• बिहीबार ३-५-२०७६/Thursday 06-20-2019
विचार

बढ्दो सम्वन्ध विच्छेद वाध्यता कि रहर ?

दाम्पत्य जीवन सामाजिक तथा कानुनी वैधता पाएको संस्थागत प्रणाली हो । जसअन्र्तगत समाजमा अलिखित बाहुल्य भएका नियम, मान्यता, पद्धति र संस्कारमा रहेर पति पत्नीले सामजिक अधिकार र दायित्व निर्वाह गर्दछन् । वैवाहिक सम्बन्धबाट नै दाम्पत्य जीवनको नयाँ शुरुवात हुन्छ । यस्तोे सम्वन्धलाई सुमधुर वनाउन र निरन्तरता दिन आपसी समझदारी र मेलपिलापबाट मात्र सम्भव हुन्छ । जव आपसी समझदारी र मेलमिलापको भावमा अलिकति पनि तल माथी हुन्छ, तव सम्वन्धमा चिसोपना तथा दरार उत्पन्न हुन सुरु हुन्छ जसले गर्दा पति पत्नी बीचको सम्वन्धमा विस्तारै विकर्षण पैदा हुन्छ र एकदिन बिकराल रुप धारण गर्दछ । अन्तत्वगोत्वा सम्बन्धलाई निरन्तरता दिनुको अर्थ एक पक्षले अर्को पक्षबाट हुने ज्यादतीलाई सहनु तथा आफ्नो मनको सुख शन्तिलाई सदाका निम्ति तिलान्जली दिनु बाहेक अरु केही विकल्प हुँदैन । त्यस्तो सम्बन्धको कुनै औचित्य पनि रहँदैन र वैवाहिक जीवनको नाता मृततुल्य हुन जान्छ । हाम्रो समाजमा सम्वन्ध विच्छेदको दर दिनदिनै बढ्दो क्रममा रहेको छ । यो आलेखमा यसरी बढ्दो क्रममा रहेको सम्वन्धविच्छेद वाध्यता कि रहर ? भन्ने प्रश्नको उत्तर खोज्ने प्रयासमा फरक तर सम्वन्ध विच्छेद गर्न वाध्य पारिएका प्रतिनिधी पात्र महिलाहरुको तथ्यलाई प्रस्तुत गर्ने जमर्को गरिएको छ । 

 

परिवार र समाजको भय :
एक जना अन्दाजी पैतिस छत्तिस वर्षीय महिला खुशी (परिवर्तित नाम) हो । केही वर्ष अगाडि उनको सानो उमेरमा नै काठमाडौंको एक शिक्षित तथा सम्पन्न परिवारमा मागी विवाह भयो । श्रीमानको परिवारको सहयोगमा विवाह पश्चात पनि उनले आफ्नो अध्ययन कार्यलाई निरन्तरता दिइन र स्नातकोत्तर सम्मको शिक्षा हासिल गरिन । अहिले उनी एक प्रतिष्ठित संस्थामा कार्यरत छिन् । आर्थिक रुपमा उनी एक सक्षम महिला हुन् । बिवाह पश्चात स्थापित भएता पनि परिवारका अन्य सदस्यहरु जस्तै सासु, ससुरा, नन्द, देवर आदिसँग उनको निकट तथा सौहाद्रपूर्ण सम्वन्ध रहेको छ । आवश्यकता अनुसार जहाँ जान पनि उनलाई कुनै किसिमको वन्देज छैन । श्रीमान भद्र छन्, ठूलो स्वरले बोल्ने, गालीगलौंच गर्ने उनको बानी छैन । शाररिक यातना दिने, लवाईखवाइमा निषेध गर्ने तथा पत्नी प्रति अनावश्यक शंका गर्ने जस्ता कार्यहरु तिनीबाट हुँदैन । 

 

घरपरिवार, समाज र साथीहरुको बीच यो जोडी उदाहरणीय नै छ । समाजको नजरमा उनी दुःखी हुनु पर्ने कुनै पनि कारण छैन । उनले भोगेको वास्तविकता भने परिवार र समाजले देखेको भन्दा पृथक छ । खुशी परिवारका सदस्य तथा समाजको आँखामा जती खुशी देखिने गर्दछिन् त्यसको ठिक विपरित छ तिनको अवस्था । उनी हरपल आँशुमा डुवेकी हुन्छिन जुनकुरा उनको घरपरिवार, माइती र समाज कसैलाई पनि अत्तोपत्तो छैन । उनी दुःखी हुनाको एकल कारण उनका पती हुन् । यो तथ्य उनका एकदमै नजिकका साथीहरुलाई मात्र थाहा छ । हरदम बग्ने उनका आँशुको कारण पतीसँगको सम्वन्ध हो । जुन उनीहरुबीच सुमधुर हुन सकेन । पतीसँग उनी जति जति नजिकिन चाहान्छिन् तर पती भने उनी देखि परपर हुन रुचाउँछन् । उनी पतीको सामिप्यमा जाने प्रयत्न गर्दछिन्, पती भने उनी देखि टाढिन्छन् । पती पत्नी एउटै विछ्यौना प्रयोग गर्दछन् दुई विपरित दिशा तर्फ फर्केर । उनीहरुवीच शाररिक तथा भावनात्मक सम्वन्ध कत्ति पनि छैन । एक अर्काको दिनचर्याका विषय देखि परिवार तथा अन्य कुनै पनि विषयमा वार्तालाप हुदैन । पती उनीसँग किन अघाएका हुन् त्यसको कारण उनलाई थाहा छैन । पति पत्नी बीचको सम्वन्ध सुधार्न उनले व्यक्तिगत रुपमा गर्न सक्ने सम्मका सबै पहल गरी सकेकी छन् तर सम्वन्ध भने दिन प्रतिदिन चिसिदै गएको छ । त्यसैकारणले गर्दा उनी एक मिनेट पनि त्यस घरमा वस्न चाहँदिनन् । दाम्पत्य जीवन कायमै गर्नुको कुनै औचित्य  छैन । तर उनी श्रीमान सँग सम्वन्धविच्छद गर्न सक्दिनन् किनकी माइती घरपट्टीको इज्जत, आफ्नो सन्तानको भविष्य र समाजबाट हुने प्रतिक्रिया तथा लान्छाना आदिको वोझ वोक्ने सामथ्र्य उनमा छैन । उनी जिन्दगीभर मानसिक रुपमा पतीले गरेको असहज तथा अदृश्य व्यवहार सहदै वस्न वाध्य भएकी छन् । 
 

 

व्यक्तिगत भय तथा त्रासका बाबजुद सम्वन्ध विच्छेद :
एक अर्को महिला अन्दाजी उमेर पच्चिस छव्विस वर्षीय उनको नाम सामना (परिवर्तित) हो । उनले करीब चार पाँच वर्षको लामो प्रेम सम्वन्ध पछि अन्तरजातिय विवाह गरिन । सम्पन्न घरपरिवार, स्वास्थ्य क्षेत्रमा कार्यरत पती, जीवन साच्चै सुखमय हुन्छ भन्ने जुन परिकल्पना गरेर विवाह गरिन उनको परिकल्पनाले कहिल्यै सार्थकता पाएन । विहे भएको दुईवर्ष पछि एक सन्तान जन्माइन, त्यसपछिका दिनदेखी उनको घरमा कहिल्यै खुशी फर्केन । पती दिनमा आफ्नो अफिस, रात बाहिर साथीसंगत सँग बिताई दिने र बिहान उज्यालो हुने बेलामा मात्र घर प्रवेश गर्न थाले । बिहान घरमा आएर पनि कहिल्यै शान्तिसँग नबस्ने, श्रीमतीसँग सधै कलह, उनको चाहना र भनेको समयमा श्रीमती सेक्सको लागि तयार हुनुपर्ने ।
रेष्टुरेन्टको खानपान, बाहिरका साथी संगत, अत्याधिक अनावश्यक खर्चका कारण आर्थिक संकट गहिरिदै गयो, जताततै ऋणै ऋण, सम्पत्ति पनि वैंकमा धितोे । पतीले त दुःख दिएका थिए नै अव तिनले थुपारेका साहुहरु घर तथा उनले सञ्चालन गरेको सानोतिनो व्यवसाय स्थलमा नै आएर अभद्र व्यवहार गर्न थालेपछि मानसिक तनावले न दिनको भोग न रातको निन्द्रा हुन थाल्यो । ऋण दिनेहरु घरमा असुलीका निमित्त आउन थाले पछि पती घरमा नै नआउने र फोन सम्पर्क विहिन हुन थाले । केही दिनसम्म पतीको अत्तोपत्तो नभएपछि खोज्दै जाँदा पतीको कार्यालयमा नै एक महिलासँग अनुचित कार्यमा संलग्न भएको भेटाइन । पतीका यस्ता असहज र अभद्र क्रियाकलापले विक्षिप्त भएर घर छाडेर आफ्नो छोरीलाई माईत लिएर गईन । माइतमा उनका वुवा आमा र अरु परिवारले सहयोग गरे ।   अदालतमा अंशदावी नलिई सम्वन्धविच्छेद मुद्धा दायर गरिन । तर श्रीमानले प्रतिउत्तर नदिई श्रीमतीलाई सम्वन्धविच्छेदको मुद्धा फिर्ता गर्न दवाव दिईराखे । मुद्धा फिर्ता लिइनस भने तलाई मारिदिन्छु, सुखले बस्न दिन्न भनेर रातदिन धम्की दिन थाले । पतीले अदालतमा म्यादभित्र प्रतिउत्तर पेश नगरेपछि एकतर्फी रुपमा सम्वन्धविच्छेद पनि  भयो । हाल उनीसँग उनकी छोरी छन्, छोरीको पढाई खर्च, आमाछोरीको खानपान, वसाई खर्च पु¥याउन आर्थिक रुपमा कठिनाई भएपनि उनी स्वतन्त्र भएर आफ्नो व्यवसाय सञ्चालन गरेर वसेकी छिन् । उनी एक्लै छिन् तर खुशी छन् ।

 

उमेर ढल्केपछि सम्वन्ध विच्छेदको प्रयत्न :
अर्को एकजना अन्दाजी पैतालिस छ्यालीस वर्षीय सामान्य लेखपढ गरेको एक महिला हुनुहुन्छ । उहाँलाई म दिदी भनेर सम्वोधन गर्दछु । उहाँको पती एक सरकारी जागिरे हुनुहुन्छ । दिदीले पनि आफ्नो पतीको सहयोगमा व्यवसाय गर्नुहुन्छ । उहाँहरुका छोराछारी पढाईमा अव्बल छन्, संस्कारी छन् । उहाँहरुको परिवारलाई नियाल्दा एकदमै शिक्षित, सुखी र आर्थिक रुपमा सम्पन्न परिवार छ । तर सबै कुराले सम्पन्न हुँदाहुँदै पनि पती पत्नीबीच जुन प्रकारको आत्मिय सम्वन्ध हुनुपर्ने हो, त्यो कत्ति पनि छैन । पती पत्नीबीच  व्यवसायिक अत्यावश्यक कुरा बाहेक अरु कुरा शेयर हुँदैन । विगत चारपाँच  वर्ष देखि उहाँहरु छुट्टाछुट्टै कोठाहरुमा सुत्नुहुन्छ । पतीलाई खाना बनाइदिने, कपडा धोईदिने, रुम सफा गरिदिने, वेड मिलाई दिने, विरामी हुँदा हेरविचार गर्ने जस्ता सम्पूर्ण कार्य दिदिको जिम्मा हुन्छ ।, तर पतीबाट उहाँले कुनै पनि घरयासी कार्यहरुमा सहयोग पाउने अपेक्षा गर्नु वेकार छ । तीन चारदिन विरामी परेर ओछ्यानमा हुँदा समेत कहिल्यै तिमीलाई के भयो भनेर सोध्ने सम्म पनि गर्नुहुन्न । वाहिर कतै गए पनि कहाँ जाने, किन जाने जस्ता केही प्रश्न हुदैन । जहाँ गए पनि स्वतन्त्र हुनुहुन्छ । आर्थिक रुपमा पनि केही वन्देज छैन । पतिको कहीं कतै परस्त्रीसँग पनि सम्वन्ध छैन, उच्च नैतिक चरित्रको हुनुहुन्छ तर पनि पती पत्नीबीच हुनपर्ने भावनात्मक र सुमधुर सम्वन्ध हो त्यो पटक्कै छैन । पतीले पत्नीलाई निभाउनु पर्ने जुन भावनात्मक कर्तव्य र भूमिका हो त्यो कहिल्यै निभाउनु भएको छैन । शाररिक याताना पनि कहिल्यै दिनुभएको छैन तर मानसिक यातना भने कति हो कति त्यो दिदीलाई मात्र थाहा होला । सबैभन्दा जटिल समस्या उहाँहरु बीचकोे छ, दिदीलाई आफुले सोधेको प्रश्नको जवाफ मात्र दिए हुन्थ्यो अरु केही चाहिदैन थियो । त्यसको लागि धेरै प्रयत्न पनि गर्नुभयो तर सफल हुनुभएन । यसरी मौन व्रत कतिसम्म बसेर पती पत्नीबीचकोे सम्वन्ध कायम गरिराख्ने ? यही प्रश्नले उहाँलाई घच्घच्याइ रह्यो । जहिले मानसिक तनावमा रहेर सँगै वस्नु भन्दा छुट्टेर वस्छु भन्ने सोचले केही समय अघि उहाँ घरबाट निस्किइ पती विरुद्ध अंश सहितको सम्वन्धविच्छेद मुद्दा जिल्ला अदालतमा दायर गर्नुभएछ । मुद्दा दायर त गर्नुभयो तर श्रीमान बाहेक घरपरिवारका अन्य सदस्यबाट मुद्दा फिर्ता लिन दबाब आयो, सायद त्यो दबाबलाई नकार्न नसकेर मुद्धा फिर्ता नलिई तारिखमा हाजिर हुन नै छाड्नु भएछ । 

 

माथि उल्लेख गरिएका प्रतिनिधी पात्रहरु उदाहरण मात्र हुन, समाजमा यस्ता उदाहरणहरु थुप्रै छन् लेखेर साध्य नै हुँदैन । समय परिवर्तनशील छ । समयसँगै धेरै कुराहरु परिवर्तन भइरहेका छन् । अव पहिलेको जस्तो परिस्थिति छैन । श्रीमान र श्रीमतीको सम्वन्ध भनेकै एक समान महत्वको विषय हो । उनीहरु एक अर्काका जीवनसाथी हुन र एक अर्काको जीवनमा नै वरावरको हैसियत हुनुपर्छ भन्ने हो । यी माथिका फरक प्रकृतिका तीन उदाहरणहरु मार्फत पुरुषहरुले गरेको अदृश्य व्यवहारहरुका कारणले गर्दा पती पत्नी बीचको शाररिक तथा भावनात्मक संवन्धहरु जोखिममा कसरी परिराखेका हुन्छन् र महिलाहरुका निमित्त सम्बन्ध विच्छेद गरेर शान्तिसँग जीवनयापन गर्ने विकल्प छान्न पनि कति सकस पूर्ण छ त्यसको उदाहरण प्रस्तुत गर्नु हो । 

 

(लेखक कानुन व्यवसायमा आवद्ध हुनुहुन्छ) 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार