• मंगलबार ७-६-२०८१/Tuesday 10-22-2024
पत्रपत्रिका

फोहर फ्याँक्नेमाथि सार्वजनिक मुद्दा चलाइने

वीरगन्ज । सडकमा जथाभावी फोहर फ्याँक्नेलाई आजदेखि वीरगन्ज महानगरपालिकाले जरिवानासँगै सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने भएको छ ।

 

महानगर क्षेत्रलाई सुन्दर, सफा, स्वच्छ र पर्यावरणयुक्त नमूना महानगर बनाउने उद्देश्यका साथ नियमित सरसफाइसँगै जथाभावी फोहर फ्याँक्नेलाई जरिवाना गर्दै आएको वीरगन्ज महानगरले आजदेखि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने भएको हो ।

 

महानगरका सडक तथा गल्लीमा जथाभावी फोहर फाल्नेसँग जरिवाना तिराउँदै आएको महानगरपालिकाले अब जरिवानासँगै फोहर फ्याँक्नेउपर सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने तयारी गरेको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सर्पmद्दिन मियाँले जानकारी दिनुभयो ।

 

“जथाभावी फोहर फ्याँक्नेसँग हामीले २०७९ पुस १७ गतेदेखि जरिवाना तिराउँदै आएका छौँ, अझै फोहर फाल्ने क्रम रोकिएको छैन्”, उहाँले भन्नुभयो, “जरिवाना गर्दा फोहर फाल्ने केही कम त भएको छ, तर अपेक्षाकृत घटेको छैन । त्यसैले अब फोहर फाल्नेलाई जरिवानामात्रै होइन, सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने तयारी गरेका छौँ ।” 

 

सरसफाइ शाखा प्रमुख मियाँका अनुसार हालसम्म जथाभावी फोहर फ्याँक्ने पाँच सय ७५ व्यक्ति र संस्थाबाट महानगरले रु १७ लाख ५४ हजार जरिवानावापत राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७९/८० मा जरिवानाबाट रु १५ लाख ३६ हजार तथा चालु आव २०८०/८१ को साउनमा जरिवानावापत रु दुई लाख १८ हजार राजस्व सङ्कलन भएको छ । गोरखापत्र 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार