• बिहीबार ५-५-२०७६/Thursday 08-22-2019
विचार

लोकतन्त्रले संसारका मैं हूँ भन्ने तानाशाहको अन्त्य गरेको छ

अंग्रजी कवि टी एस इलियटले “वन्र्ट नर्टन” कवितामा अभिव्यक्त गरेका छन – समय वर्तमान हो, समय अतीत हो, वर्तमान र अतीत समयका भविष्य हुन, समयको अतीतमा नै समेटिएको हुन्छ समयको भविष्य । अतीतका यथार्थ नवुझेसम्म वर्तमान र भविष्यको निर्माणगर्न सकिदैन । सकेसम्म पछिल्तिर फर्केर हेर्न नचाहने तथा अगाडिको उज्यालोमा रमाउने स्वभाव हुन्छ मानिसको । यही कारण हो, शताव्दीयौंदेखि मानिसमा आफू वसेको देश र समाजलाई अतीतभन्दा फरक र वर्तमानभन्दा राम्रो वाटोमा हिंडाउने अदम्य चाहना भएर पनि मानिसको त्यस्तो चाहना पूरा हुन सकेको छैन ।

यो चाहना पूरागर्ने क्रममा मानिसले अनेकन पध्दतिको प्रयोग र परीक्षण गरेको छ । अनेकन युध्द झेलेको छ । अनेकन प्राकृतिक विनास र विपत्तिसंग लडेको छ । तै पनि एउटा स्वतन्त्र, समतावादी र न्यायपूर्ण समाजको निर्माण हुन सकेको छैन । 
पध्दति जुनसुकै होस, प्रणाली जसरी वनाइएको होेस, त्यसमा जनताका अदम्य आकांक्षा प्रतिविम्वित भएका छैनन भने, त्यसमा जनताले आफनो प्रतिनिधित्व अनूभूतगर्न सकेको छैन, त्यसमा जनताले आफनो भागिदारी रहेको विश्वास गर्न सकेन भने त्यो पध्दति, शव्दमा जतिसुकै लोकतान्त्रिक भएपनि, सफल हुन सक्दैन ।


नेपालमा प्रजातान्त्रिक चेतनाका वीजारोपण भएको सातौं दशक शुरु भै सकेको छ । तै पनि, हामी पध्दतिको विवादमा छौं । पध्दतिकै विवादमा नेपाल र नेपाली माथि अनेकन राजनीतिक प्रयोग भएका छन । तर लोक सम्मत पध्दति वस्न नसकेकाले हामी हरेक क्षेत्रमा पछि पर्दै गएका छौं । हामीसंग प्रत्येक क्षेत्रका केही न केही ज्ञानहरु छन । तर, हामीले देश निर्माणका लागि तिनको संगठित प्रयोग गर्न सकेका छैनौं ।
वितेका छ दशकको इतिहासलाई फर्केर हेर्ने हो भने २००७ सालमा जनताले चिनेको र वुझेको प्रजातन्त्रले अहिलेसम्म पनि राम्ररी खुट्टो टेक्न सकेको छैन । यो कहिले सडक गल्लीमा फेकिएको छ भने कहिले राजनीतिको मठ–मन्दिरमा मूर्तिका रुपमा पुजिएको छ । नेपाली जनताको जीवनमा गहिरो प्रभावपार्ने हिसावले प्रजातन्त्रको प्रयोग हुनै सकेको छैन । यो नै नेपाली जनताको दुर्भाग्य र दुर्दशाको कारक तत्व हो । 


सात सालमा वीजारोपण गरिएपछि प्रजातन्त्र नेपाली जनता र राजदरवारका वीच भकुण्डोको खेल वन्यो । राजाले प्रजातान्त्रिक मूल्य र मान्यताका विरुध्द आफनो एकलौटी शासन चलाउन खोजेपछि शुरु भएको संघर्ष सात वर्षसम्म निरन्तर रह्यो । राजाका तर्फवाट अनेकन भारदारी सभा र सरकार गठनको लामो प्रयोगपछि नेपाली जनताले प्रतिनिधि चयनको शाश्वत प्रजातान्त्रिक अधिकार प्रयोग गर्यो । निर्वाचित सरकारको स्थापनापछि देशमा राजनीतिक स्थायित्वको आशा पलायो । निर्वाचित सरकारले देशलाई आधुनिक पथमा अग्रसर गराउने प्रयत्न मात्रै गर्न लाग्दा राजाले भारदारी शक्तिको आडमा परिवर्तनलाई निरस्त मात्र गरेनन, देशमा शुरु हुन लागेको प्रजातान्त्रिक पध्दति नै उखेलिदिए ।

त्यसपछि राजाले प्रजातन्त्रकै नाममा प्रजातान्त्रिक मान्यताहरुसंग कतै मेल नखाने निर्दलीय व्यवस्थाको खोटो सिक्का चल्तीमा ल्याए । तर, यो सिक्का चल्नु थिएन र चलेन । प्रजातन्त्रका नाममा राजाको एकतन्त्रीय शासन तीस वर्षसम्म लगातार चल्यो । यो समयमा पनि परिवर्तनका प्रति जनताका आकर्षण र आशक्ति घटेन । राजाको दमनकारी नीतिहरुको सामनागर्दै तीन दशकसम्म प्रजातान्त्रिक शक्तिहरु संघर्षशील रहे । २०४६ सालको जन–आन्दोलन मार्फत प्रजातान्त्रिक शक्तिहरुले राजाको एकतन्त्री शासनको अन्त्यगर्ने सफलता प्राप्त गरे । तर, पध्दति फेरी पनि वस्न सकेन । प्रजातन्त्रले फेरी पनि दह्रोसंग पाइला टेक्न सकेन । यो परिवर्तनको अपूर्णता थिएन, शासनमा वस्ने नेताहरुको अपर्याप्त राजनीतिक इच्छा शक्तिको परिणाम थियो ।


तर, २०४६ को परिवर्तनले आफनो अपूर्णतालाई स्वीकारेको थियो । परिवर्तनका लागि धेरै यस्ता काम भएका थिए जसलाई नांगो आ“खाले देख्न सकिदैन । स्थानीय तहमा प्रतिनिधि शासनको प्रारम्भ, शासनमा पारदर्शिताको नियमित अनुगमन, सामाजिक संस्थाहरुको अभियान, कुनैपनि विषयमाथि जनताको चासो र जागरुकता र सर्वोपरि, संचार माध्यमको वढदो प्रभावकारी भूमिका २०४६ पछिका उपलव्धि थिए ।

अपर्याप्त परिवर्तनले नै जन्माएको थियो माओवादीको हिंसात्मक आन्दोलनलाई । यो आन्दोलनको आवश्यकता र यो आन्दोलनका क्रममा खडा भएका त्राशदीहरुको थुप्रै आलोचक भेटिन्छन यतिखेर । तर, अंध्यारो र अनकण्टारमा गुम्सिएर वसेका नेपाली जीवनका असंख्य विसंगत पक्षहरुलाई उज्यालोमा ल्याएर परिवर्तनको अपर्याप्त पक्षलाई सत्ताको केन्द्रमा स्थापितगर्न माओवादी आन्दोलन सफल भएको तथ्य कसैले पनि इन्कारगर्न सक्दैन ।


पछिल्लो जन–आन्दोलनमा जनताको जीत अपूर्व थियो । देशमा हजारौं वर्षदेखि जरो गाडेर वसेको परम्परागत शक्तिको विस्थापन र नेपाली जनतामा सार्वभौम शक्तिको अवतरण नेपाली समाजका लागि अभूतपूर्व घटना हो । संविधान सभाव्दारा संविधान लेख्ने जनताको छ दशक देखिको चाहनाले मूर्त रुप पाएपछि देशका समस्याहरु आफसेआफ समाधान हुने विश्वास सवैतिर जागेको थियो । विश्वले नेपाली जनताको लोकतान्त्रिक चाहनाको सम्मान गरेको थियो । जति शान्त र सौम्य परिस्थितिमा नेपालमा अकल्पनीय परिवर्तन भएको थियो त्यो अनुपम थियो । तर, नेपालका शासक वर्गले न त नेपाली लोकमतकै कदर गर्न सके, न त विश्व जनमतका अपेक्षाहरु नै पूरा गर्न सके । नेपाललाई एउटा अप्रतीम र सर्वाधिक उदाहरणीय लोकतान्त्रिक देशका रुपमा स्थापितगर्ने ठूलो अवसर गुमायौं हामीले । जनताको सर्वोपरि विजयलाई नर्या शासकहरुले आफनो र आफनो पार्टीको विजयमा सांघुर्याए ।


तै पनि, नेपालीले आफनो लोकतान्त्रिक अभिप्रायलाई यथार्थमा वदल्ने अभियान रोकेको छैन । विगत छ वर्षको निरर्थकताका कारण देशमा निराशा छाएको छ । तर, जनताको यो निराशा क्षणिक मात्र हो । किनभने, समकालीन विश्वमा लोकतन्त्रमात्र यस्तो पध्दति सावित भएको छ जसमा अनेक अपूर्णता हुँदाहुँदै पनि मानिसले यसलाई आत्मसात गरेको छ । लोकतन्त्रमा मानिसको ब्यक्तिगत प्रतिनिधित्वको अपनत्व छ । विरोधका अधिकार र व्यक्तिका दायित्वको स्पष्ट किटानी छ । त्यसैले होला, लोकतन्त्र विपरितका शासन पध्दतिमा चलेका देशहरु समेत विभिन्न नाम र रुपमा लोकतन्त्रका प्रमुख तत्वहरुको समायोजन गर्दैछन । अहिले विश्वव्यापि रुपमा नै आर्थिक र सामाजिक विकासका लागि लोकतान्कि पध्दतिको सक्रिय प्रयोग सर्वमान्य भै सकेको छ ।


लोकतन्त्रको सम्पूर्ण इतिहासको अध्ययनगर्ने हो भने यसको प्रयोग आश्चर्यजनक देखिन्छ । यसले ठूला युध्दहरुको मात्रै चुनौति खेपेको छैन, संसारका मैं हूँ भन्ने ठूला तानाशाहको अन्त्य गरेको छ । सन ४० को दशकमा भारत र पछिल्लो समयमा दक्षिण अफ्रिकामा लोकतन्त्रको प्रभावकारी विजय विश्वका दुइ यस्ता ठूला उदाहरण हुन जहाँ लोकतन्त्र मानिसको जीवन पध्दति वनेको छ । भारतमा जन प्रतिनिधि शासन व्यवस्थाको प्रवृत्तिमा नै परिवर्तन आएको छ भने दक्षिण अफ्रिकाले समावेशी समाजको निर्माणमा उदाहरण नै प्रस्तुत गरेको छ ।


नेपालमा लोकतन्त्रका वहुमुखी पक्षहरुको प्रयोग सहज मात्र नभएर प्रभावकारी पनि हुनेछ भनेर आशागर्ने ठाउँ प्रसस्त छन । किनभने, नेपाली जनता जतिसुकै जाति, जनजाति र वर्गमा विभाजित भएपनि शान्तिपूर्ण र सम्पन्न जीवनको खोजीमा लागेका छन । बिकास सबै नेपालीको चाहना हो । यस हिसावले हेर्ने हो भने, नेपालका राजनीतिक दलहरुले देश निर्माणका लागि विभिन्न प्रकारका सफल असफल सैध्दान्तिक अवधारणाहरुको पासो थाप्नु आवश्यक नै छैन । नेपाली जनताका लागि समान अवसर र काम गरेर खान पाउने स्वस्थ्य वातावरणको निर्माण मात्रै उनीहरुका लागि चुनौति हो । संसारका विभिन्न देशमा अनेकन जाति र जन जातिहरु, अनेकन वर्ग र उप वर्गका मानिसहरु वसोवास गरेका छन । अनेकन विविधताले भरिएको नेपाल एउटै मात्र देश होइन ।

 

वरु, नेपाललाई समान विचार राख्दाराख्दै पनि सँधै असमानताको खोजी गरेर आपसमा मतभेद वढाउने कलामा निपूण राजनीतिज्ञहरुको देश भन्दा अत्युक्ति नहोला । लोकतान्त्रिक पध्दतिका नियमहरुको पालना देशका नेताहरुको अभिमानका लागि अप्रिय हुन सक्दछ । जतिसुकै लोकप्रिय र लोकतान्त्रिक नेताको मनमा पनि आपूmलाई शक्तिको सर्वेसर्वा र अधिकारको एकमात्र स्रोतका रुपमा स्थापितगर्ने चोर त लुकेको हुन्छ नै । त्यो चोरलाई मनभित्रै थुनेर लोकतान्त्रिक पध्दतिलाई जसले आत्मसात गर्न सक्दछ त्यसले मात्रै जनताको मनमा राज गर्दछ । यही हो लोकतन्त्रको सौन्दर्य ।जनकपुर टुडेबाट

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार