सम्पर्कमा आएका र उद्धार गरिएका परिवारको विवरण सङ्कलन
काठमाडौं । सरकारले काठमाडौं महानगरपालिका वडा नम्बर ९ स्थित गैरीगाउँ र वडा नम्बर ३१ स्थित शान्तिनगरका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा बनाइएका बस्तीहरू खाली गर्ने कार्यलाई निरन्तरता दिएको छ।
यसै क्रममा वडा नम्बर ११ स्थित थापाथलीमा रहेको बस्ती आज बिहान खाली गरिएको छ। बस्ती खाली गराउने कार्यमा नेपाल प्रहरी र महानगर प्रहरी बलले स्थानीयको सामान उठाउन र ढुवानी गर्न प्रत्यक्ष सहयोग गरेका थिए।
बसोबास गरिरहेका नागरिकहरूले समेत सरकारको यस कदममा ऐक्यबद्धता जनाउँदै सहयोग गरेपछि थापाथलीको बस्ती स्थानान्तरण कार्य शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा सम्पन्न भएको प्रधानमन्त्री कार्यलयले जनाएको छ ।हालसम्म थापाथली, गैरीगाउँ र शान्तिनगरमा बसोबास गरिरहेका १४४ परिवार सरकारको सम्पर्कमा आएका छन्। बस्तीहरुमा कोही छुटेका छन् कि भनेर खोजी तथा उद्धार कार्यलाई समेत जारी राखिएको छ।
सम्पर्कमा आएका र उद्धार गरिएका परिवारहरूलाई सुरुमा दशरथ रंगशाला पुर्याएर उनिहरुको विवरण सङ्कलन गरिएको छ। उनीहरूलाई तत्कालका लागि काठमाडौंका विभिन्न होटलहरूमा बसोबासको व्यवस्था मिलाइएको छ। यस्तै, घरायसी सामानहरू रंगशाला र कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग ब्यास नेपालमा छुट्टाछुट्टै स्थान तय गरी सुरक्षित रूपमा भण्डारण गरिएको छ।
यसैबीच, कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ को गोठाटार बुद्धचोक र वडा नम्बर ९ को मनोहरा टोलमा रहेका बस्तीहरू आजै खाली गर्ने तयारी भए पनि आजको लागि उक्त प्रक्रिया रोकिएको छ।





प्रतिकृया दिनुहोस