• शुक्रबार ६-१६-२०८३/Friday 10-02-2026
बिश्व

'एफबीआईबाट भागीभागी हिँड्नुपर्दाको मेरो बाल्यकाल'

"म बच्चै हुँदा उनीहरूले मलाई क्रान्तिकारी शिक्षा दिएका थिए…. उनीहरूले मलाई सादा पोसाकका प्रहरी र एफबीआईका एजेन्टलाई भिडमा कसरी चिन्ने सिकाए… उनीहरूले मलाई फोनमा गुप्त भाषामा कसरी कुराकानी गर्ने पनि सिकाए… मेरो लागि त्यो खेलजस्तै थियो।" जेड आयर्स डोरनको बाल्यकाल अरूको जस्तो थिएन।

 

उनको सुत्ने कोठाको भित्तामा 'डिज्नी' का चरित्रको तस्बिर थिएन। बरू त्यहाँ चे ग्वेभारा र हो ची मिन्हका तस्बिरहरू थिए। वर्षौँसम्म उनले प्रारम्भिक कक्षा अध्ययन गर्न पाएनन्। उनको परिवारका भ्रमणमा मार्सम्यालो खान पाइदैनथ्यो। कम्तीमा एक पटक योजनाबद्ध 'जेलब्रेक'का लागि सङ्घीय कारागरको निगरानी गर्न उनीहरूले भ्रमण गरेका थिए।

 

जेड जन्मिँदा उनकी आमा बर्नार्डिन डोरेन अमेरिकाको सङ्घीय अनुसन्धान ब्यूरो 'एबीआई'को सर्वाधिक खोजीमा रहेकी अभियुक्त थिइन्। उनी अतिवादी युद्धविरोधी संस्था 'वेदर अन्डरग्राउन्ड'की सदस्य थिइन्, जसले अमेरिकामा विभेद र जातीय अन्यायको मुद्दा उठाउन अति महत्त्वका सरकारी परिसरहरू जस्तै क्यापिटल, पेन्टागन र अमेरिकी विदेश मन्त्रालयलाई शृङ्खलाबद्ध बम आक्रमणको निशाना बनाएको थियो। उनका पिता बिल आयर्स उक्त समूहका सहसंस्थापक थिए।

 

त्यसको परिणामस्वरूप उक्त परिवार पहिचान लुकाएर बसोबास गर्थ्यो। बारम्बार बासस्थान फेर्थ्यो र पक्राउ पर्ने जोखिमबारे निरन्तर सावधान रहन्थ्यो। जेडका लागि यो सामान्य जीवनको हिस्सा थियो।

 

"मलाई थाहा थियो, एफबीआईले हामीलाई खोजिरहेका छन्। उहाँहरूले मलाई त्यसबारे कहिल्यै पनि झुटो बोल्नुभएन। बच्चाले बुझ्न सक्ने हिसाबले त्यसबारे बुझाउनुभयो। हामी धनीहरूबाट खोसेर गरिबहरूलाई बाँड्ने गैरकानुनी समूह थियौँ।"

 

उनका दुवै अभिभावक सहज स्थितिमा रहेका श्वेत मध्यमवर्गीय पृष्ठभूमि भएको परिवारका सदस्य थिए। उनकी आमा यूनिभर्सिटी अफ शिकागोमा कानुन अध्यनरत जेहेन्दार विद्यार्थी थिइन्। तर सन् १९६६ मा मार्टिन लूथर किङ्ग उक्त सहरमा आएर अभियानकर्ताहरूको घरभाडासम्बन्धी हड्तालमा समर्थन जनाएसँगै उनी सक्रिय रूपमा अभियानमा सहभागी भइन्। त्यसले अमेरिकामा आमूल परिवर्तन आवश्यक रहेकोमा उनी विश्वस्त पनि भइन्। किङ्गको हत्या र त्यसपछिको गोली प्रहारमा 'ब्ल्याक प्यान्थर'का नेता फ्रेड ह्याम्प्टनमाथि प्रहरीको घातक गोली प्रहारले उनलाई थप उग्रवादी विचारधारातर्फ धकेल्यो।

 

"मलाई लाग्छ मेरी आमा र उहाँजस्ता धेरै अन्य मानिसहरूलाई उक्त घटनाले अतिवादतर्फ धकेल्यो। उनी ह्याम्प्टनलाई एक जना साथी मात्र नभएर एक जना आदर्श ठान्थिन्। आफ्नै सरकारले उनको हत्या गरिदिएको थियो।"  उनका पिता चाहिँ भियतनाम युद्ध र सैन्य भर्तीसम्बन्धी विषयका कारण उक्त समूहतर्फ आकर्षित भएका थिए।

 

"त्यस बेला उहाँहरूको एउटा नारा थियो- 'युद्धलाई घरमा ल्याऊ'। त्यो भन्नुको अर्थ भियतनाम युद्धको हिंसालाई ल्याएर अमेरिकाका सहरमा प्रदर्शन गरौँ ता कि मानिसहरूमा जागरूकता आओस् र उनीहरूले विदेशमा के गरिरहेका छन्, अश्वेतहरूलाई के गरिरहेका छन् र देशभित्रका नेताहरूलाई के गरिरहेका छन् भन्ने सबैले देखून् भन्ने थियो।" बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार