संगीतको नशामा सुरेन

फ्रेसन्युज संवाददाता, काठमाडौं । मान्छेले आफ्नो इच्छा र चाहनालाई सिमित घेरामा राख्न सक्दैन । सौख र प्रतिभालाई खुम्च्याउन सक्दैन । त्यसैले त सुरेन गौतम (सुरेन्द्र) भिन्न क्षेत्रमा पनि खुलेर प्रस्तुत भए । वाल्यकालदेखि नै संगीतमा रुची राख्नुहुने उनले २०६० सालमा ‘तुसारो’ बोलको गीत रेकर्ड गरए । सोही गीतबाट उनले सांगीतिक आकाशमा अभ्यस्त हुने प्रयास गरेका छन् ।
अर्घाखाँची पुर्खौली थलो अनि तानसेनमा हुर्केका सुरेनलाई संगीतसँगको रस पूर्वी पहाडी जिल्लामा बस्दा नै भिजिसकेको थियो । आफ्ना पीताजीको जागिरको सिलसिलामा पाँचथर पुग्दा उनी त्यहाँका साहित्य र संगीतका कार्यक्रममा सहभागी भइरहन्थे । ‘२०४५ सालतिरको कुरा हो । म पाँच बर्षको थिएँ ।
परिवारका साथ फिदिममा बस्थें । त्यसबेला त्यहा ‘नौलो साहित्यिक बिहान’ भन्ने कार्यक्रम हुन्थ्यो, त्यहाँ साहित्यसँगै गीत सुन्न पाइँन्थ्यो । म त्यहाँ गइरहन्थें । त्यसैबेलादेखि गीतसंगीतप्रति रुची बढेको हो,’उनले विगत सुनाए । २०६० सालमा घरमा खबरै नगरी काठमाडौं पुगेर पहिलो गीत रेकर्ड गरेका थिए । उक्त गीत जब पाल्पा, चितवन, काठमाडौंका एफएम र रेडियोहरूमा बज्न थाल्यो अनि बल्ल घरमा आमा–बुबाले छोरा गायक भएको थाहा पाए ।
पछिल्लो समय २०७१ यता संगीत साधनामा उनी ब्यस्त छन् । ‘प्रनभ’ र ‘शुभ जीवन’ जस्ता दुईवटा गीति एल्बम सांगीतिक फाँटमा पस्केका उनका तीन दर्जन जति गीतहरू रेकर्ड छन् । ती गीतमध्ये ‘पिरती लरी लै’, ‘रेशमी पर्दाले छेकेन’, ‘छेक्यो डाँडा कुहिरोले’, ‘बा आकाश हुन’ र हालै अमेरिका पुगेर निकालेका ‘दुई नजर’ जस्ता गीत दर्शकको अत्यधिक रोजाइमा परेका छन् । अहिले उनी आफनो तेस्रो एल्बम ‘सुरसंगीत’ ल्याउने तयारीमा छन् । गौतम पिएचडीको लागि अमेरिका भएपनि अध्ययनसँगै गीतसंगीतको प्रबद्र्धन पनि आफ्नो प्राथमिकतामा भएको बताए ।
प्रतिकृया दिनुहोस