• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
पत्रपत्रिका

आज विश्व मिर्गौला दिवस : डायलासिसको पालो पाउन मुस्किल

काठमाडौँ । मिर्गौलासम्बन्धी समस्याको उपचार हुने सरकारी अस्पतालमा डायलासिसका लागि पालो पाउन मुस्किल छ । बिरामीको चाप बढी, जनशक्ति र डायलासिस मेसिन कम भएका कारण डायलासिस गराउनुपर्ने बिरामीले सरकारी अस्पतालमा धेरै समय कुर्नुपर्ने बाध्यता छ ।

 

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलगायतका सरकारी अस्पतालमा सहज तरिकाले डायलासिस गर्न सक्ने अवस्था छैन । वीर अस्पतालमा दैनिक तीन सत्रमा ६० जनाको नियमित र दैनिक एक/दुई जनाको आकस्मिक डायलासिस हुने गरेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. भूपेन्द्रकुमार बस्नेतले वीर अस्पतालमा दैनिक ६० जनाको डायलासिस हुने गरेको जानकारी दिनुभयो । उहाँले एक सत्रमा २० जनाको डायलासिस हुने गरेको बताउनुभयो । 

 

भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा दैनिक १६० जना बिरामीको डायलासिस हुने गरेको छ । अस्पतालकी नेफ्रोलोजी विभाग प्रमुख डा. कल्पनाकुमारी श्रेष्ठले अस्पतालमा ४९ वटा मेसिनबाट निरन्तर डायलासिस भएको जानकारी दिनुभयो । आकस्मिक कक्षमा भने दैनिक १५ देखि २० जनाको डायलासिस हुने गरेको छ । 

 

डा. श्रेष्ठले डायलासिसका लागि नयाँ बिरामीले पालो पाउन मुस्किल रहेको जानकारी दिनुभयो । सीमित स्रोतसाधन तथा कम जनशक्तिले गर्दा थप बिरामीलाई डायलासिस गर्न कठिन भएको उहाँको भनाइ छ ।यस्तै त्रिवि शिक्षण अस्पतालमा पनि दैनिक ५० देखि ६० जनाको डायलासिस हुने गरेको अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले जानकारी दिनुभयो । 

 

डा. श्रेष्ठले मिर्गौलासम्बन्धी समस्याको लक्षण देखिनासाथ स्वास्थ्यमा सावधानी अपनाउँदा जोगिन सकिने बताउनुभयो । उहाँले मिर्गौलाले काम नगरेपछि मात्र बिरामी अस्पताल आउने गरेकोभन्दै मिर्गौला रोग नियन्त्रण गर्न सकिने भए पनि सुरुमा बेवास्ता गरेका कारण मिर्गौलासम्बन्धी बिरामी बढिरहेको बताउनुभयो । 

 

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठले समय समयमा आफ्नो मिर्गौलाको अवस्था कस्तो छ भनेर परीक्षण नगर्दा पनि मिर्गौलासम्बन्धी रोगका बिरामी बढेको बताउनुभयो । उहाँले पिसाब परीक्षणले मात्रै पनि मिर्गौलाको समस्या थाहा पाइने हुनाले समय समयमा पिसाब परीक्षण गर्न सुझाव दिनुभयो । 

 

यसैबिच बिहीबार विश्व मिर्गौला दिवस मनाइँदै छ । ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ विश्व मिर्गौला दिवस मनाउन लागिएको हो ।सरोज ढुङ्गेल/ गोरखापत्र  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार