• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
खेलकुद

राष्ट्रिय क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल र  उपकप्तानमा दीपेन्द्र सिंह ऐरी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल र  उपकप्तानमा दीपेन्द्र सिंह ऐरीलाई चयन भएका छन् । 

 

पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्रलाई कप्तानीको जिम्मेवारी दिएको छ । क्यानका महासचिव अशोकनाथ प्याकुरेलले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि ज्ञानेन्द्रलाई कप्तानको जिम्मेवारी दिएको जानकारी दिए ।

 

ज्ञानेन्द्र सन् २००९ मा पारस कप्तान बन्दादेखि उपकप्तान थिए । ज्ञानेन्द्रले विभिन्न समयमा पारसको अनुपस्थितिमा नेपाली टोलीको कप्तानी सम्हालिसकेका छन् । मल्लले सन् २०१७ मा टियु क्रिकेट मैदानमा भएको आईसीसी विश्व च्याम्पियन लिगमा केन्यासँग दुवै खेलमा कप्तानी गरेका थिए ।

 

त्यस्तै दीपेन्द्र पनि सिंगापुर र जिम्बाबेसँगको त्रिकोणात्मक तथा ओमानसँगको टि ट्वान्टी सिरिजमा उप कप्तान बनेका थिए । सन् २०१७ नोभेम्बरमा यू १९ एसिया कपमा भारतलाई १९ रनले हराउँदै पहिलो ऐतिहासिक जित निकाल्दा दीपेन्द्र कप्तान थिए । गत वर्ष दीपेन्द्रले आफ्नो कप्तानीमा धनगढी प्रिमियर लिगको उपाधि सिवाईसी अत्तरियालाई जिताएका थिए ।

 

अब नेपालले लिगेसी टुरका लागि नेपाल भ्रमण गर्ने एमसीसी टिमसँगको सिरिज ज्ञानेन्द्रको कप्तानीमा खेल्नेछ । इंग्ल्यान्ड तथा क्लब एमसीसी टिम बिहिबार नेपाल आइपुग्ने छन् । एमसीसीको टिमले नेपालको राष्ट्रिय टिम र यू(१९ टिमसँग विभिन्न सिरिज खेल्ने कार्यक्रम रहेको छ ।

 

नेपाल क्रिकेट संघले ज्ञानेन्द्र मल्ललाई राष्ट्रिय टिमको कप्तान नियुक्त गरेकोमा निर्वतमान कप्तान पारस खड्काले बधाई दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा ज्ञानेन्द्र मल्लको फोटो सेयर गर्दै पारसले बधाई दिएका हुन्। कप्तान पदबाट पारसले यसअघि नै राजीनामा दिएका थिए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार