• आइतबार ११-३-२०८२/Sunday 02-15-2026
राजनीति

अब कांग्रेसमा गुटगत भागबण्डा हुँदैन : सभापति थापा 

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र विधि, विधान र पद्धति स्थापित भएको उल्लेख गर्दै सबैलाई एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन्। निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधानिकता दिएसँगै उनले पार्टीलाई बलियो बनाउने जिम्मेवारी  आफ्नो काँधमा आइपरेको बताएका हुन् । विशेष महाधिवेशन कुनै विवादको विषय नभएको र निर्वाचन आयोगले संविधान, प्रचलित कानुन तथा पार्टी विधानअनुसार निर्णय गरेको बताएका छन् ।

 

निर्वाचन आयोगले संविधान, प्रचलित कानून र पार्टीको विधान अनुसार निर्णय गरेको भन्दै आयोगप्रति आभार व्यक्त गरेका छन् । ‘यसले स्थापित गरेको छ – पार्टी नेताको चाहनाले मात्र होइन आम सदस्यको चाहनाले चल्छ, बन्छ । अब नेपाली कांग्रेस आफ्नो मूल जरामा, आफ्नो मूल्य मान्यता र आदर्शमा फर्केको छ,’ सभापति थापाले अपीलमा भनेका छन् ।

 

उनले अब कांग्रेस नवीन ऊर्जा र एकतासहित रूपान्तरणको दिशामा अघि बढिसकेको र रिफर्मको यात्रा सुरु भइसकेको बताएका छन् । आगामी निर्वाचनमा उच्च आत्मविश्वासका साथ एकढिक्का भएर लाग्नुपर्ने उनको भनाइ छ । थापाले शेरबहादुर देउवालगायत पार्टीका विभिन्न तहका नेताहरूले यो लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा स्वीकार गर्दै साथ दिने विश्वास व्यक्त गरेका छन् । अब कांग्रेसमा कुनै गुट नरहने, गुटगत भागबण्डा नहुने र जिम्मेवारी फरक भए पनि सदस्य र सभापतिको हैसियत समान हुने उनले बताएका छन् ।

 

नेपाली कांग्रेस आम नागरिकको सार्वजनिक पुँजी भएको उल्लेख गर्दै थापाले विशेष महाधिवेशनमार्फत विगतका कमजोरीप्रति आत्मालोचना गरिएको र उपलब्धिलाई समयअनुसार संस्थागत गर्ने सङ्कल्प लिइएको जनाएका छन् । अब कांग्रेस बदलिएको र अझ बदलिने दाबी गर्दै उनले मूल्य र सिद्धान्त विपरीत कुनै सम्झौता नगर्ने स्पष्ट पारेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार