अख्तियारमा एक वर्षमा २० हजार उजुरी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत आर्थिक वर्ष २०७९र८० मा २० हजार भन्दा बढी उजुरी परेको छ । गत वर्ष दर्ता भएका र पुराना गरी अख्तियारले १८ हजारभन्दा बढी उजुरी फर्स्योट गरेको छ ।
उजुरीमध्ये सबैभन्दा बढी सङ्घीय मामिला (स्थानीय तह समेत) सँग सम्बन्धित ३५.९५ प्रतिशत रहेका छन्। त्यसपश्चात, क्रमशः शिक्षा (स्थानीय तहसमेत) १४.५५ प्रतिशत, भूमि प्रशासन ६.०९ प्रतिशत, वन तथा वातावरण ४.१४ प्रतिशत, स्वास्थ्य तथा जनसंख्या ३.१२ प्रतिशत, भौतिक पूर्वाधार तथा यातायात ४.१० प्रतिशत, गृह प्रशासन ३.५८ प्रतिशत, पर्यटन, उद्योग तथा वाणिज्य २.७१ प्रतिशत, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ २.५८ प्रतिशत, खानेपानी तथा शहरी विकास २.५१ प्रतिशत, अर्थ १.८९ प्रतिशत, कृषि तथा पशुपन्क्षी १.५२ प्रतिशत र सञ्चार तथा सूचना प्रविधिसँग सम्बन्धित १.०३ प्रतिशत रहेको आयोका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
त्यसैगरी, नक्कली शैक्षिक प्रमाणपत्र ६।०२ प्रतिशत, गैरकानुनी सम्पत्ति आर्जन ७.१२ प्रतिशत र अन्य निकाय तथा क्षेत्रसँग सम्बन्धित उजुरीहरू ३.०९ प्रतिशत रहेका छन्। आयोगले आजै आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ ।
उजुरीमध्ये १८ हजार ७९९ वटा उजुरी अर्थात् ६६.९८ प्रतिशत स्क्रिनिङ र प्रारम्भिक छानबिनबाट फर्छ्यौट भएका छन्। जसमध्ये ११३३ वटा उजुरीउपर विस्तृत अनुसन्धान गरिएको, ७ हजार ८६९ उजुरी तामेली गरिएको, १५२ उजुरीउपर सुझाव दिई तामेली गरिएको र ९ हजार ६४५ उजुरीउपर कानुनबमोजिम अन्य आवश्यक कारबाहीको लागि लेखी पठाइएको दाहालले बताए । कारबाही गर्नुपर्ने कुल २८ हजार ६७ उजुरीमध्ये १८ हजार ७९९ वटा उजुरीको फर्स्योट भएको आयोगका प्रवक्ता दाहालले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । १ हजार १३३ वटा उजुरीउपर विस्तृत अनुसन्धान गरिएको उनको भनाई थियो ।
प्रतिकृया दिनुहोस