• आइतबार ८-२९-२०८२/Sunday 12-14-2025
रंगमञ्च

कर्तव्य' नाटकको नियमित मञ्चन सुरु

काठमाडौँ । नेपाली साहित्यका युगपुरुष गुरुप्रसाद मैनालीको कालजयी कथा 'कर्तव्य' मा आधारित नाटकको नियमित मञ्चन काठमाडौँको रातोपुलस्थित मोनस्टार फिल्म एन्ड ओजस थिएटर रातपुलमा सुरु भएको छ। कक्षा १० को नेपाली पाठ्यपुस्तकमा समेत समावेश भएको यो प्रसिद्ध कथालाई नाटकका रूपमा हेर्न दर्शकहरूको उत्साहजनक सहभागिता देखिएको छ।

 

कथालाई नाट्य रूपान्तरण पुरु लम्सालले गरेका हुन् । 'मैनालीका कथाहरूमा पाइने यथार्थवादी धरातल र सिमान्त पात्रहरूके चरित्रले मलाई नाट्य रूपान्तरण गर्न सहज भयो,' उनले भने, 'कथामा पात्रहरूको आन्तरिक द्वन्द्वलाई मञ्चमा उतार्नु चुनौतीपूर्ण थियो, तर हामीले संवाद र अभिनयमार्फत त्यो गहिराइलाई प्रस्तुत गर्ने प्रयास गरेका छौँ।' मैनालीका कथाहरूको सूक्ष्मता र गहिराइलाई न्याय दिनु नै आफ्नो मुख्य ध्येय रहेको उनले बताए।

 

नाटकका निर्देशक पुष्पराज अवस्थीले भने, 'यो नाटक बनाउनु मेरो लागि एउटा ठूलो अवसर हो। गुरुप्रसाद मैनालीको कथामा रहेको मानवीय भावना र कर्तव्यको द्वन्द्वलाई नाटकमा मार्मिक रूपमा देखाउने प्रयास गरेका छौँ। मैले नाटकलाई सुदूरपश्चिमको भुगेलसँग पनि जेड्ने प्रयास गरेकोछु । ' उनले नाटक हेरेपछि दर्शकहरूले आफ्नो परिवार र समाजप्रति थप जिम्मेवार महसुस गर्ने विश्वास व्यक्त गरे।

 

आदिइत्यादि नाट्य समूह, मोनस्टार फिल्म एण्ड ओजस थिएटर र शैली थिएटरको संयुक्त प्रस्तुति रहेको यो नाटकको बजार व्यवस्थापक एवम् मोनस्टार फिल्म एण्ड ओजस थिएटरका अध्यक्ष सागर कार्कीले नाटकले पाएको दर्शकको माया देखेर आफूहरू उत्साहित भएको बताए । उनले भने, 'हामी अहिले काठमाडौँमा मात्र मञ्चन गरिरहेका छौँ। तर, दर्शकको माग र उत्साहलाई ध्यानमा राख्दै भविष्यमा काठमाडौँ बाहिरका प्रमुख शहरहरूमा पनि यो नाटक मञ्चन गर्ने हाम्रो योजना छ। यसले नेपाली साहित्य र नाटकलाई देशभर फैलाउन मद्दत पुग्नेछ।' नाटक भदौ ११ गतेदेखि २९ गतेसम्म बिहान १०:३० र दिउँसो १२:३० बजे मोनस्टर फिल्म एण्ड ओजस थिएटर(शैली थिएटर) काठमाडौंको रातोपुलमा नियमित मञ्चन हुनेछ ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार