भारतीय क्याम्पसमा नेपाली छात्राको मृत्यु

काठमाडौं। एक नेपाली छात्राको "शङ्कास्पद मृत्यु"को घटनापछि भारतको ओडिसा राज्यस्थित भुवनेश्वरको कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रिअल टेक्नोलजी (केआईआईटी) मा अध्ययनरत तर छात्रावास छाड्नुपरेका नेपाली विद्यार्थीहरूले अन्योल र चिन्तामा परेको बताएका छन्।
आइतवार साँझतिर बुटवल घर भएकी ती छात्रा "झुन्डिएको पाइएको" घटनापछि क्याम्पसमा तनाव सिर्जना भएको बताइएको छ। नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका एक अधिकारीले बीबीसी नेपालीलाई बताएअनुसार घटनाबारे क्याम्पस प्रशासन र नेपाली विद्यार्थीहरूले फरकफरक विवरण दिएका छन्।
"नेपाली विद्यार्थीले आफूहरूलाई जबरजस्ती होस्टलबाट निकालिएको बताएका छन् भने क्याम्पस प्रशासनले स्वैच्छिक रूपमा उनीहरू बाहिरिएको जनाएको छ," दूतावासका अधिकारीले भने।
हाल स्नातक तेस्रो वर्षमा रहेका एक नेपाली विद्यार्थीका अनुसार केआईआईटीमै अध्ययनरत बुटवलकी ती छात्रालाई क्याम्पसकै होस्टलभित्र आइतवार दिउँसो ५ बजेतिर "झुन्डिरहेको अवस्थामा" फेला पारिएको थियो। "ढोका नखुलेपछि होस्टलका वार्डनले भेन्टिलेशनबाट देखेपछि उनलाई तत्काल अस्पताल पुर्याइएको थियो। त्यहाँ हामी पुग्दासम्म उनको मृत्यु भइसकेको रहेछ," नाम उल्लेख नगर्ने सर्तमा ती विद्यार्थीले बीबीसी न्यूज नेपालीसँग भने।
उनका अनुसार मृत्युको घटनापछि नेपाली विद्यार्थीहरूले सत्यतथ्य छानबिन गर्न माग गर्दै साँझबाट प्रदर्शन गर्न थाले। "प्रदर्शनका क्रममा उत्तेजक भिडले छात्रावासका ढोका फुटाल्ने र उपकुलपतिलक्षित असभ्य गालीगलौज पनि गरे। नेपाली विद्यार्थीहरूको तर्फबाट गल्ती त्यही भएको हो," ती विद्यार्थीले भने।
त्यसपछि क्याम्पस प्रशासनले जबाफी कदम चालेको बीबीसी नेपालीसँग कुरा गरेकी अर्की छात्राले बताइन्। "सखारै क्याम्पस प्रशासनले एउटा नोटिस जारी गर्दै सबै नेपाली विद्यार्थीहरूलाई बाहिरिन भनियो," उनले भनिन्। नेपाली विद्यार्थीहरूका अनुसार खास गरी छात्रहरूलाई होस्टलबाट बलपूर्वक निकाली बसमा हालेर रेल्वे स्टेशनसम्म पुर्याइएको छ।
दूतावास तथा विद्यार्थीहरूका अनुसार केआईआईटीमा लगभग ७०० जना नेपालीहरू कम्प्युटरदेखि व्यवस्थापनसम्मका विषय पढ्दै आएका छन्। यकिन सङ्ख्याबारे चाहिँ स्पष्ट हुन सकेको छैन। "अहिले सबै नेपाली विद्यार्थीहरू आआफ्नो चाँजोपाँजो मिलाउन लागिपरेका छन्। रेल, हवाईजहाज जेको टिकट पाइरहेका छन्, त्यसैमार्फत् फर्किन खोजिरहेका छन्," ती छात्राले भनिन्। अर्का छात्रका अनुसार कतिपय चाहिँ केही दिनमा फर्कन पाइन्छ कि भन्ने आशामा उतै बस्न खोजिरहेका छन्।बीबीसी
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस