको आदेशबाट कार्डिनल जर्ज निःसन्देह दुःखी भएको बताए । भ्याटिकनले पनि कार्डिनल जर्जको बालयौन शोषणका बारेमा अलग्गै अनुसन्धान गरिरहेको छ । कार्डिनल जर्जले भने आफू निर्दोष रहेको बताउँदै आएका छन् ।

 

अस्ट्रेलियाली क्याथोलिक बिसप सम्मेलनले पनि कानुनका दृष्टिबाट सबै अस्ट्रेलियाली नागरिक समान रहेको बताउँदै अदालतको आदेशलाई स्वीकार गर्ने जनाएको छ ।
 मेलबोर्नका मुख्य पादरी पिटर कोमेन्सोलीले एक विज्ञप्ति प्रकाशन गरी आफूले अदालतको आदेशलाई स्वीकार गर्ने र अरुलाई पनि त्यस्तै गर्न आग्रह गरे । 

 

गत मार्चमा ७८ वर्षीय कार्डिनल जर्जलाई छ वर्षको कारावासको सजाय दिइएको थियो । उनी अब पोप फ्रान्सिसको कार्डिनल परिषद् वा भ्याटिकनको अधिकारीका रुपमा रहन पाउने छैनन् ।रासस 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार