• शुक्रबार ६-२-२०८३/Friday 09-18-2026
अन्तर्वार्ता

नेपाल कम्युनिष्ट पार्टीले यतिबेला एउटा स्वर्ण अवसर पाएको छः योगेश भट्टराई

तत्कालिन नेकपा एमालेका सचिब रहेका प्रखर बक्ता तथा जुझारु युवा नेता योगेश भट्टराई यतिबेला नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटि सदस्य छन् ।

 

ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनले एकिकृत भएको नेकपालाई यतिबेला काम गर्ने प्रशस्त अवसर र अधिकारलाई भरपुर सदुपयोग गर्नुपर्ने बताएका छन्  । सरकारको भावी रणनीति र भर्खरै एकीकृत नेकपाको भावी योजनाबारे उनीसँग फ्रेशन्यूज नेपालका तर्फबाट सुकृत नेपालले गरेको कुराकानीः

 

अहिले दुई ठूला बाम पार्टीको एकतापछि आन्तरिक विवाद बढेर गएको पाइन्छ । यसको व्यवस्थापन कसरी हुन्छ ?

अब यो ठुलो पार्टी भयो । ठुलो पार्टी भएको हुनाले यसको आहारा पनि ठुलै हुन्छ । हात्तीको आहारा त ठुलै हुनेभयो । त्यसैले यसमा केही कुना काप्चाहरु अलि अलि नमिलेका पनि होलान् । त्यस्तो कुराहरु पनि देखिन्छ । यसमा मुख्य कुरा पार्टी एकता समयको माग, राष्ट्रको आवश्यकता र हामी सबैको चाहना अनुरुप भएको छ । यो स्वागतयोग्य छ । यो हुनै पथ्र्यो ।

 

यस क्रममा दुइवटा पार्टी एक ठाउँमा आइसकेपछि अवश्य पनि हामीले सोचे अनुसारका, हामीले चाहे अनुसारका जिम्मेवारीहरु नहुन सक्छ ।  त्यसमा केही न केही, कसैन कसैले, अलिकति बलिदान गरेन भने त पार्टी एकता भन्ने पनि हुँदैन । कहिलेकाहीं पार्टी एकताको बृहतर हितमा केहीअप्ठेरा हुन सक्छन् । त्यसलाई मिलाउँदै जानुपर्छ र मिलाइने छ । सबै नेता कार्यकर्ता जनसमुदाय र सिंगो मुलुकलाई सन्तुष्टि दिनसके पार्टी एकता स्थायी हुन्छ ।

 

तर, पार्टी भित्र नै  बरिष्ट नेता तथा अग्रज नेताहरु वरीयता नमिलेकोमा आक्रोशित हुनुहुन्छ । खासमा यो के भइरहेको हो ?

त्यो कुरा हामीलाई थाहा छैन । किनभने निर्णय गर्ने ठाउँमा सबै बरिष्ट नेताहरु छन् । सबै बसेका थिए । आफैं निर्णय गरेका हुन । अब मिले पनि नमिले पनि हामीलाई त निर्णय सुनाइएको हो । हामीसम्म आइपुग्दा त हामीले यसो यसो गर्यौं, पार्टी एकता संयोजन समितिले यसो गर्यो, दुईवटा अध्यक्षले यसो गरे भनेर प्रस्तावहरु लिएर आए । हामीले यो निर्णय गरेका छौं तपाईहरुले यसलाई समर्थन गरिदिनुहोस् भनेपछि हामीले समर्थन गरेका हौ । त्यो भन्दा बाहेक हामीलाई केही थाहा छैन । यसमा केही नमिलेको छ भने उहाँहरु बसेर मिलाउनु पर्छ ।

 

तपाई पार्टीको सचिब जस्तो जिम्मेवार पदमा रही सकेको व्यक्तित्व । तपाईलाई यो एकताले आफ्नो राजनीतिक करियरमा धक्का लागे जस्तो भएको छैन ?

अहिले जिम्मेवारीहरु तोकिएका छैनन् । के जिम्मेवारी पाइन्छ त्यसै अनुसार हुन्छ । व्यक्तिगत हिसाबले पार्टी एकता गर्नुपर्छ भन्ने इच्छा र चाहना मेरो पनि हो । यसका निम्ति लामो समयदेखि हामीले सकेको योगदान पनि गर्दै आएका छौं । ठुलो पार्टीको सदस्य हुनु आफैमा एउटा सन्तुष्टिको कुरा हो । यसले अब देश हाँक्ने जिम्मेवारी पाएको छ, मुलुक बनाउने जिम्मेवारी पाएको छ । नेपालको सन्दर्भमा भन्ने हो भने यस्तो सुवर्ण अवसर सम्भवत कमै प्राप्त हुन्छ । नेपाल कम्युनिष्ट पार्टीले आज एउटा स्वर्ण अवसर पाएको छ, यसका नेताहरुले पाउनुभएको छ, हामी सबैले पाएका छौं । यसमा हामी सन्तुष्ट छौं ।

 

पार्टी अध्यक्ष ओलीले तपाईलाई मन्त्री बनाउछु भनेर दिनुभएको बचन पुरा गर्नुभएन नी ?

यो मन्त्री बन्ने–बनाउने कुराहरुसँग मेरो कुनै सम्बन्ध नै छैन । मेरो र मन्त्रीको बिचमा त्यति भेटघाट नै भएको छैन ।

 

तपाईलाई संगठनको हित विपरित बोल्ने गरेको र अनुशासन पालना नगरेको आरोप लाग्नेगर्छ । खास कुरो के हो ?

पार्टीमा बोल्ने स्वतन्त्रता हुन्छ । त्यसको एउटा सीमा भित्र बोल्ने, लेख्ने स्वतन्त्रता कै निम्ति हामी अडिएका हौं । पार्टीमा हामी यसकारणले भन्छौं कि यसको आम उदेश्य, कार्यक्रम कार्यदिशामा हामी एकमत हुन्छौं । हामी बिभिन्न क्षेत्रका मान्छेहरु पार्टीमा त्यो कारणले बसेका हुन्छौं । तर पनि मान्छेहरुका अलग अलग बिचारहरु पनि हुन्छ । त्यो ठुलो बृहत्तर उदेश्य भित्र मान्छेका केही आफना सोचाइहरु पनि हुन्छन् । त्यो स्वतन्त्रता समेत उपयोग गर्ने गरि नै हामी पार्टीमा हुन्छौं ।

त्यसमा पनि कम्युनिष्ट पार्टी हामी माक्र्सवादीहरु बिचार, छलफल, बहसबाट भाग्दैनौं । हाम्रो पार्टी भित्र यस्तो छलफल बिगतमा पनि भएको थियो । आगामी दिनमा पनि त्यो बिचार छलफल बिमर्शको स्पेस समाप्त हुँदैन भन्ने म ठान्छु । त्यसलाई अझै व्यवस्थित ढंगले अगाडि बडाउनु पर्छ । त्यसबाट भागेर, आत्तिएर पार्टी निर्माण हुन सक्दैन ।

 

दुई पार्टीको एकता दीर्घकालिन रहला ?

यो पार्टी एकता एकदमै दिर्घकालिन हुन्छ । यसले पार्टी मात्र एक बनाउँदैन । हाम्रो नेपाल राष्ट्रलाई नयाँ ढंगले एकिकरण गर्छ । हिमाल, पहाड, तराई, मधेश सबै जाती जनजातीलाई एक ठाउँमा उभ्याएर मुलुकको बिकासका लागि एउटा ठुलो महाशक्ति निर्माण गर्छ । त्यो अभियानको नेतृत्व पार्टी एकताले गर्छ । हामीले यो एकता पाँच दश वर्षको उद्देश्य राखेर गरेका होइनौं । आउने शताव्दीसम्म पनि यो एकतालाई अझ बलियो बनाउँदै जाने सोचका साथ हामी अगाडि वढेका छौं ।

 

स्थानीय स्तरसम्मको व्यवस्थापन गर्न धेरै चुनौतीहरु छन ? तपाईको विचारमा तल्लो स्तरमा पार्टीको व्यवस्थापन कसरी हुनुपर्छ ?

यसमा चुनौतीहरु छन् । ती चुनौतीहरुलाई जानेर बुझेर नै हामीले यो पार्टी एकताको प्रक्रियामा भाग लिएका हौं र अगाडि बडाएका हौं । हामीले एउटा निर्णय पनि गरेका छौं: अब तीन महिना भित्र सबै तहका पार्टी संगठनहरुलाई एकतावद्ध गरिसक्ने । मोर्चा संगठन, प्रवासमा पनि हाम्रा कमिटीहरु छन् त्यसलाई पनि एकतावद्ध गरिसक्ने भन्ने निर्णय भएको छ ।

हिजोका दुबै पार्टीका तर्फबाट कार्यदलहरु बनेका छन् । ती कार्यदलले सम्बन्धीत तहको एकताको मापदण्डको बारेमा सिफारिश गर्छ । त्यसको आधारमा हामी सबै संगठनहरुलाई एकतावद्ध बनाउँदै जान्छौं र तीन महिना भित्र यो काम हामी सकिसक्छौं । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार