नायक केसीले फिर्ता गरे ‘रावायण’का निर्माताबाट लिएको १० लाख

काठमाडौं । नायक अनमोल केसीले सुदर्शन फिल्मस्बाट निर्माण हुन लागेको चलचित्र ‘रावयण’ मा काम गर्नका लागि लिएको १० लाख पेश्की रकम फिर्ता गरेका छन् । उनले निर्मात्री चन्द्रकला कटुवालको खातामा १० लाख रुपैयाँको चेक डिपोजिट गरेका हुन् ।
आर्थिक लेनदेन विवादको मुद्दामा पक्राउ परेर आइतबार रिहा भएका अभिनेता केसी उक्त रकम बैंकमा डिपोजिट गरेपछि भौचर बुझाउन सोमबार जिल्ला प्रहरी परिसर, काठमाडौंमा पुगेका थिए ।
चलचित्र ‘रावायण’को विवादमा निर्मात्री कटुवालले अनमोलविरुद्ध उजुरी दिएकी थिइन् । केसीले १० लाख रुपैयाँ पेश्की रकम लिएर पनि चलचित्रमा काम गर्न नमानी आर्थिक विश्वासघात गरेको जाहेरीमा उल्लेख गरेकी थिइन ।
अनमोललाई कटुवालले दिएको उजुरीको आधारमा प्रहरीले शुक्रबार पक्राउ गरेको थियो । आइतबार केसीलाई काठमाडौं जिल्ला अदालतले हिरासतमा राख्न तीन दिनको अनुमति दिए पनि अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले रिहा गरेको थियो ।
प्रतिकृया दिनुहोस