• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
खेलकुद

श्रीलंकालाई हराउँदै अष्ट्रेलिया शीर्षस्थानमा, दक्षिण अफ्रिकाको पहिलो जित

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले चौंथो जित निकालेको छ । लण्डनमा शनिबार भएको खेलमा श्रीलंकालाई ८७ रनले पराजित गर्दै अष्ट्रेलियाले चौंथो जित निकालेको हो । 

 

केनिङटन मैदानमा अष्ट्रेलियाले दिएको ३३५ रनको फराकिलो लक्ष्य पछ्याएको श्रीलंका ४५ ओभर ५ बलमा अलआउट हुँदै २४७ रनमा समेटियो । कप्तान दिमुथ करुणारत्नेले सर्वाधिक ९७ रनको योगदान दिए पनि अन्य खेलाडीको साथ नपाउँदा टोलीको हार टार्न सकेनन् । ३३ ओभरको पहिलो बलमा केन रिचड्सनले ग्लेन म्याक्सवेलबाट क्याच आउट गराएपछि उनी आफ्नो वान डे करियरको पहिलो शतक पुरा गर्न मात्रै ३ रनले चुकेका थिए । उनले १ सय ८ बलमा ९ चौका प्रहार गरे ।

 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पुरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर ३३४ रन बनाएको थियो । अष्ट्रेलियाको फराकिलो स्कोरमा कप्तान आरोन फिन्चले शतकीय इनिङ्स खेले । फिन्चले १५३ रन बनाए । ४३ ओभरको चौथो बलमा इसुरु उडानाले कप्तान दिमुथ कुरुणारत्नेबाट क्याच गराउनु अघि १ सय ३२ बलमा १५ चौका ५ छक्का सहित १ सय ५३ रनको उत्कृष्ट शतकीय योगदान दिए ।

 

जारी विश्वकपमा शतक प्रहार गर्ने फिन्च पहिलो कप्तान समेत हुन् । फिन्चले ९७ बलमा शतक पुरा गरेका थिए । ३३ ओभरको दोस्रो मिलिन्दा सिरीवर्दनाई छक्का प्रहार गर्दै फिन्चले वान डे करियरको १४ औं शतक पुरा गरेका थिए । 

 

यस्तै स्टिभ स्मिथले ७३ रनको अर्धशतकीय इनिङ्स खेल्दा ग्लेन म्याक्सवेलले अविजित ४६ रन बनाए । डेभिड वार्नर २६ रनमा आउट भए । श्रीलंकाका इशुरु उडाना र धनन्जय डी सिल्भाले २-२ विकेट लिए ।

 

यो सँगै अष्ट्रेलियाले ५ खेलमा ४ मा जित र १ मा हारका साथ ८ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । न्युजिल्यान्ड ४ खेलमा ३ मा जित सहित ७ अंकका साथ दोस्रो स्थानमा छ । इंग्ल्यान्ड ४ खेलमा ३ मा जित र १ मा हारका साथ तेस्रो स्थानमा झरेको छ । भारत ३ खेलमा २ मा जितका साथ ५ अंक जोड्दै चौथो स्थानमा यथावत छ । अब अष्ट्रेलियाले आफ्नो छैटौं खेल बंगलादेशसँग खेल्नेछ ।

 

दक्षिण अफ्रिकाको पहिलो जित

 

त्यस्तै शनिवार नै भएको अर्को खेलमा दक्षिण अफ्रिकाले पहिलो जित निकालेको छ । शनिबार राती अफगानिस्तानलाई डक वर्थ लेविसका आधारमा ९ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको हो ।

 

डक अर्थ लेविसका आधारमा १ सय २७ रनको लक्ष्य पछ्याएको अफ्रिकाले २८।४ ओभरमा १ विकेटको क्षतिमा पुरा गर्यो । दक्षिण अफ्रिकाको जितमा लागि क्विनटन डी ककले ६८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै हासिम अमलाले अविजित ४१ रन जोड्दा एडिले लक्कीले अविजित १७ रन जोडे ।

 

अफगानिस्तानका गुल्बादीन नाइबले १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३४ ओभर १ बलमा अलआउट हुँदै १२५ रन बनाएको थियो । अफगानिस्तानका लागि राशिद खानले सर्वाधिक ३५ रन जोडे । यस्तै नुर अली जाड्रानले ३२ तथा हजरातउल्लाह जजाईले २२ रन बनाए । दक्षिण अफ्रिकाका इमरान ताहिरले ४ विकेट लिए । यस्तै क्रिस मोरिसले ३ विकेट लिए ।

 

दक्षिण अफ्रिकाले आफ्नो पाँचौ खेलमा पहिलो जित निकालेको हो । अघिल्ला ४ खेलमा दक्षिण अफ्रिकाले ३ खेलमा हार र वर्षाले खेल रद्द हुँदा १ खेलमा अंक बाडेको थियो । यो जितसंगै दक्षिण अफ्रिकाको खराब यात्रामा पूर्णबिराम लागेको छ ।

 

यता अफगानिस्तान भने चारै खेलामा पराजित भएको छ । दक्षिण अफ्रिकाले आफ्नो छैटौं खेल आगमी बुधबार न्युजिल्यान्डसँग खेल्ने छ । त्यस्तै अफगानिस्तानले मंगलबार इंग्ल्यान्डको सामना गर्ने छ ।

 

 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार