• मंगलबार १२-६-२०८०/Tuesday 03-19-2024
राजनीति

नयाँ राष्ट्रपतिको खोजी !

वि.सं. २०६३ सालको दोस्रो जनआन्दोलनले विशाल रूप लिए पश्चात राजा ज्ञानेन्द्रले ‘जनताको नासो जनतालाई फर्काएँ’ भनेर आफ्नो हातमा लिएको शासन सत्ता छोडे पश्चात भएको प्रजातन्त्रको पुनर्वहालीले राजनीतिक पार्टीहरूमा राजतन्त्रको अन्त गर्ने कुरामा जन-आन्दोलनको समयमा भन्दा पनि ठूलो एकता बनेको कारण सम्बिधानसभाको पहिलो बैठकबाट नै राजतन्त्रको अन्त भएको घोषणा गरे । यसो हुनुमा राजनीतिक पार्टीको मात्र नभई विदेशी शक्तिहरूको पनि ठूलो हात रहेको कुरा पछिल्ला घटनाक्रम र खुलासाहरूबाट प्रष्ट हुँदै गएको छ। मुलुकको राजनीतिको भित्री र बाहिरी पाटाहरू बुझ्न आजसम्म पनि आम जनतालाई हम्मे हम्मे परेको छ भने के के कारणले राजनीतिक पार्टीहरू विभिन्न वाह्य शक्तिहरूसँग यसरी टाँसिएर बसेका छन् वा बस्न वाध्य छन् भन्ने कुरा पनि अनुत्तरित नै अवस्थामा छन् ।

 

२०४६ सालको पहिलो जनआन्दोलन पश्चात नेपाली जनताले अब मुलुक प्रगति उन्मुख बाटोमा लम्कन्छ भन्ने दृढ विश्वास मनमा राखेका थिए । तर पहिलो आमनिर्वाचनबाट बनेको सरकारदेखि नै कुनै पनि सरकारलाई दिगो हुन नदिने र सत्तारुढ दलबाट नै कुठाराघात भएर सरकार डग्मगाउने, सत्ता समिकरणका विभिन्न खालका घिन लाग्दा खेलहरू मञ्चन हुने तथा सांसदहरूको किनबेच समेत हुने जस्ता कृयाकलापले गर्दा मुलुक चरम भाँडभैलोको चपेटामा पर्नुका साथै अराजकता र अनिश्चितताले ग्रस्त हुन थाल्यो । भ्रष्टाचारले ठूलो स्तरमा मौलाउन पाएको पनि यही बेलादेखि हो ।

 

दोस्रो जनआन्दोलन पश्चात सम्बिधानसभा मार्फत मुलुकले नयाँ सम्बिधान पायो, मुलुकले संघीयता अँगाल्यो र प्रजातन्त्र र सबै पक्षको अधिकार प्राप्तिको निम्ति पनि धेरै प्रावधानहरू राखिए । राजनैतिक पार्टीहरू पुनः चलायमान र शक्तिशाली भए । जनयुद्ध गरिरहेको पक्षले पनि सतहमा निस्केर गरीव तथा उत्पीडीत जनताको निम्ति गरेको एक दशक लामो युद्ध समाप्त भएको र अब खुला रूपमा शान्तिपूर्ण राजनीतिमा लाग्ने प्रण ग¥यो । एक प्रकारले सोच्दा मुलुकका सबै पक्षले जित हासिल गरे । 

 

तर २०४६ र २०६३ सालको जनआन्दोलन पश्चात पनि शान्तिप्रिय तवरलेनै सक्रिय शासन सत्ता जनतालाई बुझाएको राजतन्त्र भने त्यस परिस्थितिमा हार्ने एक मात्र संस्था हुन गयो। अधिकांश जनतालाई यसरी राजतन्त्र मात्र पराजित भएको कुरा त्यति राम्रो लागेको थिएन । तर मुलुक अबको दिनमा शान्ति र समृद्धिको बाटोमा हिँड्छ भने त्यो परिस्थितिलाई पनि स्विकार्न र राजतन्त्रलाई समेत तिलाञ्जली दिन नेपाली जनता तयार भए । नेपालको एकीकरणको थालनी गर्ने महान राजा पृथ्वीनारायण शाहले स्थापना गरेको नेपाली सेनाले समेत राजतन्त्रलाई जोगाउने कुनै चेष्टा नगरेको देखियो त्यतिबेला । आखिर कानुनको चार–दिवारी र आफ्नो मर्यादामा रहेर राष्ट्राध्यक्षको भूमिका मात्र खेल्नबाट समेत राजा र राजतन्त्रलाई वञ्चित गराएर फ्याँक्नु पर्ने अवस्था किन आयो होला र यसो गर्नमा कुन कुन पक्षको हात रह्यो र त्यसबाट के के फाइदा भयो होला त्यतिबेला । यी सब प्रश्न अनुत्तरित नै छन् अझसम्म पनि ।

 

खैर, जे जस्तो घटना घटेको भएता पनि त्यही बेलादेखि नेपालमा राष्ट्राध्यक्षको भूमिका राष्ट्रपतिबाट खेलिने प्रथाको शुरुवात भयो, यानी नेपाल गणतान्त्रिक मुलुकमा रुपान्तरित हुन गयो । प्रमुख राजनैतिक पार्टीहरूले संसदको सभामुख जस्तै राष्ट्रपतिमा पनि आफ्नो पार्टीको व्यक्तिलाई निर्वाचित गराउन भरमग्दुर कोशिश गरे र त्यस्तै नै पनि भयो । 

 

गणतान्त्रिक मुलुकमा राष्ट्रपति भन्ने पदलाई अति नै मर्यादित रूपमा पुजिनु पर्ने हो । यो पद राष्ट्र, राष्ट्रिय अस्मिता र सम्बिधानको रक्षा गर्ने सर्वोच्च संस्था हो भने संसदमा बन्ने कानुन देखि न्यायपालिकाले गर्ने ठूला निर्णयलाई पारित गरेर कार्यान्वयनमा लग्न मार्ग प्रसस्त गर्ने संस्था पनि यही हो । त्यस्तै नेपाली सेनाको सर्वोच्च निकाय पनि यही हो । राष्ट्रपति नै नेपाली सेनाको परमाधिपति हुने प्रावधान छ । 

 

यसो हुँदा हुँदै पनि राष्ट्रपतिले आफ्नो पार्टीको निर्णयलाई मानेर हिँड्नु पर्ने, सरकार र संसदले जे जस्ता निर्णय पारित गर्न पठाए पनि त्यसमा रवर स्टाम्प मार्ने काम मात्र राष्ट्रपतिले गर्नु पर्ने जस्ता रायहरू प्रस्तुत गर्ने तथा आफुले गर्न खोजेको काममा राष्ट्रपतिको सहमति भएन भने सो पदलाई तथानाम गाली गर्ने र आफ्नो पक्षका पत्रपत्रिका मार्पmत राष्ट्रपतिको व्यक्तिगत छविमा समेत आँच आउने गरी गाली गलौज गर्ने र संसदबाट महाभियोग लगाएर हटाउनु पर्ने सम्मका अभिव्यक्ति दिने काम पनि गरिन्छ ।

 

नेपालमा जस्तो राष्ट्रपतिलाई रवर स्टाम्प मात्र बनाउने र गाली गलौज गर्ने छुट न त भारतमा छ, न नै अन्य प्रजातान्त्रिक मुलुकहरूमा छ । यो पदमा आसिन हुने व्यक्तिको चयनमा पनि नेपालका राजनैतिक दलहरूको साथै विभिन्न विदेशी शक्तिकेन्द्रको चलखेल हुने गरेको कुरा सुन्नमा आइरहन्छ । 

 

राष्ट्रपति जुनसुकै पार्टी, समुदाय, क्षेत्र वा पेशाबाट छानिएर आएको भए पनि यो पदमा बस्ने व्यक्तिले आफुलाई निष्पक्ष रूपमा नै राखिरहनु पर्दछ । आजसम्मका दुवै राष्ट्रपतिहरूलाई आफ्नो पार्टीको हितमा काम गरेका आरोपहरू लागेको भएता पनि उनीहरू दुवै जनालेनिक्कै हदसम्म निष्पक्ष र निस्कलङ्कीत भएर नै कार्य गरेका थिए । संसदबाटै हुन थालेको हालैका केही राष्ट्रघाती निर्णयहरूलाई हालकी राष्ट्रपतिले उल्टाइ दिएकै हो भने विगतमा पनि डा. रामवरण यादवले यस्तै गौड विषयहरूमा राष्ट्र र जनताको पक्षमा अडान लिएकै हुन्। त्यस्तै यी दुवै राष्ट्रपतिले आफ्नो कार्यकालमा निक्कै मर्यादित तवरले जनता सामु आफुलाई पेश गरेका पनि हुन् र अन्तर्राष्ट्रिय जगतमा पनि नेपालको छवी बढाउने खालको व्यक्तित्वको पनि प्रदर्शन गरेकै हुन् । प्रथम राष्ट्रपतिले मधेशी समुदायको प्रतिनिधित्व गरेका थिए भने दोस्रो राष्ट्रपतिले नारीहरूको ।

 

अबको केही हप्तामा मुलुकले तेस्रो राष्ट्रपति पाउने छ । सो पद हात पार्नको लागि अहिले देखि नै हानाथाप शुरु भइसकेको छ विभिन्न पार्टीहरूमा । हुन त अन्य मुलुकहरूमा पनि राष्ट्राध्यक्षको पद आफ्नै पार्टीको पोल्टामा परोस् भन्ने चाहना विभिन्न दलहरूलाई हुन्छ नै । तर राष्ट्रपति हुने व्यक्तिले पुरै मुलुकको छवि बनाउनमा महत्वपूर्ण भूमिका खेल्ने भएकोले सो पदको लागि स्वच्छ विगत र उच्च वौद्धिक धरातल भएका अनुभवी र पाका व्यक्तिलाई नै दावेदारीको दौडमा पठाउँदा सबैको हित हुन्छ ।

 

हामीले विश्वको सबैभन्दा ठूलो जनसङ्ख्या भएको प्रजातान्त्रिक मुलुक र हाम्रो छिमेकी राष्ट्र भारतकै उदाहरण लिन सक्दछौँ । त्यहाँ आजसम्मका सबै राष्ट्रपतिहरू अति नै स्वच्छ छवि बोकेका विद्धत वर्गका प्रतिनिधि व्यक्तित्वहरू मध्येबाट नै चुनिन्छन् । दलित, अछुत, जनजाती र महिलाको प्रतिनिधित्व हुने गरी पनि धेरै राष्ट्रपतिहरू छानिए । ती सबै अति उच्च शिक्षा हासिल गरेका विद्वानहरू, मुलुक र जनताको हितमा राम्ररी काम गर्न सक्ने सक्षम तथा राष्ट्रपे्रमले ओतप्रोत भएका व्यक्तिहरू तथा मुलुक र जनताको लागि केही गर्छु भन्ने भावना बोकेका अति जाँगरिला, अनुभवी र सरल व्यक्तिहरूबाट नै छानिएका थिए । उनीहरू सरकार, संसद वा कतैबाट पनि प्रभावित नहुने, सम्बिधानको अक्षरशः पालना गर्ने र इमान्दारीका प्रतिकका रूपमा नै उभिने व्यक्तिहरू भएकाले जनताले पनि आफ्ना अभिभावकका रूपमा राष्ट्रपतिलाई निक्कै पुज्दछन् भने राजनैतिक पार्टीका नेताहरू, सरकार, संसद, न्यायपालिका र प्रशासन र सुरक्षा निकायका प्रमुखहरूले पनि राष्ट्रपतिको मानमा कुनै कमी हुन दिँदैनन् । भारतीय कानुनमा राष्ट्रपतिको मान मर्यादा नराख्ने र तथानाम गाली गर्ने व्यक्ति, संस्था वा पत्रपत्रिकालाई कठोर सजायको पनि व्यवस्था गरिएको छ ।

 

तर हामी कहाँ भने यो सब कुराको ठीक उल्टो हुने गर्दछ । राष्ट्रपति भन्दा प्रधानमन्त्री र विभिन्न पार्टीका नेता ठूला भन्ने दम्भ, आफुले भने जस्ता कुरामा सहमति नजनाए तथानाम गाली गर्ने, पत्रपत्रिकाहरूलाई पनि नराम्रा समाचार छाप्न उक्साउने तथा हरेक फोरममा विरोधको भाषा मात्र बोल्ने । त्यसैले पनि आफ्नो कठपुतलीलाई राष्ट्रपति बनाउने अनेक चलखेल गर्ने । यदी हामीले मुख्यतः भारतबाटै प्रजातन्त्रको अभ्यास गर्ने तौर तरिका सिकेका हौँ भने राष्ट्रपतिको मान र मर्यादा बारेका आचार संहिता पनि त्यहीँबाट सिक्दा राम्रो हुन्छ । 

राष्ट्रपतिको छनौटको निम्ति नेपालका राजनैतिक दल र नेताहरूले पनि अब आफ्ना स्वार्थ मात्र नहेरी सक्षम, स्वच्छ छवि भएका, अनुभवी, शिक्षित विद्धत व्यक्तिहरू मध्येबाट नै नाम प्रस्ताव गर्नु पर्दछ । त्यस्ता व्यक्ति राजनैतिक मात्र नभएर अन्य क्षेत्रका पनि हुन सक्दछन् भने जुनसुकै वर्ग वा समुदायलाई प्रतिनिधित्व गर्ने पनि हुन सक्दछन् ।

 

राष्ट्रपति पदलाई कुनै राजनैतिक नेतालाई बुढो भएर आराम गर्ने थलो बनाउनु हुँदैन । त्यस्तो प्रयोजनको निम्ति त आफ्नै घर, अस्पताल वा वृद्धाश्रम छँदैछन् नी वा किशुनजीलाई जस्तै आश्रम बनाएर पनि मानसम्मानका साथ राज्यले राख्न सकिहाल्छ । तर राष्ट्रपति भन्ने पदले त आफ्नो विगतको शिक्षा, अनुभव र इमान्दारीको सदुपयोग गरेर सक्रिय, स्फुर्त, निष्पक्ष र निडरभएर मुलुकको सर्वोच्च व्यक्तिको रूपमा सफल कार्य सम्पादन गर्नुका साथै मुलुककै अभिभावकको भूमिका खेल्नु पर्दछ ।

 

अब आउँदो राष्ट्रपतिको छनोटको निम्ति लेखकले तीन व्यक्तिको नाम उत्कृष्ट र उपयुक्त व्यक्तिको रूपमा तल उल्लेख गरेको छु । सर्वप्रथम नारायणमान विजुक्छेँ ‘रोहित’ को नाम लिन चाहन्छु । रोहितले इमान्दारीको राजनीति गरेको ६ दशक बितिसकेको छ भने भारतमा उच्च अध्ययन गरेका उनी एक शिक्षित व्यक्तित्व पनि हुन् र जेलनेलको पनि लामो अनुभव बोकेका व्यक्ति हुन् । कम्युनिष्ट हठवादको सँधै विरोधी रहेका उनको पार्टी निक्कै सानो भएता पनि सो पार्टीले विगतमा जहाँ जहाँबाट निर्वाचनमा विजयी भएता पनि विवादमा नपरी राम्रै काम गरेको इतिहास छ । भक्तपुरमा उनको पार्टीले मेयरको पद सम्हालेको दशकौँ भइसकेको छ भने त्यहाँ भए गरेका असल कामहरूको ठूलै फेहरिस्त बन्न सक्छ । अति मृदुभाषी रोहित एक इमान्दार र निश्कलङ्कीत राजनीतिज्ञ मात्र नभइ एक साहित्यकार, दार्शनिक र संस्कृतिविद् पनि हुन् । यी विषयमा उनले दर्जनौँ पुस्तकहरू तथा सयौँ लेखहरू लेखेर प्रकाशन गरिसकेका छन् । उनलाई जातीवादी राजनीतिज्ञकोे विल्ला लगाइएको भएता पनि उनको पार्टीमा बाहुन, क्षेत्री, मधेशी, ठकुरी तथा अन्य जात र वर्गका सदस्यहरू पनि सक्रिय रूपमा कार्यरत छन् । रोहितलाई सबै पार्टीका उच्च नेताहरूले सम्मानको दृष्टिले नै हेर्ने गरेका छन् ।

 

आजको परिप्रेक्ष्यमा रोहितको सबैभन्दा ठूलो गुण भनेकै उनले आफु वृद्ध हुँदै गएपछि आजभन्दा करिव ५ वर्ष अघि आफ्नै स्वविवेकले अब उप्रान्त संसदको चुनावमा आफुले भाग नलिने तर पार्टीलाई नेतृत्व भने अभैm केही वर्षसम्म दिने कुराको घोषणा मात्र गरेनन्, आजसम्म सो कुराको पालना पनि गरिरहेका छन् । यसरी नेतृत्व हस्तान्तरण गर्दै जाने नेपालको सम्भवतः पहिलो नेता नै उनी नै भएका छन् ।

 

यो सब कारणले गर्दा नारायणमान विजुक्छेँ ‘रोहित’ आगामी राष्ट्रपतिको लागि एक सशक्त छनोट हुन सक्दछन् । तर पञ्चायती व्यवस्थाको समयमा राजेश्वर देवकोटा इमान्दार र सुशिक्षित व्यक्ति भएर पनि रानी ऐश्वर्यको नजरमा प्रधानमन्त्रीको लागि नालायक व्यक्ति सावित भएभैmँ नारायणमान विजुक्छेँ पनि सबैको छनोटमा नपर्न सक्छन् किनकी यी दुवैको एउटा साझा गुण भनेको इमान्दारी, अनुभव, स्वच्छ चरित्र र स्वर्णीम विगत वाहेक यी दुवै जना ज्यादै खरा र हुन नहुने कुरामा कहिल्यै सहमति नदिने खालका व्यक्ति हुनु हो । यस्ता व्यक्तिलाई हाम्रो जस्तो राजनीतिक र सामाजिक परिवेश भएको मुलुकमा खासै रुचाइँदैन ।

 

अर्का उपयुक्त व्यक्ति सुवासचन्द्र नेम्वाङ हुन सक्दछन् । कानुनका विज्ञ यिनको पनि निक्कै लामो राजनीतिक र व्यावसायिक अनुभव छ ।  विद्यार्थीकाल देखि नै राजनीतिमा होमिएका यिनले पनि धेरै समय जेलमा बिताएका छन् । कानुनको क्षेत्रका एक ज्यादै अनुभवी र दक्ष व्यक्तिको रूपमा चर्चित उनले नेपालका पछिल्ला विभिन्न समयका सम्बिधानहरू बनाउने काममा पनि सक्रियताका साथ लागेको इतिहास छ । सफल कानुन मन्त्री तथा सभामुख भएर मुलुकको सेवा गरेका उनी माओवादीसँग वार्ता गर्ने काममा पनि संलग्न थिए भने एक सोझा र सरल व्यक्तिको रूपमा समेत चिनिन्छन् । उनको काम र छविमा पनि औँला उठाउन सक्ने मानिस विरलै भेटिएलान् । राष्ट्रपति हुने मौका पाएमा यिनले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा एक बुलन्द व्यक्तित्वका रूपमा नै काम गर्ने छन् भन्ने कुरामा कुनै अत्युक्ति नहोला ।

 

आजका तेस्रा व्यक्तिमा प्रा. डा. सुरेशराज शर्मा पर्दछन् । भारतको विश्वविद्यालयबाट स्नातकोत्तर र बेलायती विश्वविद्यालयबाट रसायन शास्त्रमा विद्यावारिधी गरेका उनी नेपालका एक अति सम्मानित शिक्षाविद्मा गनिन्छन् । विद्यावारिधी गर्न बेलायत जानु भन्दा पहिले नै प्राध्यापकको रूपमा उनले त्रिचन्द्र कलेज, पद्मकन्या कलेज तथा नेशनल कलेज (शंकरदेव क्याम्पस) मा अध्यापन गरेका थिए । प्राविधिक तथा व्यावसायीक शिक्षा परिषद् (सीटीइभीटी) का प्रथम प्रमुख कार्यकारीणी व्यवस्थापक उनले नेपालको शैक्षिक विकासमा त्रिभुवन विश्वविद्यालय पछि सबैभन्दा बढी योगदान दिँदै आएको काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपतिको भूमिकामा पनि निक्कै वर्ष काम गरे । उनकै अथक मेहनतको फल हो आजको काठमाडौँ विश्वविद्यालय ।नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा नै ख्याती पाएका उनी एक स्वच्छ र निष्कलङ्कीत तथा अति सक्षम व्यक्तिमा गनिन्छन् । उनी नेपालका राष्ट्रपति हुन सकेको खण्डमा विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका गैह्रराजनीतिक विद्वान व्यक्तित्वहरू पनि नेपालको उच्चतम पदमा आसिन भएर मुलुकको सेवा गर्न सक्छन् भन्ने कुराको प्रमाण बन्न सक्ने छ । समयको प्रवाहसँगै भविष्यमा डा. सन्दुक रुइत, डा. भगवान कोइराला,डा. स्वर्णिम वाग्ले, महावीर पुन आदि जस्ता व्यक्तिहरूले पनि नेपालको राष्ट्रपति हुने अवसर पाउलान् । 

 

(लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर हुन् )

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार