• आइतबार ८-२९-२०८२/Sunday 12-14-2025
मनोरञ्जन

यसपालिको पलेँटीमा फत्तेमानको सम्झना गरिने

काठमाडौं । हरेक अङ्ग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको 'आर'शालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम पलेँटीमा यसपटक गायक फत्तेमानको सम्झना गरिने भएको छ ।


संजोगले शुक्रबार, नोभेम्बर २८ तारिख गायक फत्तेमानको जन्ममिति पनि हो । पलेँटीमा गायक फत्तेमानसँग लामो संगत गरेका संगीतकार आभासले फतेमानका सम्बन्धमा निबन्ध वाचन गर्नेछन् ।

 

फत्तेमान नै किन र भन्ने प्रश्न गर्दा पलेँटी संयोजन गर्दै आएका संगीतकार आभास भन्छन् 'फत्तेमान दाइसँग हामीले लामो संगत गर्यौ । त्यसैले उहाँसँग जोडिएका धेरै सम्झनाहरू छन् । तिनलाई बेलाबखत कोट्टाइ राख्नुपर्छ, जोगाइ राख्नुपर्छ ।उनी अगाडि भन्छन् 'झन् यसपालि त उहाँको जन्म मितिकै दिन पलेँटी पर्न गयो । त्यसैले गीतहरू मार्फत नै उहाँको सम्झना गरौँ भन्ने भयो ।'

 

पलेँटीसँग आफ्नो संगतबारे फत्तेमानले व्यक्त गरेको अभिलेख भेटिन्छ । उनले भनेका थिए नेपालयले वीरेन्द्र अन्तर्राष्ट्रिय भवनमा मलाई पहिलोपाली स्टेजमा उतार्‍यो, त्यसबाट मलाई माया गर्ने धेरै श्रोता पाएँ मैले ।  फेरि पनि मौका पाउँ, माया पाउँ । स्वास्थ्यले साथ दिउन्जेल गाउनेछु ।

 

फत्तेमानको पुरानो सोही भनाइलाई उल्लेख गर्दै कार्यक्रम संयोजक आभास भन्छन् यो कार्यक्रम फत्तेमान दाइप्रतिको माया पनि हो । उहाँ भौतिक रुपमा हामी माझ नरहे पनि सृजनामार्फत जीवित हुनुहुन्छ ।

 

पलेँटी आयोजना गर्दै आएको संस्था नेपालयले गायक फत्तेमानसँग सन् २००२ देखि संगत सुरु गरेको हो । सन् २००२ को अगस्ट १० तारिख नेपालयले गायक फत्तेमान साँझको आयोजना गरेको थियो । हालको संसद भवनमा सम्पन्न भएको सो कार्यक्रम फत्तेमानको जीवनकै पहिलो एकल साँझ थियो । संगीतकार आभासले नै सो कार्यक्रमको संगीत संयोजन गरेका थिए ।

 

कार्यक्रममा फत्तेमानले गाएका एक दर्जनभन्दा बढी गीतहरू प्रस्तुत हुनेछन् । जसलाई पलेँटी टिमले हप्ता दिनदेखि अभ्यास गरेर तयार पारेका छन् ।पलेँटी कार्यक्रम यही नोभेम्बर महिनाको अन्तिम शुक्रबार २८ तारिख र  २९ तारिख शनिवारका दिन आयोजना हुनेछ ।

           

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार