• सोमबार २-१३-२०७६/Monday 05-27-2019
विचार

हे भगवान

अहिले पनि बेलाबेलामा स्कुले जीवनकालका गुरुहरुको सम्झना आउँछ । समय बित्दै जाँदा शिक्षक शिक्षिकाहरुले दिएको अर्ती–उपदेशहरुको सम्झना आईरहन्छ । यस प्रसंगमा म सुवर्णमान सरलाई सम्झन्छु । एकदिन उहाँले कक्षामा भन्नु भएको थियो ‘पाप नगर्नु धर्म गर्न पर्दैन’ मेरो निमित्त त्यो उक्ति देवबाणी सरह भएको छ । नौ दश कक्षामा पुगेपछि माहकवि लक्ष्मीप्रसाद देवकोटाको यात्री कविता पड्नु पर्ने त्यसपछि त झन मलाई पुगिहाल्यो । म न त भगवानको प्रार्थना नै गर्छु न मन्दिर नै धाउने गर्छु । 

 

अधर्मी अथवा नास्तिक भएको कारणले नभएर आफुले पाप नै गरेको छैन । त्यकारण किन भगवानलाई दुखदिनु भनेर हो ।  मलाई आफुसँग के छ भन्ने कुराको राम्रो ज्ञान छ । यो उमेरमा केही थप गर्ने कुनै सम्भावना पनि त छैन त्यसकारण किन भगवान गुहार्नु पर्यो ? भगवानले जसलाई पुगेको छैन उनीहरु लाई पुगोस्, मेरो कामना छ । बिपन्नलाई तिनले संपन्न गर्न सके भने म अत्यन्त खुसी हुने थिए । त्यती हुँदाहुदै पनि आजकल म खुब भगवान सम्झन थालेको छु । गोरा साथीहरुको संगतले गर्दा होइन किनकि उनीहरु अचम्म लागेको बेला ‘ओ माई गड’ (ओगड) भन्ने गर्छन । मेरो मुखबाट पनि अनायस कल्पना नगरेको समाचार पढ्न वा देख्नासाथ आउन थालेको शब्द हो ‘हे भगवान’ ।

 

बिहान उठेर एफ.एम रेडियोको समाचारको हेडलाइन खबर सुन्नदा नचाहँदा नचाहँदै पनि आईहाल्छ ‘हे भगवान’ । सात बजेपछिको समाचारहरु टिभीमा हेर्न बस्यो पटक पटक आउने शब्द फेरी त्यही हुन्छ ‘हे भगवान’ । मैले भगवान गुहारेको त होइन तर अनायसै तिनलाई सम्झनुका पछाडिका कारणहरु समाचार प्रसारण पुर्वको बिज्ञापनहरुको ढर्राले गर्दा अवश्य पनि होइन । त्यसो त ‘हेड लाईन खबर’ सकिनासाथै लर्को लाग्ने बिज्ञापनहरुबाट बिरक्तिएर पनि होइन । किनकी प्राबिधि तथा हाम्रा अनगिन्ती टिभी च्यानलहरु भएको हुनाले एकै स्थानबाट नउठी बिभिन्न च्यानलहरुमा प्रशारण भएका समाचारहरु हेर्न पाइन्छ । कुनै एउटाको बिज्ञापन वा समाचार नै मन परेन भने रिमोटको बटन थिच्यो अर्को च्यानल आइहाल्छ । त्यो मन परेन भने अर्को गर्दा गर्दै समय बितेको पत्तै हुँदैन । बस ट्रक सहायक चालकले (खालासी) चलाउँदा दुर्घटनामा परेको सामाचार सुन्दा उराठ लाग्न थालेको अवस्थामा अब हवाईजहाज नै सह–चालकले चलाउँदा दुर्घटना भएको समाचार आउँन थाल्यो । प्रत्येक दिन सडक अनि कहिलेकाही त हवाईजहाज दुर्घटना हुने गरेको हो हाम्रो मुलुकमा हे भगवान !

 

त्यसो गर्दै भ्रष्टाचार तथा घोटालाका समाचारहरुले पनि अनायस भगवान सम्झिहाल्छ । भ्रष्टाचारको शुन्य सहनशिलता निती अपनाउने घोषणा गर्ने प्रधानमन्त्री मुलुकले पाएको छ । बेलाबेलामा प्रधान मन्त्री कुर्लन छन् । भ्रष्टाचारीलाई जो सुकै भए पनि छोडदिन भनेर । अब त सम्माननीय प्रधानमन्त्रीले भ्रष्टाचारको गन्ध पनि छोडदिन भन्न थालेका छन् । तै पनि भ्रष्टाचार प्रत्येक दिनको प्रमुख समाचार हुन्छ । प्रधानमन्त्री कार्यालय निर्माण गर्दा पनि घोटाला भयो भन्ने समाचार प्रशारण हुने तर कारवाही भएको समाचार न आउने अवस्थामा कसरी भगवानलाई नसम्झने ? प्रधानमन्त्री स्वंयमले सहजसंग स्वीकार गर्नुभयो ‘मलाई व्यापरीले झुक्काए’ सर्वशक्तिमान प्रधानमन्त्रीलाई झुक्काउन सफल ती साक्षात भगवानको आशिर्वाद पाएको व्यापारीहरु को होलान ?  त्यसरी प्रधानमन्त्री झुकिँदा राष्ट्रले मात्र साढे ५३ करोड राजस्व गुमाएको छ । त्यसरी गुमेको त्यो रकम कसले फिर्ता गर्ने ? हामीले मतदान दिएर हामीलाई नै शासन गर्न चुनेको सरकारले ‘झुक्काउने’ लाई कारवाही गर्ने कि नगर्ने ? यस्तो प्रश्नको उत्तर नभेटेपछि किन ननिस्कियोस् मुख बाट ‘हे भगवान’ । 

 

त्यसो त ३३ किलो सुन काण्डले पनि मलाई घरी घरी भगवान सम्झाई राख्छ । उक्त घटना सम्बद्ध व्यापारी मारिन्छ । हत्यारा पक्रन प्रहरी सफल हुन्छ । तस्करहरुको जालो फेला पर्दछ ।  केही समातिन्छन् ।  बिडम्बना बिदेशी नागरीकले तीन  किलो आफ्नो गुप्ताङ्ग मा लुकाएर ल्याएको सुन पत्ता लगाउन सफल प्रहरी प्रशासनको आँखाबाट कसरी ३३ किलो सुन गायब हुन्छ ।

 

शुक्रवार (२९ चैत्र) को कान्तिपुरको प्रमुख समाचार थियो ‘बिधुत प्राधिकरणमा साढे ७ अर्ब हिनामिना’ । लोडसेडिङको मारमुक्त गरिदिए बापत काठमाण्डौं बासीहरु आर्शिवादको भारी बोकेका कार्यकारिणी निर्देशकको ‘सचिवालय’ ले त्यस समाचारमा उक्त रकम अझ बड्न सक्ने उल्लेख गरेको थियो । भोलीपल्ट अर्थात शनिबार बिहान नागरिक पत्रिका पल्टाउदै गर्दा दोश्रो पेजको समाचार शिर्षक ‘परामर्शदाताका नाममा लुट’ मा मेरो आँखा पर्यो । आफ्नो जनशक्ति हुँदाहुँदै पनि सरकारी निकायहरुले परामर्शदाता मार्फत कार्यसम्पादन गराउँदा खर्बौ गुम्ने रहेछ । बिडम्बना १२ बिकास आयोजनाको कुल लागतको दुई तिहाईभन्दा बढी रकम परामर्शदातालाई सुम्पिनु पर्ने स्थीति रहेछ अर्थात कुल लागतको मात्र एकतिहाइ रकम आयोजनामा खर्च हुने रहेछ । त्यसो त केहीदिन अघि मेलाम्ची आयोजना १७ बर्ष हुँदा लगानी २५ अर्ब भएको र सोही आयोजनामा सवादुई अर्ब अर्थात आठ प्रतिशत रकम भ्रष्टाचार भएको (२२ चित्र २०७५) को नयाँ पत्रिकामा प्रमुख समाचार थियो । अर्को उदेक लाग्दो उक्त शिर्षक अन्र्तगतको समाचार चाहि उक्त आयोजनाका निमित्त खरिद गरिएका महंगा गाढीहरु र तिनका उपयोग कर्ताहरुको तालिकाको थियो । यो समाचार पढेपछि लाग्यो मेलाम्ची आयोजनाको आयु कसले किन र के कारणले लम्ब्याउँदै छ । आयोजना सकिएको खण्डमा अर्बौको भ्रष्टाचार गर्ने तथा महंगा गाढीमा सवार गर्ने मुहान नै सुक्ने भएपछि त्यस्तो आयोजना किन नलम्बाउने ? काठमाडौंको जनताले पानी पाउन या नपाउन के मतलब ।

 

न्यु इयर इभमा प्राय सबै अखबारहरुले महालेखा परिक्षकले सम्मानीय राष्ट्रपतिलाई बुझाएको बार्षिक प्रतिवेदनलाई प्रमुख समाचरको रुपमा प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनमा सरकारी खर्चको आधारकम नियम सम्वत नभएको हुनाले बेरुजुमा परेको उल्लेख गरिएको छ । महालेखाले खर्च गरेको मध्ये रु.३५ अर्ब ‘गम्भिर प्रकृतिको अनियमितता’ ठहर गरेको छ । नयाँ वर्षको उपहार चाहि सायद नागरिक दैनिकले बैशाख १ का दिनको हेडलाईन न्युजलाई मान्नुपर्दछ होला जसमा ६ बर्षको अवधीमा भु–माफियाहरुले १,८६० रोपनी कब्जा गरेको समाचार छ । आशा गरौं चालु बर्षमा भ्रष्टाचार घटेको, घोटला नायकहरुलाई कानुनी कठघरा पुर्याइएको तथा नक्कली सर्टिफिकेट धारीहरु बिभूसित नभएको समाचारहरु सुन्न र पढ्न पाइयोस । त्यसपछि भगवानलाई घरीघरी सम्झन नपरोस् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार