• शुक्रबार ७-२-२०८१/Friday 10-18-2024
डबली

रेलको डिब्बामा कृति विमोचन

मकवानपुर । मानिसका अनेक सोख हुन्छन् । कीर्तिमान राख्न हिमाल चढ्नेलगायतका साहशिक कार्यदेखि बौद्धिक कार्यसमेत गरिन्छ । यस्तै साहित्यकारले आफ्ना कृतिलाई पाठकसम्म पु¥याउन र त्यसको प्रचारका लागि फरक शैली अपनाउँछन् । मकवानपुरे मुक्तककार डी.बी. बर्तौलाको तेस्रो मुक्तक कृति विमोचनमा पनि नयाँ अभ्यास र प्रयोग गरिएको छ ।

 

साहित्य सङ्गम मकवानपुरका अध्यक्ष एवं मुक्तक मञ्च मकवानपुरका संस्थापक अध्यक्षसमेत रहनुभएका बर्तौलाको मुक्तक सङ्ग्रह उज्यालोका बाछिटा सोमबार चल्दै गरेको रक्सौल–दिल्ली सत्याग्रह एक्स्प्रेस रेलको बग्गीभित्र फरक ढङ्गले गरिएको हो । मकवानपुरका अग्रज साहित्यकार रमेश मोहन अधिकारीको अध्यक्षता तथा अर्का अग्रज साहित्यकार हयग्रीव आचार्यको प्रमुख आतिथ्यतामा मुक्तक सङ्ग्रहको विमोचन गरिएको थियो ।

 

प्रमुख अतिथि आचार्यले मुक्तक सङ्ग्रह उज्यालोका बाछिटाको फरक शैली र ऐतिहासिक रुपमा भएको भन्दै भन्दै मुक्तकार बर्तौलाको रचना हास्यव्यङ्ग्य र सन्देशका दृष्टिले उत्कृष्ट हुने गरेको बताए ।

 

साहित्यकारहरू राजबाबु पहाडी, विष्णुप्रसाद गौतम, माधव पोखरेल, मिथिला अधिकारी, किशन पौडेल र अप्सरा पुडासैनीले विमोचित सङ्ग्रहभित्रका मुक्तक वाचन गरेका थिए ।

 

मकवानपुर, कपिलवस्तु र बारा जिल्लाका साहित्यकार तथा साहित्य अनुरागीहरुको भारतको दिल्ली, आग्रा र वैष्णवोदवीको भ्रमणको क्रममा उक्त कृति विमोचनको अवसर जुटाइएको थियो । साहित्यकारहरुको उक्त टोली यही अक्टोबर ५ र ६ तारिखमा भारतको पन्जाबको अमृतसरमा हुन लागेको दुई दिवसीय अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलनमा समेत सहभागी हुने जनाइएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार