“महिला उद्यमशीलता सम्मेलन २०८३”आयोजना गरिदै
काठमाडौं।नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आगामी भदौ ११ गते “महिला उद्यमशीलता सम्मेलन २०८३” आयोजना हुदैछ । महिलाको आर्थिक सशक्तिकरण, उद्यमशीलताको प्रवद्र्धन तथा नेपालको आर्थिक रूपान्तरणमा महिला उद्यमीहरूको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यले यो सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलनले विशेषगरी Startup, MSME तथा SME क्षेत्रमा कार्यरत महिला उद्यमीहरूबीच अनुभव आदानप्रदान, लगानी तथा वित्तीय पहुँच, बजार विस्तार, प्रविधिको प्रयोग र नेटवर्किङका लागि साझा मञ्च उपलब्ध गराउने बताइएको छ । ।
सम्मेलनसँगै नेपाली कांग्रेस केन्द्रीय कार्यालय परिसरमा ८० भन्दा बढी महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी आयोजना गरिने छ । प्रदर्शनीमार्फत महिला उद्यमीहरूले आफ्ना उत्पादन तथा सेवाहरू प्रत्यक्ष रूपमा उपभोक्ता, व्यवसायी, लगानीकर्ता तथा सम्भावित साझेदारसमक्ष प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछन् ।
प्रदर्शनीसँगै B2B तथा B2C Networking लाई समेत प्राथमिकता दिइने छ । यसले महिला उद्यमीहरूलाई नयाँ ग्राहक, व्यवसायिक साझेदार, लगानीकर्ता तथा बजारसँग जोडिन सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
एक दिने यो सम्मेलनमा महिलाको आर्थिक सशक्तिकरणलाई समुन्नतिको महत्वपूर्ण आधारका रूपमा लिँदै महिला उद्यमीका विद्यमान चुनौती, सम्भावना र अवसरबारे बहुआयामिक छलफल गरिने छ । यो सम्मेलनबाट महिला उद्यमशीलताको विकासमार्फत रोजगारी सिर्जना, उत्पादन वृद्धि, आयआर्जन, आत्मनिर्भरता र समुन्नत समाज निर्माणमा योगदान पुग्ने बिश्वास गरिएको छ ।
सम्मेलनमा महिला उद्यमशीलतासँग सम्बन्धित तीनवटा विषयगत प्यानल आयोजना गरिने छ । प्यानल छलफलमा व्यवसाय, वित्तीय क्षेत्र, प्रविधि, लगानी, पर्यटन, सूचना प्रविधि तथा निजी क्षेत्रका अनुभवी व्यक्तित्वहरूको सहभागिता रहने छ । छलफलमार्फत महिला उद्यमीहरूले भोगिरहेका चुनौती, लगानी तथा वित्तीय पहुँचका समस्या, प्रविधि र डिजिटल बजारको सम्भावना तथा व्यवसाय विस्तारका अवसरबारे विचार आदानप्रदान गरिने छ ।
सम्मेलनको अर्को विशेष आकर्षण “मेरो उद्यमशील यात्रा” रहने छ । यसमा प्रेरणादायी व्यक्तित्वहरुको Storytelling Session हुनेछ । यस सत्रमा सफल महिला उद्यमीहरूले आफ्नो उद्यम यात्रा, संघर्ष, चुनौती, सफलता र सिकाई प्रत्यक्ष रूपमा साझा गर्नेछन् । यसबाट नयाँ पुस्ताका महिला तथा उद्यमशीलतामा प्रवेश गर्न चाहनेहरूलाई प्रेरणा र व्यावहारिक मार्गदर्शन प्रदान गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा लगानी, वित्तीय पहुँच तथा सरकारी सेवासम्बन्धी जानकारी केन्द्र समेत सञ्चालन गरिने छ । यो केन्द्रमार्फत महिला उद्यमीहरूले व्यवसाय दर्ता, वित्तीय पहुँच, लगानी, सरकारी सेवा तथा उद्यम विस्तारका लागि उपलब्ध अवसरबारे आवश्यक जानकारी उपलब्ध गराइने छ ।
सम्मेलन २०८३ भदौ ११ गते नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपा परिसरमा बिहान ८ः०० बजे शुरु हुने छ । सम्मेलनको समापनमा महिला उद्यमशीलतासँग सम्बन्धित प्रमुख सुझाव, प्रतिबद्धता तथा आगामी कार्यदिशालाई समेट्दै "Sanepa Declaration on Women's Enterpreneurship” घोषणा सार्वजनिक गरिने बताइएको छ ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस